शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

प्रेमलाई अपराध करार : बुवालाई ६ वर्ष कैद, आमा र बच्चा अलग

बालविवाहले निम्त्याएको एक प्रेमजोडीको वियोगान्त कथा
बुधबार, ०९ भदौ २०७८, १२ : ४५
बुधबार, ०९ भदौ २०७८

भनिन्छ, प्रेमले जात, रङ्ग, उमेर केही हेर्दैन । तर, कानुनले चाहिँ प्रेममा उमेर हेर्छ । थोरै मात्र पनि उमेर मिलेन भने कानुनले त्यस्तो प्रेमलाई बदर मात्र गर्दैन, प्रेम सम्बन्धलाई नै बलात्कार करार गरिदिन सक्छ । नवजात शिशुलाई आमासँग छुट्याइदिन सक्छ । र, बाबुलाई ८/१० वर्षका लागि जेल पठाइदिन सक्छ । पोखरामा यस्तै घटना भयो ।

पोखरा निवासी आकाश र सोही स्थान बस्ने सीमा ( दुवै नाम परिवर्तन) एउटै विद्यालयमा पढ्ने साथी थिए । कक्षा ८ मा पुगेपछि उनीहरुबीच प्रेम सम्बन्ध सुरु भयो । एसईईसम्म एउटै विद्यालयमा पढेका उनीहरु म्यानेजमेन्ट विषय लिएर एउटै कलेजमा पढ्न थाले ।

कक्षा ११ मा पढ्दा आकाशको उमेर १७ वर्ष ६ महिना र सीमाको उमेर १७ वर्ष १० महिना पुगेको थियो । प्रेमि–प्रेमिका भएपछि उनीहरु बेलाबेलामा कतै घुम्न निस्कन्थे । घुमघामकै क्रममा कहिले सीमाको घर त कहिले कास्कीकै विभिन्न स्थानमा उनीहरुबीच शारीरिक सम्बन्ध पनि हुन थाल्यो । आकाश र सीमाको प्रेम सम्बन्ध सीमाका आमा र सानीआमाले थाहा पाए । त्यसपछि सीमालाई गाली गर्दै मोबाइल खोसियो । फेसबुक चलाउन दिइएन । उनको कलेज पनि परिवर्तन गरियो ।

सीमा जनजाति र आकाश दलित समुदायको भएका कारण उनीहरुबीच विवाह सम्भव नभएको भन्दै तत्कालै आकाशसँगको सम्बन्ध तोड्न सीमालाई परिवारले दबाव दियो ।

तर, ४ वर्षअघिदेखि प्रेममा रहेकी सीमा त्यो मान्न तयार भइनन् । बरु तत्कालै घर छाडेर आकाशसँग भागेर विवाह गर्ने मनसायमा पुगिन् ।

जब घरमा उनीमाथि निगरानी बढ्न थाल्यो, त्यसपछि सीमा कलेजको ड्रेसमै आकाशले काम गर्ने गरेको लेकसाइडको एक होटलमा पुगिन् । आकाशको परिवारको पारिवारिक स्थिति कमजोर रहेको र होटल म्यानेजमेन्टको विषय लिएर अध्ययन गरिरहेका कारण आकाश लेकसाइडको एक होटलमा ‘ट्रेनी’का रुपमा काम गर्दै कलेज पढिरहेका थिए ।

प्रेमिका आफूलाई खोज्दै होटलमै आइपुगेपछि आकाश अक्क न बक्क परे । दिनभरि सीमा त्यही होटलमै बसिन् । आफूहरुलाई छुटाउन लागेको भन्दै घर नजाने र विवाह गरेर बस्ने भन्दै सीमाले जिद्दी गरिन् । आकाशको कुरालाई पत्याउने हो भने उनले त्यसबेला ‘अहिले नै विवाह नगरौं, १२ कक्षा पास गरेपछि मात्र विवाह गरौं’ भनेका थिए । तर, सीमाले आफूहरुको प्रेम छुटाउन परिवारले कसरत गरिरहेको भन्दै घर नजाने अडान लिइन् ।

पहिलो ‘भागी बिहे’

होटलको काम सकिएपछि राति करिब १० बजेतिर सीमालाई लिएर आकाश साथीको घरमा गए । ‘विवाह गरेर ल्याएको’ भनेपछि उक्त दिन उनीहरु आकाशको साथीकै घरमा बसे ।

यता, दुवैतर्फका परिवारले उनीहरुको खोजी गरे । आकाशले घर फर्केर आफ्नो परिवारलाई सबै कुरा बताए । परिवारले उनीहरुलाई उमेर नपुगेको भन्दै २० वर्ष पुगेपछि विवाह गरिदिने भनेर सम्झाइ बुझाइ गरे । सीमाले भने आफूहरुको विवाह भइसकेको भन्दै माइत नफर्कने जिद्दी गरिन् । अन्ततः सीमाका परिवारले उनलाई ट्याक्सीमा हालेर लगे । यो घटना थियो, २०७६ साल मङ्सिर पहिलो साताको ।

पहिलोपटक ‘भागी विवाह’ गरेका उनीहरुलाई दुवैतर्फका परिवार बसेर २० वर्ष पुगेपछि विवाह गरिदिने भन्दै छुटाएका थिए ।

पहिलो ‘सम्बन्ध विच्छेद’

तर, सीमालाई घरमा लगेपछि उनीमाथिको प्रतिबन्ध झनै बढ्न थाल्यो । उनलाई मोबाइल चलाउन दिन छाडियो भने एक्लै कलेज जान पनि रोक लगाउन थालियो । आकाशसँगको सबै सम्पर्क टुटाउने प्रयास सीमाको परिवारबाट भयो ।

यद्यपि यहीबीचमा सीमाले आमाको मोबाइलबाट आकाशलाई म्यासेज गरिन् । आफूहरुको प्रेम छुटाउन खोजेको र त्यसबारे आफूलाई डर लागिरहेको कुरा उनले आकाशलाई बताइन् । कलेज जाँदा र पुर्याउँदा पनि आफन्तले लिएर जाने गरेकोे भन्दै अब भेटघाटै नहुने अवस्था आउन सक्ने भन्दै बरु भागेर इन्डिया वा अन्तै जाने प्रस्ताव सीमाले राखिन् ।

आफूले प्रेम गरेकी मान्छेलाई आफूबाट छुटाउन लागिएको भन्दै आकाशले पनि सीमाको योजनामा साथ दिए । पहिले पनि सीमाले आकाशलाई पटक–पटक भन्ने गर्थिन्,  ‘पछि मलाई धोका त दिँदैनौ नि ?’ जवाफमा आकाशले पनि सबै प्रेमीहरूले भन्ने गरेझैं ‘आफू भोकै बसेर भए पनि तिमीलाई सुख दिन्छु, आँखामा कहिल्यै आँसु आउन दिन्नँ भन्ने गरेका थिए ।’

आकाश र सीमाबीच भएको कुराकानीको एक अंश

दोस्रो भागी बिहे

२०७६ मङ्सिर १३ गते साँझ आकाश सीमाकै घरछेउमा पगे । त्यहाँबाट सीमालाई लिएर उनीहरु पृथ्वीचोक हुँदै सुनौली बोेर्डरतर्फ लागे । यता पोखरामा उनीहरुको खोजी सुरु भयो ।

सुनौलीबाट भारत छिर्न डराएर उनीहरु चार दिनसम्म बुटवलमा रहेको आफन्तको घरमा बसे । त्यसपछि नयाँ दिल्ली हुँदै चेन्नई पुगे । र, त्यहाँ रहेका आफन्तको सहयोगमा एक घरमा खाना बनाउने, सरसफाइ लगायतको काम गर्न थाले । यहीबीचमा सीमा गर्भवती बनिन् ।

त्यहीबेला कोरोना सङ्क्रमण बढेसँगै भारतमा बस्न कठिनाइ हुन थाल्यो । त्यसपछि उनीहरु नेपाल फर्कन बाध्य बने । सीमा भने नेपाल फर्कन मानिरहेकी थिइनन् । आफूहरुलाई परिवारले फेरि छुटाउने भन्दै उनले नेपाल नजाने, बरु दिल्लीमा आफन्तहरु रहेका कारण त्यतै गएर बच्चा जन्माउने सीमाको चाहना थियो ।

नेपालमा आफन्तहरु धेरै छन्, अब त परिवारको रीस पनि मरिसक्यो होला भन्दै आकाशले नेपालमै फर्केर बच्चा जन्माउने भन्दै सीमालाई लिएर नेपाल फर्किए ।

स्वदेश फर्कनासाथ पक्राउ

भारतबाट फर्केर सुनौली आइपुग्नेबित्तिकै उनीहरु प्रहरीको ‘ट्रेस’ मा परे । हराएका ‘बालबालिका’ को सूचीमा रहेका उनीहरु नेपाल प्रवेश गरेको थाहा पाएलगत्तै सुनौलीबाट त्यसको जानकारी पोखरामा गराइयो ।

पोखरा आइपुगेर उनीहरु करिब एकसाता क्वारेन्टिनमा श्रीमान–श्रीमती बनेरै बसे । तर, यहीबीचमा क्वारेन्टिनमै प्रहरी पुग्यो । दुवैलाई उठाएर प्रहरी कार्यालयमा लगियो । प्रहरी कार्यालय जानुभन्दा पहिले र प्रहरी कार्यालयमा लैजाँदा पनि उनीहरु दुवैले आफूहरु श्रीमान–श्रीमती भएको र विवाह गरेको निर्धक्क बताइरहेका थिए । किनकि त्यसको प्रमाणस्वरुप सीमाको गर्भमा ८ महिनाको गर्भ थियो ।

दुई दिन लगातार प्रहरी कार्यालयमा राखेपछि तेस्रो दिन आकाशलाई हिरासतमा पठाइयो भने सीमालाई परिवारको जिम्मा लगाएर ‘माइती’ पठाइयो । प्रहरीले प्रेमिल जोडीलाई छुट्याइदियो ।

जब सीमा ‘होस्टाइल’ भइन् ...

अब भने आकाश र सीमाको कथाले नयाँ मोड लिन थाल्यो ।

परिवारले सीमालाई लिएर गएको केही समयपछि सीमाको परिवार र सीमा आफैंले  प्रहरीमा आकाशविरुद्ध जबरजस्ती करणीको जाहेरी दिइन् । आफूलाई पटक–पटक करणी गरी गर्भवती बनाएकाले कारवाही गरीपाउँ भन्दै आमाले दिएको जाहेरीमा सीमाले पनि सहमति जनाइन् ।

जाहेरीअनुसार नै प्रहरीले अभियोजन तयार गर्यो । र, सरकारी वकिलले जबरजस्ती करणीमा कास्की जिल्ला अदालतमा मुद्दा दायर गरे । ‘भागी विवाह’ गरेका आकाशलाई जबरजस्ती करणीको अभियोगमा पुर्पक्षका लागि थुनामा पठाइयो ।

सरकारी वकिलको अभियोगपत्रमा कहीँ पनि विवाह गरेको वा भागेको भन्ने शब्द प्रयोग नै गरेनन् र ‘जबरजस्ती करणी’ अर्थात् बलात्कारको मुद्दा मात्रै उठाइरहे । पीडितकी आमाले भने आफ्नो जाहेरीमा ‘विवाह भएको भए विवाह बदर गराई पाऊँ’ भन्ने ब्यहोरासमेत उल्लेख गरेकी थिइन् ।

आकाश र सीमाको बयान

कानुनले तोकेको उमेर नपुग्दै प्रेममा परेर १७ वर्षमै भागी विवाह गरेका आकाश र सीमा दुवैले आफूहरुबीच प्रेमसम्बन्ध रहेको र आपसी सहमतिमै यौनसम्बन्ध राखेको बयान दिएका छन् । पछि परिवारले छुटाउन खोजेपछि दुवैको सल्लाहमा इन्डिया भागेर विवाह गरेको पनि उनीहरुले बयानमा स्वीकार गरेको देखिन्छ । ‘होस्टाइल’ भएकी सीमाले चाहिँ आफ्नो बयानमा आपसी प्रेमलाई स्वीकार गरे पनि जबरजस्ती करणीबाट गर्भ रहन गएको व्यहोरा उल्लेख गरेको कागजातमा देखिन्छ ।

पहिले आकाशको बयान पढौँ–

‘पीडित भनिएकी परिवर्तित नाम.... लाई मैले करिब ६ वर्ष पहिलेदेखि एउटै कक्षामा पढ्ने भएकाले चिनेको हुँ । निजसँग मेरो प्रेमसम्बन्ध भएको ४ वर्ष जति भई करिब ७–८ महिना अघिबाट निज र मबीच आपसी सहमतिमा यौनसम्पर्क हुने गर्दथ्यो । यस्तैमा मिति २०७६ मंसिर १२ गते बिहानीपख निजले मलाई फोन गरी हामी भागेर विवाह गरौँ, मलाई लिन आउ भनेकाले निजलाई लिन निजको हजुरआमाको घर जाने चोकनिर गई दुवैजना हिँड्दै पोखरा–बागलुङ बसपार्क गई सुनौली जाने टिकट काटेर राति ७ बजे सुनौलीतिर गएका हौँ ।

पहिले पनि हामी बिहे गर्ने भनी भाग्न खोज्दा हामीहरूको परिवारले छुटाइदिएकाले हामी भागेर भारततिर गई विवाह गर्ने भनी सुनौलीको बस चढेका हौँ । त्यसपछि गोरखपुर हुँदै चेन्नई गई त्यहाँ गाउँतिरको मामा पर्नेको कोठामा १ रात बसी निजले हामीलाई खाना बनाउने समेतको काम खोजिदिएपछि काम गरेर बस्यौँ ।

एक–दुई महिना काम गरेपछि निजलाई वाकवाकी लागेकाले अस्पतालमा जाँच गराउँदा निज गर्भवती भएको थाहा पाएका हौँ । २७–२८ दिनअघि नेपाल आउँदा कोरोना रोगका कारण मालेपाटनको कृषि तालिम केन्द्रमा सँगै क्वारेन्टिनमा बस्ने क्रममा मेरोउपर जाहेरवालाले जाहेरी दिएकाले त्यहीँबाट प्रहरीले पक्राउ गरेको हो । मैले निजलाई जबरजस्ती करणी गरेको होइन । भाग्ने दिनभन्दा पहिले प्रेमसम्बन्ध रहेकाले विवाह गर्ने भनी आपसी सहमतिमा करणी लिनुदिनु गर्दै आएका हौँ भने भारतमा गएपछि पनि सहमतिमा यौनसम्पर्क राखेका हौँ ।’

सीमाले प्रहरीसमक्ष गरेको बयान यस्तो छ–

‘परिवर्तित नाम (फलाना) मसँगै स्कुल तथा कलेज पढेका साथी हुन् । हामीबीच माया–प्रेम बस्न गई एक आपसमा मोबाइलमा कुराकानी हुने भेटघाट हुने गर्दथ्यो । २०७६ सालको कात्तिक महिनामा मेरो बुबाको कालगतिले मृत्यु भएको, भाइ सानो भएको, आमाले केही गर्न नसक्ने भएपछि म आमा र भाइ घलेचोक प्रगतिमार्गस्थित मेरो आमाको बहिनी सानीआमाको घरमा गई बसेका थियौँ ।

उक्त ठाउँमा बस्ने क्रममा परिवर्तित निज र मबीच भेटघाट भई पोखराको विभिन्न ठाउँमा शारीरिक सम्पर्कसमेत हुँदै आएको थियो । निजले मलाई विवाह गर्छु, हामी दुवै भागेर इन्डिया जाऊँ, पछि नेपाल फर्केर आउँला भनी मिति २०७६ मङ्सिर १३ गते बेलुका म बसेको घरमा आई मलाई करणी गरेका र सोही बेलुकीपख पोखराबाट चितवन नारायणघाट हुँदै दुवैजना इन्डियाको चेन्नई भन्ने ठाउँमा गएका हौँ ।

इन्डियामा बस्दा पनि निजले मलाई करणी गरेका हुन् । निजको करणीबाट मेरो पेटमा ८ महिनाको गर्भ छ । मेरो पेटमा गर्भ रहन गएपछि निजले मलाई आजभन्दा ७–८ दिनअघि नेपाल ल्याएका हुन् ।

नेपालमा आएपछि कोभिड–१९ परीक्षणको लागि हामीलाई पोखरा मालेपाटनस्थित कृषि तालिम केन्द्रको क्वारेन्टाइनमा राखिएको अवस्थामा मेरो आमा जाहेरवालाले थाहा पाई मलाई यस कार्यालयमा ल्याई सोधपुछ गर्दा मैले सबैकुरा मेरो आमालाई बताएपछि निजविरुद्धमा उजुरी दिनुभएको हो । मलाई विवाह गर्छु भनी ललाई फकाई प्रलोभनमा पारी जबरजस्ती करणी गरी गर्भ बोकाउने निजलाई हदैसम्मको सजाय होस् ।’

अदालतको तर्क

एकजना प्रेमी र एक दूधे बालकका पिता, जो अहिले ६ महिना जेल बसिसकेका छन् (फैसलाको समयमा) उनलाई पक्राउ परेको ६ महिनापछि जबरजस्ती करणी मुद्दामा उनी दोषी ठहर भएका छन् ।

न्यायाधीशले फैसलाका क्रममा कागजमा भएको कानुनी व्यवस्थालाई मात्रै टेकेर फैसला गरेको र विवाहित जोडीलाई आपसमा छुटाइदिएको देखिन्छ । बच्चाका बुबालाई अदालतले ‘बिजाइँकर्ता’ भनेको छ ।

फैसलाको तर्क हेर्दा १८ वर्षभन्दा कम उमेरकी महिलासँग सहमतिमै यौनसम्बन्ध स्थापित गरे पनि त्यसलाई जबरजस्ती करणी मानिने कानुनी व्यवस्थालाई टेकेर त्यही आधारमा आकाशमाथि जवरजस्ती करणीको कसुर स्थापित गराइएको र परिवारका तीन सदस्यलाई टुटाएको देखिन्छ ।

यतिसम्म कि अदालतले दुईबीचको सम्बन्धलाई आपसी प्रेमका रुपमा पनि स्वीकार गरेको छ । तर, कारबाही चाहिँ बाल विवाहमा सम्म पनि नगरेर जबरजस्ती करणीका गरेको छ र आकाशलाई ६ वर्षभन्दा बढीको जेल सजाय सुनाएको छ ।

कास्की जिल्ला अदालतको फैसलामा लेखिएको छ–

‘वारदातको समयमा बिजाइँकर्ताको उमेर १७ वर्ष ५ महिना २७ दिन देखिएको । कक्षा १२ मा अध्ययन गर्दै आएको विद्यार्थी भएको । पहिलोपटकको कसुरदार देखिएको । पीडितको उमेर वारदातको समयमा १७ वर्ष ९ महिना १७ दिन भएको । पीडित र बालक दुवैजना एउटै स्कुल र कलेज पढ्ने साथी भई प्रेममा परेको । विवाह गर्ने सल्लाह भई दुवैजना भागी भारतको चेन्नई गएको । पीडितलाई वाकवाकी लागेपछि स्थानीय अस्पतालमा जँचाउँदा गर्भवती भएको थाहा पाई २७–२८ दिनअघि दुवैजना नेपाल फर्किएका ।

दुवैको सहमतिमा शारीरिक सम्पर्क भएको देखिन आए पनि अपराध संहिता, २०७४ को दफा २१९ ले १८ वर्षभन्दा कम उमेरको महिलालाई मञ्जुरी लिएरै भए पनि करणी गरेमा त्यस्तो करणी जबरजस्ती हुने कानुनी प्रावधानका कारण यो वारदात Statutory Rape भई निरपेक्ष दायित्व अन्तर्गत पर्न आएकाले बिजाइँकर्ताको हकमा अपराध संहिता, २०७४ को दफा ३९ को देहाय (क), (ख), (झ), (ट), (ठ) विद्यमान देखिदा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा १३, १४, १५, १६ र १८ समेतलाई मध्यनजर राखी बिजाइँकर्ता परिवर्तित नाम, थर....लाई अभियोग दाबीबमोजिम अपराध संहिता, २०७४ को दफा २१९ को ३(घ) अनुसार १० वर्ष कैद हुने ठहर्छ ।’

 


दूधे बालक अनाथालयको जिम्मा

२०७७ साउन २० गते कास्की जिल्ला अदालतमा दर्ता भएको मुद्दामा २०७७ माघ २७ गते कसुर ठहर भयो । आकाशले जबरजस्ती करणीको अपराध गरेको ठहर गर्दै जिल्ला न्यायाधीशले सजाय निर्धारणका लागि २०७७ फागुन २५ को पेसी तोके । त्यसपछि फागुन २५ गते १ नम्बर न्यायाधीशले आकाशलाई जबरजस्ती करणी कसुरमा १० वर्षको सजाय हुने ठहर गरे ।

तर, आकाश वारदातको समयमा १८ वर्ष नपुगेको र वारदातको समयमा उनको उमेर १७ वर्ष ६ महिना रहेको भन्दै उनलाई कुल सजायको दुई तिहाई अर्थात् ६ वर्ष ८ महिना कैद सजाय हुने ठहर गरियो ।

२०७७ भदौ महिनामै सीमाले छोरालाई जन्म दिइसकेकी थिइन् । आकाश र सीमाको प्रेमको निसानी मानिएका ती अबोध बालकलाई बालकलाई अनाथालयको जिम्मा लगाइयो । बच्चाका बाबुलाई बाल सुधार गृहमा राख्न सराङकोट पठाइयो । बच्चाकी आमा माइतीको जिम्मा लगाइयो ।

र, न्यायालयको निर्णयपछि ६ महिनाको अबोध बालक आफ्ना माता–पिताको साथ छाडेर अनाथालयमा पुगे । अन्ततः एकजना प्रेमी उमेर नपुगेकै कारणले बलात्कारी करार भएर जेल चलान भए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप