शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिममा एमालेका १० सांसदले गराए नेकपा समाजवादीको पक्षमा सनाखत

प्रभावशाली भीम रावल कसरी भए निष्प्रभावी ?
मङ्गलबार, १५ भदौ २०७८, १७ : ४६
मङ्गलबार, १५ भदौ २०७८

 सुदूरपश्चिम प्रदेशसभाका २५ एमाले सांसदमध्ये १० जनाले मंगलबार माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल हुनका लागि सनाखत गराएका छन् ।

मंगलबार निर्वाचन आयोगको सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीमा पुगेर उनीहरुले एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल हुनका लागि सनाखत गराएका हुन् । एमाले छाडेर उक्त पार्टीमा सामेल हुनका लागि १३ सांसद निर्वाचन आयोगको कार्यालयमा पुगे पनि तीन जना भने आवश्यक दस्तावेज नभएका कारण सनाखतबिना नै फर्किएका छन् ।

भौतिक पूर्वाधार विकास मन्त्री दीर्घराज सोडारी, सांसदद्वय अर्चना गहतराज र तारा लामा तामाङले दस्तावेज नपुगेका कारण सनाखत गराउन नपाएका हुन् । उनीहरुले बुधबार सनाखत गराउने जनाइएको छ ।

सनाखत गराउने १० सांसदमा पूर्णा जोशी, लालबहादुर खड्का, बलबहादुर सोडारी, अमरबहादुर साउद, चुनकुमारी चौधरी, मना साउद, कुलवीर चौधरी, सुशीला बुढाथोकी, दुर्गा कामी र माया भट्ट छन् ।

राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार निर्वाचन आयोगले भदौ २२ सम्म सनाखतका लागि समय दिएको छ । 

सुदूरपश्चिममा भीम रावललाई धक्का

एमालेभित्र सुदूरपश्चिम प्रदेशमा आफ्नो प्रभाव जमाएका नेता भीम रावल अन्ततः निष्प्रभावी देखिएका छन् ।

मंगलबार सुदूरपश्चिम प्रदेशसभाका १० जना एमाले सांसदले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गराएसँगै लामो समयदेखि सुदूरपश्चिमको राजनीतिमा प्रभाव जमाएका रावल निष्प्रभावी ठहरिएका हुन् ।

जबकि, सुदूरपश्चिम प्रदेशमा एमालेका पक्षमा भीम रावलजस्ता पुराना कमाण्डरमात्र नभई माओवादी पृष्ठभूमिबाट एमालेमा प्रवेश गरेका लेखराज भट्टजस्ता राष्ट्रिय राजनीतिमा प्रभावशाली भूमिका निर्वाह गर्ने नेता समेत छन् ।

यसका बाबजुद, कमाण्डरविहीन अवस्थामै सुदूरपश्चिम प्रदेशमा माधवकुमार नेपालका पक्षमा १३ सांसद उभिएका हुन् । २२ गतेसम्म नेकपा समाजवादीको पक्षमा यो संख्या अझै बढ्न सक्ने नेताहरुले दावी गरेका छन् ।

यसअघि माधव नेपाल पक्षका नेता भनेर चिनिएका उपाध्यक्ष समेत रहेका रावल माधव नेपालले अलग पार्टी गठन गर्दा ओलीतिरै लागेका थिए ।

सर्वोच्च अदालतको गत फागुन २३ को फैसलाले नेकपा विभाजन भएपछि रावल माधव नेपालको पक्षमा लाग्दा एमाले अध्यक्ष ओलीले माओवादीबाट प्रवेश गरेका लेखराज भट्टलाई एमालेको सुदुरपश्चिम इन्चार्ज बनाएका थिए । तर, एमालेमा आएको विभाजनमा रावल ओलीतिर लागेपछि ओलीले पुनः भदौ १३ पछि रावल नै इन्चार्ज रहेको सर्कुलर जारी गरेका थिए ।

राष्ट्रियताका सवालमा खरो र तर्कपूर्ण टिप्पणी गर्ने रावल ओलीले संविधानविपरीत गरेको संसद विघटनलाई प्रतिगामी भन्दै आएका थिए । तर, पछिल्लो पटक उनै ओलीसँग जोडिन पुगेपछि विगतमा रावललाई साथ दिदै आएका सुदूरपश्चिमका नेताहरुले समेत उनको साथ छोडेका छन् । यसबारे रातोपाटीले रावलसँग सम्पर्क गर्दा अन्तिम परिणाम आएपछि मात्रै प्रतिक्रिया दिने बताए ।

‘अहिले केही प्रतिक्रिया छैन, अन्तिम परिणाम आओस् अनि बोलौँला’, नेता रावलको भनाइ छ ।

यता नेकपा एकीकृत समाजवादी पार्टीको पक्षमा हस्ताक्षर गरेकी प्रदेश सांसद दुर्गाकुमारी कामीले सुदूरपश्चिम प्रदेशका सांसदहरुले व्यक्ति नरोजेर विचार रोजेको प्रतिक्रिया दिइन् । उनले केपी ओलीको विचार समूह प्रतिगामी विचार समुह र माधव नेपाल नेतृत्वको समुह अग्रगमनको पक्षमा रहेकाले प्रदेशका धेरै सांसद नेकपा समाजवादीमा लागेको बताइन् ।

‘राजनीतिमा व्यक्ति प्रधान हुदैन, विचार प्रधान हुन्छ । हाम्रो प्रदेशका माननीयहरु विचारको पक्षमा लाग्नुभएको छ, अग्रगमनको बिचार बोक्ने समुहमा लाग्नुभएको छ यो राम्रो संकेत हो’, प्रदेश सदस्य कामीको भनाइ छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप