ad
सङ्खुवासभा हत्याकाण्ड

६ जनाको हत्या गरेको चिर्पट अगेनामा हाल्ने लोकबहादुरको भित्रीकथा

अनुसन्धानमा संलग्न प्रहरी भन्छन्– ...अनि बल्ल अपराध कबुल गर्‍यो’

person explore access_timeभदौ २८, २०७८ chat_bubble_outline1

केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको पिल्लर वानका डीएसपी हुन् रुगमबहादुर कुँवर । ठूला अपराधका घटनामा अनुसन्धान गर्ने सीआईबीको यो पिल्लरका डीएसपी कुँवरलाई भदौ २२ गते बिहानै ‘वान सर’ (सीआईबीका डीआईजी धिरजप्रताप सिंह) को फोन आयो– तिमी सङ्खुवासभा जानुपर्ने भयो, तयार हुनु ।


त्यसपछि कुँवर आफ्ना दुईजना सहकर्मीहरु इन्स्पेक्टर मणिराम थापा र सई सूर्यभक्त श्रेष्ठलाई साथमा लिएर सङ्खुवासभातर्फ हानिए ।



भदौ २१ गते सङ्खुवासभाको मादी नगरपालिका–१, उम्लिङमा एकै परिवारका ६ जनाको हत्या भएको घटना संवेदनशील भएको र घटनामा कुनै आपराधिक गिरोहको संलग्नता हुनसक्ने भन्दै प्रहरी महानिरीक्षककै जोडबलमा जिल्ला प्रहरी कार्यालय, प्रदेश नम्बर १ प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी टोली परिचालन गरेर अनुसन्धान अगाडि बढाएको थियो । सोही टोलीका एक सदस्य थिए– सीआईबीका डीएसपी कुँवर ।



भदौ २२ गते बिहानै कुँवरको टोलीले काठमाडौँबाट तुम्लिङटारका लागि उडान भर्यो । अनि तुम्लिङटारबाट चैनपुर इलाका प्रहरी कार्यालय हुँदै साँझ साढे ७ बजे बल्ल घटनास्थल पुग्यो, जतिबेला त्यहाँबाट शवहरू उठिसकेका थिए ।





पहिलो दिन काठमाडौँबाट गएको सीआईबीको टोलीले केही काम गरेन । त्यहाँ अस्थायी क्याम्प बनाएर बसेका प्रहरीसँग टोलीले घटनास्थलको विवरण माग गर्‍यो र वस्तुस्थिति बुझ्ने काम गर्‍यो ।



भदौ २३ गते बिहानै सीआईबी, प्रदेश नम्बर १ प्रहरी र जिल्ला प्रहरी कार्यालयको टोली पनि घटनास्थल हेर्न पुगे । तेजबहादुरको शव घरभन्दा करिब १०७ दशमलव ८७ मिटरको दुरीमा भेटिएको तथ्य पाइयो । तेजबहादुरको शव रहेको स्थानबाट चिच्याउँदा अरूले पनि सुन्ने भएकाले तेजबहादुरले गुहार मागेको र तेजबहादुरकी श्रीमती कमला र बुहारी रञ्जना पनि घटनास्थलतर्फ आएको प्रहरीले अनुमान गर्‍यो ।

तर, अपराधीले अपराधको पोल खुल्ने डरले तेजबहादुरकी श्रीमती कमला, बुहारी रञ्जनालाई पनि त्यहीँ चिर्पट प्रहार गरी मारेको प्रहरीले निष्कर्ष निकाल्यो । उनीहरूको शव घरभन्दा ७८ दशमलव ४८ मिटरको दुरीमा थियो ।

उनीहरूले कराएको सुनेपछि दुईजना बालबालिका विपिन र गोमा पनि घटना भएतर्फ गएको प्रहरीको विश्लेषण छ । तर, अपराधीले उनीहरूलाई देखेपछि लखेट्दै पहिले विपिन र पछि गोमाको हत्या गरे । विपिनको शव घरभन्दा ४० दशमलव २७ मिटर र गोमाको शव घरभन्दा ३६ दशमलव ९६ मिटर टाढा भेटिएको थियो ।

अब घरमा ८७ वर्षका बुद्धमान कार्की र ८४ वर्षीय पार्वती कार्की मात्रै बाँकी थिए । कुँडो पकाउँदै गरेकी पार्वती कार्की आँखा पनि देख्ने र कान पनि सुन्ने भएका कारण घटनाबारे उनले पनि थाहा पाएको हुनसक्ने ठानेर अपराधीले उनलाई पनि प्रहार गरी मारेको अनुसन्धान टोलीले निष्कर्ष निकाल्यो ।

८७ वर्षीय बुद्धमानलाई छाड्नुको कारणचाहिँ उनी कान पनि नसुन्ने र आँखा पनि त्यति नदेख्ने भएका कारण उनी बचेको प्रहरीको निष्कर्ष थियो । घटना चिने जानेकै व्यक्तिले गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष थियो ।

सुरुमा लुटपाटको उद्देश्य वा आर्थिक कारणबाट घटना भएको हो कि भनी प्रहरीले त्यसतर्फबाट अनुसन्धानको सुरुवात गर्‍यो । तर, घटनापछि महिलाहरूको शरीरमा भएको सुन नलुटिएको, घरमा भएको सुन र नगद पनि यथा अवस्थामै रहेका कारण लुटपाटको उद्देश्यबाट घटना नभएको प्रहरीले निष्कर्ष निकाल्यो ।

तेजबहादुरसँग रिसिइबी, झैझगडा, साँध–सिमाना विवाद, लेनदेन, झापामा किन्न लागिएको जग्गा आदिको सम्बन्ध केलाउँदै प्रहरी अनुसन्धानमा अगाडि बढ्यो । तर, बाहिरबाट मान्छे आएर हत्या गर्नसक्ने आधार र आएकोबारे केही जानकारी नभएपछि प्रहरीले स्थानीय चार व्यक्तिलाई शङ्कितको सूचीमा राखेर अनुसन्धान गर्न थाल्यो ।

चारजना शङ्कितमध्ये एक लेनदेनसँग सम्बन्धित व्यक्ति थिए, अर्का सिमाना जोडिएका र बाँस काटेको निहुँमा तेजबहादुरसँग झगडा गरेका व्यक्ति थिए । त्यसै गरी अर्का व्यक्ति स्थानीय थिए, जो तेजबहादुरसँग झगडा गरी तेजबहादुरलाई मार्ने धम्की दिएका व्यक्ति थिए । र, चौथो व्यक्तिचाहिँ तेजबहादुरकै भतिजा पर्ने लोकबहादुर कार्की थिए ।

लोकबहादुर यसकारण पनि प्रहरीको शङ्कितमा सबैभन्दा अगाडि थिए कि तेजबहादुरलाई पहिलो पटक प्रहार भएको स्थानभन्दा ठीक २५ मिटरको दुरीमा लोकबहादुर कार्कीको घर थियो । तेजबहादुर हिँडेको बाटोबाट लोकबहादुरको मात्रै घर जान सकिन्थ्यो र उक्त बाटो नियमित बाटो पनि थिएन । तेजबहादुरको घरभन्दा ८० मिटरको दुरीमा खोल्सी थियो र त्यहाँ कराउँदा पनि अरूले सुन्ने सम्भावना ज्यादै कम थियो । त्यसकारण उक्त अपराधमा लोकबहादुरको संलग्नता हुन सक्ने सम्भावना अन्यभन्दा बढी थियो ।

सोही आधारमा चारजनालाई नै शङ्कितमा राख्दै गरिएको अनुसन्धानमा अन्यको संलग्नता बिस्तारै हट्दै गयो र शङ्कितको सूचीमा लोकबहादुर कार्की एक्लै रहे ।

लोकबहादुरको ‘कन्फिडेन्स’ ले प्रहरी नै चकित

प्रहरीले भदौ २४ गतेदेखि प्रत्येक दिन लोकबहादुरसँग कुराकानी गर्न थाल्यो । तर, लोकबहादुर कार्कीले आफ्नो संलग्नता अस्वीकार गरिरहे । प्रहरीसँग कुराकानी गर्दा लोकबहादुर कत्ति पनि आत्तिएका थिएनन् । उनी बढो कन्फिडेन्सका साथ घटनाबारे प्रहरीलाई जानकारी गराइरहेका थिए । अझ घटना लुटपाटकै उद्देश्यबाट कसैले गराएको उनी प्रहरीलाई बताइरहेका थिए । को हुन सक्छ भन्ने सम्बन्धमा भने उनले अनभिज्ञता जनाइरहेका थिए ।

शङ्का बढाउने त्यो ‘क्लु’

तेजबहादुरको शव देख्ने पहिलो व्यक्ति लोकबहादुर नै थिए । लोकबहादुरले नै पहिलो पटक तेजबहादुरको शव देखेर नातामा भाइ पर्ने कवि कार्कीलाई बोलाएका थिए । तेजबहादुरलाई पहिलो पटक प्रहार भएको स्थानबाटै चिच्याएर उनले भाइलाई बोलाएर बडाबा (तेजबहादुर) को लास तल रहेको बताए ।

तर, लोकबहादुरले जुन स्थानबाट कवि कार्कीलाई बोलाएर लास रहेको भनेका थिए, उक्त स्थानबाट तेजबहादुर लडिरहेको स्थानमा देख्न सकिने अवस्था थिएन । अलि तन्किएर हेरे पनि घोप्टो परेको अवस्थामा देखिएको व्यक्तिको टाउकोमात्रै देखिन्थ्यो तर, त्यो शव नै हो भन्ने यकिन हुन सक्ने अवस्था थिएन ।

दोस्रो, घोप्टो परेको अवस्थामा रहेको शव तेजबहादुरकै हो भनेर चिन्न सक्ने अवस्था पनि थिएन । तर, भाइलाई बडाबाको शव भनेर उनले भनिसकेका थिए ।

जब प्रहरीले घटनाको सूक्ष्म अनुसन्धान गर्न थाल्यो र सोधपुछ गर्न थाल्यो । तब कवि कार्कीले पहिलो पटक दाइ लोकबहादुरले आफूलाई भनेको र आफू आएको बताए । कुन स्थानबाट कसरी भनेका थिए भनेर प्रहरीले सिन रिक्रिएट गर्दा जुन स्थानबाट लोकबहादुरले चिच्याएर भनेका थिए, त्यो स्थानबाट शव देख्न सक्ने अवस्था पनि थिएन । दोस्रो, घोप्टो परेको अवस्थामा रहेको शव तेजबहादुरकै हो भन्ने अवस्था पनि थिएन ।

जुन स्थानबाट लोकबहादुरले पहिलो पटक शव देखेको भनेका थिए, त्यही स्थानमा रगतको टाटा थियो भने त्यहाँबाट तल बाटोतिर मडारिएको अवस्थामा बुट्यानहरु थिए, जुन स्थान लोकबहादुरको घरभन्दा २५ मिटरको दुरीमा मात्रै थियो ।

यही विषयमा लोकबहादुरसँग प्रहरीले सोधपुछ गर्दा लोकबहादुरले पहिले नै आफूले हेरेर आएको र ज्याकेट देखेका कारण चिनेको बताएका थिए । तर, भाइलाई भनेको कुरा र प्रहरीसमक्ष भनेको कुरा ‘म्याचिङ’ नभएपछि प्रहरीलाई उनीमाथि अझै बढी शङ्का भयो ।

निर्दोषलाई दुःख दिइयो कि भनेर प्रहरी नै चिन्तित

प्रहरीले भदौ २३ गतेदेखि नै लोकबहादुरसँग प्रारम्भिक सोधपुछ सुरु गरिसकेको थियो । दिनभर सामान्य सोधपुछ गर्ने प्रहरीले रातको समयमा आफ्नो अनुसन्धानलाई तीव्रता दियो । यद्यपि लोकबहादुर नै हत्यारा हो भन्ने न प्रहरीसँग प्रमाण थियो, न लोकबहादुरले आफ्नो अपराध कबुल नै गरेका थिए । बरु प्रहरीसँग उनी बेलाबेलामा रिसाएर न आफूहरू सुत्नुहुन्छ न मलाई सुत्न दिनुहुन्छ भन्दै कराउने गर्थे ।

कहिलेकाहीँ त प्रहरीलाई पनि निर्दोषलाई अनावश्यक दुःख दिइयो कि भन्ने लाग्ने गर्दथ्यो । तर, शङ्कितको सूचीमा अब लोकबहादुर बाहेक अरू कोही थिएनन् । घुमाइफिराई लोकबहादुर नै शङ्कितको सूचीमा पर्थे । सामान्यतः रातको ९ बजेबाट सुरु हुने सोधपुछ बिहानको १ बजेसम्म चल्ने गर्थ्यो ।

घर खानतलासी गर्दा भेटिएको हाफ पाइन्टले शङ्का बढाएपछि ...

जब प्रहरीले भदौ २५ गते दिउँसो लोकबहादुरको घर खानतलासी गर्‍यो, घटनासँग सम्बन्धित कुनै प्रमाण फेला पार्न सकेन । तर, घरमा रहेको पुरानो बाकसमा एउटा हाफ पाइन्ट पायो । पुरानो हाफ पाइन्ट, तर चिसो अवस्थामा भेटेपछि प्रहरीले ओल्टाई पल्टाई हेर्‍यो । हाफ पाइन्टमा रगतको टाटाजस्तो केही देखियो । त्यसपछि प्रहरीले उक्त हाफ पाइन्ट बरामद गर्‍यो र यो कसको हो भनेर सोध्यो । तर, लोकबहादुरले उक्त हाफ पाइन्ट कसको हो थाहा नभएको जवाफ दिए ।

प्रहरीले त्यही हाफ पाइन्ट लोकबहादुरको भाइलाई पनि देखाए । भाइले उक्त हाफ पाइन्ट दाइको भएको जवाफ दिए । तर फेरि उक्त हाफ पाइन्टको सम्बन्धमा लोकबहादुर छुट्टै राखेर सोधियो । लोक बहादुरले अझै पनि उक्त हाफ पाइन्ट आफ्नो नभएको जवाफ दिए । त्यसपछि लोकबहादुर र उनका भाइलाई सँगै राखेर प्रहरीले हाफ पाइन्टबारे सोधे । भाइले फेरि पनि उक्त हाफ पाइन्ट लोकबहादुरकै भएको जवाफ दिए । त्यसपछि बल्ल लोकबहादुरले उक्त हाफ पाइन्ट आफ्नै भएको तर, २ वर्षदेखि नलगाएको जवाफ दिए ।

लोकबहादुरले झूट बोलेको प्रमाणित भएपछि लोक बहादुरप्रति झनै शङ्का बढ्न थाल्यो र प्रहरीले अझै बढी सोधपुछ गर्न थाल्यो । तर, पनि लोकबहादुरले आफ्नो कुनै संलग्नता नभएको जिकिर गरिरहे ।

प्रमाण ल्याउन चुनौती दिएपछि प्रहरी उत्साहित

सोधपुछकै क्रममा प्रहरीले ‘हत्यामा तिमीबाहेक अरू कोही संलग्न हुनै सक्दैन, हत्या किन र कसरी गर्‍यौ भन’ भनेपछि लोकबहादुरले घटनामा आफ्नो संलग्नता अस्वीकार गर्दै प्रमाण देखाउन चुनौती दिए ।

लोकबहादुरले एकाएक प्रमाणको कुरा गरेपछि प्रहरी पनि अचम्ममा पर्‍यो । यो केटाले किन प्रमाणको कुरा गर्‍यो भनेर प्रहरीले उसको ‘प्रमाण’ शब्दको विश्लेषण गर्न थाल्यो । प्रमाण छैन भन्ने कुरा लोकबहादुरलाई कसरी थाहा भयो भन्दै घटनामा ऊ नै संलग्न रहेको तर प्रमाण नष्ट गरेका कारण प्रमाण देखाउन चुनौती दिएको निष्कर्षमा प्रहरी पुग्यो । त्यसपछि प्रहरी घटना प्रयोग भएको ‘हतियार’को खोजीमा लाग्यो ।

जब नासाबाट भिडियो मगाएको कुरा गरियो ....

घटनामा प्राविधिक विश्लेषण कमजोर रहेपछि प्रहरीले ‘ह्युमन इण्टिलिजेन्स’ को प्रयोगलाई बढावा दियो । त्यसपछि प्रहरीले त्यस गाउँ, घटनास्थलको वरिपरि र त्यहाँ रहेका सबै घर देखिने गरी ‘स्याटेलाइट पिक्चर’ निकाल्यो । अनि त्यही पिक्चरमा घटनास्थल, मृतकहरू रहेका स्थान, घरदेखिको दूरी, कुन घरबाट कुन घरमा पुग्न कति दूरी लगायतका डाटा इन्ट्री गर्‍यो । स्याटेलाइटको पिक्चरमा लोकबहादुरको घर स्पष्ट देखियो र पहिलो पटक तेजबहादुरमाथि आक्रमण भएको स्थान पनि स्पष्टरुपमा चिनियो ।

त्यसपछि प्रहरीले त्यही तस्बिरलाई देखाएर लोकबहादुरलाई भन्यो कि घटनामा संलग्न तिमी नै हौ, यो घटना भएको समयको फोटो हो र हामीले नासाबाट घटना भएको दिनदेखि बेलुकासम्मको सबै भिडियो मगाएका छौँ । त्यो भिडियो आएपछि तिम्रो संलग्नता पुष्टि हुन्छ ।

त्यसपछि भने लोकबहादुरको अनुहारमा केही परिवर्तन आयो । अनि लोकबहादुरले भने कि ‘भिडियो देखाए म स्विकार्छु कि मैले नै यो सबै गरेको हो, नत्र तपाइँसँग प्रमाण के छ ?’

फेरि पनि लोकबहादुरले प्रमाणकै कुरा गर्नु र भिडियो देखाए मान्छु भनेपछि प्रहरी अपराधमा संलग्न व्यक्ति ऊ नै हो भन्ने निश्चित गर्‍यो ।

अन्तिम दिनको ५ घण्टाको त्यो समय ...

घटनामा लोकबहादुर बाहेक अन्यको संलग्नता हुन नसक्ने निष्कर्ष निकाले पनि प्रहरीसँग प्रमाण नहुँदा ह्युमन इण्टिलिजेन्स बाहेक अन्य केही उपाय नै थिएन । त्यसपछि भदौ २५ गते राति ९ बजे नै लोकबहादुरलाई प्रहरी बसेको कवि कार्कीको घरमा ल्याइयो ।

जति कुरा गरे पनि उनले अपराध स्वीकार गर्न चाहेनन् । त्यसपछि प्रहरीले इमोसनल मोटिभेसन सुरु गरे । अपराध कबुल गरेमा सजाय कम हुन सक्ने र अन्यले दुःख नपाउने कुरा प्रहरीले बताए ।

अपराधी जसरी पनि पक्राउ पर्ने र पछि पत्ता लाग्दा धेरै सजाय हुने कुरा बताएपछि भदौ २५ गतेको राति (२६ गते बिहान) पौने २ बजे बल्ल लोकबहादुरले घटनामा आफ्नो संलग्नता स्वीकार गरे । व्यक्तिगत रिसिइबीका कारण आफूले बडाबा (तेजबहादुर)को हत्या गरेको र उक्त हत्यालाई देख्ने र थाहा पाउने सबैको हत्या गरेको उनले स्वीकार गरे ।

आरोपीकै बयान अनुसार यसरी भयो हत्या

आफूलाई सधैँ हेप्ने, गाली गर्ने र सापटी लिएको रकमको ब्याज लिएको आदि कुराले लोकबहादुर आफ्ना काका तेजबहादुरप्रति रुष्ट थिए । हत्याको अघिल्लो रात पनि लोकबहादुरको मनमा अनेकौँ कुराहरू खेलेका थिए, जसका कारण उनी सुत्न सकेका थिएनन् ।

अनुसन्धान अधिकृतसमक्ष आरोपीले दिएको बयानअनुसार लोकबहादुर कार्कीले नातामा काका पर्ने तेजबहादुर कार्की बिहानै घरबाट निस्किएको आफ्नो शौचालयबाट देखे । जब बिहानै तेजबहादुर घरबाट निस्किएर आफ्नै घरतर्फ आउँदै गरेको उनले देखे, त्यसपछि लोकबहादुर घर नजिकै रहेको दाउराको चाङबाट एउटा चिर्पट निकालेर अगाडि बढे ।

लोकबहादुरको घरभन्दा २० मिटर जति अगाडि आइपुगेपछि तेजबहादुरले लोकबहादुरलाई ‘बिहानै चिर्पट बोकेर कहाँ जाँदैछस्’ भनेर सोधे । तर, लोकबहादुर केही जवाफ नदिई तेजबहादुरकै घरतर्फ लागे । जब तेजबहादुर अगाडि बढे लोकबहादुरले पछाडिबाट तेजबहादुरमाथि चिर्पटले आक्रमण गरे ।

तेजबहादुरले ‘लोकेले मार्‍यो, गुहार ...’ भनेर चिच्याएको सुनेपछि तेजबहादुरकी श्रीमती कमला र बुहारी रञ्जना पनि घटनास्थलतर्फ दौडेर आए ।

लोकबहादुरले कमला र रञ्जनालाई देखेपछि पोल खुल्ने डरले पहिले कमलामाथि पनि त्यही चिर्पटले टाउकोमा प्रहार गरे । कमला लडे लगत्तै तेजबहादुरकी बुहारी रञ्जना बेहोस भएर ढलिन् । लोकबहादुरले बेहोसी अवस्थामै रञ्जनामाथि पनि प्रहार गरे । तीन जनामाथि आक्रमण गरेको दुई बालबालिकाले पनि देखे । त्यसपछि उनीहरूलाई पनि आक्रमण गर्न जाँदा बालबालिका भागे । उनीहरूलाई लखेट्दै लखेट्दै खरबारीमा टाउकोमै चिर्पटले हानेर हत्या गरियो ।

घरमा बुढी हजुरआमा कान सुन्ने र आँखा देख्ने हुनुहुन्थ्यो । गुहारको चिच्च्याहट सुनेको र आफूलाई देखेको हुन सक्ने डर लोकबहादुरलाई भयो । त्यसपछि उनले  गाईवस्तुलाई दिन कुँडो (खोले) पकाइरहेकी बुढी हजुरआमाको कपालमा समातेर घरको भित्तामा टाउको ठोक्काइदिए र हत्या गरे । वरिपरि नदेखेको र कान पनि नसुन्ने कारण वृद्ध हजुरबुवा बौद्धमानलाई भने उनले केही गरेनन् ।

त्यसपछि सरासर उनी आफ्नो घरतर्फ गए र हत्यामा प्रयोग भएको चिर्पट अगेनोमा हाले ।

आरोपीको बयान, प्रहरीले पक्रन्छ भन्ने थाहा थियो

आरोपी लोकबहादुर कार्कीले आफ्नो अपराध कबुल गरेपछि प्रहरीले सोधपुछ गर्दा आफू कुनै दिन पक्राउ पर्छु भन्ने थाहा भएको बताएका थिए । प्रहरीसमक्ष बयान दिने क्रममा लोकबहादुरले घटनालगत्तै चिर्पट बोकेर प्रहरीसमक्ष आत्मसमर्पण गर्न जान मन लागेको पनि बयान दिएका छन् । तर, नजिकै प्रहरी चौकी नभएका कारण नगएको तर कुनै दिन प्रहरीले पत्ता लगाएर पक्राउ गर्छ भन्ने लागेको पनि बयान दिएका छन् ।

घटनापछि कत्ति पनि पश्चात्ताप भएन ? भन्ने प्रहरीको प्रश्नमा आरोपीले गल्ती गरेको भन्ने महसुस भएको तर पश्चात्ताप नभएको बताएका छन् । पहिलो आक्रमण गरेपछि आफू झनै आक्रामक बनेको र देख्ने जति सबैलाई मार्ने सोच आएको पनि आरोपीले प्रहरीलाई बयान दिएका छन् । तेजबहादुरको हत्यापछि अब आफूलाई गाली गर्ने कोही छैन भनेर शान्ति मिलेको पनि उनले प्रहरीसमक्ष बताएका छन् ।

के घटना आवेश केन्द्रित नै हो त ?

केन्द्रीय अनुसन्धान ब्युरोका डीएसपी तथा घटनाको अनुसन्धान गरेका प्रहरी अधिकृत रुगम कुँवरका अनुसार घटना योजनामा आधारित नभएर तत्कालीन आवेशमा केन्द्रित रहेको बताउँछन् । उनले भने, ‘घटनाको प्रकृति हेर्दा घटना पूर्वयोजनामा आधारित रहेको देखिँदैन । अनि परिवारका सबैलाई घृणा गर्नुपर्ने कारण पनि देखिँदैन । तेजबहादुरप्रति रिस रहे पनि अन्यप्रति त्यस्तो कुनै रिसराग नरहेको तर तेजबहादुरमाथि आक्रमण गरेपछि पोल खुल्ने डरले प्रमाण लुकाउन सबैको हत्या गरेको देखिन्छ ।’

डीएसपी कुँवरका अनुसार आरोपी लोकबहादुर कार्की दुईवटा कारणले विक्षिप्त थिए । पहिलोपटक वैदेशिक रोजगारीमा जाँदा गाउँकै एक युवतीसँग उनी मोबाइलमा कुराकानी गर्ने गर्दथे । मलेसियाबाटै उनी ती युवतीसँग कुराकानी गर्ने र एकतर्फी प्रेममा परेका थिए । तर, युवतीले अर्कै पुरुषसँग विवाह गरेपछि उनी विक्षिप्त बनेका थिए ।

त्यसैगरी लोकबहादुरलाई सबैभन्दा माया गर्ने हजुरबुवाको मृत्युले पनि उनलाई पीडा भएको थियो । मलेसिया जान पैसा दिने पनि हजुरबुवा नै भएका कारण हजुरबुवाप्रति लोकबहादुरको माया धेरै थियो । तर, माया गर्ने हजुरबुवाको मृत्युपछि उनी अझै दुखित बनेका थिए ।

त्यसबाहेक केही वर्ष अघिमात्रै भएको आमाको मृत्यु, जो तेजबहादुरकै घरमा गएका बेला मुर्छित भएकी थिइन् र पछि उपचारका क्रममा उनको मृत्यु भयो भएको थियो । त्यसले गर्दा घरमा लागेको ऋण, वैदेशिक रोजगारीमा जाँदा लागेको ऋण, पैसा कमाउन नसकेको चिन्ता र अनेकखालको हीनताबोधबाट उनी ग्रसित थिए । जसका कारण यो गम्भीर अपराधसम्म गर्न पुगेको प्रहरीको अनुमान छ ।

यद्यपि घटनापछि पनि उनमा देखिएको कन्फिडेन्स र प्रमाण नष्ट गर्न उनले गरेका प्रयास आदिलाई हेर्दा उनी विक्षिप्त थिए भन्न सक्ने अवस्था भने नरहेको डीएसपी कुँवरको भनाइ छ ।

सबै प्रहरीको भूमिका बराबर

घटनाको अनुसन्धानका लागि फिल्डमा खटिएका सबै प्रहरी र स्थानीय जनप्रतिनिधिको भूमिका बराबर र महत्त्वपूर्ण रहेको डीएसपी कुँवरको भनाइ छ । हत्याको घटनामा फिल्डमै बसेर समन्वय गर्ने, अनुसन्धानको दायराका सम्बन्धमा सुझाव दिने प्रदेश १ प्रहरी कार्यालयका प्रमुख डीआईजी अरुणकुमार बीसीको समन्वयकै कारण आरोपी चाँडै पक्राउ परेको कुँवरको भनाइ छ ।

त्यसैगरी अनुसन्धानमा खटिएका एसपी भीम दाहालको मार्गनिर्देशन तथा सहयोग, जिल्लाका डीएसपी र अन्य अनुसन्धान अधिकृतहरूको सामूहिक प्रयासबाट आरोपी चाँडै पक्राउ गर्न सम्भव भएको उनले बताए । उनले भने, ‘यहाँ कसको भूमिका कति छ भनेर सोध्नुभयो भने त्यो न्यायपूर्ण हुँदैन, सबै प्रहरीको भूमिका उत्तिकै महत्त्वपूर्ण हुन्छ । कसको भूमिका कति हो भन्दा पनि हामी सबै नेपाल प्रहरीकै अङ्ग हौँ  । त्यसकारण नेपाल प्रहरीको भूमिका महत्त्वपूर्ण रह्यो भनेर बुझ्नुपर्छ ।

उनले थपे, ‘यो सफलता डीआईजी साब, एसपी साब, म, डीएसपी साबहरुको मात्रै होइन, यो त सिङ्गो प्रहरी सङ्गठनकै सफलता हो र यो प्रहरीको जिम्मेवारी पनि हो । हामीले अरू केही गरेका होइनौँ, जिम्मेवारी मात्रै पूरा गरेका हौँ ।’

कमेन्ट

  1. Sept. 14, 2021, 11:37 a.m. Omnath
    अपराध अनुसारको कारबाही हुनुपर्छ ।
  2.  0 Reply

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।