बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहट घटना : प्रहरी हेडक्वार्टरले बनायो छानविन समिति

मङ्गलबार, ०८ भदौ २०७८, १९ : ००
मङ्गलबार, ०८ भदौ २०७८

रौतहटमा सादा पोसाकमा खटिने प्रहरी (घुमुवा)ले लागुऔषध राखेर पत्रकारलाई फसाएको घटना छानविन गर्न प्रहरी प्रधान कार्यालयले छानविन समिति बनाएको छ । 

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्ण कुमार महत नेतृत्वमा ४ सदस्यीय समिति गठन गरिएको प्रहरी प्रवक्ता (एसएसपी) बसन्त कुँवरले रातोपाटीलाई बताए । समितिमा प्रहरी प्रधान कार्यालय कानुन शाखा र साइबर ब्यूरोका अधिकृत सदस्य छन् । 

साउन ३२ मा साँझ ८ बजे रौतहटको गौर नगरपालिका–१ स्थित होटल ग्रीन सिग्नलबाट निस्केका ईशनाथ नगरपालिका–८ घर भएका पत्रकार महम्मद मोजिबुल्लाह र राजपुर नपा–७  घर भएका शेख गुलाबलाई प्रहरीले पक्राउ गरेको थियो । 

मोजिबुल्लाहले पार्किङ गरेर राखेको बिआर–३० एस १८८५ नम्बरको भारतीय मोटरसाइकलमा १०५ ट्याब्लेट लागुऔषध नाइट्राभेट प्रहरीले ‘प्लान्ट’ (राखेको) गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले गरेको छानबिनबाट पुष्टि भएको छ । लागु औषध ‘प्लान्ट’ गरेको आरोपमा प्रहरीले स्थानीय धीरज यादव र जितेशकुमार यादवलाई पक्राउ गरेको छ ।

लागुऔषध नाइट्राभेट राख्ने भूमिका खेलेको आरोपमा प्रहरी सहायक निरीक्षक (असई) उदयप्रसाद यावद र जवान मनोज शाह समेत निलम्बनमा परेका छन् । घटनामा रौतहटका एसपी सिद्धिविक्रम शाहको भूमिका समेत शंकास्पद देखिएपछि हेडक्वार्टरले छानविन समिति बनाएको हो । पत्रकार महासंघ रौतहट शाखाका सह–सचिव सञ्जय सहनी र एसपी शाहको बीचमा मोजिबुल्लाहलाई पक्राउ गरेपछि भएको कुराकानीको अडियो बाहिरिएको छ । अडियोमा शाहले हाँस्दै भनेका छन्, ‘सञ्जय जी, काम भयो हैन ?’ 

सहसचिव सहनी फरार छन् ।  धिरज र जितेशविरुद्ध आपराधिक षड्यन्त्र सम्बन्धी कसुरमा कसुरमा प्रहरीले अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप