शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राप्ती प्रादेशिक अस्पतालका प्रमुखमाथि एमाले कार्यकर्ताको दुर्व्यवहार : दोषीलाई कारबाही गर्न चिकित्सक सङ्घको माग

शनिबार, १२ भदौ २०७८, १७ : २२
शनिबार, १२ भदौ २०७८

राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहमाथि दुर्व्यवहार गर्नेहरूलाई कारबाही गर्न नेपाल चिकित्सक सङ्घले माग गरेको छ । महासचिव डा. बद्री रिजालले एक विज्ञप्ति जारी गर्दै घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई प्रचलित कानुन बमोजिम यथाशीघ्र कारबाही गर्न नेपाल सरकार तथा स्थानीय सुरक्षा निकायसँग माग गरेका हुन् ।

‘२०७८ भाद्र ११ गते शुक्रबार दिउसो १ः३० बजे राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहमाथि गरिएको अत्यन्तै अशोभनीय एवं अकल्पनीय व्यवहारप्रति नेपाल चिकित्सक सङ्घको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

 

डा. सिंहलाई एमालेका कार्यकर्ताले कालोमोसो दलेका थिए । एमालेको भातृसंगठन अनेरास्ववियु दाङका अध्यक्ष सर्जन परियारको नेतृत्वको गएको ३/४ जनाको समूहले मेसुको कार्यकक्षमै कालोमोसो दलेको जिल्ला प्रहरी कार्यालय दाङका सुरेश काफ्लेले जानकारी दिए । सिंहसँग चेकजाँच गर्नुपर्ने विषयमा विवाद गरेर परियारको समूहले उनलाई कालोमोसो दल्नुका साथै दुर्व्यवहार गरेको एसपी काफ्लेले बताए । परियारले अस्पतालमा नहुने चेकजाँच बाहिर गर्न आग्रह गर्दा उनीहरूले एकाएक कालोमोसो दलेको बताइएको छ । 

एसपी काफ्लेले घटनामा संलग्नहरूको पहिचान भइसकेको र तत्काल पक्राउ गर्न निर्देशन मातहतका प्रहरीलाई निर्देशन दिइसकेको जानकारी दिए । घटनामा संलग्न व्यक्तिहरूको खोजी कार्य जारी रहेको र अभद्र व्यवहारमा मुद्दा दर्ता गरेर कारबाही गरिने एसपी काफ्लेले बताए । 

कोभिड–१९ को महामारीमा आफ्नो ज्यानको बाजी लगाउँदै स्वास्थ्य सेवा प्रवाहमा समर्पित भइरहेको अवस्थामा कार्यकक्षमै मे.सु. माथि नै अत्यन्तै लज्जास्पद घटना घटाइएको सङ्घको भनाइ छ । ‘राजनीतिक दलको एक जिम्मेवार व्यक्तिबाट कोभिड–१९ को महामारीका समयमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको मनोबल उच्च पार्नुको सट्टा चिकित्सकमाथि नै गैर मानवीय चरित्र प्रदर्शन गरिएको घटनाले नेपाल चिकित्सक सङ्घ स्तब्ध भएको छ,’ सङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप