शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हामी एक्लैले विकास गर्न सक्दैनौँ, विदेशी लगानी भित्र्याउनुपर्छ

बुधबार, २३ भदौ २०७८, १३ : ४४
बुधबार, २३ भदौ २०७८

नेपालमा आर्थिक समृद्धि निम्ति ठूलाठूला लगानीकर्तालाई भित्र्याउने संस्थागत प्रयास र आधार तयार भएको छ । लगानीको दृष्टिकोणले १० वर्ष युग परिवर्तन गर्ने समय पनि हो । केही आधार तयार भएका छन् ।

तर, अबको १० वर्षमा हाम्रा अपेक्षा पूरा गर्ने स्तरको लगानी व्यवस्थापन हुनुपर्छ । केही वर्षअघि सार्वजनिक निजी साझेदारी लगानी ऐन नेपाल सरकारले तयार गरेको छ । यो ऐनले लगानी बोर्ड नेपाललाई जिम्मेवारी र सहजता प्रदान गरेको छ।

हामी के भन्छौँ होइन, के गर्छौं भन्ने महत्त्वपूर्ण हो । लगानी गर्न सहज वातावरण कसरी बनाउँछौँ ? लगानीकर्ताले उठाएका सवाललाई सम्बोधन गर्छौँ कि गर्दैनौँ ? सरलीकृत गर्न ऐन नियम बनेका छन् । व्यवहारमा पनि सहजीकरण गर्न आवश्यक छ । त्यसमा पर्याप्त ध्यान जानुपर्छ, जानेछ ।

नेपाली नागरिकमा समृद्धि आकांक्षा छ र लगानीकर्तामा लगानी गर्न आकर्षण बढेको छ । पर्याप्त लगानी भई नसकेकाले समीक्षासहित लगानीको वातावरण बनाउनुपर्छ ।

लगानी बोर्ड नेपाल देशमा लगानी भित्र्याउने एउटा ढोका हो । यो ढोकाबाट लगानीकर्ता प्रवेश गर्दैगर्दा हामीले विश्वास दिलाउन सक्नुपर्छ, आश्वस्त पार्न सक्नुपर्छ । त्यसमा हाम्रो प्रयास जारी रहनेछ । स्रोत र साधनको प्रचुरता हुँदाहुँदै जनताको विकास आकाङ्क्षासँग तालमेल मिलाउन धेरै मेहनत गर्नुपर्छ । यो मेहनत गर्न लगानी बोर्ड र सम्बद्ध सबैको ध्यान जानुपर्छ ।

​लगानी प्रवाह प्रवर्द्धन गर्न सरकारले सार्वजनिक–निजी–साझेदारी लगानी ऐन, वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन, औद्योगिक उद्यम ऐनजस्ता लगानीमैत्री नीति तथा कानुनहरू निर्माण गरेको छ । अब त्यसको कार्यान्वयनमा सरलता र छिटोपनको आवश्यकता छ ।

लगानी पैसामात्र होइन, समय पनि हो । समयको लगानी हामी कसरी गर्छौं, महत्त्वपूर्ण कुुरा यहीँनेर छ । समय लगानी ठीक ढंगले भयो भने पूँजी लगानीले भनेजस्तो प्रतिफल दिने हो ।

हामीले पीपीपी नीति भनेका छौँ । अब यसलाई ‘फोर पी’ भन्नुपर्छ । किनकी लगानीमा जनता (पिपुल) लाई पनि जोड्नुपर्छ । आयोजनामा स्थानीय जनतालाई जोड्दा अझ सरल ढंगले हामीले योजना पूरा गर्नसक्छौँ भन्ने अनुभवहरूले बताएका छन् ।

नेपालमा लगानी उद्देश्य गरिबी र व्यापारघाटा अन्त्य गर्ने तथा देशलाई समृद्धस्तरमा पुु-याउनु हो । यसका लागि हामीसँग त्यति धेरै समय छैन । छोटो समयमा हाम्रो निर्विकल्प विकल्प लगानी भित्र्याउनु हो । पूर्वाधार विकासमा आफूसँग भएको मात्र पूँजी लगानी गर्दा धेरै ढिला हुन्छ । त्यसकारण हामी प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्र्याउन चाहन्छौँ । देशको निजी क्षेत्रलाई पनि उत्साहका साथ यो क्षेत्रमा लगानी निम्ति अनुरोध गरिरहेका छौँ । उहाँहरू पनि लागिराख्नुुभएको छ ।

सरकार, हाम्रो आफ्नो निजी क्षेत्र र वैदेशिक लगानीको एउटा राम्रो सम्बन्ध र आपसी विश्वासका आधारमा मात्रै हामी परिणाम हासिल गर्न सक्छौँ ।

लगानी बोर्डले लगानी भित्र्याउने कार्यलाई अझै सरल र सुलभ बनाउनुपर्छ । लगानी गर्न आउनेहरूलाई झन्झट होइन, योजना हातमै दिने, अलि पल्तिरै गएर दिन सक्नुपर्छ ।

हामीले धेरै समय लिएर योजना दिँदा त्यसमा लगानी निकै दोब्बर–चौबर हुने गरेको छ । त्यसकारण हामीले समयमै लगानीकर्ताहरुलाई हाम्रा परियोजनाहरू दिन सक्नुपर्छ । त्यो खालको तयारी हाम्रो हुनुपर्छ । लगानी बोर्डको नेतृत्वपंक्तिले यसलाई गम्भीरतापूर्वक लिनेछ भन्ने मलाई विश्वास छ ।

नेपालमा अहिले पर्याप्त स्रोत उपलब्ध छ । मुख्य पूँजीका रूपमा युवाबहुल जनशक्ति नै छ । साथै, अलौकिक खालका प्राकृतिक सुन्दरताहरूलाई पनि मुख्य पूँजीकै रूपमा लिनुपर्छ । यो पूँजीलाई गतिशील, प्रभावकारी र परिणाममुखी बनाउनुपर्छ । बढीभन्दा बढी लाभ लिएर जनतालाई सामाजिक न्याय र समृद्धि दिलाउने गरी यी स्रोत परिचालन गर्न हामीलाई विदेशी लगानी पनि आवश्यक छ ।

अर्थमन्त्रीको हैसियतमा म लगानीका क्षेत्रमा रहेका कमीकमजोरीलाई सच्याएर अझ सरल रूपमा लगानीकर्ताहरुलाई लगानी गर्ने वातावरण बनाउनेछु । नेपालका विभिन्न स्रोत र क्षेत्रहरूमा लगानी गर्न उत्साहका साथ विदेशी लगानी आउने वातावरण बनाउने प्रतिज्ञा पनि गर्दछु ।

(अर्थमन्त्री शर्माद्वारा लगानी बोर्ड नेपालको १० औँ वार्षिकोत्सव समारोहमा प्रस्तुत मन्तव्य)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

जनार्दन शर्मा ‘प्रभाकर’
जनार्दन शर्मा ‘प्रभाकर’
लेखकबाट थप