शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

गाईजात्रामा कमेडी : पहिले कलात्मक, अहिले छाडा र उच्छृङ्खल !

सोमबार, ०७ भदौ २०७८, १५ : ३६
सोमबार, ०७ भदौ २०७८

 ‘गाईजात्रा’को धार्मिक महत्त्व एक प्रकारको छ । सांस्कृतिक महत्त्वको पाटो अलग छ । कलाकारका हिसाबले हेर्ने हो भने राजनीतिक, सामाजिक लगायत हरेक क्षेत्रका विकृतिप्रति खुलेर व्यङ्ग्य गर्ने पर्व हो ‘गाईजात्रा’ । त्यसैले यो पर्वलाई हाँसो र ठट्टाको पर्वका रूपमा पनि लिइँदै आएको छ ।​ जनैपूर्णिमाको भोलिपल्टदेखि अष्टमिसम्म ८ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव हो ‘गाईजात्रा’ ।

यो पर्वमा हाम्रा कलाकारहरू राजनीतिक घोचपेच गर्ने, सामाजिक विषयवस्तुमाथि तीखो व्यङ्ग्य प्रहारका कार्यक्रम गर्ने, व्यङ्ग्यले भरिएको अडियो, भिडियो प्रहसन निकाल्नेदेखि लेख रचना प्रकाशनसमेत गर्दछन् । उनीहरू आफ्नो यो क्रियाकलाप परम्पराको निरन्तरता बताउँछन् । कतिपयले राम्रो आम्दानीको स्रोतको रूपमा समेत सदुपयोग गरेका छन् ।

गाईजात्रामा किन व्यङ्ग्य ?

गाईजात्रामा व्यङ्ग्य हाम्रो परम्परादेखि नै चल्दै आएको हो । अहिले पनि त्यसको निरन्तरता छ । फरक कति हो भने पहिले चोक, डबलीमा हुन्थे । अहिले रङ्गमञ्च हुँदै डिजिटल प्लेटफर्ममा पुगेको छ । गाईजात्रामै व्यङ्ग्य किन ? वाक् स्वतन्त्रता, परम्परा हाम्रा अधिकांश कलाकारको जवाफ रहन्छ ।

२०३९ सालदेखि नियमित कमेडी गर्दै आएका कलाकार किरण केसी ‘ए राता मकै’ प्रताप मल्लदेखि चल्दै आएको परम्पराको निरन्तरताका लागि गाईजात्रामा कमेडी चल्दै आएको बताउँछन् । ‘परम्परादेखि यो दिनलाई वाक् स्वतन्त्रताको रूपमा लिइएको छ,’ केसीले भने, ‘पहिले शासन व्यवस्था कडा थियो, जनता शासकका मात्र होइन, कुनै पनि विषयमा स्वतन्त्र रूपमा विचार राख्न पाउँदैन थिए । शासकप्रति जनमानसमा रहेको भावना बाहिर ल्याउनु जरुरी थियो । त्यसैले ज्ञानी राजा प्रताव मल्लले सबैको भावना बाहिर आओस् भनेर आफूलाई समेत गाली गर्न पाउने छुट दिएर गाईजात्राको सुरुवात गरे ।’ सोही परम्पराको निरन्तरताका लागि पनि अहिले गाईजात्रामै व्यङ्ग्य गरिएको हो ।

​किरण केसीको विचारसँग कलाकार दीपकराज गिरी पनि सहमती जनाउँछन् । वाक् स्वतन्त्रता र पूर्ण प्रजातन्त्र सदुपयोग गर्ने दिनेका रूपमा चिनिएकाले पनि यो दिन व्यङ्ग्य गर्ने गरिएको गिरी बताउँछन् । कोरोना अगाडिसम्म गाईजात्राको अवसर पारेर गिरी पनि कमेडी कार्यक्रम गर्थे ।

‘हाम्रो देशमा लामो समय शासकीय स्वरूप त्यस्तै प्रकारको रह्यो । राणा, पञ्चायतलगायत शासन व्यवस्थामा स्वतन्त्र रूपमा बोल्न, मनमा लागेको कुरो भन्न मिल्दैन थियो । शासक वर्गसँगको असन्तुष्टि सजिलै राख्न पाइँदैन थियो । बोले अपराध हुन्थ्यो,’ गिरीले भने ‘गाईजात्राको एक दिन भने बोल्न, मनमा लागेको कुरा व्यङ्ग्यका रूपमा राख्न दिइएको थियो ।’ त्यो दिन सदुपयोग गर्दै व्यङ्ग्य गर्ने परम्परा निरन्तर चल्दै आएको गिरीको बुझाइ रहेको छ ।

कलाकार उत्तम केसी, मनोज गजुरेल, दमन रूपाखेतीलगायतका कलाकार पनि गाईजात्रामा पहिलेदेखि नै व्यङ्ग्य गर्ने परम्परा रहँदै आएकाले त्यसको निरन्तरताका लागि अहिले पनि हुने गरेको बताउँछन्, ‘हरेक देशमा व्यङ्ग्य गर्ने एउटा पर्व हुँदोरहेछ । हाम्रो गाईजात्रा हो’ गजुरेलले भने ‘राजा प्रताव मल्लले रानीको मन बहलाउन सुरु गरेको भए पनि यो अहिले परम्परा बनिसकेको छ ।’

‘यो दिन राज्यको शासन व्यवस्था, शासक वर्ग लगायत विभिन्न विषयमा व्यङ्ग्य प्रस्तुत गरेको आधारमा कसैले कोहीमाथि कारबाही गर्न नमिल्ने, रिस, राग राख्न नमिल्ने भएकाले पनि गाईजात्रामै व्यङ्ग्य गर्ने गरिएको हो,’ कलाकार उत्तमले भने ‘यो दिन व्यङ्ग्यमा जति नै गाली गरे पनि हल्काफुल्का रूपमा उडाउने गरिन्छ ।’ पछिल्लो समय गाईजात्राको नाममा गरिने व्यङ्ग्यका कार्यक्रमबाट कलाकारले राम्रो आम्दानी गर्ने गरेको समेत उत्तमले सुनाए ।

पहिलेकै कमेडी राम्रो

गाईजात्रामा परम्परा भन्दै पहिले जस्तै अहिले पनि व्यङ्ग्यात्मक कमेडीहरू हुने गरेका छन् । फरक यति हो, पहिलेको तुलनमा अहिलेका कमेडी उत्कृष्ट, सर्वप्रिय र कलात्मक भने हुन नसकेको गुनासो हुँदै आएको छ । पहिले पनि गाईजात्राको कमेडीका विषय राजनीतिक, सामाजिक, आर्थिक लगायत विविध विषय बन्ने गरेका थिए । अहिले पनि विषय त्यही हुन् तर विषयवस्तु प्रस्तुतिमा कलात्मकता हराएको कलाकारहरू नै बताउँछन् ।

२०३३ सालदेखि नियमित कमेडीका कार्यक्रम गर्दै आएका कलाकार मदनकृष्ण श्रेष्ठ अहिलेको तुलनामा पहिलेको कमेडीमा कला धेरै भएको बताउँछन् ।

‘पहिले कमेडीमा विषयवस्तु, प्रस्तुति शैली लगायतमा राम्रो हुने गथ्र्यो’ श्रेष्ठले भने ‘व्यङ्ग्य पनि घुमाउरो तरिकाले गर्ने चलन थियो । पञ्चायत जस्ता कठोर शासक पनि रिसाउँदैन थिए । उनीहरू रिसाए पनि उनीहरूका परिवार, छोराछोरीले मनपराएको हुन्थ्यो ।’ अहिले भने ठाडो छाडा शैलीको विकास भएको उनको भनाइ रहेको छ ।

लामो समयदेखि गाईजात्रे कोसेली ल्याउँदै आएका कलाकार दमन रुपाखेती पनि कमेडीमा पहिलेको शैली नै ठीक रहेको बताउँछन् । ‘पहिले कुनै पनि विषयमा सीधै भन्न पाइँदैन । घुमाउरो पाराले भन्ने गरिन्थ्यो । त्यसो गर्दा कलात्मक शैलीका कारण व्यङ्ग्य कसका लागि हो भनेर बुझ्न गाह्रो गर्दैन थियो,’ दमनले भने, ‘कसैलाई गाली गर्नुपर्यो भने विभिन्न प्रसङ्ग मिलाएर भनिन्थ्यो ।’ पछिल्लो समय कमेडीको कलात्मक हराउँदै गएकाले पनि दर्शक घटेको उनको बुझाइ छ ।

उनले थपे, ‘पहिले कमेडी हेर्न मानिसहरू घुइँचो लाग्थे । यो वर्ष कोरोनाले स्टेज कार्यक्रम छैन, भएको भए पनि दर्शक बोलाएर ल्याउनुपर्थ्यो ।’

वर्षाैंदेखि कमेडीमै रमाउँदै आएका जितु नेपाल पनि अहिलेको तुलनामा पहिलेका कमेडी राम्रा भएको बताउँछन् । ‘थोरै विषयवस्तुबाट धेरै बुझाउन सकिन्थ्यो । प्रहसनमा आएका विषयले सम्बन्धित पक्षमा महत्त्व राख्थ्यो’ जितुले थपे, ‘अहिलेको व्यङ्ग्यले हामीले जीवन मात्र चलाएका छौँ । त्यसले कसैमा प्रभाव पारेको छ जस्तो लाग्दैन ।’

२१ वर्षदेखि गाईजात्रामा नियमित व्यङ्ग्यको कोसेली ल्याउँदै आएका कलाकार कमल गाउँलेले पनि पहिलेका कमेडी राम्रो भएको बताउँछन् । ‘पहिलेको कमेडीले समाजमा विभिन्न परिवर्तन हुन्थ्यो । मानिसमा खुसी दिन्थ्यो,’ गाउँलेले अगाडि थपे, ‘विभिन्न हाउभाउ, डाइलग, कविताको कलात्मकताले मनिसमा खुसी दिन्थ्यो । मानिस हरेक समय तनावमा रहने भएकाले यो एउटा औषधिझैँ हुन्थ्यो ।’

कमेडीमै करियर बनाएका कलाकार दीपकराज गिरी पनि पहिलेको कमेडीमा सानो शब्दले पनि धेरै अर्थ राख्ने र कलात्मकता बढी हुनेगरेको स्वीकार्छन् । ‘पहिलेका व्यङ्ग्यमा प्रतीकात्मकता बढी हुन्थ्यो । साँच्चिकै व्यङ्ग्य हुन्थ्यो,’ गिरी थप्छन्, ‘अहिले त्यो कहाँ पाउन सकिन्छ ।’

अहिलेका कमेडी कस्ता ?

गीतसङ्गीत होस् वा अन्य, अहिले हरेक क्षेत्रमा विकृति भित्रिएको छ । कमेडी पनि यसबाट अछुतो रहन सकेको छैन । कमेडीमा पनि कला, मौलिकता हराउँदै गएको र छाडा अश्लीलताले प्रथामिकता पाउँदै गएको आरोप लाग्दै आएको छ । वरिष्ठ हास्य कलाकार मनोज गजुरेल पनि पछिल्लो समयका धेरै कमेडी कन्टेन्ट राम्रा, सभ्य र घुमाउरो नभएको बताउँछन् ।

गजुरेलको विचारसँग कलाकार उत्तम केसी पनि सहमती जनाउँछन् । ‘त्यतिबेला सूर्यबहादुर प्रधानन्त्री हुँदा गाली गर्नुपर्यो भने सीधा भन्न पाइँदैन थियो । यसपालि त घामले पोलेर बर्बाद बनायो भनेर भन्नुपथ्र्यो’ केसीले भने ‘सिम्बोलिक तवरले भन्दा विषयवस्तु र प्रस्तुतिमा ध्यान दिइन्थ्यो ।’ अहिले ठाडो भन्ने शैलीले असभ्य बनाएको कलाकार केसी बताउँछन् ।

सबैका प्रिय कमेडी कलाकार शैलेन्द्र सिंखडा भने कमेडीमा पहिलेभन्दा अहिले समयसापेक्ष परिवर्तन आएको बताउँछन् ।

‘पुराना मानिसले पहिलेका कमेडी राम्रो, अहिले छाडा भन्छन् । पहिले पनि छाडा हुन्थ्यो । अहिले पनि छ,’ सिंखडाले भने ‘मिडियाले गर्दा अहिले बढी प्रचार नभएर देखिने र पहिले नदेखिने गरेको हो ।’ पहिले कमेडीमा व्यावस्था र राजाको विषयमा सेन्सर गर्नुपरेको बताएका सिंखडाले अहिले समाजिक चरित्र, जातजाति र वर्णका विषयमा सेन्सर गर्नुपरेको बताउँछन् ।

२०३३ देखि नियमित गाईजात्रा कार्यक्रम गर्दै आएका वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य पनि पछिल्लो समय कमेडीमा छाडा र सीधै नाम काटेर भन्ने चलन भित्रिएको बताउँछन् । ‘हामी ड्रामा वरेन्टेड कमेडी गथ्र्यौं । मानिसमाथि प्रहार भए पनि रमाइलो शैलीले जोमाथि प्रहार भएको हो, त्यसले पनि रमाइलो मान्थ्यो,’ आचार्यले भने ‘राजा, राष्ट्रियता, व्यवस्थालगायतमा निकै सजग हुनुपथ्र्यो । अहिले भने कुनै कुरामा ध्यान दिइन्न ।’

२०३९ सालबाट नियमित कमेडी गर्दै आएका कलाकार किरण केसी अहिले कमेडी छाडा हुन थालेको बताउँछन् । ‘अहिले जति छाडा बोल्यो त्यति दर्शक ताली पड्काएर हाँस्छन्,’ किरणले भने, ‘दर्शकका कारण छाडाको होडबाजी चलेको छ ।’ होडबाजीले भित्रिएको छाडा शैली नियन्त्रण आवश्यक रहेको किरणले बताए । थपे, ‘उच्छृृङ्खल र छाडा कुराले होइन, भेषभूषा र कलात्मक शैलीले हसाउनु राम्रो हो ।’

कमेडीमा समसामयिक व्यङ्ग्य कम, गाली बढी र यौनका विषय प्राथमिकतामा पर्न थालेको कलाकारहरू बताउँछन् । कलाकार सन्तोष पन्त भन्छन्, ‘अहिले जसलाई जे मन लाग्यो त्यो गर्न थालेका छन् । मानिसको नाम तोकेर कमेडी हुन थालेका छन्, त्यो राम्रो होइन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप