शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

झुलमा झेल : कोरोना नियन्त्रणका लागि भन्दै लाखौँको झुल खरिद !

बुधबार, ३० भदौ २०७८, २१ : ००
बुधबार, ३० भदौ २०७८


 

‘टाउकोको औषधि नाइटोमा’ भनेझैँ सिरहाको औरही गाउँपालिकाले कोरोना नियन्त्रणका लागि भन्दै लाखौँ रुपैयाँको झुल खरिद गरेको छ ।

गाउँपालिकाले कोभिड–१९ महामारी नियन्त्रण गर्ने रकमबाट गाउँमा झुल वितरण गरेको हो । कोभिड–१९ महामारी नियन्त्रणका लागि चाहिने सामग्रीमा झुल पर्दैन तर औरही गाउँपालिकाले ५३ लाख ६९ हजार १९५ रुपैयाँ बराबरको झुल खरिद गरेर वितरण गरेको देखाइएको छ ।

झुल खरिद कार्य प्रकोपजन्य क्रियाकलाप नभएकोले वितरणमुखी कार्यक्रम भएको महालेखा परीक्षक कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।

कोभिड–१९ महामारी नियन्त्रणका लागि गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय सिरहामा खर्च विवरण पेस गरेको थियो । सो विवरणमा साढे ५३ लाख रुपैयाँ झुल वितरण गर्ने उल्लेख रहे पनि झुल खरिद गरिएको थिएन । त्यसपछि जिल्ला प्रशासन कार्यालयले ‘कोरोना नियन्त्रणमा यो झुलको के आवश्यकता छ ? क्वारेन्टिनसम्मका लागि त ठिकै हो, गाउँका अन्यलाई पनि झुल वितरण गर्नुको कारण के हो ?’ भनेर गाउँपालिकालाई सोधेको थियो ।

जिल्ला प्रशासन कार्यालयले खरिद भइसकेको भए वितरण गर्न र खरिद गर्न बाँकी भए प्रक्रिया रद्द गर्न सुझाव दिएको थियो । गाउँपालिकाले सबै झुल खरिद भइसकेको प्रतिक्रिया दिएको थियो, जबकि त्यतिबेलासम्म झुल खरिद भएकै थिएन ।

​कोराना नियन्त्रणका लागि गाउँपालिकाले आधा करोडभन्दा बढी रकमको झुलमात्र खरिद गरेको थाहा पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिकाको कार्यालयमा छापा मारेको थियो ।

गाउँपालिकामा झुल फेला नपरेपछि आयोगका कर्मचारीले यससम्बन्धी आवश्यक फाइल लगेका छन् । पछि गाउँपालिकाले झुल खरिद गरी अलिअलि वितरण गरेको देखाइएको छ । वितरण गरेको झुलको भरपाई अहिलेसम्म गाउँपालिकामा आइसकेको छैन । २० लाख रुपैयाँभन्दा बढी रकमको खरिदमा खुला बोलपत्र आह्वान गर्नुपर्ने भए पनि गाउँपालिकाले त्यस्तो नगरी दररेट पेस गर्ने सूचनाको आधारमा झुल खरिद गरेको हो । त्यसलाई महालेखापरीक्षकको कार्यालयले अनियमितता भनेको छ ।

आपूर्तिकर्ता सत्यम जेनरल सप्लायर्सबाट ४९८.३३ रुपैयाँको दरले सुपरनेट झुल ६ हजार ५०० र नविन इन्टरप्राइजेज अर्डर सप्लायर्सबाट ३२७.७ रुपैयाँको दरले साधारण झुल ६ हजार ५०० थान गरी १३ हजार थान खरिद गरेको छ । लेखापरीक्षण हुँदासम्म दुई हजार ५४ सुपरनेट र दुई हजार ५४ साधारण झुलको मात्र भरपाई भएको छ । १३ हजारमध्ये चारहजार १०८ झुलको भरपाईमात्र भएको छ । अर्थात् चारहजार १०८ झुलमात्र वितरण भएको छ भने आठ हजार ८९२ झुलको खरिद कागजमा मात्र सीमित देखिएको छ । झुल खरिदमा ३६ लाख ७२ हजार ५२९ रुपैयाँ अनियमितता भएको छ ।

झुल खरिदमा भएको अनियमितताको बारेमा अध्ययन गर्न आयोगले लगेको फाइलबारे अझैसम्म केही खबर नआएको गाउँपालिकाका एकजना कर्मचारीले बताए ।  

२०७७ मा कोभिड नियन्त्रणका लागि औरही गाउँपालिकाले दुई करोड २० लाख ८० हजार ९२९ रुपैयाँ खर्च गरेको देखाइएको छ । कोभिड–१९ को सङ्क्रमणको उपचारमा संलग्न जनशक्तिको जोखिम भत्ता आदेश २०७७ मा राजनीतिक पदाधिकारी र सुरक्षाकर्मीलाई जोखिम भत्ता प्रदान गर्ने व्यवस्था छैन तर औरही गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, पाँचवटै वडाका वडाध्यक्ष, ६ जना कार्यपालिका सदस्य, १६ वडा सदस्यहरूले १० लाख १७ हजार ११० रुपैयाँ भत्ता बुझेका छन् ।

महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनमा यो रकम उनीहरूबाट असुल गर्न सुझाव दिइएको छ । अध्यक्ष सिद्धार्थ यादव, उपाध्यक्ष सीताकुमारी यादवले ८३–८३ दिनको प्रतिदिन १६ सयको दरले एकलाख ३२ हजार ८०० गरी भत्ता बुझेका छन् । पाँचवटै वडाका अध्यक्ष ८३ दिनको एक–एक हजारको दरले चार लाख २५ हजार रुपैयाँ भत्ता बुझेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप