बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

महाधिवेशनमा संस्थापन इतर पक्षले साझा उम्मेदवार उठाउने

मन्त्रीबारे छलफल गर्ने जिम्मा रामचन्द्र पौडेललाई
सोमबार, ०७ भदौ २०७८, १२ : ५८
सोमबार, ०७ भदौ २०७८

नेपाली काँग्रेसको संस्थापन इतर पक्षले पार्टीको आसन्न महाधिवेशनमा सहमतिमा साझा उम्मेदवार उठाउने सहमति गरेको छ । बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा संस्थापन इतर पक्षका सभापतिका आकाङ्क्षीहरुबीच भएको छलफलमा सो सहमति भएको हो ।

आजको बैठकमा सभापतिको आकाङ्क्षी रहेका रामचन्द्र पौडेलसहित शशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइराला, अर्जुननरसिंह केसी, बलबहादुर केसीलगायतका नेताहरू उपस्थित थिए । नेताहरुबीचको छलफलमा १४ औँ महाधिवेशनमा संस्थापन इतरबाट सहमतिमा साझा उम्मेदवार तय गर्ने विषयमा सहमति नजिक पुगेको बैठकमा सहभागी बलबहादुर केसीले रातोपाटीलाई बताए ।

​‘आगामी महाधिवेशनमा कसलाई उठाउँदा जित्न सकिन्छ, उनैलाई एकल उम्मेदवार बनाउने नेताहरूबीच सहमति नजिक पुगेको छ,’ उनले भने, ‘अब अर्को चरण बैठक बसेपछि कसलाई उठाउने भन्ने विषयमा विमर्श गरेर यसबारे ठोस टुङ्गो लाग्छ ।’

त्यस्तै, क्रियाशील सदस्यता विवादको विषयमा आफू पक्षीय जिल्ला सभापतिहरुले राखेको मागलाई सम्बोधन हुने गरी समाधान खोज्नुपर्ने पनि निष्कर्ष निकालेको छ । ‘संस्थापन पक्षले क्रियाशील सदस्यतामा धाँधली गरेकोमा चनाखो हुनुपर्ने बैठकको निष्कर्ष छ । पार्टी कब्जा गरेर अघि बढ्ने तयारी गरिएको आभास भइरहेको छ । सजग भएर लाग्नुपर्छ,’ उनले भने । बैठकले महाधिवेशन निष्पक्ष बनाउन जिम्मेवार भएर लाग्नुपर्ने पनि ठहर गरेको छ ।

क्रियाशील सदस्यताको विषय टुङ्गो लगाउन कृष्ण सिटौला, मिनेन्द्र रिजाल, रमेश लेखेकबीच बैठक आज नै बस्दैछ । सो बैठकमा त्यही अनुसार कुरा राख्न मिनेन्द्र रिजाललाई जिम्मा दिइएको छ ।

आजको बैठकमा सरकार सरकार सञ्चालन र मन्त्रिपरिषद् विस्तारको विषयमा पनि छलफल भएको केसीले रातोपाटीलाई जानकारी दिए । उनका अनुसार शक्ति सन्तुलन मिलाएर मन्त्रालय बाँडफाँड गर्नका लागि प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्ने जिम्मा रामचन्द्र पौडेललाई दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप