आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

एमाले विधान महाधिवेशनमा ‘भात’ को टेण्डर !

बिहानको भात निशुल्क, बेलुका आफैंले व्यवस्था गर्नुपर्ने
बुधबार, १३ असोज २०७८, ११ : २४
बुधबार, १३ असोज २०७८

दुई दिनपछि सुरु हुने नेकपा एमालेको विधान महाधिवेशनको खाद्य व्यवस्थापनका लागि टेण्डर आह्वान भएको छ । ललितपुरको गोदावरीस्थित सनराइज हलमा असोज १५ देखि १७ सम्म तीन दिन चल्ने महाधिवेशनमा सहभागी प्रतिनिधिलाई तीन दिनका लागि बिहानको खाना र दिउँसोको खाजाका लागि टेण्डर आह्वान गरिएको हो ।

एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार ५ हजार प्रतिनिधिका लागि खाना र खाजाका लागि गरिएको टेण्डर आह्वानमा १० जनाले प्रतिस्पर्धा गरेका थिए । तामाङले भने, ‘१० जनाको टेण्डर परेको थियो, त्यसमध्येबाट एउटा छनोट भएको छ, उहाँले न्यूनतम रेटमा खुवाउनुहुन्छ ।’

कार्यालय सचिव तामाङले टेण्डर पर्नेको नाम र दर रेट भने खुलाएनन् । विधान महाधिवेशन प्रचार उपसमितिमा रहेका एमाले नेता  खिमलाल भट्टराईले बुधबार बेलुकासम्म सबै तयारी सकेपछि असोज १४ गते बिहीबार पत्रकार सम्मेलन गरेर खानासम्बन्धी तयारीबारे विस्तृत जानकारी दिने बताए ।

करिव ५ हजार प्रतिनिधि सहभागी हुने सो महाधिवेशनमा आउने प्रतिनिधिहरुको आवास व्यवस्थापन भने सम्बन्धित प्रदेश कमिटीहरुले नै गर्नेछन् भने व्यवस्थापनका लागि अनेरास्ववियु, जिफन्ट र खेलकूद संघबाट २ सय स्वयंसेवक खटिनेछन् । करिव तीन हजार सिट क्षमताको सनराइज हलमा सबै नअट्ने भएपछि बाहिर समेत पाल टाँगेर व्यवस्थापन गर्ने तयारी भएको छ ।

महाधिवेशनमा तीनवटा दस्तावेज पेश हुनेछन् । जसमा राजनीतिक, सांगठनिक र विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटी र स्थायी समितिमा छलफल भैसकेका छन् । ति छलफलमा आएका सुझाव समेत समेटेर नेताहरुले दस्तावेजलाई पूर्णता दिएपछि विधान महाधिवेशनमा पेश गर्नेछन् ।

यस्तो छ तयारी :  

–उपत्यका बाहिरबाट महाधिवेशनमा सहभागी हुने आउने प्रतिनिधिलाई आवासको व्यवस्था सम्बन्धित प्रदेश कमिटीले गर्नेछन् ।

–खाद्य व्यवस्थापनका लागि कोटेसन आह्वान गरिएको छ । सबैलाई बिहानको खाना र खाजा निशुल्क उपलव्ध गराइनेछ ।

–सवारी साधन नहुने प्रतिनिधिलाई ललितपुरको सातदोबाटोबाट कार्यक्रमस्थलसम्म सुविधाजनक बसको व्यवस्था गरिनेछ ।

–व्यवस्थापनका लागि दुईसय स्वयंसेवक परिचालन हुने, स्वयंसेवकका रुपमा अखिल, जिफन्ट र खेलकुद संघका कार्यकर्ता खटिनेछन् ।

–मास्क, सेनिटाइजर अनिवार्य प्रयोग गर्नुपर्ने र कोरोना विरुद्धको खोप नलगाएको भए प्रवन्ध गरिने छ ।

–भित्ते लेखन र पोष्टर प्रयोग गरिने छैन, डिजिटल प्रविधिको प्रयोग गरिने छ ।

–महाधिवेशनमा ग्रूप डिस्कसन हुनेछन् । एउटै हलमा नअटे वरपरका पार्टी प्यालेस पनि प्रयोग गरिने छ ।

को को हुन्छन् सहभागी ?

महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी ओलीले गर्नेछन् । तीन दिनसम्म चल्ने विधान महाधिवेशनमा करीब ५ हजार प्रतिनिधिले भाग लिने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिएका छन् । विधान महाधिवेशनमा केन्द्रीय कमिटीका सबै पदाधिकारी र सदस्य सहभागी हुनेछन् । एमालेमा अहिले २११ जना केन्द्रीय सदस्य छन् ।

त्यस्तै केन्द्रीय निकायका सबै पदाधिकारी र सदस्य सहभागी हुनेछन् । केन्द्रीय विभागबाट सचिवसहित पाँच जना सहभागी हुनेछन् भने घोषित जनसंगठन केन्द्रीय पदाधिकारी र वरिष्ठ सदस्य गरी १० जना सहभागी हुनेगरी एमाले स्थायी कमिटी बैठकले विधानको व्याख्या गरेको छ ।

प्रदेश कमिटीका सम्पूर्ण सदस्यहरु विधान अधिवेशनमा सहभागी हुन पाउनेछन् । जिल्ला कमिटीका पदाधिकारीहरु मात्र भाग लिन पाउनेछन् । त्यसैगरी प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाका सांसदहरु सहभागी हुन पाउने छन् ।

त्यस्तै, एमालेको पार्टी सदस्य रहेका जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, एमाले पार्टी सदस्य रहेका पालिकाका प्रमुख उपप्रमुख र प्रवास कमिटीबाट पनि प्रतिनिधित्व हुनेछ । जिल्लाको निर्वाचन क्षेत्रबाट एक महिला र एक दलितलाई अनिवार्य गरिएको छ ।

यसरी छनोट भएका जम्मा प्रतिनिधिको १० प्रतिशत एमाले केन्द्रीय कमिटीले छानेका प्रतिनिधि समेत महाधिवेशनमा सहभागी हुनेछन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप