शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना महामारीको नाममा धनुषाका स्थानीय तहबाट २२ करोड खर्च

सोमबार, २८ भदौ २०७८, २० : ५५
सोमबार, २८ भदौ २०७८

जनकपुर । कोरोना महामारीको क्रममा धनुषाका स्थानीय तहले करोडौँ रुपैयाँ खर्च गरेका छन् । महालेखापरीक्षकको कार्यालयको ५८ औँ प्रतिवेदनअनुसार कोरोनाकालमा धनुषाका स्थानीय तहहरुले २२ करोड रुपैयाँभन्दा बढी रकम खर्च गरेको पाइएको हो ।

कोरोना संक्रमण फैलिन थालेपछि सरकारले देशव्यापी रुपमा २०७६ साल चैत ११ देखि लकडाउन घोषणा गरेको थियो । लकडाउन भएको केही साता नबित्दै गरिब, विपन्न परिवार र मजदुर वर्ग सबैभन्दा बढी प्रभावित भए । दैनिक ज्यालादारीमा काम गर्नेहरु लकडाउनमा घरमै बन्द भएपछि उनीहरुलाई खानाको समेत समस्या भएको थियो ।

धनुषामा एक उपमहानगरपालिका, ११ नगरपालिका र ६ वटा गाउँपालिका सहित १८ वटा स्थानीय तह छन् । ती स्थानीय तहहरुले २२ करोड ४ लाख ७६ हजार ३५५ रुपैयाँ खर्च गरेको महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।

धनुषाका स्थानीय तहहरुले आर्थिक वर्ष ०७६÷०७७ को चैतदेखि असारसम्म क्वारेन्टिन खर्च, मास्क, सेनिटाइजर, खाना लागयतका शीर्षकमा करोडौँ रकम खर्च गरेको देखाइएको छ ।

कोरोना महामारीमा सबैभन्दा बढी जनकपुरधाम उपमहानगरपालिकाले ३ करोड ५ लाख ७८ हजार ९३२ रुपैयाँ खर्च गरेको छ । जनकपुरधाम उपमहानगरपालिकाले राहत वितरणको नाममा १ करोड ४६ लाख १६ हजार ४५० रुपैयाँ खर्चेको छ भने क्वारेन्टिन÷होल्डिङ्ग सेन्टर बापत ६८ लाख ९१ हजार ५५९ रुपैयाँ खर्च गरेको सो प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै गणेशमान चारनाथ नगरपालिकाले २ करोड ३२ लाख ७२ हजार ६६४ रुपैयाँ कोरोनाको नाममा खर्च गरेको पाइएको छ । नगराईन नगरपालिकाले १ करोड ७९ लाख ६७ हजार १९२ रुपैयाँ, सबैला नगरपालिकाले १ करोड ५७ लाख १५ हजार रुपैयाँ, मिथिला विहारी नगरपालिकाले १ करोड ४० लाख २९ हजार १३६ रुपैयाँ, लक्ष्मीनिया गाउँपालिकाले १ करोड ३९ लाख ९१ हजार २०२ रुपैयाँ कोरोना महामारीको नाममा खर्च गरेको सो प्रतिवेदनमा जनाइएको छ ।

हंसपुर नगरपालिकाले आर्थिक वर्ष ०७६÷०७७ मा १ करोड २३ लाख ६९ हजार ५२९ रुपैयाँ कोरोना महामारी रोकथाम तथा नियन्त्रणका नाममा खर्च गरेको छ । सो नगरपालिकाले १६ लाख रुपैयाँभन्दा बढीको मास्क खरिद गरेको प्रतिवेदनमा उल्लेख छ । सो नगरपालिकाले वैदेही कन्स्ट्रक्सन एण्ड सप्लायर्ससँग कपडाको मास्क खरिद गर्दा ३ लाख ७२ हजार ९ सय रुपैयाँ, ऋद्धिसिद्धि ट्रेडर्सबाट कपडाको मास्क खरिद गर्दा ४ लाख ९७ हजार २ सय रुपैयाँ, कबिर जेनरल अर्डर सप्लायर्ससँग ८५ हजार २५८ रुपैयाँ, आदित्य इन्टरनेशनलसँग के. एन. ९५ मास्क खरिद बापत १ लाख ५४ हजार ५६० रुपैयाँ, वैदेही कन्स्ट्रक्सन एण्ड सप्लायर्ससँग पिपिई सेट, मास्क सेनिटाइजर खरिद गर्दा ३ लाख ४१ हजार ७ सय २० रुपैयाँ भुक्तानी गरेको सो प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै कमला नगरपालिकाले आर्थिक वर्ष ०७६÷०७७ मा १ करोड २३ लाख १५ हजार ७९५ रुपैयाँ कोरोना महामारीमा खर्चेको छ ।

क्षिरेश्वरनाथ नगरपालिकाले १ करोड १५ लाख ५५५ रुपैयाँ, विदेह नगरपालिकाले १ करोड १२ लाख ५२ हजार १३ रुपैयाँ, शहिदनगर नगरपालिकाले १ करोड ३ लाख ७८ हजार २३ रुपैयाँ, जनकनन्दिनी गाउँपालिकाले ९६ लाख ७६ हजार ७८९ रुपैयाँ कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा खर्च गरेको जनाइएको छ । यसैगरी धनुषाधाम नगरपालिकाले ९६ लाख १ हजार ४६२ रुपैयाँ, मुखियापट्टी मुसहरनियाँ गाउँपालिकाले ९४ लाख १९ हजार ७ सय २ रुपैयाँ, धनौजी गाउँपालिकाले ५६ लाख ५० हजार ६०० रुपैयाँ, औरही गाउँपालिकाले ५३ लाख ९५ हजार २५४ रुपैयाँ, मिथिला नगरपालिकाले ५२ लाख ६७ हजार ११ रुपैयाँ र बटेश्वर गाउँपालिकाले कोरोना महामारीमा २० लाख ९५ हजार ४९६ रुपैयाँ खर्चेेको महालेखापरीक्षकको कार्यालयले जारी गरेको ५८ औँ प्रतिवेदनमा जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप