आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

बालकोट बैठकको निष्कर्ष : माधव नेपाल एमालेमा फर्कंदैनन् पार्टी दर्ताबाट ‘ब्याक’ भएमात्रै कारवाही फिर्ता

सोमबार, ०७ भदौ २०७८, १८ : ४७
सोमबार, ०७ भदौ २०७८

एमाले अध्यक्ष केपी शर्मा ओली र एमालेकै तेस्रो धारका नेताहरुबीच भएको छलफलले माधव नेपाल एमालेमा नफर्कने निष्कर्ष निकालेको छ । नेता नेपाल नयाँ पार्टी दर्ता प्रक्रियामा गइसकेकाले एमालेमा नफर्कने निष्कर्ष बालकोट बैठकले निकालेको हो ।

बालकोट बैठकमा अध्यक्ष केपी ओली र महासचिव ईश्वर पोखरेलसँग तेस्रो धारका नेताहरु भीम रावल, युवराज ज्ञवाली, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, भीम आचार्य, गोकर्ण विष्ट, रघु पन्त सहभागी थिए ।

बैठकको अन्तिममा प्रवक्ता प्रदीप ज्ञवाली पनि सहभागी बनेका थिए । उक्त बैठकमा खासगरी तीनवटा विषयमा सैद्धान्तिक सहमति भएको नेताहरुले बताएका छन् ।

अध्यक्ष ओलीको निजी निवास बालकोटमा तीन घण्टा दुई पक्षबीच भएको छलफल यसअघि कार्यदलले तयार पारेको एकताको प्रस्ताव कार्यान्वयन गर्ने विषयमा केन्द्रित भएको थियो । बैठकले नेताहरु भीम रावल, ईश्वर पोखरेल र विष्णु पौडेललाई १० बुँदे कार्यान्वयनको मोडालिटी तयार गर्ने जिम्मेवारीसमेत दिएको छ ।

​तीन नेताले भोलि ११ बजे बस्ने स्थायी समितिको बैठकअघि १० नै बुँदे प्रस्ताव कार्यान्वयनको मोडालिटी तयार गरिसक्ने र त्यसमा छलफल गरेर स्थायी समितिमा पेश गर्ने सहमति भएको छ ।  

त्यस्तै, सोमबारको बैठकले जुटाएको दोस्रो सैद्धान्तिक सहमतिमा माधव नेपालसहितका १४ नेताहरुमाथिको कारवाही फिर्ताको विषय छ । कारवाही फिर्ताका लागि नेता नेपालले नयाँ पार्टी दर्ता प्रक्रियाबाट पछि हट्नुपर्ने छ ।

‘माधव नेपालसहितका १४ नेतामाथिको कारवाही फिर्ता गर्ने सैद्धान्तिक सहमति भएको छ । तर, त्यसअघि नेता नेपालले नयाँ पार्टी दर्ता प्रक्रिया रोक्नुपर्नेछ’, ओलीसँगको छलफलपछि एक नेताले भने, ‘कारवाही र नयाँ पार्टी दर्ता आपसमा सम्बन्धित छन् ।’

माधव पक्ष भन्छ– बालकोटको सहमतिको अर्थ छैन

माधव नेपाल पक्षका नेता बेदुराम भुसालले अध्यक्ष ओली र तेस्रो धारका नेताहरुबीच भएको भनिएको उक्त सहमतिको कुनै अर्थ नभएको प्रतिक्रिया दिएका छन् ।

‘त्यस किसिमको सहमतिको कुनै अर्थ छैन’, भुसालले रातोपाटीसँग भने, ‘त्यो धेरै ढिला भइसक्यो ।’

नेता भुसालले नयाँ पार्टी दर्ता प्रक्रियाबाट पछि फर्कने सम्भावना नरहेको बताए । ‘अवस्था धेरै अघि बढिसक्यो, उहाँहरु पुरानै कुरामा अल्झिनुभएको छ । अब हामी पछि फर्कने भन्ने सम्भावना छैन’, भुसालले संक्षिप्त प्रतिक्रिया दिए ।

नेता नेपालको संयोजकत्वमा नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ । उक्त निवेदनमा निर्वाचन आयोगले भदौ ९ गते केन्द्रीय सदस्यहरुलाई सनाखत गर्न बोलाएको छ । सो दिन सांसद र केन्द्रीय सदस्यहरु उपस्थित भएर सनाखत गरेपछि नेता नेपालको पार्टीले आधिकारिकता पाउने छ ।

तेस्रो धारको ‘फेस सेभिङ’

एमालेका एक नेताका अनुसार सोमबारको बालकोट वार्ता र छलफल तेस्रो धारका नेताहरुका लागि ‘फेस सेभिङ’ गर्ने बहाना मात्र हो । ‘माधव नेपालले नयाँ पार्टी गठन गर्ने बेलामा माधवतिर नलागेर स्वतन्त्र बसेका नेताहरु अलमलमा थिए’ ती नेता भन्छन्, ‘अर्कोतिर कार्यदलले तयार पारेको १० बुँदे अलपत्र थियो । केही दिन स्वतन्त्र बसेर पुन ओलीतिर नै लाग्न उनीहरुले बाहाना खोजेका थिए । उनीहरुलाई १० बुँदे कार्यान्वयन गर्न ओलीलाई बाध्य पार्यौ भन्नेबाहेक अरु केही होइन ।’

यसअघि पनि ओली जेठ २ मा फर्किएको भनेर फागुन २८ मा फर्किएका थिए । एमाले विवादमा गत असार २७ गते ओली र नेपाल पक्षका १० नेताहरु सम्मिलित कार्यदलले पार्टी एकताको आधार भन्दै १० बुँदे प्रस्ताव सार्वजनिक गरेको थियो । तर, उक्त प्रस्ताव कार्यान्वयनमा ओली सकारात्मक नभएपछि नेता नेपाल नयाँ पार्टी दर्ताका लागि अघि बढेका थिए ।

सोमबारको बालकोट छलफलपछि प्रवक्ता प्रदीप ज्ञवालीले माधव नेपालले अर्कै बाटो तय गरिसकेकाले उहाँ फर्कनुहुन्छ भन्ने विश्वास गर्न नसकिने बताए ।

‘माधव कमरेडले अर्कै बाटो तय गरिसक्नुभएको छ । पार्टी नै दर्ता गरिसक्नुभयो भने उहाँ एकतामा फर्किनुहुन्छ भन्ने विश्वास त कसरी गर्न सकिन्छ र ?’ प्रवक्ता ज्ञवालीको प्रश्न छ ।

तर, दल दर्ताको प्रक्रियामा रहेकाहरुलाई फर्केर आउन भनिरहेको र भोलिको बैठकले पनि सोही आव्हान गर्ने ज्ञवालीको भनाइ छ । छलफलबाट आएको निश्कर्षबारे सुनाउदै ज्ञवालीले माधव नेपाल अलग्गै हिँड्न खोजेको र त्यो विभाजन भएको भन्दै त्यो विभाजनको बाटोमा अरु साथीहरु नजाउनुस् भन्ने अपील मंगलबारको बैठकले गर्ने बताए ।

उनले जेठ २ मा रहेका संरचनाहरु क्रियाशील हुने पनि बताए । विभाजनकारी गतिवधिमा संलग्न नरहनेहरुका हकमा पुरानै जिम्मेवारी दिइने पनि ज्ञवालीको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप