म को हुँ ?

आफूभित्रको ‘म’लाई चिनौँ

person explore access_timeभदौ १०, २०७८ chat_bubble_outline0

साधारण बोलचालको भाषामा म भन्नेवित्तिकै शरीर, मन, पद, प्रतिष्ठा, कुल, वर्ण, जाति आदिलाई जनाउँछ । धनसम्पत्ति आदिले पनि व्यक्तिलाई जनाइरहेको हुन्छ । अहङ्कारलाई पनि हामी म ठान्छौँ । किनकि कुरा गर्दा म हुँ भन्छौँ । कसैले आफ्नो प्रशंसा गर्याे अनि हितमा कुरा गर्याे भने म खुसी भएँ, प्रसन्न भएँ भन्छौँ  र अरूलाई आफ्नो हितैषी सोच्छौँ तर कसैले आफ्नो विरोधमा कुरा गर्याे भने म दुःखी भएँ, पीडित भएँ भन्छौँ र ऊ मेरो दुस्मन हो भनेर अर्काे दर्जा दिन पछि पर्दैनौँ । हामीले नामलाई पनि म ठान्यौँ । मैले जसलाई म ठानेको छु ती सबै परिवर्तनशील छन्, आज छन्, भोलि रहँदैनन् । तर यो परिवर्तनभित्र पनि एउटा अपरिवर्तनशील तत्त्व छ; जसले मलाई चलाइरहेको छ र पूरै अस्तित्वलाई पनि चलाइरहेको छ । त्यही अपरिवर्तन तत्त्वको खोजी नै म को खोजी हो ।

सानो छँदा हामीले बच्चालाई ‘म’ भन्यौँ । विस्तारै रूप परिवर्तन हुँदै गयो । त्यही परिवर्तित रूपलाई पनि म भन्यौँ । मेरो पद प्रतिष्ठा, मेरो जाति, मेरो सम्पत्ति आदिलाई निरन्तर म भन्दै गयौँ । त्यही नक्कली परिवर्तनशील मलाई आफ्नो ठान्यौँ । ५ ज्ञानेन्द्रीयहरूले बाहिरी नाशवान् जगतबाट जुन सूचनाहरू सङ्कलन गर्दै जान्छन् त्यहि नाशवानलाई हामीले आफ्नो ठान्यौँ । तर त्यो नाशवान्भित्र कहिल्यै ननासिने अपरिवर्तनशील तत्त्व छ । जसले शरीर, मन, विचार, भाव आदिलाई निरन्तर चलाइरहेको छ, शक्ति प्रदान गरिरहेको छ । हरेक परिस्थिति ज्ञात छ, त्यो तत्त्वलाई । त्यही थाहा पाउने तत्त्वका कारण परिवारका सदस्यहरूले गरेको कार्य, अरू व्यक्तिहरूको कार्य, कीटपतङ्ग, पशुपन्छी, वनस्पति, तारा, नक्षत्र, सूर्य, चन्द्र आदि सम्पूर्ण कुरा थाहा छ । मभित्र बसेर मेरो अङ्ग प्रत्यङ्ग, नशनाडी रक्तसञ्चार र स्वासप्रस्वास मुटुको धड्कन पाचनक्रिया आदिलाई निरन्तर चलाउँदै आकार प्रकार दिने त्यो कहिल्यै परिवर्तन नहुने तत्त्वलाई नै म भनिन्छ । बोध, होस्, चेतना, आत्मा, साक्षी आदि नामले पनि यस ‘म’लाई बुझाउन सकिन्छ । यो म अनादी कालदेखि जस्ताको तस्तै छ, सर्वव्यापी छ, सदा सर्वदा यस्तै रहन्छ । जीवनमा कति परिवर्तन आए, शरीरले कति रूप लियो, कति नाता बने कति छुटे, यो ब्रह्माण्डमा कति परिवर्तन आए सब ज्ञात छ । सदासर्वदा शान्त, निर्मल, निस्कपट, निद्र्वन्द्व, निलेप, आनन्दित प्रेमले भरिएको सुख सागर छ । त्यसैले जीवनमा खोजी गर्न लायक त्यही एक ‘म’ मात्र छ ।

कसरी निर्माण गरेको होला त्यो चेतनाले यो ब्रह्माण्ड ? कुनै पनि वस्तु एकअर्कासँग मेल खाँदैनन् । प्रत्येक कीटपतङ्ग अलग छन्, पशुपन्छी अलग छन्, वनस्पतिका पातसमेत अलग छन् । हामीले खाएको खाना पेटमा पुगेपछि जठराग्निले विभिन्न धातुहरूको निर्माण गर्दैगर्दै लगेर अन्तिममा आभामण्डलको निर्माण गर्छ । शरीरलाई अनावश्यक हुने चीजहरू नवद्वारको माध्यमद्वारा निष्कासन हुन्छ । शरीरभित्र आफ्नै किसिमको सुरक्षा प्रणालीको निर्माण छ, जसले हामीलाई विभिन्न व्याधिहरूबाट बचाउँछ । हामी यही सक्कली ‘म’लाई नखोजेर बाहिर भड्किन्छौँ । फलस्वरूप अनेकौँ इच्छा, चाहना, कामना वासनाहरू निरन्तर मनमा भर्दै जान्छौँ । हामीभित्र विजातीय तत्त्वहरू काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य आदि निरन्तर बढ्दै जान्छन् र रोग, शोक, तनाव, चिन्ता, अशान्ति, अनिन्द्रा आदि जस्ता समस्या देखा पर्दछन् । मन पनि विस्तारै चञ्चलबाट बाध्यात्मक र विक्षिप्तताको अवस्थामा पुग्न जान्छ । हामीले सक्कली ‘म’ अर्थात् आफ्नो स्वकेन्द्रमा स्थित हुन निरन्तर होशको साधना गर्नुपर्छ ताकि आफूभित्र स्वसंवाद चल्न सकोस् । निरन्तर आफूभित्र स्वसंवादको माध्यमद्वारा स्वास्थ, प्रेम, करुणा, दया, क्षमा, सेवा आदिका विचारहरू विकास हामी गर्न सक्छौँ । हाम्रो सजगता बढ्न थाल्छ । सजातीय गुणहरूको आगमनको साथमा हाम्रो चेतनाको निरन्तर वृद्धि हुँदै जान्छ । हामी विराट बन्छौँ । सबै कुरा स्वीकार गर्न सक्ने धन्यवाद भावले भरिएपछि हामी परमात्माको क्षेत्रमा प्रवेश गर्छाैं । त्यो विराट मभित्र स्थित बन्न सकेको खण्डमा जीवन धन्य बन्ने छ ।

परिवर्तित संसारबाट आउने बेहोसीको क्षणिक सुख, खुसी, आनन्दलाई चिनेर आफ्नो मूल घरमा फर्किने स्वर्णिम अवसर अब हामी समक्ष आएको छ । हामी माझमा आफ्नो स्वकेन्द्रमा अर्थात् त्यो परम तत्त्व परमात्मासँग साक्षात्कार गरिसक्नु भएका सद्गुरुदेवद्वय हुनुहुन्छ । प्रेम, करुणाले भरिपूर्ण अमृतवाणीहरूका माध्यमद्वारा यो बाँझो मरुभूमि रूपी हृदयलाई सिँचन गर्दै हराभरा बनाउनको निमित्त रात दिन कार्य गरिरहनु भएको छ । अहिलेसम्म यस ब्रह्माण्डमा प्रयोगमा नआएका ध्यानविधिहरूलाई निरन्तर प्रयोगमा ल्याउँदै मानव जीवन अझ परिष्कृत बनाउन आफ्नो अमूल्य समय दिइरहनुभएको छ । हामीले निरन्तर हामीभित्र पात्रताको निर्माण गर्नु जरुरी छ । आजभन्दा भोलिको जीवन उन्नत र परिष्कृत बनाउनु छ । खुसी प्रत्येक दिन दुई गुणा रात चौगुनाको दरले बढ्नु पर्छ । जस्तो मन परमात्माले हामीलाई दिएर पठाउनु भएको छ त्योभन्दा उन्नत र परिष्कृत बनाउनुछ । यसको निमित्त सद्गुरुदेवको सान्निध्य चाहिन्छ; जुन हाम्रो सौभाग्य हो, हामीले प्राप्त गरिरहेका छौँ । त्यसैले जीवन विज्ञान केन्द्रबाट सञ्चालन हुने अनलाइन कक्षाहरूमा सहभागी बन्नु जरुरी छ ।

अन्त्यमा आफ्नो शान्ति आनन्द प्रेम सुख आदिको परम विश्राम स्थल ममा स्थित हुने सुअवसर सबैलाई प्राप्त होस् । गुरुप्रसादबाट सबैको जीवन दीक्षित बनोस् । मङ्गलमय बनोस् ।          

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।