गाईजात्रा

कलाकारको सम्झनामा गाईजात्राको इतिहास : कसरी भयो व्यङ्ग्यको सुरुवात  ?

person explore access_timeभदौ ७, २०७८ chat_bubble_outline0

 

‘गाईजात्रा’ नेवारहरूको मौलिक पर्व मानिन्छ । मृतकको सम्झनामा गाई, झाँकी, व्यङ्ग्य, प्रहसनलगायत प्रदर्शन गर्ने दिन भनेर गाईजात्रा बुझ्ने गरिन्छ । तत्कालीन राजा प्रताप मल्लले छोराको शोकमा रहेकी पत्नीको मन शान्त पार्न यो चलन चलाएका थिए । उनले युवराज मात्र होइन, देशैभरि अन्य धेरै व्यक्ति मरेका हुन्छन् भनेर गाईजात्राको सुरुवात गरेको इतिहास छ ।

गाईको झाँकीले मात्र नपुगेर रानीलाई बहलाउन व्यङ्ग्य, प्रहसनजस्ता क्रियाकलाप गर्दा रानी खुसी भएकाले उक्त समयदेखि यो दिनमा हाँसो मजाकको सुरुवात भएको मिथक इतिहासमा पढ्न पाइन्छ ।

आजको दिनलाई वाक् स्वतन्त्रताका रूपमा समेत लिने गरिन्छ । त्यसैले यो दिनमा वर्षभरिका विकृति, राजनीतिक, सामाजिक विकृतिप्रति व्यङ्ग्य गर्ने पर्वका रूपमा समेत लिने गरियो ।

सुरुमा नेवार समुदायबाट उपत्यकाको चोक, डबलीबाट कलाकारहरू सुरु गरेको व्यङ्ग्यको कार्यक्रम रङ्गमञ्च हुँदै अहिले डिजिटल माध्यममा पुगेको छ । तर, व्यङ्ग्यको कार्यक्रम कहिलेबाट, कसरी शुरु भयो भन्ने आधिकारिक आधार भने केही भेटिन्न ।

‘गाईजात्रा’मा व्यङ्ग्य कार्यक्रमको सुरुवात कहिले भयो ? यही प्रश्नको उत्तर हामीले यो पर्वमा धेरै पहिलेदेखि नै विविध व्यङ्ग्यात्मक गतिविधि गर्दै आएका कलाकारहरुसँग बुझ्ने प्रयास गरेका छौँ । उनीहरूको धारणा जस्ताको त्यस्तै ।

मदनकृष्ण श्रेष्ठ : हामीले ०२८ सालदेखि हास्यव्यङ्ग्य आयोजना गर्न थाल्यौँ

पहिला गाईजात्रामा व्यङ्ग्यका कार्यक्रमहरू गर्ने चलन थिएन । नेवार समुदायले यो परम्परा भव्य रूपमा मनाउथे । प्रताप मल्लको पालादेखि चलेको यो परम्परामा कोहीले गाई बनाएर देखाउँदै हिँड्ने र कोहीले विभिन्न क्रियाकलाप गर्दै हसाउँदै हिँड्ने गर्दथे । बिस्तारै बिस्तारै यो पर्वमा कतैकतै हास्यव्यङ्ग्य पनि प्रस्तुत गर्न थालियो ।

एक समय राजपाल थापा, ध्रुव हाडाले गाईजात्रामा सामाजिक विषयमा राम्रो व्यङ्ग्य प्रस्तुत गर्थे । राणा शासनकालमा पनि गाईजात्राको ७ दिन मनका लागेको कुरा भन्न मिल्थ्यो ।  त्यो समय सामाजिक कुरा भन्नुपथ्र्यो ।

पहिले नेपाल भाषाका समाचार आउँथे । २०२२ सालकाको अत्यतिर सरकारले त्यो काट्यो । त्यसले नेवार समुदायले चित्त दुखायो । त्यसपछि विभिन्न साहित्य सम्मेलन गर्न दिइयो । म लगायत केही साथी मिलेर २०२८ सालमा ‘मुना सः’ भन्ने संस्था गठन गर्यौँ । मुना सःबाट म सचिव भएर विभिन्न हास्यव्यङ्ग्यका आयोजना गर्न थाल्यौँ नेपाल भाषामा ।

त्योबेला रामकृष्ण नकर्मी भन्ने दाइ नेपाल भाषाको हास्यव्यङ्ग्यमा टप थिए । उनले अत्यान्त कडा व्यङ्ग्य गर्थे । त्यो नेवारीमा भएकाले समुदायबाहेक कसैले बुझ्दैन थिए । नेपालीमा गरेको भए हामी जेलमा हुन्थ्यो । त्यो समय हामी दरबार, व्यवस्था सबैप्रति व्यङ्ग्य गथ्र्यौं । राज्यले बुझ्न मानिस पठाउँथ्यो । त्यसरी आउने व्यक्ति नेवारी भाषा बुझ्ने हिसाबले नेवार हुन्थ्यो । त्यो समुदायप्रति इमानदार हुन्थे । उनीहरूले हाम्रो व्यङ्ग्य ठीक भएको रिपोर्टिङ गर्थे ।

त्यसरी चल्दै जाँदा मुना सः कार्यक्रमको छैठौँ वार्षिक उत्सवमा हामीले सत्यमोहन जोशीलाई मुख्य अतिथि बनाएर कार्यक्रम गरेका थियौँ । त्यो कार्यक्रम उहाँलाई राम्रो लाग्यो । त्यसपछि उहाँले २०३२ सालबाट ‘राष्ट्रिय गाईजात्रा महोत्सव’ नाम राखेर राजारानीलाई समेत उपस्थित गराएर एकेडेमीमा कार्यक्रम देखाउने सुरुवात गराए । त्यसरी सुरुवात भएका व्यङ्ग्यात्मक कार्यक्रम अहिलेको अवस्थामा आएको हो । सो समय सत्यमोहन जोशीलाई पनि विभिन्न समस्या परेको थियो । उहाँले परम्परा भनेर मिलाउनुभयो ।

हरिवंश आचार्य : थिएटरमा गाईजात्रा कार्यक्रम प्रवेश गरेको २०३३ सालबाट हो

गाईजात्रा मनाउने चलन प्रताप मल्लको पालादेखि चलेको भनिन्छ । उनले छोराको निधनपछि शोकाकुल भएकी रानीलाई बुझाउन, हसाउन आफू नै बनेर आए पनि हुने, आफ्ना बारेमा व्यङ्ग्य गरे पनि छुट भनेका थिए रे । त्यस समय पनि झाँकी निकाल्ने, जुलुसमा जाने ठट्टा गर्ने गर्दथे रे ।

व्यावसायिकरूपमा गाईजात्रा कार्यक्रम थिएटरमा प्रवेश गरेको २०३३ सालबाट हो । तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले त्यसको सुरुवात गरेको हो । सो समय पहिलो दिन राजाहरूलाई बोलाएर भीआईपी सो गरेर भोलिपल्टदेखि सात दिनसम्म टिकट बेचेर सो गर्ने चलन सुरु यो । पञ्चायती व्यवस्था रहेसम्म प्रज्ञा प्रतिष्ठानले मात्र गर्यो । बहुदलीय व्यवस्था आएपछि सरकारले गरिरहनु जरुरी छैन भनेर खुला गरियो । मैले पनि सुरु गरेको २०३३ सालबाटै हो ।

सन्तोष पन्त : मैले कमेडी गाईजात्रा २०३४ बाट थालेँ

गाईजात्रामा कमेडी गर्ने चलन प्रताप मल्लको पालदेखि नै चलेको हो । त्योबेला प्रताप मल्लले छोराको मृत्युको शोकमा डुबेकी रानीको मन बहलाउन विभिन्न क्रियाकलाप गरेर हसाउन सफल भएको थिए रे । त्यही बेलादेखि टोल, चोक, डबलीमा व्यङ्ग्य गर्ने परम्पराको सुरुवात भएको हो ।

आधिकारिकरूपमा व्यावसायिक कमेडी गाईजात्रा कार्यक्रम सुरु भएको २०३३ सालदेखि तत्कालीन राजकीय प्रज्ञा प्रतिष्ठानबाट भएको हो । मैले व्यावसायिक कमेडी गाईजात्रामा गर्न थालेको २०३४ बाट हो । मभन्दा अगाडि गोपाल राज मैनाली, लक्ष्मण लोहनी, धु्रव हाडा, हरिहर शर्मा, यादव खरेल लगायत गर्दथे ।

यादव खरेल : गाईजात्रा कार्यक्रम परम्परा हो

गाईजात्रामा मैले थाहा पाएसम्म मृतकको घरबाट सम्झना र मुक्तिका लागि गाई बनाएर निकाल्ने परम्परा थियो । यो उपत्यकाको विभिन्न स्थानका खुल्ला ठाउँ, चोक र डबलीमा गाईजात्रामा विभिन्न, नाच, व्यङ्ग्य लगायतका विविध कार्यक्रम हुन्थे ।

यस्तो कार्यक्रम डबलीबाट रङ्गमञ्चमा ल्याउने श्रेय भने संस्कृतिविद् सत्यमोहन जोशीलाई जान्छ । उनले ३० को दशकमा तत्कालीन राजकीय प्रज्ञा प्रतिष्ठानबाट गाईजात्राको कार्यक्रम व्यावसायिक रूपमा गर्ने सुरुवात गराए । त्यो समय राजपरिवार र प्रशासकीय प्रमुखहरू धेरैले हेर्थे । त्यो बेला गाईजात्रा मेडल भनेर सुनको मेडल दिने परम्परा पनि थियो । मैले पनि विभिन्न प्रस्तुतिमार्फत मेडलसमेत जितेको छु ।

शम्भुजित बाँस्कोटा :गाईजात्रा महोत्सव प्रताप मल्लको पालादेखि चलेको हो । राणा शासनकालमा पनि यो परम्परा थियो । त्यो समय सहरका चोक, डबलीमा प्रदर्शन हुन्थ्यो । व्यावासायिक रूपमा गाईजात्रा कमेडी कार्यक्रम अहिलेको प्रज्ञा प्रतिष्ठानबाट सुरु भएको भनिन्छ । तर कहिलेदेखि भन्ने थाहा भएन । गाईजात्रा कार्यक्रममा मेरो प्रवेश भने २०४१ सालमा हो । त्यो समय विभिन्न भेषभूषामा प्यारोडी लाइभ गाउँथे । त्यो समय म प्यारोडीमा तहल्का मच्चाउँथे । लामो समय मैले यस्ता कार्यक्रममा सुपरहिट प्यारोडी प्रस्तुत गरेँ ।

शैलेन्द्र सिम्खडा : गाईजात्रामा विभिन्न कार्यक्रम हुने किंवदन्तीअनुसार पुरानै चलन रहेछ । भन्न त प्रताप मल्लको पालादेखि नै भन्ने गरिन्छ । गाईजात्रामा पहिलेदेखि टोल, डबलीलगायत विभिन्न स्थानमा गाईजात्राको नाममा व्यङ्ग्य कार्यक्रमहरू हुने गथ्र्यो । यो एक दिन राणाहरूले पनि छुट दिएका थिए रे ।

यसरी गरिने कमेडीलाई आधिकारिक रूपमा जाईजात्रा कार्यक्रम रङ्गमञ्चमा गएको २०३३ सालबाट हो । संस्कृतिविद् सत्यमोहन जोशीले यसलाई प्रज्ञा प्रतिष्ठानमार्फत रङ्गमञ्चमा पुर्याएर गाईजात्राको आधिकारिक व्यङ्ग्यको कार्यक्रमको सुरुवात गर्नुभएको हो । मैले यस्ता कार्यक्रम गर्न थालेको २०३७ सालदेखि हो ।

किरण केसी : राजा प्रताप मल्लले छोराको शोकमा डुबेकी रानीको मन बहलाउन आफूलाई समेत गाली गर्न पाउने गरेर गाईजात्रा पर्वको सुरुवात गरेको भन्ने छ । यो दिनलाई वाक् स्वतन्त्रताको दिनका रूपमा पनि लिइन्छ । व्यावसायिका रूपमा हास्यव्यङ्ग्य कार्यक्रम कहिलेदेखि र कसरी सुरुवात भयो भन्ने केही जानकारी छैन । मैले २०३९ सालबाट हास्यव्यङ्ग्य सुरु गरेको हो । अनवरत रूपमा गर्दै आएको छु ।

दीपकराज गिरी : गाईजात्राको कार्यक्रम कहिले र कसरी सुरु भयो भनेर स्पष्ट भन्ने आधार छैन । प्रताप मल्लको पालादेखि सुरु भएको भन्ने छ । मरेको मानिसलाई सम्झने, विशेष गरेर नेवार समुदायको पर्व हो यो । यसमा झाँकी प्रदर्शन गर्ने, अनुहार कुरूप बनाउने लगायतका धेरै परम्परा थियो ।

आधिकारिकरूपमा व्यावसायिक रूपमा यो व्यङ्ग्यको पर्वमा परिणत भएको २०३३ सालबाट हो भन्ने मैले बुझेको हो । काठमाडौँका चोक, डबलीलगायतका खुल्ला स्थानमा नाटक, नाचगान, छेडछाड तथा रमाइलो प्रस्तुतिका कार्यक्रम हुन्थे । त्यसलाई रङ्गमञ्चमा प्रवेश गराएर व्यावसायिक व्यङ्ग्यको गाईजात्रा कार्यक्रमको सुरुवात भने संस्कृतिविद् सत्यमोहन जोशीले गराएका हुन् । उनले नै बिस्तारै शासक वर्ग, प्रशासक लगायतको व्यङ्ग्य पनि गाईजात्रामा समावेश गराएका हुन् ।

जितु नेपाल : मैले बुझेअनुसार ध्रुव हाडा, राजपाल थापा, हरिवंश आचार्य, मदकृष्ण श्रेष्ठ, यादव खरेल दाइले सुरुमा गाईजात्रामा व्यङ्ग्य कमेडीको कार्यक्रम गर्नुहुन्थ्यो रे । राजा प्रतापमल्लको पालादेखि चलेको गाईजात्रा सुरुमा विभिन्न स्थान, चोकमा हल्काफुल्का कमेडी व्यङ्ग्य हुन्थे रे । व्यावसायिक रूपमा भने २०३२, ०३३ बाट हो भन्ने सुनेको छु । त्यही होला ।

मनोज गजुरेल : मैले गाईजात्रा कार्यक्रम गर्न थालेको २०५२ सालबाट हो । त्यो समयदेखि मैले एकेडेमीबाट सुरु गरेको यात्रा अहिले डिजिटलमा पुगेको छ । यो धेरै पहिलेदेखि सुरु भएको हो । सन्तोष पन्त, महजोडी, राजपाल थापा, धु्रव हाडालगायतले मभन्दा पनि पहिलेदेखि नै कार्यक्रम गर्दै आएका थिए ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।