आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

पत्रकारलाई लागुऔषध राखेर फसाएको पुष्टि, दुई प्रहरी निलम्बित

सोमबार, ०७ भदौ २०७८, १७ : ०१
सोमबार, ०७ भदौ २०७८

रौतहटमा सादा पोसाकमा खटिने प्रहरी (घुमुवा)ले लागुऔषध राखेर पत्रकारलाई फसाएको पुष्टि भएको छ । लागुऔषध ‘प्लटिङ’ गरेको आरोपमा प्रहरीले धीरज यादव र जितेशकुमार यादवलाई पक्राउ गरेको छ । 

रौतहटबाट सञ्चालित ‘रौतहट एक्सप्रेस’का पत्रकार महम्मद मोजिबुल्लाह र शेख गुलाबलाई १०५ ट्याब्लेट लागुऔषध नाइट्राभेट सहित पक्राउ गर्ने दुईजना प्रहरीलाई निलम्बन गरिएको छ । प्रहरी सहायक निरिक्षक (असई) उदयप्रसाद यादव र जवान मनोज शाहलाई निलम्बन गरिएको रौतहटका एसपी सिद्धिविक्रम शाहले रातोपाटीलाई बताए । 

पत्रकार महासंघ रौतहट शाखाका सह–सचिव सञ्जय सहनीले धीरज यादव र जितेशकुमार यादवलाई प्रयोग गरी मोजिबुल्लाह चढ्ने मोटरसाईकलमा लागुऔषध राख्न लगाएको प्रहरीको छानबिनबाट थाहा भएको छ । सह–सचिव सहनी फरार छन् ।  

लागुऔषध राखेपछि सञ्जयले असई यादव र जवान मनोज शाहलाई बोलाएर पक्राउ गर्न लगाएको बताइएको छ । धीरज र जितेशविरुद्ध आपराधिक षड्यन्त्रसन्बन्धी कसुरमा कसुरमा प्रहरीले अदालतबाट म्याद लिएर अनुसन्धान शुरु गरेको छ । 

साउन ३२ मा साँझ ८ बजे रौतहटको गौर नगरपालिका–१ स्थित होटल ग्रिन सिग्नलबाट निस्केका ईशनाथ नगरपालिका–८ घर भएका मोजिबुल्लाह र राजपुर नपा–७  घर भएका शेख गुलाबलाई प्रहरीले पक्राउ गरेको थियो । 
मोजिबुल्लाहले पार्किङ गरेर राखेको बिआर–३० एस १८८५ नम्बरको भारतीय मोटरसाइकलमा १०५ ट्याब्लेट लागुऔषध नाइट्राभेट प्रहरीले ‘प्लटिङ’ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले गरेको छानबिनबाट पुष्टि भएको छ ।

तर, रौतहटका पत्रकारहरुले प्रहरीको छानविन फितलो भएको भन्दै प्रदेशस्तरको छानबिन समिति बनाएर घटनाको थप अनुसन्धान गर्न माग गरेका छन् । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप