शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

पत्रकारलाई लागुऔषध राखेर प्रहरीले फसाएको आरोप

प्रहरी भन्छ–‘सत्यतथ्य सार्वजनिक गर्छौ’
आइतबार, ०६ भदौ २०७८, १० : ४६
आइतबार, ०६ भदौ २०७८

रौतहटमा सादा पोसाकमा खटिने प्रहरी (घुमुवा)ले लागु औषध राखेर पत्रकारलाई फसाएको आरोप लागेको छ । रौतहटबाट सञ्चालित ‘रौतहट एक्सप्रेस’का पत्रकार महम्मद मोजिबुल्लाहलाई प्रहरीले नै फसाएको पत्रकार महासंघ रौतहट शाखाले विज्ञप्ती निकालेर जानकारी दिएको छ । 

साउन ३२ मा साँझ ८ बजे रौतहटको गौर नगरपालिका–१ स्थित होटल ग्रीन सिग्नलबाट निस्केका ईशनाथ नगरपालिका–८ घर भएका मोजिबुल्लाह र राजपुर नपा–७  घर भएका शेख गुलाबलाई प्रहरीले पक्राउ गरेको थियो । मोजिबुल्लाहले पार्किङ गरेर राखेको बिआर–३० एस १८८५ नम्बरको भारतीय मोटरसाइकलमा १०५ ट्याब्लेट लागुऔषध नाइट्रोभेट प्रहरीले ‘प्लटिङ’ गरेको पत्रकार महासंघले दाबी गरेको छ । 

असई उदय यादव नेतृत्वको टोलीले अरु दुईजना युवालाई प्रयोग गरेर सो लागु औषध मोटरसाइकलमा राख्न लगाएको फुटेजबाट देखिएको पत्रकार महासंघ रौतहटका सभापति प्रेमचन्द्र झाले रातोपाटीलाई बताए ।  पत्रकार महम्मद मोजिबुल्लाह र शेख गुलाब जिल्ला प्रहरी कार्यालय रौतहटको थुनामा छन् । सोमबारसम्म उनीहरुलाई रिहा नगरे कडा आन्दोलनमा उत्रने पत्रकार महासंघले चेतावनी दिएको छ । 

घटनाबारे अनुसन्धान भइरहेको बताउँदै जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त प्रमुख (डिएसपी) नारायण चिमोरियाले दुई दिनमा सत्यतथ्य सार्वजनिक गर्ने बताए । चिमोरियाले रातोपाटीसँग भने–‘अनुसन्धान भइरहेको छ, दुई दिनमा सत्यतथ्य बाहिर ल्याउँछौँ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप