बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश २ : पार्टी विभाजनपछि एमालेको तुलनामा नेकपा एकीकृत समाजवादी पार्टी बलियो

पूर्वमाओवादीको भरमा साख जोगाउने एमालेको प्रयास
मङ्गलबार, १५ भदौ २०७८, १३ : ५४
मङ्गलबार, १५ भदौ २०७८

नेकपा एमाले विभाजन भएसँगै प्रदेश २ मा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले आफ्नो बलियो पकड बनाएको छ । दल विभाजनपछि एमालेको तुलनामा नेकपा एकीकृत समाजवादीले प्रदेशसभामा बलियो उपस्थिति बनाउने देखिएको छ ।

राजनीतिक दलसम्बन्धी अध्यादेश अनुसार दल विभाजनपछि नयाँ दलमा सामेल हुन चाहने प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिले भदौ २२ गतेसम्ममा निर्वाचन आयोगको कार्यालयमा आफ्नो सनाखत गराइसक्नुपर्ने छ । त्यसैले भदौ २२ अघि प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिबारे लेखाजोखा गर्न कठिन नै देखिन्छ । यद्यपि प्रदेश २ मा एमालेका सांसदहरु प्रस्ट दुई कित्तामा विभाजित भइसकेका छन् । यसका आधारमा पनि एमालेको तुलनामा नेकपा एकीकृत समाजवादी पार्टीको अवस्था बलियो देखिएको हो ।

नेकपा एकीकृत समाजवादीले प्रदेश २ का ८ वटै जिल्लामा आफ्नो अवस्था बलियो रहने दाबी गरेको छ । प्रदेश २ प्रदेशसभामा एमालेका २१ जना सांसदमध्ये १३ जना नेकपा एकीकृत समाजवादी पार्टीको पक्षमा खुलिसकेका छन् । यस आधारमा प्रदेशसभामा एमालेसँग अब ८ जना सांसदमात्र रहने देखिन्छ ।

एमालेबाट निर्वाचित प्रदेशसभा सदस्यमध्ये अशोककुमार यादव, गोविन्दबहादुर न्यौपाने, डिल्लीप्रसाद उप्रेती, नागेन्द्र राय यादव, प्रमोदकुमार यादव, मदनसेन श्रीवास्तव, मञ्जु यादव, रवीन्द्र बैठा, बेची लुंगेली, शत्रुधन महतो, सीता गुरुङ, सुन्दरबहादुर विश्वकर्मा र हसिमा खातुन नेकपा एकीकृत समाजवादीमा खुलेका छन् । सत्यनारायण मण्डल, अनिताकुमारी यादव, किशोरी साह कमल, जगतारेन देवी सुडिन, मनोजकुमार सिंह, लगनलाल चौधरी, शारदादेवी थापा र त्रिलोकी प्रसाद भने एमालेका पक्षमा खुलेका छन् ।

प्रदेश २ बाट एमालेका ३१ जना केन्द्रीय सदस्यमध्ये १६ जना एमालेकै पक्षमा देखिएका छन् भने १५ जना नेकपा एकीकृत समाजवादीका पक्षमा खुलेका छन् ।

एमालेको प्रदेश कमिटीमा नेकपा एकीकृत समाजवादी नै हावी देखिन्छ ।  एमालेको १०० सदस्यीय प्रदेश कमिटीमा ६० जना माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा खुलेका छन् भने ४० जना एमालेमा छन् ।

प्रदेश २ को ८ जिल्लामध्ये ६ वटा जिल्लामा एमालेको तुलनामा नेकपा एकीकृत समाजवादी पार्टी बलियो अवस्थामा देखिन्छ । प्रदेश २ का ५ वटा जिल्लामा माधवकुमार नेपाल पक्षले नै जिल्ला कमिटीको नेतृत्व गरिरहेको छ ।

नेकपा एकीकृत समाजवादीले प्रदेश निर्वाचन आयोगमा प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिको सनाखत कार्य सम्पन्न गरेलगत्तै प्रदेश सरकारमा सहभागी हुने जनाइसकेको छ । सो पार्टीका नेता शत्रुधन महतोले भने, ‘हामी छिटै प्रदेश सरकारमा सहभागी हुन्छौँ । भोलि वा पर्सिसम्म हामी जनप्रतिनिधिहरुको सनाखत गराइसक्छौं ।’

तर नेकपा एमालेका स्थायी समिति सदस्य सत्यनारायण मण्डलले एमाले विभाजनले प्रदेश २ को संसदीय दल अनुसार एमाले केही कमजोरजस्तो देखिए पनि खासै असर नपर्ने बताएका छन् ।

उनले प्रदेशसभामा माधवकुमार नेपालको पक्षमा पार्टीका बहुसंख्यक सदस्य प्रवेश गर्ने अवस्था देखिए पनि तिनले सांगठनिक रुपमा पार्टीलाई त्यति धेरै क्षति नहुने बताए । उनले भने, ‘उहाँहरुमध्ये धेरैजसो समानुपातिक निर्वाचन प्रणालीमार्फत आउनु भएको हो, त्यसैले एमाले कमजोर भइसक्यो भनेर हामीले बुझ्न हुँदैन ।’

पूर्वमाओवादीको भरमा साख जोगाउने एमालेको प्रयास

पार्टी विभाजनपछि ठुलो धक्का लागेको प्रदेश २ मा एमालेले पूर्वमाओवादी नेताहरुको भरमा साख जोगाउने प्रयास थालेको छ । तत्कालीन नेकपा खारेज भएपछि नेकपा माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका नेताहरुको भरमा एमालेले प्रदेश २ मा आफ्नो साख जोगाउने प्रयास थालेको छ । एमालेको प्रदेश अध्यक्ष ज्वाला साह पूर्वमाओवादी नेतृ हुन् ।

माधवकुमार नेपाल पक्षले यसअघि विभिन्न जिल्लामा समानान्तर कमिटी बनाउन थालेपछि एमालेले प्रदेशका विभिन्न जिल्लामा माओवादी केन्द्र छाडेर आएकाहरुलाई जिम्मेवारी दिएको छ । प्रदेश २ मा एमालेको साख जोगाउनका लागि पूर्व माओवादी नेता प्रभु साहसमेत खटिएका छन् । उनी पनि तत्कालीन नेकपा खारेज भएसँगै माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका हुन् ।

प्रदेश २ मा एमालेका पुराना नेता–कार्यकर्ताहरु भने माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा लागेका छन् । दल विभाजन अघि नै माधव नेपाल पक्षले प्रदेशको ८ वटै जिल्लामा समानान्तर जिल्ला कमिटी निर्माण गरेको थियो । तीमध्ये ५ वटा जिल्लाको अध्यक्ष तथा पदाधिकारीसहित बहुमत सदस्य माधव नेपाल पक्षमा छन् भने ३ वटा जिल्लामा अध्यक्ष बाहेकका पदाधिकारीदेखि सदस्यहरु आफ्नो पक्षमा खुलेर लागेको माधव नेपाल पक्षधर नेता शत्रुधन महतोले दाबी गरे ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप