अन्तरवार्ता

‘पञ्चायतको राजनीति गरिनँ, काँग्रेसमा सकस छैन’

हामी काँग्रेसमा भाग खान आएका होइनौँ : सुनिलबहादुर थापा

person explore access_timeअसोज ५, २०७८ chat_bubble_outline0

नेपाली काँग्रेसका सहमहामन्त्री सुनिलबहादुर थापा पूर्वप्रधानमन्त्री स्व. सूर्यबहादुर थापाका छोरा हुन् । नेपाली राजनीतिका चर्चित पात्र सूर्यबहादुर पञ्चायती व्यवस्थाका बलिया खम्बा मानिन्थे । तर, उनै घाघडान पञ्चका  छोरा सुनिलबहादुर थापा आफूले कहिल्यै पञ्चायतको राजनीति नगरेको बताउँछन् ।

‘मेरा बुबाज्यूले उदारवादको धारलाई प्रतिनिधित्व गर्नुहुन्थ्यो । हामी त्यही उदारवाद धारबाटै दीक्षित भयौं । यद्यपि मैले पञ्चायतको राजनीति कहिल्यै गरिनँ’ काँग्रेस नेता थापाले रातोपाटीसँग भने, ‘म २०६९ सालतिर राजनीतिमा आएको हुँ । बहुदलीय व्यवस्थाको अन्त्य र गणतन्त्रको सुरुवातमा आएकाले मैले पञ्चायतको राजनीतिक अभ्यास गर्न पाइनँ ।’

पूर्वमन्त्री सुनिल गत वर्ष भदौमा राप्रपा छाडेर विभिन्न जिल्लाबाट सामूहिकरुपमा नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । काँग्रेसमा प्रवेश गरेपछि उनी पहिलोपटक महाधिवेशनमा सहभागी हुँदैछन् । सह–महामन्त्री थापाका लागि भने १४ औं महाधिवेशन नौलो छ ।

सत्तासीन नेपाली काँग्रेसमा १४ औं महाधिवेशनको प्रक्रिया चलिरहेको छ । आगामी मंसिर ९–१३ मा महाधिवेशन गर्ने गरी काँग्रेसले तहगत अधिवेशन गर्दै छ । ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न भएका छन् भने बाँकी जिल्लामा मंगलबार वडा अधिवेशनहरू हुँदैछन् ।

पञ्चायती नेताको पारिवारिक पृष्ठभूमिमा हुर्किएर लोकतान्त्रिक पार्टीमा प्रवेश गरेका थापाले नेपाली काँग्रेसभित्र कस्तो अनुभूति गरिरहेका होलान् ? उनले किन आफ्ना पिताको विरासतका रुपमा रहेको राप्रपा छाडेर नेपाली काँग्रेसलाई रोजे ? र, आगामी महाधिवेशनमा थापाको प्रस्तुती कस्तो रहला ?

यिनै विषयवस्तुको सेरोफेरोमा काँग्रेस सहमहामन्त्री थापासँग रातोपाटीकर्मी लोकेन्द्र भट्टले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ–

नेपाली काँग्रेस १४ औं महाधिवेशनको अन्तिम चरणमा छ । महाधिवेशनको गतिविधिमा कसरी जोडिइराख्नुभएको छ ?

नेपाली काँग्रेसको क्रियाशील सदस्य र सहमहामन्त्री भएकाले मेरो आफ्नै विशेष भूमिका छ । यो महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि दायित्व र जिम्मेवारी पनि छ । त्यसमा पनि मैले दुईवटा विषयमा बढी ध्यान दिएको छ, एउटा– मसँग हिजो समायोजनबाट आएका साथीहरुले क्रियाशील सदस्यता पाउने अवस्था निर्माण गरिरहेको छु । दोस्रो– मेरो गृहजिल्ला धनकुटामा मसँग आएका सबै साथीहरुलाई पनि नेपाली काँग्रेसभित्र हामी अट्न सक्छौं भन्ने भूमिका बनाइदिएर सँगसँगै लिएर जाने दायित्व मसँग छ ।

 अहिले यही काममा व्यस्त हुनुहुन्छ ?

हो, यही काममा व्यस्त छु । भदौ २१ गते धनकुटामा हामीले वडा अधिवेशन सक्यौं । त्यहाँ हामीले सहमति र एकताका आधारमा सफलतापूर्वक ६० वटा वडामा अधिवेशन सम्पन्न गरौं । सबै अट्ने गरी क्षेत्रीय प्रतिनिधि पनि आएका छौं । हिजो राप्रपामा भएका साथीहरुलाई पनि ठाउँ दिएर हामी अगाडि बढिरहेका छौं ।

राप्रपामा सूर्यबहादुर थापाको विरासत एवं लिगेसी पनि छ । तपाईंले हिजो राप्रपाको महामन्त्री भएर काम पनि गर्नुभयो । काँग्रेस र राप्रपामा काम गर्दाको फरक के पाइराख्नुभएको छ ?

मैले मूलभूत कुरामै फरक पाएँ । म राप्रपाको महामन्त्री हुँदा विदेश विभाग प्रमुख भएर काम गरेको थिएँ । मेरो संलग्नता पनि बढी विदेशतिरै थियो, संगठन आदिमा थिएन । पञ्चायतको लिगेसी छोडेर राप्रपा बन्न आइसकेपछि पनि व्यक्तिवादी ढंगले संगठन चलेको थियो । त्यहाँ व्यक्तिका आधारमा राजनीति गरिँदोरहेछ । मानौं– कुनै ठाउँमा जाँदा फलानो व्यक्तिका आधारमा गइन्थ्यो र त्यही व्यक्ति परिचालन गर्नुपर्ने थियो । ऊ खुसी नहुन्जेलसम्म परिचालित नहुने अवस्था थियो । उसैलाई मात्र विश्वास गर्नुको विकल्प थिएन ।

तर,  नेपाली काँग्रेसमा दह्रो संगठन छ । जे गर्दा पनि संगठनलाई नै परिचालन गर्नु अवस्था छ । व्यक्तिभन्दा संगठन नै हाबी हुन्छ । मैले पाएको एउटा गहिरो फरक यही हो ।

राप्रपामा हुँदा हामीले व्यक्ति हेरेर गतिविधि अगाडि बढाएका थियौं । हामीले व्यक्ति खोज्यौं, तर संगठन कहिल्यै खोजेनौँ । जिल्ला संगठन छ कि छैन, भ्रातृ संगठन छ कि छैन भन्नेमा हाम्रो ध्यान हुँदैनथ्यो । राप्रपामा पहिला थियो रे, त्यतिबेला म आवद्ध थिइनँ । स्वर्गीय सूर्यबहादुर थापा पार्टी नेतृत्वमा हुँदा जिल्ला र विभिन्न भ्रातृ संगठनका संरचना थिए । पछिल्लो समय मैले देख्दा र भोग्दा संगठन हराएर व्यक्ति हाबी भएको पाएँ ।

यो एक वर्षमा काँग्रेसमा व्यक्ति होइन, संगठन हाबी छ । जीवन्त पार्टीका लागि संगठन प्रथम पुँजी रहेछ भन्ने मैले अनुभूति गरिरहेको छु ।

पञ्चायतको लिगेसीबाट जन्मिएको राप्रपामा राजनीति गरेका मान्छेलाई  लोकतान्त्रिक आन्दोलनबाट उदाएको काँग्रेससँग तादाम्य मिलाउन तपाईंंलाई कति सकस भयो ?  

मलाई कुनै सकस भएन । किन भन्दा पञ्चायतमा उदार र अनुदारवाद दुई धार थिए । त्यतिबेला मेरा बुबाज्यू स्वर्गीय सूर्यबहादुर थापाले उदारवादको धारलाई प्रतिनिधित्व गर्नुहुन्थ्यो । हामी त्यही उदारवाद धारबाटै दीक्षित भयौं । यद्यपि मैले पञ्चायतको राजनीति कहिल्यै गरिनँ ।

म २०६९ सालतिर राजनीतिमा आएको हुँ । बहुदलीय व्यवस्थाको अन्त्य र गणतन्त्रको सुरुवातमा आएकाले मैले पञ्चायतको राजनीतिक अभ्यास गर्न पाइनँ । बुवा पञ्चायतमा लागेको र प्रधानमन्त्री भएको आफ्नै घटना छ । तर, हामीले उदारवादीकै नीतिलाई लिएर आएका छौं ।

पछिल्लो समय हुँदा पनि (सूर्यबहादुर थापा) ले जहिल्यै पनि परिवर्तनलाई आत्मसाथ गर्दै जानुभयो । यो उहाँको ठूलो सैद्धान्तिक पक्ष थियो । किन भन्दा उहाँ पञ्चायतबाट आएर बहुदलीय व्यवस्थामा पार्टी खोलेर राजनीतिमा लाग्नुभयो । पछिल्लो कालखण्डमा राजतन्त्रको समाप्ति र गणतन्त्र स्थापना हुँदा पनि उहाँले परिवर्तनलाई आत्मसाथ गर्नुपर्छ भन्ने नीति लिनुभयो । किनभने, गणतन्त्रलाई स्वीकारियो । संविधान सभाबाट संविधान बन्नुपर्छ भन्नेमा उहाँ दृढ हुनुहुन्थ्यो ।

संविधान बन्दा उहाँ स्वर्गीय हुनुहुन्थ्यो । तर, पहिला सधैँ उहाँले चाँडोभन्दा चाँडो संविधान बन्नुपर्छ भन्नुहुन्थ्यो । त्यतिबेला भारत जानुअघि हाम्रा सबै नेतालाई घरमा बोलाएर संविधान बनाउन आग्रह गर्नुभएको थियो । त्यसैले म उहाँले लिएको लाइनलाई समातेर एउटा परिवर्तनलाई आत्मसाथ गर्दै जानुपर्छ भन्ने मान्छे हुँ ।

हिजो उहाँले नेपालमा साम्यवाद हाबी हुन्छ, प्रजातान्त्रिक शक्ति एक ठाउँमा हुनुपर्छ र त्यसको नेतृत्व नेपाली काँग्रेसले नै लिनुपर्छ भनेको हुँदा म र मेरा साथीहरु काँग्रेसमा सहज तरिकाले फिट भयौँ ।

नेपाली काँग्रेसमा आएपछि कसैले पनि हामीलाई कुनै किसिमको बाधा व्यवधान गर्नुभएन । काँग्रेसमा हामी सर्वसम्मतरुपमा प्रवेश गरेका हौं । हाम्रो प्रवेशमा काँग्रेसभित्र कसैले पनि नोट अफ डिसेन्ट गर्नुभएको छैन ।

तपाईंहरु १४ औं महाधिवेशनको मुखमा काँग्रेसमा प्रवेश गर्नुभयो । काँग्रेसको आन्तरिक किचलोमा तपाईंंको विषय पनि थपिएको छ । सभापति शेरबहादुर देउवासँग तपाईंहरुको अनुराग बढी हुनुले पनि यो सार्वजनिक रुपमा प्रकट भएको भनिन्छ नि ?

त्यो होइन । नेताहरुले त्यो धारणाले हेर्नुहुँदैन । हामी ५१ जिल्लामा क्रियाशील साथीहरु छौं । हामीले पाएको क्रियाशील सदस्यता ५१ जिल्लामा छरिएको छ । एक–दुई जिल्लामा भएको भए पो प्रभाव हुने थियो । हामी आएर नेपाली काँग्रेसको राजनीति उथलपुथल हुने र एउटा पक्षलाई फाइदा अनि अर्को पक्षलाई बेफाइदा हुने अवस्था हुँदैन ।

विशेष गरी नवप्रवेशीको क्रियाशील सदस्यता विवादले गर्दा देशैभरि एकैचोटि वडा अधिवेशनहरु हुन नसक्ने अवस्था आयो । अहिलेको लफडाको केन्द्रमा तपाईंहरु नै हैन ?

होइन, गलत हो । हाम्रो राप्रपाबाट आएका साथीबाट त्यस्तो केही भएको छैन । बरु नेपाली काँग्रेसमै व्यवस्थापन मिलाउने क्रममा केही तलमाथि भयो होला । पहिला काँग्रेसकै क्रियाशील सदस्यता सक्ने भनिएको थियो । त्यहीँ विवाद सुरु भएको थियो । पछि समायोजन गर्ने भन्ने थियो । त्यो समस्या त्यहाँसम्म तन्किएको हो ।

५१ जिल्लामा सबैभन्दा बढी क्रियाशील धनकुटा हो, त्यहाँ समस्या छैन । त्यसपछि सिन्धुपाल्चोकमा हो, त्यहाँ काँग्रेसको आन्तरिक कारणले विवाद देखिएको हो । सबै ठाउँमा हाम्रो समायोजन सहज ढंगले नै भएको छ ।

कोरोना महामारीका कारण समायोजनमा ढिलाइ हुँदा क्रियाशील सदस्यता टुंग्याउन ढिलाइ हुनुमा फोरम र राप्रपा कारण हो भन्ने परेको हो । त्यस्तो होइन । हामी काँग्रेसका कार्यकर्तासँग प्रतिस्पर्धा गर्न आएका होइनौं । हाम्रो प्रतिस्पर्धा त आगामी आम निर्वाचनमा हुन्छ । अहिले त जसले जिते पनि काँग्रेसले नै जित्ने हो ।

२०७७ भदौमा काँग्रेसमा प्रवेश गर्दा राप्रपाबाट आएकाहरूले जुन स्थान पाउँछन् भन्ने विश्वास राख्नुभएको थियो । वडा अधिवेशन हुँदासम्म त्यो कायमै छ कि खण्डित भयो ?

अहिलेसम्म खण्डित भएको मैले सुनेको छैन । सबै ठाउँमा मिलाएर ल्याउनुभएको छ । केन्द्रीय समिति, महासमिति र विभिन्न विभाग सबैमा इज्जत साथ नै हाम्रो समायोजन भएको छ । जिल्लामा पनि क्षमतावान साथीहरुले पनि इज्जत साथ स्थान पाउनुभएको छ । काँग्रेसमा हामीले ठाउँ पाएनौं भनेर अहिलेसम्म कुनैै ठाउँबाट मलाई गुनासो आएको छैन ।

हामीसँगको यो अन्तरवार्ताअघि यहाँले उपसभापति विजयकुमार गच्छदारसँग लामै कुराकानी गर्नुभयो । तपाईंहरु दुबैजना १४ औं महाधिवेशनका आगन्तुक पनि हुनुहुन्छ । महाधिवेशनबारे गच्छदार र तपाईंको रणनीति के छ, बताइदिनु न...

यो महाअधिवेशन सबैको सहमतिमा होस् भन्ने हो । किनभने आगामी दिनमा हाम्रा लागि अवसरहरु भए पनि चनौतीसमेत थुप्रै छन् ।

सहमति नभएका अवस्थामा तपाईंहरु दुईजनाको ‘स्ट्राटेजी’ के हुन्छ ?

महाधिवेशनको ‘स्ट्राटेजी’ ठोस ‘पिक्चर’ देखिएपछि बनाउने हो । अहिले ‘पिक्चर’ आएको छैन । असोज १९ गते जिल्ला अधिवेशन सम्पन्न भएर महाधिवेशन प्रतिनिधि चयन भएपछि कसरी जाने र कसरी प्रस्तुत हुने भन्ने तय गर्छौं ।

तपाईंंहरुलाई देउवाको मान्छे भनेर काँग्रेसको संस्थापन इत्तरपक्षले बुझिराखेको पाइन्छ । त्यहीअनुसारको व्यवहार पनि लुकेको छैन । महाधिवेशनमा पनि त्यसरी नै जानुहुन्छ कि केही फरक रणनीति बनाउने सम्भावना छ ?

तपाईंंले भनेको जस्तो दृष्टिकोण अवश्य छ । वर्तमान सभापति शेरबहादुर देउवाजीको हातबाट हामीले सदस्यता लिएर हामी काँग्रेसमा प्रवेश गरेका हौं । अन्य पार्टीका मान्छेलाई पार्टीका ल्याउने कि नल्याउने भन्ने सभापतिको हातको कुरा हो । सबैले ल्याउनुपर्छ भन्दा पनि सभापतिले अहिले ल्याउन सक्दिनँ भनेको भए नआउन सक्ने अवस्था हुन्थ्यो । तर, सबैले ल्याउनुपर्छ भनेर काँग्रेसमा आएका हौं ।

केही जिल्लामा नयाँ मान्छे आउँदा कोही–कोही साथीहरुलाई यो मेरो भाग खान आयो कि भन्ने परेको होला, म नकार्न सक्दिनँ । तर, हामी काँग्रेसमा भाग खान आएका होइनौं, काँग्रेसलाई बलियो बनाउन आएका हौं भनेर हामीले प्रमाणित गर्दै जानुपर्छ ।  मान्छेमा यो यतापट्टि हो कि, उतापट्टि हो कि भन्ने हुन्छ । यो मानवीय स्वभाव पनि हो ।

१४ औं महाधिवेशनका सन्दर्भमा समीकरणको परिदृश्य देखिन थालिसकेको छ । तपाईंलाई देउवा कित्ताको भन्ने कि कित्ता क्लियर हुन बाँकी नै छ ?

होइन । कित्ता क्लियर भन्ने भन्दा पनि हामी काँग्रेस बन्न आएका हौं । नेपाली काँग्रेस नै हौँ ।

तर, महाधिवेशनमा प्यानल बनाएर जाने काँग्रेसको अभ्यासमा तपाईंको कूटनीतिक जवाफको अर्थ होला र ? कुनै न कुनै समूहसँग जोड्नु त अनिवार्य छ नि ?

म कुन समूह र कुन नेतासँग नजिक भएर महाधिवेशनमा जान्छु भन्ने कुरा समय आएपछि भन्छु ।

सभापति शेरबहादुर देउवाले तपाईंहरुलाई थप ‘स्ट्रेन्थ’ का रुपमा लिएको चर्चा छ । यो चर्चा खण्डित हुने सम्भावना कति देख्नुहुन्छ ?

कसैको केही खण्डित नै हुँदैन । सबैलाई थाहा छ । सबैले बुझेका पनि छन् । तर, अहिले त्यो र यो भन्नु अहिले अवश्यक छैन ।

एकता प्रक्रियामा राजनीतिक निर्णयका आधारमा तपाईंं काँग्रेसको सहमहामन्त्री हुनुभएको छ । अब १४ औं महाधिवेशनले तपाईंंको राजनीतिक भविष्यमा के प्रभाव राख्ने देख्नुभएको छ ?

नेपाली काँग्रेसमा आउनुअघि मेरा अगाडि दुईवटा विकल्प थिए । पदका लागि आउने भए म अधिवेशनपछि आउनुपथ्र्यो । तर, लोकतान्त्रिक छविको मान्छे अधिवेशन अगाडि नै आउँछ । किनभने, यो अधिवेशन मेरा लागि ठूलो अवसर हो ।

आफू जित्नु, हार्नु, उठ्नु, नउठ्नु आफ्नो ठाउँमा छ । तर, १४ औं महाधिवेशनले मलाई स्थापित र परिचित गराउनका लागि ठूलो मद्दत पुग्छ । महाधिवेशनपछि टाउकै फुटाए पनि मैले त्यो गर्न सक्दिनँ । किनभने, महाधिवेशनमा आउने करिब ५ हजार प्रतिनिधिसँग मेरो रहन–सहन र चिनजान सबै हुन्छ । काँग्रेसमा आएर पदभन्दा पनि स्थापित हुने मेरो मुख्य उद्देश्य हो ।

म नेपाली काँग्रेसमा आउँदा काँग्रेस सत्तामा आउँछ भन्ने कसैले सोचेको थिइन । त्यतिखेर बढो कठिन दिनहरु थिए । कम्युनिस्ट पार्टीको दबदबाले गर्दा सरकारमा छिर्नका लागि सानो प्वाल पनि थिएन । तर, त्यस्तो अवस्थामा पनि म काँग्रेसमा आएको हुँ । पाँच वर्षमा म स्थापित हुन सक्छु भन्ने विश्वासले महाधिवेशनको मुखमा काँग्रेसमा हामफालेको हुँ ।

काँग्रेसमा पदाधिकारीका आकांक्षीहरु प्रकट भइराखेको अवस्थामा तपाईंको दाबी केमा रहन्छ ?

मैले दाबी गरेर मात्र हुँदैन । म अहिले त्यतातिर गएको नै छैन । जिल्ला  अधिवेशन नसकिँदै यो हुन्छु, त्यो हुन्छु भनेर दाबी गर्नुको केही फाइदा छैन ।

आकांक्षा त प्रकट गर्न सकियो नि ?

आकांक्षा पनि प्रकट गर्ने बेला भएको छैन । किनभने, प्रकट गरेरपछि ब्याक हुने कि नहुने भन्ने कुरा आउँछ । परिस्थितिलाई नियालेर सबै साथीभाइलाई सोधेर निर्णयमा पुग्छु ।

हिजो मसँग आएका साथीहरुले पनि सहमहामन्त्रीज्यू, अब यसो गरौं भन्नुहोला । कुन हदसम्म गएर के आकांक्षा राखेर माथि जाने भन्ने कुरा हुन्छ । एउटा आकांक्षा लिएर बसौं, भोलि त्यो पूरा हुन सकेन भने मलाई ‘डिमोरलाइज्ड’ र दुःखी बनाउँछ । छलफल गरेर निष्कर्षमा पुग्दा त्यसको परिणामजस्तो भए पनि आफूलाई चित्तबुझ्दो हुन्छ । किनभने, त्यो निर्णय मेरो एक्लैको हुने छैन ।

महाधिवेशनमा राप्रपाबाट आएको पङ्क्तिलाई लिएर मात्र ‘डिल’ गर्नुहुन्छ वा  सबै नवप्रवेशीहरुको मोर्चा बनाएर कुनै एउटा समूहसँग ‘पावर सेयरिङ’ गर्ने सोचाइमा हुनुहुन्छ ?

हामी गुट बनाएर योसँग आएको त्योसँग आएको भनेर कित्ता छुट्याउने पक्षमा छैनौं । हामी समूह भएर पनि बस्ने होइन । त्यो गर्नु पनि हुँदैन । हामी बृहत परिदृश्यलाई हेरेर पार्टीलाई फाइदा हुने गरी सही निर्णयमा पुग्छौं ।

अब सरकारको कुरा गरौँ । तपाईंले सोमबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट्नुभयो । दुई महिनासम्म सरकारले पूर्णता पाउन सकेको छैन । गठबन्धनमा पनि गडबड देखिन थालेको छ । यसको निकास के हो जस्तो लाग्छ ?

जतिसक्दो चाँडो सरकारले पूर्णता पाउनुपर्छ । नेपालमा कुनै पनि संसद पाँच वर्ष चलेको छैन । नयाँ संविधान आइसकेपछि संसदले आफ्नो कार्यकाल पूरा गर्छ भन्ने अपेक्षा थियो । तर, केपी शर्मा ओलीले दुईतिहाइ हुँदा पनि संसद भंग गर्नुभयो । पूर्ण अवधि संसद चल्नुपर्छ भनेर नै काँग्रेसलाई सत्तामा पुर्याएको अवस्था हो । पूर्ण कार्यकाल संसद चलाउनुपर्छ भन्ने काँग्रेसले सन्देश दिनुपर्छ ।

तर, गठबन्धनलाई मिलाएर जान नसक्ने संकेत त दुई महिनामै देखियो । पूर्ण कार्यकाल संसद् चल्न सम्भव होला र ?

गठबन्धनको सरकारमा हरेक किसिमको परिस्थिति आउँछ । जटिलता पनि हुन्छ । हामीले चिर्दै लिएर जानुपर्छ । अहिले निराश हुने ठाउँ छैन । सरकारलाई शंकाको सुविधा दिनुपर्छ । तर, अहिलेको अवस्थाबाट बाहिर आउन जरुरी छ ।

तर, प्रधानमन्त्री देउवालाई काँग्रेसभित्रैबाट संसद् विघटन गरेर चुनावमा जानु उपयुक्त हुने नेताहरुले सुझाव दिन थालेको सुनिन्छ नि ?

व्यक्तिगतरुपमा कसैले आ–आफ्नो दृष्टिकोण राख्नुभएको होला । व्यक्तिहरुको कुरा भन्दा पनि प्रधानमन्त्रीले सर्वदलीय बैठक राखेर राय लिन सक्नुहुन्छ । संसद चल्नै नसक्ने भयो भने त्यो सोच्न सकिने विषय हो । तर, अहिले नै संसद विघटन गरेर चुनावमा जानु समस्याको समाधान होइन होला । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।