शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

धर्मको विषय असान्दर्भिक बहस हो : विमलेन्द्र निधि

‘संविधानले धर्मअनुसार आचरण गर्न निषेध गरेको छैन’
सोमबार, १४ भदौ २०७८, १७ : ५८
सोमबार, १४ भदौ २०७८

कृष्ण जन्माष्टमीको बिहानै मध्य बानेश्वरस्थित काँग्रेस उपसभापति विमलेन्द्र निधिको निवासमा धार्मिक भन्दा बढी राजनीतिक सरगर्मी देखिन्थ्यो । भावी सभापतिको प्रतिस्पर्धामा उत्रिएका निधिलाई भेट्न कार्यकर्ताको भीड लागेको थियो । भिडलाई छिचोल्दै हामीले निधिसँग सरकार, पार्टी र पूजापाठका विषयमा केही जिज्ञासा राख्यौं ।  

काँग्रेसका वर्तमान उपसभापति निधि १४ औं महाधिवेशनमा सभापतिको दाबेदारका रुपमा अगाडि आएका छन् । उनले असोजको दोस्रो सातासम्म आफ्नो प्यानल घोषणा गर्ने तयारी गरेका छन् ।

०७७ साउन २९ देखि देखिने गरी सभापतिको उम्मेदवारका रुपमा प्रकट भएका निधि काँग्रेस सभापति शेरबहादुर देउवासँगको लामो सहकार्यलाई ब्रेक लगाएर निधि महाधिवेशनको मैदानमा आएका हुन् । यसक्रममा उनले शुक्रबार सम्पर्क कार्यालयसमेत खोलिसकेका छन् ।

निधिको सम्पर्क कार्यालय उद्घाटनमा देखिएको दृश्यले धर्म निरपेक्षता माथिको उनको प्रतिवद्धतामाथि प्रश्न उब्जिएको हो कि भन्ने धेरैलाई लागेको छ । काँग्रेस नेताहरुबीच आफूलाई धार्मिक देखाउने होडबाजी चलिरहेका बेला कतै निधि पनि ‘हिन्दु राष्ट्र’ को पक्षमा लागेका त होइनन् ? रातोपाटीको कुराकानीमा उनले संविधानप्रति आफू प्रतिवद्ध रहेको बताए । धर्मका बारेमा पत्रकारले कुरा उठाउनु नै असान्दर्भिक भएको निधिको तर्क छ । उनी भन्छन्, ‘म मिडियाका साथीहरुलाई भन्न चाहन्छु– यो तपाईंहरुले उठाएको विषय असान्दर्भिक बहस हो ।’

प्रस्तुत त निधिसँग गरिएको संक्षिप्त कुराकानी–

तपाईं सत्तारुढ नेपाली काँग्रेसको उपसभापति हुनुहुन्छ । काँग्रेसको नेतृत्वमा सरकार बनेको डेढ महिनासम्म मन्त्रिपरिषद विस्तार हुन सकेको छैन । सरकार विस्तार र बजेटका सन्दर्भमा ‘यता न उता’ को अवस्था छ । संसद अधिवेशन पनि बीचैमा अन्त्य भयो । सरकारको परफर्मेन्स कमजोर भएको जनगुनासो बढिरहेको छ । प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद विस्तारबारे पार्टीमा छलफल गर्नुभएको छ कि आफ्नै तरिकाले चलिराख्नुभएको छ ?

सुरुमा मैले उहाँसँग कुरा गरेको थिएँ । बढो जटिल भइरहेको छ । माधव नेपालजीको पार्टी, उपेन्द्र यादव र महन्थ ठाकुरको पार्टीको के हुन्छ ? त्यसले गर्दा गठबन्धनभित्र नै मन्त्रिपरिषद विस्तारको कुरामा अप्ठ्यारो भइरहेको छ भनेर शेयर गर्नु भएको थियो ।

गठबन्धनको सरकार सञ्चालन गर्न जटिल पनि छ । गठबन्धनमा सहमति गर्नु साधारण कुरा छैन । समय लागेकोमा म धेरै आश्चर्य मान्दिनँ । तर, ढिलोचाहिँ ढिलो भएकै हो ।

अब त माधव नेपाल र उपेन्द्र यादवको समस्या सुल्झियो नि ?

अब छिटो बन्ला । अब धेरै ढिलो भयो भने राम्रो देखिँदैन ।

नेपाली काँग्रेसभित्र सरकार सञ्चालन र मन्त्री नियुक्तिका विषयमा  पार्टी सभापति देउवाले तपाईंहरुसँग सरसल्लाह गर्नुहुन्छ ? हिजो केपी ओलीजीले त्यो नगर्दा....

अब हाम्रो प्रधानमन्त्रीय पद्दति छ । प्रधानमन्त्रीले पार्टीभित्र पनि, पार्टी बाहिर गठबन्धनसँग पनि सरसल्लाह गर्नुपर्छ । उहाँले गर्नुहोला । सरसल्लाह नगरी त कसरी हुन्छ । कुराकानी होला । सुरु भएको हो । त्यसपछि भएको छैन । म पनि सभापतिको उम्मेदवारीको गृहकार्यमा लागेको छु । म पार्टीको काममा व्यस्त छु । मैले प्रधानमन्त्रीलाई पटक–पटक सरकारलाई सफल रुपमा सञ्चालन गर्ने काममा ध्यान दिनुस्, पार्टीको जिम्मेवारी बरु मलाई दिनुहोस् भनेर भनेको थिएँ ।

प्रधानमन्त्री र तपाईंबीच पार्टी सभापतिमा प्रतिस्पर्धा गर्ने भएपछि उहाँले रिसाएर तपाईंका मान्छेलाई मन्त्री बनाउने र विभेद गर्ने सम्भावना छैन ?

समाचार मिडियामा मैले पनि सुनेको छु । त्यसबारे अहिले केही टिप्पणी गर्न चाहन्नँ ।

आसन्न महाधिवेशनका बारेमा कुरा गर्दा तपाई सभापतिको उम्मेदवारीबाट ‘ब्याक’ हुने सम्भावना कति प्रतिशत छ ?

अलिकति पनि छैन । दशमलव पनि छैन । मैले सभापतिमा उठ्ने तयारी गरिसकेको छु, त्यसका लागि गृहकार्य जारी छ ।

अहिलेसम्म किन टिम बनाउन सक्नुभएको छैन । एक्लै, सभापति मात्रै ?

अहिले कसैले (सभापतिका दाबेदार) टिम बनाउनु भएको छैन । तर, म आन्तरिकरुपमा साथीहरुसँग सल्लाह गरिरहेको छु । मेरो राम्रो टीम बन्छ भन्ने मैले विश्वास लिएको छु । अहिले टीम बनाउने बेला भएको छैन ।

सभापतिका दाबेदारहरुका पदाधिकारीहरु को बन्ने भन्ने अहिलेसम्म किन टुंगो नलागेको ? शेरबहादुर देउवाले पदाधिकारीका उम्मेदवारहरू तय गरिसकेपछि मात्र आफ्नो टीम बनाउने तपाईंको रणनीति हो कि ?

(हाँस्दै) होइन, होइन । आन्तरिकरुपमा मैले मेरो टिमको कल्पना गरिसकेको छु ।  जे मेरो टिममा बस्नुहुन्छ । उहाँहरुलाई यो कुरा थाहा छ । अहिले नै यो भनिरहन जरुरी छैन ।

गोप्य राख्न खोज्नुभएको हो ?

अहिले नै भन्ने बेला भएको छैन । महाधिवेशनको कार्यतालिका अनुसार वडा, पालिका, प्रादेशिक निर्वाचन क्षेत्र, संसदीय निर्वाचन क्षेत्रको अधिवेशन हुन्छ । नेपाली काँग्रेसको महाधिवेशनका मतदाता महाधिवेशन प्रतिनिधि हुन् । उनीहरु आइसकेका छैनन् । अनि टीम बनाएर के काम ? उम्मेदवार र मतदाताको योग्यता भएका मध्येबाट टीम बनाउने हो ।

त्यसो भए महाधिवेशन प्रतिनिधिहरू चयन भइसकेपछि मात्र टीम तय गर्नुहुन्छ ?

असोज ५ गतेसम्म देशभर महाधिवेशन प्रतिनिधिको निर्वाचन भइसक्छ । सबैले त्यसपछि नै हो टीम बनाउने । मैले पनि त्यसपछि टीम तय गर्छु ।

काँग्रेसमा महाधिवेशन प्रतिनिधिहरू नै गुटगत ढंगले आउने गरेको पाइन्छ । यतिबेला शेरबहादुर देउवा र विमलेन्द्र निधि आ–आफ्नो ढंगले अगाडि बढेको अवस्था छ । आफू निकटलाई महाधिवेशन प्रतिनिधि बनाएर ल्याउने विषयमा कसरी अगाडि बढ्दै हुनुहुन्छ ?

सबैसँग मेरो कुराकानी हुँदैछ । शेरबहादुर देउवासँग नजिक भएका, रामचन्द्र पौडेलजीसँग नजिक भएका, कृष्णप्रसाद सिटौलाजीसँग नजिक भएकाहरूसँग मेरो कुराकानी भइरहेको छ । यस्तै प्रकाशमानजी, शशांकजी र शेखरजीसँग नजिक भएकाहरूसँग पनि मैले निरन्तर कुराकानी गरिरहेको छु ।

दोस्रो तहका नेताहरुले मिलेर शेरबहादुर र रामचन्द्रको विकल्पमा उम्मेदवारी दिने सम्भावना छ ?

 त्यसको पनि सम्भावना छ । सम्भावना जहिले खुला रहन्छ ।

त्यो सम्भावनाका लागि तपाईं दोस्रो पुस्ताका अरु नेताका लागि छोड्न तयार हुनुहुन्छ ?

सबै सम्भावना छ । सम्भावना हुँदैन भन्ने छैन । हामी छलफल गरिरहेका छौं ।

तपाईंले मधेसमा पुगेर हामी तीन (विमलेन्द्र निधि, शशांक कोइराला, प्रकाशमान सिंह) जनाबीच १२ वर्षका लागि नेतृत्वका विषयमा सहमति बनेको छ भन्नुभएको थियो । त्यो कस्तो खालको समझदारी हो ?

त्यस्तो कुरा मलाई थाहा छैन । १२ वर्षसम्मको सहमति भन्ने कुरा भएको छैन । १२ वर्षमात्र किन, आजीवन तीनजनाको समझदारी हुनसक्छ नि त ।

पार्टी सञ्चालनका सन्दर्भमा चार–चार वर्षको हिसाब गर्नु भएको हो भन्ने हो ?

प्रकाशमान सिंह, शशांक कोइराला र म लगातार बसिरहेका छौं, बसिरहने छौं । जसरी १३ औं महाधिवेशनमा शेरबहादुरजी, रामचन्द्रजी र सिटौलाजी एक अर्काका विरुद्धमा लड्नुभयो, दुईजना हार्नुभयो । एकजना (देउवा) ले जित्नुभयो । उहाँहरु पनि पटक– पटक बसिरहनुहुन्छ । उहाँहरु बीचमा पदीय समझदारी भएको छैन ।

पदीय प्रतिस्पर्धामा हुँदाहुँदै पनि तीन जना उम्मेदवारबीच राजनीतिक विषयमा समझदारी हुन्छ नि ! त्यसलाई निरन्तरता दिनुपर्यो नि त । नेपाली काँग्रेसको नीति, देशको राष्ट्रिय राजनीति र अन्तर्राष्ट्रिय सम्बन्धमा यसरी बसिन्छ ।

तपाईंहरु तीनजनाको भेटवार्ता पनि त्यस्तै हो ?

त्यस्तै, त्यही अनुकूलको हो । दुईवटा कुरा आउँछ । पदीय समझदारी पनि विकसित हुन सक्छ । नेतृत्वको समझदारी पनि विकसित हुन सक्छ । पदीय समझदारी र नेतृत्वको समझदारी हुनका लागि समय पनि लाग्छ । तर, नेपाली काँग्रेसले लिनुपर्ने नीति र कार्यदिशाबारे साझा धारणा बनाउनु राम्रो हो । त्यसमा पनि  देशको राष्ट्रिय नीति र कार्यदिशाबारे हाम्रो पार्टीका नेताहरुको साझा धारणा बनोस् भनेर हामी निरन्तर सम्वादमा बस्नुपर्छ भन्ने हाम्रो धारणा हो ।

१४ औं महाधिवेशनमा विमलेन्द्र निधि नै काँग्रेसको सभापति हुनुपर्ने के–के कारण छन् ?

आगामी निर्वाचनमा रुख छापलाई जिताउन चाहन्छु । रुख छाप नेपाली काँग्रेसको हो । रुख छापले बहुमत जित्यो भने संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय प्रणालीको संरक्षण र सफल कार्यान्वयन हुन्छ । संविधानको संरक्षण र सुदृढीकरणका लागि पनि नेपाली काँग्रेस चाहिन्छ । यी कुरा नेपाली काँग्रेसको सभापतिको हैसियतले  मतदातालाई, जनतालाई, युवा पुस्तालाई, देशलाई अपिल गर्छु । त्यो कारणले म सभापति हुन चाहन्छु ।

 यो कुरा त सबैले भनिरहेकै छन् नि ?

यो कुरा सबैले भनिरहेको छैन ।

पार्टीलाई पहिलो बनाउने त वर्तमान सभापतिले नै भनिराख्नुभएको छ ?

मैले पार्टीलाई पहिलो बनाउने भनेको छैन । मैले बहुमत दिलाउँछु भनेको छु ।

काँग्रेसमा एक दर्जन जति सभापतिका दाबेदार देखिएका छन् । तीमध्ये तपाईं के मानेमा फरक हुनुहुन्छ ?

यो कुरा मलाई समर्थन गर्नेलाई सोध्नुस् न । म विद्यार्थीकालदेखि राजनीतिमा छु । जब म स्कुलमा थिए, तब म जेल परेको थिएँ । नेपाली काँग्रेसका हजारौं साथी हुनुहुन्छ, जो त्यो बेलादेखि जेल पर्नु भएको । नेपाली काँग्रेसका जिल्ला सभापति र सांसद हुनुहुन्छ । मसँगै विद्यार्थी राजनीति गर्नुहुन्थ्यो । नेपाली काँग्रेसको राजनीति गर्नुहुन्थ्यो । ती साथीहरुलाई मैले अरुभन्दा के फरक छु भनेर बताइराख्नु पर्दैन । तपाईंले अनुसन्धान गरे हुन्छ ।

सभापतिका सबै आकांक्षीसँग तपाईं संवादमै हुनुहुन्छ । १४ औं महाधिवेशनमा कस्तो ध्रुवीकरण हुने देख्नुभएको छ ?

ध्रुवीकरण मेरो रुचीको विषय होइन । म सभापतिको उम्मेदवार हुँदा नेपाली काँग्रेसका सबै पक्षलाई समेट्छु । सबै उमेरका साथीहरु, सबै पृष्ठभूमिका साथीहरु, सबै वर्गका साथीहरु र सबै पुस्ताका सबै पक्ष समेटेर नेपाली काँग्रेसलाई अगाडि बढाउन चाहन्छु । त्यसका लागि म क्रियाशील छु । काँग्रेसमा खडा हुने प्यानललाई गुटमा विकसित हुनुहुँदैन । सबैलाई समेटेर जानुपर्छ भन्ने मेरो सोच हो । त्यसकारण ध्रुवीकरण गर्ने होइन, सबैलाई समेटेर जाने हो ।

तपाईं केन्द्रमा सभापति मात्र लड्नुहुन्छ कि प्रदेश र जिल्लासम्म प्यानल बनाएर जानुहुन्छ ?

यो आज भन्नुपर्दैन । बेला आएपछि भन्छु ।

तपाईले सभापतिको तयारीका लागि सम्पर्क कार्यालय खोल्नुभएको छ । सम्पर्क कार्यालय उद्घाटनको तामझाम हेर्दा वर्तमान व्यवस्थाका सन्दर्भमा तपाईले लिनुभएको अडानबाट डगमगाउनुभयो कि भन्ने आशंका जन्माएको छ....

त्यो तामझाम थिएन, समर्थन हो । तामझाम शब्दको प्रयोग नगरिदिनुहोला प्लिज । म प्रतिको समर्थन र विश्वासको प्रतीक हो त्यो । यो व्यवस्थाप्रति त म सबैभन्दा बढी प्रतिबद्ध छु । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय प्रणालीप्रति र हामीले जारी गरेको संविधानप्रतिको प्रतिबद्धता नेपाल सबै राजनीतिक दलहरु मध्येका सिनियर साथीहरु भन्दा बढी मेरो छ ।

 

 


तर, पुजारी–महन्थहरु राखेर जुन ढंगले सम्पर्क कार्यालयको उद्घाटन गर्नुभयो, संविधानमा उल्लेखित धर्मनिरपेक्षताप्रति अलिकति अरुचि देखाउनुभएको हो कि ?

होइन । हाम्रो परम्परागत धर्म संस्कृति हो । मैले अहिले मात्र पूजाआजा गरेको होइन । मेरो जीवनमा मैले गर्दै आएको छु । धर्मनिपेक्षता संविधानमै लेखेको छ । संविधानका लेखेको विषयलाई हामीले आत्मसात गर्नुपर्छ । नेपाली काँग्रेस धार्मिक स्वतन्त्रतामा विश्वास गर्छ ।

धर्मनिरपेक्षता र धार्मिक स्वतन्त्रता भनेको पर्यायवाची शब्दावली हो, प्रजातन्त्र र लोकतन्त्रजस्तै । पहिला–पहिला प्रजातन्त्र लेख्थ्यौँ । अहिले हामी लोकतन्त्र लेख्छौं । तर, लोकतन्त्र लेख्नु प्रजातन्त्रको विरुद्ध त होइन नि त । त्यसकारण धर्मनिरपेक्षता लेख्नु भनेको धार्मिक स्वतन्त्रताको विरुद्ध होइन ।

पूजाआजा भनेको त आजमात्र होइन, तपाईंले मलाई बल्ल चिनेकाले देख्नुभयो । मैले पूजाआजा धेरै पहिलेदेखि गर्थेँ । मेरा पिताजी (महेन्द्रनारायण निधि) जेलमा हुनुहुन्थ्यो । आमाले, ठूलो बुवाले भाकल गर्नुभएको थियो छुटोस् भने भनेर । मान्छेको विश्वास हुन्छ नि त ! हरेक महिनाको संक्रान्तिका दिन पूजा गर्नुहुन्थ्यो । म ठूलो भएपछि मलाई पनि गर्न लगाउनुहुन्थ्यो । यसरी पूजाआजा पहिलेदेखि नै गर्दै आएको छु । यो नौलो कुुरा होइन । म हिन्दु हुँ । हिन्दु धर्मप्रति मेरो आस्था छ । म हिन्दु आचरण गर्छु ।

तर, पार्टीका फोरमहरुमा हिन्दु राष्ट्रका सन्दर्भमा उठ्ने बहसमा त तपाई अनुदार देखिनुहुन्थ्यो नि ?

यसलाई पार्टीभित्र अनुदार–सनुदार होइन । पार्टीभित्र र देशभित्र धर्मलाई विवादमा राख्नुहुँदैन । त्योसँग म सहमत छैन । संविधानले जे व्यवस्था गरेको छ, त्यो ठीक छ । संविधानले हामी हिन्दुहरुलाई आफ्नो धर्मअनुसार आचरण गर्न र हिन्दु धर्मको प्रचार गर्न कतै निषेध गरेको छैन । रोकेको छैन । हामीलाई हिन्दु धर्म अनुसारको आचरण गर्न बाधा अड्चन नै छैन ।

संविधानले सनातन धर्मलाई संरक्षण गर्ने भनेको छ । त्यस कारण सबैले आ–आफ्नो धर्म अनुसारको व्यवहार गर्छ । धार्मिक कुरा गर्ने हो भने रावण पनि शिवका भक्त थिए । राम पनि शिवका भक्त थिए । धर्म–धर्मबीचमै पनि भेदभाव हुन्छ । धर्मनिरपेक्षता भनेको धर्म विरोधी कुरा होइन ।

राष्ट्रियता, लोकतन्त्र, समाजवाद, संघीयता, गणतन्त्र यी विषय पनि छन् । यसमा मेरो अथवा अरुको धारणा किन बुझ्नुहुन्न ? किन धर्मको मात्र भन्नुहुन्छ ? यो तपाईंहरुले उठाएको विषय असान्दर्भिक बहस हो । म मिडियाका साथीहरुलाई भन्न चाहन्छु – संघीयताप्रति कुनै दलको कुनै नेताको प्रतिबद्धता छ कि छैन, त्यो परीक्षण गर्नुस्, त्यो सोध्नुस् । गणतन्त्रप्रतिको प्रतिवद्धता छ कि छैन, सोध्नुस् । समावेशीताप्रतिको प्रतिवद्धता छ कि छैन, सोध्नुस् । लोकतन्त्रप्रतिको प्रतिवद्धता छ कि छैन, त्यो सोध्नुस् । प्रेस स्वतन्त्रताप्रतिको प्रतिवद्धता छ कि छैन, त्यो सोध्नुस् । यस्तो कुरा पो हो सोध्ने । यो कुराको पो परीक्षण हुनुपर्छ । तपाईं महिला हुनुहुन्छ कि पुरुष हुनुहुन्छ ? तपाईं लिंग परिवर्तन गर्दै हुनुहुन्छ भन्ने सुनेको छु, तपाई तेस्रोलिंगी पो हो कि ? यस्ता असान्दर्भिक कुरातिर अल्झिनुहुँदैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप