बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

जयसिंह धामी प्रकरण : सत्ता गठबन्धनका नेताहरुले गरे प्रधानमन्त्रीमाथि प्रश्न

सोमबार, १४ भदौ २०७८, १२ : ०४
सोमबार, १४ भदौ २०७८

तुइन तर्ने क्रममा वेपत्ता भएका दार्चुलाका जयसिंह धामी प्रकरणमा सरकारको दृष्टिकोण अस्पष्ट भएको भन्दै सत्ता गठबन्धनका नेताहरुले असन्तुष्टि जनाएका छन् । साथै उनीहरुले धामी बेपत्ता प्रकरणमा सरकारको अडान प्रष्ट पार्न प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका छन् ।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा नेताहरुले धामी वेपत्ता प्रकरण छानविनका लागि गठित छानविन प्रतिवेदन सार्वजनिक गर्न भएको ढिलाइ र आगामी दिनमा त्यस्ता घटना दोहोरिन नदिन छिमेकी मुलुक भारतसँग कुरा गर्नुपर्ने बताएका थिए । सत्ता गठबन्धनका नेताहरुले धामी प्रकरणबारे प्रश्न उठाउँदा प्रधानमन्त्री देउवा भने बैठकमा मौन बसेका थिए ।

‘हामीले जयसिंह धामी प्रकरणबारे भइरहेको ढिलाई र आगामी दिनमा सरकारले चाल्नुपर्ने कदमका बारेमा प्रश्न गर्यौ तर प्रधानमन्त्री देउवाले ठोस जवाफ दिनुभएन’, नेकपा एकीकृत समाजवादीका नेता डा. बेदुराम भुसालले रातोपाटीसँग भने, ‘छानविन प्रतिवेदन बनेपछि सवै कुरा आउँछ भन्ने कुरा गर्नुभयो ।’ बैठकमा एकीकृत समाजवादीका नेता भुसालसहित जसपाका नेता डा. बाबुराम भट्टराई, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाश लगायतले छानविन समितिको प्रतिवेदन आउन ढिलाइ भएकोमा असन्तुष्टि जनाएका थिए ।

‘जयसिंह धामी वेपत्ता प्रकरण गम्भिर विषय हो, सरकारले छानविन प्रतिवेदन सार्वजनिक गर्न पनि ढिलाई गरेको छ । तत्काल प्रतिवेदन ल्याउनुपर्यो, हाम्रो अडान प्रष्ट पार्नुपर्यो र त्यसका आधारमा भारतसँग वार्ता गर्नुपर्यो’ नेताहरुले बैठकमा प्रधानमन्त्रीलाई भनेका थिए ।

गत साउन १५ गते महाकालीमा तुइन तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानले तुइनको तार खुस्काउँदा जयसिंह धामी महाकालीमा खसेर वेपत्ता भएका थिए ।

त्यसको केही दिनपछि सरकारले सहसचिवको नेतृत्वमा छानविन समिति गठन गरेपनि अहिलेसम्म प्रतिवेदन तयार गर्न सकेको छैन । सरकारले पीडित परिवारलाई १० लाख रुपैयाँ दिने घोषणा गरेको छ । प्रतिवेदन सार्वजनिक गर्न भएको ढिलाईले सरकारले उक्त घटनाप्रति वेवास्ता गरेको हो कि भन्ने आशंका पैदा भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप