सुदूरपश्चिममा भीम रावललाई धक्का, प्रभावशाली नेता कसरी भए निष्प्रभावी ?

नेकपा एमालेभित्र सुदूरपश्चिम प्रदेशमा आफ्नो प्रभाव जमाएका नेता भीम रावल अन्ततः निष्प्रभावी देखिएका छन् । मंगलबार सुदूरपश्चिम प्रदेशसभाका १० जना एमाले सांसदले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गराएसँगै लामो समयदेखि सुदूरपश्चिमको राजनीतिमा प्रभाव जमाएका रावल निष्प्रभावी ठहरिएका हुन् ।
प्रदेशसभामा एमालेका २५ सांसदमध्ये १० जना औपचारिक रुपमै एकीकृत समाजवादतिर लागेका छन् भने ३ जनाको कागजात नमिलेका कारण आज आयोगमा आफ्नो नाम सनाखत गराएका छैनन् । भौतिक पूर्वाधार विकास मन्त्री दीर्घराज सोडारी, सांसदद्वय अर्चना गहतराज र तारा लामा तामाङले दस्तावेज नपुगेका कारण सनाखत गराउन नपाएका हुन् । उनीहरुले बुधबार सनाखत गराउने जनाइएको छ ।
। जबकि, सुदूरपश्चिम प्रदेशमा एमालेका पक्षमा भीम रावलजस्ता पुराना कमान्डरमात्र नभई माओवादी पृष्ठभूमिबाट एमालेमा प्रवेश गरेका लेखराज भट्टजस्ता राष्ट्रिय राजनीतिमा प्रभावशाली भूमिका निर्वाह गर्ने नेता समेत छन् ।
यसका बाबजुद, कमाण्डरविहीन अवस्थामै सुदूरपश्चिम प्रदेशमा माधवकुमार नेपालका पक्षमा १३ सांसद उभिएका हुन् । २२ गतेसम्म नेकपा समाजवादीको पक्षमा यो संख्या अझै बढ्न सक्ने नेताहरुले दावी गरेका छन् ।
यसअघि माधव नेपाल पक्षका नेता भनेर चिनिएका उपाध्यक्ष समेत रहेका रावल माधव नेपालले अलग पार्टी गठन गर्दा ओलीतिरै लागेका थिए ।
सर्वोच्च अदालतको गत फागुन २३ को फैसलाले नेकपा विभाजन भएपछि रावल माधव नेपालको पक्षमा लाग्दा एमाले अध्यक्ष ओलीले माओवादीबाट प्रवेश गरेका लेखराज भट्टलाई एमालेको सुदुरपश्चिम इन्चार्ज बनाएका थिए । तर, एमालेमा आएको विभाजनमा रावल ओलीतिर लागेपछि ओलीले पुनः भदौ १३ पछि रावल नै इन्चार्ज रहेको सर्कुलर जारी गरेका थिए ।
राष्ट्रियताका सवालमा खरो र तर्कपूर्ण टिप्पणी गर्ने रावल ओलीले संविधानविपरीत गरेको संसद विघटनलाई प्रतिगामी भन्दै आएका थिए । तर, पछिल्लो पटक उनै ओलीसँग जोडिन पुगेपछि विगतमा रावललाई साथ दिदै आएका सुदूरपश्चिमका नेताहरुले समेत उनको साथ छोडेका छन् । यसबारे रातोपाटीले रावलसँग सम्पर्क गर्दा अन्तिम परिणाम आएपछि मात्रै प्रतिक्रिया दिने बताए ।
‘अहिले केही प्रतिक्रिया छैन, अन्तिम परिणाम आओस् अनि बोलौँला’, नेता रावलको भनाइ छ ।
यता नेकपा एकीकृत समाजवादी पार्टीको पक्षमा हस्ताक्षर गरेकी प्रदेश सांसद दुर्गाकुमारी कामीले सुदूरपश्चिम प्रदेशका सांसदहरुले व्यक्ति नरोजेर विचार रोजेको प्रतिक्रिया दिइन् । उनले केपी ओलीको विचार समूह प्रतिगामी विचार समुह र माधव नेपाल नेतृत्वको समुह अग्रगमनको पक्षमा रहेकाले प्रदेशका धेरै सांसद नेकपा समाजवादीमा लागेको बताइन् ।
‘राजनीतिमा व्यक्ति प्रधान हुदैन, विचार प्रधान हुन्छ । हाम्रो प्रदेशका माननीयहरु विचारको पक्षमा लाग्नुभएको छ, अग्रगमनको बिचार बोक्ने समुहमा लाग्नुभएको छ यो राम्रो संकेत हो’, प्रदेश सदस्य कामीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल क्रान्तिकारीका अवकाश प्राप्त विद्यार्थी नेताहरूले पाए जिम्मेवारी (विवरणसहित)
-
नेपाल र म्यानमारबिचको खेल हेर्न रंगशालामा भिड (तस्बिरहरू)
-
मन्त्रीका स्वकीय सचिवको सुसाइड नोट, ‘गिरोहले अफवाह फैलाए, मलाई बदनाम गराए’
-
एप स्टोरबाट एप्पलले हटायो १ लाख ३५ हजार एप
-
रम्तेल स्मृति राष्ट्रिय पुरस्कार आमा सरिमायालाई
-
परराष्ट्रमन्त्री राणाद्वारा स्पेन र स्लोभाकियाका विदेशमन्त्रीसँग भेटवार्ता