शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

एमालेका अंग अंगमा हाम्रा पसिना छिपेका छन्, तर रुपान्तरण गर्न सकेनौँ

‘झिल्काबाट डढेलो सिर्जना हुन्छ, क्रान्तिको विकास त्यसरी नै हुन्छ’
सोमबार, १४ भदौ २०७८, १८ : १४
सोमबार, १४ भदौ २०७८


आज मैले दिएको वक्तव्य ‘धन्यवाद वक्तव्य’ हो । मेरो ‘कमिटमेन्ट’ हो । मेरो जीवन नाफाको जीवन हो यो । बोनसको जीवन हो यो । म ७१ वर्ष त यसै पार गरिसकेँ । अब म आफ्नो सास रहुन्जेल यो देशको निम्ति, यो राष्ट्रको निम्ति, यो राष्ट्रको राष्ट्रियताका निम्ति र कम्युनिस्ट आन्दोलनको विकास, विस्तार, क्रान्तिकारीकरण र मार्क्सवादी, लेनिनवादी पार्टीको निर्माण, साँचो अर्थमा समाजवाद निर्माण गर्ने प्रतिवद्धता भएको पार्टी निर्माण गर्ने काममा मेरो समय खर्चिने छु ।

नेपालमा अझै दिगो शान्ति स्थापना भइसकेको छैन । त्यो दिगो शान्ति स्थापना गर्ने र समाजवादको बाटोमा जाने कुराका निम्ति मेरो सम्पूर्ण जीवन समर्पित हुने छ ।

म ७० वर्ष पुगिसकेको हुनाले मैले अब कुनै कार्यकारी पोस्टको दाबी गर्ने विचार गरेको छैन । तर, पनि पार्टीले मलाई के दिन्छ, के गर भन्छ, त्यसका लागि मैले ठाउँचाहिँ राखेको छु । तर, आफ्नो तर्फबाट भने मलाई कार्यकारी पोस्ट माग गर्ने कुनै नैतिक अधिकार छैन ।

किनभने, म नवौं राष्ट्रिय महाधिवेशनमा अध्यक्षका हैसियतले जुन विधान निर्माण गरियो, त्यो विधानमा एउटा मापदण्ड सर्वसम्मतिले पास गरिएको थियो, ७० वर्षको मापदण्ड । त्यो कुरा पास गर्ने मुख्य नेता मै हो । त्यसैले त्यसमा दृढतापूर्वक अडिएर जानुपर्छ भन्ने कुरा म आफ्नो निम्ति माग गर्छु । सबै अन्य नेताहरुलाई पनि त्यो कुरालाई ध्यान राख्नुस् भनेर आग्रह गर्न चाहन्छु ।

कम्युनिस्ट आन्दोलन फुट र विभाजनमा जानै सक्दैन । अहिले केपी ओलीको पार्टी भनेको त दक्षिणपन्थी अवसरवाद, गुटवाद, अहंकारवाद र व्यक्तिवादको प्रतीक पनि हो । त्यसैले त्यसका विरुद्ध हामीले विद्रोह गर्नुपरेको हो । विद्रोह फुट होइन, विद्रोह विनाश होइन, विद्रोह भनेको त एउटा अग्रगतिका निम्ति झिल्का हो । एकैचोटि डँडेलो सिर्जना हुँदैन । झिल्काबाट डँडेलो सिर्जना हुन्छ ।

तपाई हामीलाई थाहा छ, झापा संघर्ष एउटा विद्रोह हो । त्यो विद्रोहलाई सुरुमै ठुलो दमन गरियो, धेरै साथीको हत्या गरियो । रामनाथ दाहाल, नेत्र घिमिरे, राधाकृष्ण मैनाली वास्तवमा त्यसका मुख्य नेता हुन् । मोहनचन्द्र अधिकारी ती साथीहरुले त्यो विद्रोहको सुरुवात गर्नुभयो । कयौं साथीहरुको हत्या भयो । तर, त्यो झिल्कोको हत्या कसैले गर्न सकेन, त्यो झिल्कोले डँडेलोको रुप लियो ।

ठीक त्यसरी नै अहिले जुन विद्रोह भएको छ, तपाईले यसो हेर्दा थोरै मान्छेको पो हो कि भन्ने लाग्न पनि सक्छ । थोरै मान्छे नै हुन्छन्  । सबैभन्दा पहिला एकमा नै आउँछ गुणन । त्यसपछि त्यो सय हुन्छ, हजारौं हुन्छ, लाखौं हुन्छ । क्रान्तिको विकास त्यसरी नै हुन्छ ।

गुणात्मकरुपमा नयाँ इकाइ निर्माण भयो भने त्यही इकाइले पुराना आन्दोलनका सम्पूर्ण कुरालाई रुपान्तरण गर्दै जान्छ । कहिलेकाहीँ त्यो रुपान्तरण यति छिटोछिटो हुन्छ कि दुईचार महिना, एक वर्षमा आमूल परिवर्तन हुन सक्छ । त्यसैले हामी जुन नयाँ यात्रामा लाग्दैछौं, यो नयाँ यात्रालाई सफलीभूत बनाउन एउटा नयाँ स्पिरिट, नयाँ इनर्जी, नयाँ चिन्तन, नयाँ दृष्टिकोणको जरुरत छ । नयाँ भावनाका साथ हामी अगाडि बढ्नुपर्छ, तबमात्र हामी नयाँ कार्यदिशा, नयाँ नीति र नयाँ सिद्धान्तको विकास गर्न सक्छौं । त्यसले नेपाली कम्युनिस्ट आन्दोलनलाई फेरि ७० को दशकबाट हामी अगाडि बढाउन सक्छौं ।

 

नेकपा एमाले त हामीले बनाएको पार्टी हो । नेकपा एमालेको नस–नसमा, त्यसका हर अंग–अंगमा हाम्रा पसिनाहरु छिपेका छन्, हाम्रा मेहनतहरु छिपेका छन् । तर, पछिल्लो समय एउटा अहंकारी गुटले त्यसको नेतृत्व कब्जा ग¥यो र पार्टीका वैचारिक, राजनीतिक, सैद्धान्तिक, संगठनात्मक विकासका गतिहरु अवरुद्ध भए । पार्टीमा, जनसंगठनहरुमा चिरा पर्दै गयो । यसले गर्दा पार्टीलाई नवौं महाधिवेशनसम्म ल्याउँदा हामीले जुन क्रान्तिकारी दिशा, जुन नीति र सिद्धान्तको विकास गरेका थियौं, त्यसलाई पुनर्स्थापित गर्नुपर्ने जरुरी छ । त्यसलाई पुनर्गठित गरेर अगाडि लैजानुपर्ने जरुरी छ ।

तर, पार्टीभित्रैबाट गरौं न भनेर हामीले कोसिस ग¥यौं, पार्टीभित्रैबाट गर्नका लागि त्यो जब्बर भएर बसेको दक्षिणपन्थी अवसरवाद, गुटवाद, अहंकारवाद र व्यक्तिवादले हामीलाई दिएन । विगत ९ महिनादेखि हामी पार्टी पुनर्गठनको अभियानमा थियौं । तर, यो ९ महिनामा हामीले त्यो हिसाबले अन्तरसंघर्षबाट रुपान्तरण गर्न सकेनौं । सुरुमा ठूलो उत्साह थियो, विस्तारै शिथिलता आउन थाल्यो । त्यसले गर्दा कम्युनिस्ट आन्दोलन विसर्जनमा जाने खतरा पैदा भयो । यसरी यो विद्रोह भएको हो ।

विद्रोह सिर्जनाका निम्ति हो, विद्रोह नवनिर्माणका निम्ति हो, विद्रोह उज्ज्वल भविष्यका निम्ति हो । त्यसैले त्यो उज्ज्वल भविष्य प्राप्त गर्नका लागि एकतावद्ध भएर, एक ढिक्का भएर अगाडि बढौं भनेर म हार्दिक आग्रह गर्छु । त्यो आग्रहका साथमा सबै कमरेडहरुले आफूलाई एउटा नयाँ मान्छेको रुपमा रुपान्तरण गर्न जरुरी छ । हामी प्रत्येक नयाँ मान्छे हुनुपर्छ, प्रत्येक क्रान्तिकारी मान्छे हुनुपर्छ । स्वार्थी मान्छेका रुपमा होइन । निजी स्वार्थलाई लिएर अगाडि बढ्ने होइन । समाजवाद भनेको सामूहिकता हो । सामूहिक ढंगले अगाडि बढ्नुपर्छ । सामूहिक स्प्रिटका साथ अगाडि बढ्ने हो । आन्दोलन गर्ने हो । त्यसले सिङ्गो मानव जातिको भविष्यलाई उज्ज्वल बनाउँछ । हामी त्यो दिशातर्फ अगाडि बढ्दै छौं । त्यसमा साथ दिनका लागि मिडियाकर्मी साथीहरुलाई म विशेष अनुरोध गर्न चाहन्छु ।

भ्रमका धेरै खेतीहरु भइरहेका छन्, यी भ्रमका खेतीलाई विस्तारै–विस्तारै उजागर गर्नुपर्ने हुन्छ । भ्रमका खेतीमा कुनै रस हुँदैन । त्यो आफंै खडेरी हो । क्रान्तिकारी विचारतिर अगाडि बढ्ने कुरामा जीवन रसिलो हुँदै जान्छ । जीवन फराकिलो पनि हुँदै जान्छ । हाम्रा दिमागहरु पनि फराकिलो हुँदै जान्छ ।

म यहाँबाट जाँदा भारी मनले गएको थिएँ । त्यतिबेला मैले एकताको आह्वान गरेको थिएँ । तर, बीचमा धेरै घटनाक्रम भए । अन्त्यमा सर्वोच्च अदालतले एउटा ऐतिहासिक फैसला ग¥यो । त्यसले मुलुकको लोकतन्त्रलाई, हाम्रो संसदलाई र हाम्रो संविधानलाई रक्षा गर्ने काम ग¥यो । त्यसले नेपालमा एउटा ठूलो राजनीतिक परिवर्तन भयो । सकारात्मक परिवर्तन भएको छ ।

केपी ओलीको सरकार आफैंमा निरंकुश थियो । त्यो सरकार ढल्नु भनेको निरंकुशताको पराजय हो । त्यो सरकार ढल्नु भनेको दक्षिणपन्थी अवसरवादको पराजय हो, अहंकारवादको पराजय हो । कम्युनिस्ट पार्टी विघटन गर्ने होइन । कम्युनिस्ट सरकार ढल्यो भनेर गोहीको आँशु बगाउनुपर्ने कुनै जरुरत छैन । त्यो कम्युनिस्ट पार्टीको नाउँमा बदनाम सरकार थियो, त्यो बदनाम सरकार ढल्यो । अब हामीले सबै बामपन्थी र लोकतान्त्रिक शक्तिहरुको साझा सरकार बनाएका छौं, यो साझा सरकार चलाउनु कठिन हुन्छ तर के गर्ने ?

हाम्रो देशमा ००७ सालदेखि नै सबैको गठबन्धन बिना एक पाइला पनि प्रगति भएको छैन । त्यसैले अहिले पनि गठबन्धन जारी छ । यो गठबन्धनलाई हामीले जारी राख्न किन जरुरी छ भने हाम्रो लोकतन्त्र कलिलो छ, हाम्रो गणतन्त्र कलिलो छ । हाम्रो संघीयता कलिलो छ । यसलाई सुदृढीकरण गर्नका निम्ति यी शक्तिहरुका बीचमा सहकार्य जरुरी छ ।

हाम्राबीचमा प्रतिस्पर्धा पनि भइरहन्छन् । तर, सहकार्य अहिलेको मूल आवश्यकता हो । त्यो सहकार्यमार्फत हामी लोकतन्त्रलाई सुदृढ गर्दै क्रमशः संविधान बमोजिम हामी समाजवादको बाटोतर्फ अगाडि बढ्नुपर्छ । समाजवादले नै देश बचाउँछ । समाजवादले नै राष्ट्रलाई समुन्नतितर्फ लैजान्छ । समाजवादले नै एउटा उज्यालो भविष्य निर्माण हुन्छ । 

(उपचारपश्चात स्वदेश फर्किने क्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनालले विमानस्थलमा दिएको प्रतिक्रियाको सम्पादित अंश)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप