सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

रौतहटका एसपीलाई काठमाडौं झिकाइयो

मङ्गलबार, ०८ भदौ २०७८, १७ : ५०
मङ्गलबार, ०८ भदौ २०७८


रौतहटमा प्रहरी र पत्रकार महासंघ रौतहट शाखाका सहसचिव सञ्जय शहनी मिलेर अर्का पत्रकार महम्मद मोजिबुल्लाहलाई फसाएको भनिएको घटनामा प्रहरी प्रधान कार्यालयले छानबिन शुरु गरेको छ । प्रहरी प्रधान कार्यालयले छानविनका लागि रौतहटका एसपी सिद्धि बिक्रम शाहलाई काठमाडौंमा झिकाएको एक उच्च अधिकारीले बताए । 

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्ण कुमार महत नेतृत्वमा ४ सदस्यीय समिति गठन गरिएको प्रहरी प्रवक्ता (एसएसपी) बसन्त कुँवरले रातोपाटीलाई बताए ।

साउन ३२ मा रौतहटको गौर नगरपालिका–१ स्थित होटल ग्रीन सिग्नलबाट निस्केका ईशनाथ नगरपालिका–८ घर भएका पत्रकार मोहम्मद मोजिबुल्लाह र राजपुर नपा–७  घर भएका शेख गुलाबलाई प्रहरीले पक्राउ गरेको थियो । मोजिबुल्लाहले पार्किङ गरेर राखेको मोटरसाइकलमा पत्रकार महासंघ रौतहट शाखाका सहसचिव सञ्जय शहनी सहितको योजनामा १०५ ट्याब्लेट लागुऔषध नाइट्राभेट प्लान्ट गरिएको रौतहट प्रहरीले गरेको अनुसन्धानबाट खुलेको छ । 

लागुऔषध नाइट्राभेट राख्ने भूमिकामा रहेका प्रहरी सहायक निरीक्षक (असई) उदयप्रसाद यादव र जवान मनोज शाहलाई निलम्बन गरिएको छ । 

लागुऔषध ‘प्लान्ट’ गरेको पुष्टि भएपछि सो काममा संलग्न स्थानिय युवा धीरज यादव र जितेशकुमार यादवलाई प्रहरीले पक्रेको छ । यसअघि पक्राउ गरिएका मोहम्मद मोजिबुल्लाह र शेख गुलाबलाई रिहा गरिएको छ । 

घटनामा एसपी सिद्धिविक्रम शाहको भूमिका पनि शंकास्पद देखिएपछि हेडक्वार्टरले छानविन समिति बनाएको हो भने उनलाई काठमाडौं झिकाइएको हो । 

 शहनी र एसपी शाहको बीचमा मोजिबुल्लाहलाई पक्राउ गरेपछि भएको कुराकानीको अडियो बाहिरिएको छ । अडियोमा शाहले हाँस्दै भनेका छन्, ‘सञ्जयजी, काम भयो हैन ?’ शहनी घटनापछि फरार छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप