सोमबार, १४ माघ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘काँग्रेस र एमाले जस्तै गर्ने हो भने अर्को पार्टी किन चाहियो ?’

हामी तमसुक हेरेर बसियो, ओलीले प्रधानमन्त्री पड्काए : प्रचण्ड
शनिबार, १२ भदौ २०७८, २० : ४३
शनिबार, १२ भदौ २०७८

कम्युनिस्टहरूलाई एक ठाउँमा राखेर एकता गर्दा राम्रो हुन्छ कि भनेर मैले आफैँ प्रस्ताव गरेको थिएँ । तर, दुर्भाग्य, त्यो पाँच वर्ष पनि टिक्न सकेन । काँग्रेसले चुनाव जितेर पनि पाँच वर्षसम्म टिक्न नसकेको तीतो यथार्थ हामीले पञ्चायतविरोधी आन्दोलनपछि भोगेका थियौँ । समाजवादी आन्दोलनका क्रममा कम्युनिस्टभित्र भएको त्यो ध्रुवीकरण पनि पाँच वर्ष टिकेन । बरु, भयानक प्रतिगमनका नाइकेहरू नै कम्युनिस्टभित्रै देखा परे, हामीले देशव्यापी अभियान चलाउनुप–यो ।

मैले त पहिलो संसद् विघटन भएपछि त्यसलाई भिन्न प्रकारको जनयुद्ध नै ठानेँ । यो प्रतिगमनलाई परास्त गरिएन भने सबै उपलब्धि खतरामा पर्ने, देश खतरामा पर्ने, देश ठूलो दुर्घटनामा जाने र ३०–४० वर्ष सङ्घर्ष गर्नुपर्ने हो कि भन्ने देखेँ र यसलाई ‘लाइफ एन्ड डेथ’ कै सङ्घर्षका रूपमा हामीले लियौँ । तपाई युवाहरू त्यसमा सक्रियतापूर्वक लाग्नुभयो । हामीले हजारौँ र लाखौँ जनतालाई काठमाडौँका सडकमा उतार्यौँ ।

दोस्रो पटकको संसद् विघटनलाई परास्त गर्नका लागि हामी पाँच दलबीच मोर्चा बन्यो र त्यो मोर्चाले जसरी पहल ग–यो । र, अहिले नयाँ सरकार गठन हुने ठाउँसम्म आउने ठाउँ बन्यो ।

हाम्रो आशा, युवाहरूमाथि छ । यो भेला हेर्दै गर्दा तपाईँहरूमा उत्साह छ वा छैन । तपाईँहरू समर्पित भावनामा हुनुहुन्छ वा हुनुहुन्न । मैले हेर्दा माओवादी मात्रै होइन, हामी अहिले त गठबन्धन छौँ । धेरै दुःखले यो गठबन्धन बनेको हो । संविधानको रक्षाको निम्ति यसको (गठबन्धनको) रक्षा गर्नु छ । परिवर्तनको रक्षाका निम्ति यो गठबन्धनलाई रक्षा पनि गर्नु छ र सुदृढ पनि गर्नु छ ।

देशको राजनीतिक र इतिहासले के बताएको छ भने लोकतन्त्रका पक्षमा लाग्ने विभिन्न विचार भएका पार्टीहरू जहाँ जहाँ मिलेका छौँ, ठूला ठूला राजनीतिक परिवर्तन नेपालमा सम्भव भएको छ । जति जतिबेला हामी विवाद गरेर बसेका छौँ, त्यतिबेला प्रतिक्रियावादी सफल भएका छन् । देश र जनताले दुःख पाएका छन् ।

विभिन्न प्रतिक्रियावादी शक्तिहरूले यो परिवर्तनलाई उल्ट्याउने, गठबन्धनलाई कमजोर पार्ने, पुरातनपन्थतर्फ फर्काउने प्रयास सकिएको छैन । युवाहरूले यो जिम्मेवारी आत्मसाथ गर्नुपर्ने अवस्था छ । तपाईहरुले आत्मसात् गरेर समर्पित रूपमा लाग्नुभयो भने ठूला ठूला प्रतिक्रान्तिकारी शक्तिलाई परास्त गर्न सकिन्छ । हुन त के कुरा पनि हेक्का रहोस् भने भौतिक शरीर बुढो भए पनि प्रवृत्ति र विचार बुढो हुने कुरा होइन ।

​मेरो एउटा प्रवृत्ति छ भने त्यो बाचुञ्जेल रहन्छ । अब त अझै बदल्न सकिँदैन, त्यसलाई । पार्टीको केन्द्रीय समिति, प्रदेश समिति, जनसमिति सबैमा युवा नेतृत्वलाई जति प्रमोट गर्नसक्यो, त्यति परिवर्तनको आन्दोलनले गति प्राप्त गर्न सक्छ, जीवन्त हुन सक्छ भन्ने मलाई लाग्छ । सबैखाले प्रतिक्रियावादी प्रवृत्तिलाई परास्त गर्न सकिन्छ भन्ने विश्वासले नै हामीले विधानमै युवालाई २० प्रतिशत कम्तीमा प्रमोट गर्ने कुरा हामीले व्यवस्था गरेका छौँ । यो इतिहासलाई, क्रान्तिको प्रवाहलाई गति दिने नीतिअन्तर्गत सोचे–सम्झेर हामीले गरेका हौं ।

हामी अब शान्तिपूर्ण र प्रतिस्पर्धाको बाटोबाटै समाजवाद निर्माणको प्रक्रियामा छौँ । हामीले शान्तिपूर्ण र प्रतिस्पर्धाको बाटोमा जानका लागि उत्पादनको निम्ति सङ्घर्ष गर्नुपर्छ । हाम्रो सपना ः हामीले हिजो पनि उत्पादन बिग्रेड, अब बन्दुक बोकेर हिँड्ने ब्रिगेड होइन भनेर भन्यौँ । तर, व्यवहारमा जसरी जानुपर्ने थियो, जान सकेन ।

अब समाजवादको निर्माणका निम्ति समय आएको छ । शान्तिपूर्ण र प्रतिस्पर्धात्मक तवरले उत्पादनमा सङ्घर्ष गर्ने, स्वरोजगारका निम्ति सङ्घर्ष गर्ने, आत्मनिर्भरताका लागि सङ्घर्ष गर्ने, जनपरिचालन त्यसैका निम्ति गर्ने । युवाहरू जनताको सेवकका रूपमा साँच्चै उदाहरण बन्नुपर्छ । जसरी, हिजो जनयुद्धमा हामी युवाहरूले जनताको बाली रोपिदिएर हुन्छ कि, खनिदिएर हुन्छ कि धान काटिदिएर हुन्छ कि सहयोग गथ्र्यौं । हामीले त्यसो गरेका हुँदैन थियौँ भने जनताले यति धेरै माया गरेर आफ्ना छोराछोरीलाई मर्न पठाउने हुँदै हुँदैन थियो । हामी जनताका सांस्कृतिक पर्वमा सँगै नाच्ने, संँगै गाउने, सबै कुरा सँगै गर्ने गर्दा जनताले हामीलाई आफ्नै छोराछोरी ठानेर नै मर्नका लागि हाँसीहाँसी  पठाउने कुरा सजिलो थिएन । तर, हामीले त्यसै गर्यौं ।

तर, यतापट्टि (शान्ति प्रक्रियामा) आएपछि विचारमा पनि कहीँ न कहीँ स्खलित नै भएकै छ । विचारमा पनि समर्पित भएर, राष्ट्रको निम्ति समर्पित भएर जनताको निम्ति समर्पित भएर काम गर्नुभन्दा पदको र व्यक्तिगत स्वार्थको निम्ति काम गर्ने खतरा छ । हिजो अप्ठ्यारो कामको जिम्मा लिने, मोर्चामा मलाई अघि बढाइयोस् भनेर झगडा हामी, आज पदमा मलाई पठाइयोस् भनेर झगडा गर्नेमा रुपान्तरित हुँदै जाने खतरा भएकै छ ।

त्यसकारण, हामीले केन्द्रीय समितिमा एउटा सङ्कल्प गरेर आएका छौँ । हामी परिवर्तनको वाहकका रूपमा, जनताको सेवकका रूपमा, यो राष्ट्रको एकताको निम्ति समर्पित शक्तिका रूपमा । विचारको मौलिकता दिन नसक्ने र आदर्शको निम्ति समर्पित भएर लड्न नसक्ने हो भने हाम्रो औचित्य यो देशमा रहँदैन भनेका छौँ, हामीले केन्द्रीय समितिमा ।

किनभने, त्यसका निम्ति काँग्रेस पनि छ, एमाले केपी ओलीको पार्टी पनि छ, उस्तै काम हामीले पनि गरिराख्ने हो भने अलग्गै पार्टी किन हुनुप–यो ? त्यही गएर बसे भइगो नि ?

हामी जनतालाई झूट नबोल्ने, साँचो भन्ने । मुखले एउटा भन्ने व्यवहार अर्को गर्ने जुन प्रवृत्तिसँग हामी लड्यौँ, तीन वर्षदेखि प्रताडित पनि भयौँ । हामी यहाँ स्थायी समितिका नेताहरू तीन वर्षमा यति धेरै हैरान भयौँ, हामी हिजो जनयुद्धमा पनि ढाँटछलको राजनीति हुँदैन । विज्ञानमा बेइमानी चल्दैन । विज्ञानमा त जे सत्य हो, त्यही कुरा भनेमात्रै विज्ञानको सेवा हुने हो । नभएको ढाँटेर त हुँदैन । हाम्रो बानी सिधा सिधा बोल्ने, जे भनेको छ त्यही होला भनेर बुझ्ने प–यो ।

तर, यहाँ खासगरी एमालेको केपी प्रवृत्ति भन्ने एउटा र गर्ने ठिक उल्टो रहेछ । म भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार गर्न पनि दिन्न भन्ने ! कति मिठो ! तर, केका लागि भन्नुहुँदो रहेछ भनेको त, भ्रष्टाचारलाई छोप्नका लागि लेबल रहेछ त्यो त । रक्सी अर्कै छ, लेबल त्यो राख्ने रहेछ, उहाँको बानी त ।

कतिपय साथीहरूलाई प्रचण्डले (एमालेसँग) एकता गर्नु नै गलत भयो भन्ने पनि लाग्छ । मलाई त्यो लागेको छैन । एकता गर्नै पर्ने थियो । एकता गर्दा विचार र राजनीति नमिलाई ग–यो भन्ने पनि कतिलाई लागेको छ । तपाईले दस्तावेज हेर्नुभयो भने ओली र मैले नै सही गरेका छौँ । माओवादी जनयुद्धले नै संघीय गणतन्त्र स्थापनामा मुख्य भूमिका खेलेको हो भन्नेमा केपी ओलीले सही गरेका छन् ।

नेपालमा उत्पीडित जाति, वर्ग, क्षेत्रमा राजनीतिक जागरण ल्याउन माओवादी आन्दोलनले निर्णायक भूमिका खेल्यो भन्नेमा केपीले सही गरेका छन् । अनि, अध्यक्ष पालोपालो प्रधानमन्त्री पालोपालो भन्नेमा पनि सही गरेका छन् । हामीले त जे भने, त्यही हुन्छ भनेर बुझियो । तर, त्यो त उनी प्रधानमन्त्री हुनका लागि ठगी धन्दा गरेका रहेछन् । हामीले उनको ठगी धन्दा तमसुकमा सही गरेपछि त भयो भन्ठानियो । हामी तमसुक हेरेर बसियो, उनले प्रधानमन्त्री पड्काए ।

गठबन्धनको बैठकमा हामी सबै थियौँ, शेरबहादुरको घरमा हामी सबै थियौँ । साथीहरूले तपाईले केपीसँग एकता गरेर के पाउनुभयो भने । मैले के भन्नु । मैले भने,‘ज्ञान प्राप्त गरेर आएँ । अरू त के पाउनु छ र । ठूलो ज्ञान प्राप्त गरेर आएको छु , त्यो ज्ञान अब काँग्रेसलाई पनि काम लाग्छ, माधवजीलाई पनि काम लाग्छ भनेजस्तो ज्ञान मात्रै प्राप्त भयो ।’

बडो नरम भएर हामीले एकता पनि ग–यौँ । तर, उनको जालझेल र कपट बुझेपछि त्यसलाई नजिकबाट प्रहार गर्ने निर्णायक विद्रोह पनि त हामीले ग–यौँ । यो कुरा तपाईहरुले गहिरो गरी बुझ्न जरुरी छ ।

बादशाहलाई घोडाबाट ढालेजसरी कसले ढाल्यो त भन्ने पनि विचारणीय छ नि त । हामीले गठबन्धन गर्दा तीन कुरा भन्यौँ, संविधानको रक्षा, लोकतन्त्रको रक्षा र राष्ट्रियताको रक्षाका लागि हो यो भनेर । यसको रक्षा गर्ने आवश्यकता रहँदासम्म यो गठबन्धन रहन्छ भनेर प्रतिबद्धता जनतासमक्ष गरेका छौँ ।

अब बन्दुक समातेर होइन, उत्पादनका औजार समातेर, जनताको सेवा गरेर, जनपरिचालनलाई नयाँ तरिकाले उठाएर, विज्ञान प्रविधिको प्रयोग गरेर नयाँ सेना बन्नु छ । समाजवादी क्रान्तिको नेता हुने अवसर अब तपाईँहरू सामु छ ।

०३८ सालको कुरा गर्दा म त्यतिबेला युवाको प्रमुख, म दुईपटक प्रधानमन्त्री पनि भएँ, पार्टी प्रमुख पनि भएँ, अब मलाई छिटोभन्दा छिटो बिदा भएर संस्मरण लेख्न मन छ । तर, तपाईँहरू तयार नहुँदासम्म मैले सुख पाउने छाँट छैन । मलाई लाग्छ,। यो भेलाबाट तपाईँहरू तयार हुने बाटोमा हुनुहुन्छ र हामी पुरानो पिँढीका नेताले छिटै नयाँ भूमिकामा जाने, छिटै भनेको भोलि नै होइन । तपाईहरुले त्यो अवसर दिनुहुनेछ भनेर म आशा गर्छु ।

क्रान्तिको विकास भनेको, मार्क्सले भनेका छन् ः क्रान्तिले बलियो प्रतिक्रान्तिलाई जन्म दिँदै, त्यसलाई परास्त गर्दै अघि बढ्छ । यो गहिरो छ । ००७ सालमा परिवर्तन भयो, ०१७ सालमा झन् ठूलो प्रतिक्रान्तिलाई जन्म दियो । ३० वर्ष फेरि लडाइँ लडेर फेरि त्यो हराउने अवस्था भयो । त्यसले फेरि ज्ञानेन्द्रको निरङ्कुशता प्रतिक्रान्तिलाई जन्म दियो । फेरि त्यसलाई १२ बुँदे समझदारीमार्फत परास्त गर्नुप–यो । संविधान बनाइयो, अब समस्या आउँदैन होला भनेको, फेरि केपी प्रवृत्ति आइदियो । केपी प्रवृत्तिविरुद्ध सबै मिलेर लड्नुपर्ने स्थित बन्यो ।

हामी अहिले विजयी मुडमा छौँ । तर, कहिलेकाँही विजयी भयौँ भनेर रिल्याक्स गर्न थाल्यो, फ्याट्ट हान्छ अर्कोतिरबाट । अस्ति पहिलोचोटि संसद् विघटन बदर भएर संसद् पुनर्स्थापना भएपछि माधवले र मैले लड्डु खाइयो । त्यो लड्डुको स्वाद जान पाएको थिएन, दुईवटा पार्टी भए । ड्याम्म टाउकोमा फेरि घन हानेजस्तो आइहाल्यो । बल्ल बल्ल त्यसलाई अहिले सम्याइएको छ, अब कताबाट के आउँछ भनेर पनि सतर्क हुनुपर्छ ।

तर, के कुरा सत्य हो भने यदि हामी आफ्नो विचारमा दृढ छौँ, समाजवादी विचारमा दृढ भयौँ भने समाजवादी क्रान्तिको रणनीतिमा स्पष्ट भयौँ भने प्रतिक्रान्तिलाई रोक्नेमा प्रतिबद्ध भयौँ भने जित त हाम्रै हुन्छ । सत्यमेव जयते भनेजस्तै सत्यकै हुन्छ जीत त । जीत हुन्छ भनेर ढुक्कसँग बस्यो भने हानिहाल्छ प्रतिक्रान्तिले ।

अन्तिममा, हामीले राष्ट्रको एकताको झन्डा उठाउनुपर्छ, राष्ट्रिय विखण्डनविरुद्ध जानुपर्छ । हामीले विभाजनकारी शक्तिविरुद्ध लडिरहनुपर्छ । हामीले लोकतन्त्र, संविधान र राष्ट्रियताका पक्षमा रहेका सबै शक्तिहरूसँग हातेमालो गर्ने कुरा उनीहरूसँग सहकार्य गर्ने कुरामा दृढतापूर्वक उभिनुपर्छ । यी सबै कुरामा लड्नका लागि हामीले आफ्नै सङ्गठन, आफ्नै विचारलाई बलियो गर्ने कुरामा सबैभन्दा धेरै ध्यान दिनुपर्छ । यी सबैलाई लिएर हिँड्ने कुरालाई पनि सँगसँगै लिएर जानुपर्छ ।

त्यसो गर्दा हाम्रो भविष्य उज्ज्वल छ । तपाई युवा साथीहरूले केन्द्रीय कमिटीको प्रस्ताव हेर्नुहोला, सर्कुलर पठाइसकिएको छ । हेर्नुहोला । हामीले फेरि यो राष्ट्रको नेतृत्व लिनका लागि तयार गर्नुपर्ने हुन्छ, यो एउटा नेताले गरेर हुने होइन । हामी सबैले सामूहिक रूपमा र मुख्यतः तपाई युवाहरुले व्यापक रूपमा आफूलाई तयार गर्नुभयो भने हामीले जित्छौँ । हामी सबैलाई समेटेर यो राष्ट्रलाई महान् राष्ट्र बनाउनसक्छौं । एक्काइसौं शताब्दीमा अहिलेसम्म नभएको समाजवादको मोडल दिनुछ हामीलाई, विचारमा नयाँ मोडल दिनुछ, राजनीतिमा नयाँ मोडल दिनुछ, अर्थतन्त्रमा नयाँ मोडल दिनुछ , संस्कृतिमा नयाँ दिनुछ, नयाँ उत्पादन अभियान चलाउनुछ र छिटोभन्दा छिटो, राम्रोभन्दा राम्रो तरिकाले विकासको गति दिएर जनतालाई समृद्ध बनाउनु छ  । यही हाम्रो सपना हो । तपाईहरुले यसलाई आत्मसात् गर्नुभयो भने , सङ्कल्प गर्नुभयो भने नजितिने केही कुरा छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पुष्पकमल दाहाल ‘प्रचण्ड’
पुष्पकमल दाहाल ‘प्रचण्ड’
लेखकबाट थप