मङ्गलबार, ०९ पुस २०८१
ताजा लोकप्रिय

एमालेले निर्वाचन आयोगमा पठाएको २६० सदस्यीय कमिटीले मान्यता नपाउने, २०३ बाटै माधव पक्षको सनाखत

आइतबार, ०६ भदौ २०७८, ११ : ०२
आइतबार, ०६ भदौ २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका केन्द्रीय सदस्यको विवरण अद्यावधिक गरेर निर्वाचन आयोगलाई पठाएको २६० सदस्य सङ्ख्यालाई आयोगले तत्काल मान्यता नदिने भएको छ । निर्वाचन आयोगका अनुसार कानुनअनुसार दल दर्ता गर्दाको पार्टीको विधान र त्यस बखत आयोगमा रेकर्ड भएका केन्द्रीय सदस्यको आधारमा अघि बढ्ने आयोगले तयारी गरेको छ । नेता माधवकुमार नेपालले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको अवस्थामा आयोगले एमालेको २०३ सदस्यीय साबिककै केन्द्रीय कमिटीलाई मान्यता दिने भएको हो ।

निर्वाचन आयोगले माधव नेपाल पक्षलाई फरक पार्टी ‘नेकपा एकीकृत समाजवादी’ दर्ताका लागि सनाखत गर्न आगामी भदौ ९ गते बोलाएको छ । सनाखतका क्रममा नेपाल पक्षले अब २६० को २० प्रतिशत नभई २०३ बाटै २० प्रतिशत पुर्‍याउँदा हुने भएको छ ।  एमाले अध्यक्ष ओलीले अद्यावधिक गरेको २६० सदस्यीय केन्द्रीय कमिटीलाई आयोगले आधार नमान्ने भएको छ ।

गत मंगलबार भदौ १ गते एमाले पार्टीको निर्णयको आधिकारिक माइन्युटसहित एमालेले केन्द्रीय सदस्यहरूको नाम थपेर २०३ को ठाउँमा २६० पारेर आयोगलाई विवरण दिएको थियो ।

​आयोग स्रोतले रातोपाटीसँग भन्यो, सनाखतका क्रममा २० प्रतिशतको मापनका लागि २०३ सदस्यीय केन्द्रीय कमिटीलाई नै आधार मानिने छ । एमाले अध्यक्ष ओलीले अपडेट गरेर पठाएको नामावली अहिले आयोगले सदर गरिसकेको छैन, त्यसबारे अलि  पछि निर्णय गरिनेछ ।’  

सरकारले राजनीतिक दल विभाजनसम्बन्धी खुकुलो प्रावधान राखेर अध्यादेश जारी गरेलगत्तै नेकपा एमालेले केन्द्रीय कमिटी सदस्यको सङ्ख्या बढाएर निर्वाचन आयोगमा अद्यावधि गर्न पठाएको थियो । नेता माधव नेपालको पार्टी दर्ता गर्ने सङ्ख्या नपुगोस् भन्ने उद्देश्यले ओलीले एकाएक केन्द्रीय सदस्यहरूको नाम थपेर आयोगमा अद्यावधिक गर्न पठाएको माधव पक्षले आरोप लगाउँदै आएको थियो ।

‘कानुनतः आयोगले दलको विधान र केन्द्रीय सदस्यको रेकर्ड हेरेर निर्णय गर्छ । त्यसरी हेर्दा यसअघि एमालेको केन्द्रीय सदस्य सङ्ख्या २०३ नै आयोगमा रेकर्डमा देखिन्छ’, आयोग स्रोतले भन्यो, ‘यसरी हेर्दा माधव नेपालले आयोगमा दल दर्ता गर्न दिएको निवेदनमा २०३ को २० प्रतिशत सङ्ख्या पुर्याएमा नयाँ दलले मान्यता पाउन सक्छ ।

​माधव नेपालले गत भदौ २ गते निर्वाचन आयोगमा एमालेका २०३ केन्द्रीय सदस्यमध्ये ५८ सहित अरू केन्द्रीय सदस्य समेत थपेर नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए । आयोगले ओली पक्षले थपेका केन्द्रीय सदस्यलाई मान्यता नदिने भएसँगै नेता नेपालले आयोगमा बुझाएका ५८ मध्ये ४१ केन्द्रीय सदस्य भए पनि पुग्ने देखिन्छ । अध्यक्ष केपी शर्मा ओलीले कारबाही गरेका १४ जनाले मान्यता नपाएको खण्डमा पनि नेता नेपाललाई आवश्यक सङ्ख्या पुग्ने देखिन्छ ।  

संशोधित कानुन अनुसार २० प्रतिशत केन्द्रीय सदस्य वा सांसद सङ्ख्या भनिएकाले नेता नेपाललाई पार्टी गठन गर्न सांसदको आधारमा प्रतिनिधि सभाका १२१ र राष्ट्रिय सभाका ३३ गरी भने १५४ जना सांसदको २० प्रतिशत हुँदा ३१ जना सांसद आवश्यक पर्ने देखिन्छ ।

यसैबीच, माधव नेपालले आयोगमा केन्द्रीय सदस्यका रूपमा बुझाएका नयाँ सदस्यहरूले पनि मान्यता नपाउने आयोगले बतायो । स्रोतले भन्यो, आयोगको रेकर्डमा रहेको २०३ सदस्यीय केन्द्रीय कमिटीमा रहेका नामलाई मात्रै आयोगले चिन्छ, पछि थपिएकाहरूलाई चिन्दैन ।’

तर, नयाँ दलले वैधानिकता पाइसकेपछि भने जतिजनाको केन्द्रीय कमिटी बनाए पनि त्यसलाई आयोगले मान्यता दिने र अभिलेखमा राखिने आयोगले स्पष्ट पारेको छ । त्यसपछि केपी ओलीले पनि केन्द्रीय कमिटीको सदस्य संख्या बढाउन वा घटाउन पाउने निर्वाचन आयोग स्रोतले रातोपाटीलाई बतायो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप