शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एमाले विभाजन : कलहको केन्द्रविन्दु बनेको कर्णालीमा को बलियो ?

नेकपा समाजवादीका नेताहरु भन्छन्– चुनौतीसँग डटेर लड्ने हो
आइतबार, ०६ भदौ २०७८, २१ : ३४
आइतबार, ०६ भदौ २०७८

सुर्खेत । गत बिहीबार नेकपा एमाले वैधानिक रुपमै विभाजन भयो । एमाले विभाजनको असर कर्णाली प्रदेशमा पनि परेको छ । तत्कालीन नेकपा हुँदै एमालेमै आन्तरिक विवादको सुरुवात भएको कर्णालीबाटै हो । पार्टी विभाजनपछि कर्णालीमा माधवकुमार नेपाल नेतृत्वको नेकपा समाजवादी र केपी शर्मा ओली नेतृत्वको एमालेका नेताहरु पार्टीलाई कसरी अगाडि बढाउने भन्ने बारेमा बहस र छलफलमा होमिएका छन् ।

एमालेको पछिल्लो अधिवेशनबाट जिल्ला नेतृत्व सम्हालेका १० मध्ये ७ जना माधव समूहमा खुलेका थिए । तीमध्ये पनि अहिलेसम्म मुगु, जुम्ला र रुकुमपश्चिमका अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको नेकपा समाजवादीमा खुलेका देखिन्छन् । माधव समूहमै रहेका डोल्पाका दत्त रोकायाको भने मृत्यु भइसकेको छ ।

विगतमा माधव समूहमै खुलेका सुर्खेतका ध्रुवकुमार शाही, जाजरकोटका करवीर शाही, दल रावल लगायतका नेताहरु हाल ओली पक्षमा देखिन्छन् ।

एमालेभित्र ध्रुवीकरण हुँदा कर्णाली प्रदेशसभामा एमालेका २० सांसदमध्ये माधव समूहमा ९ र ओली समूहमा ११ जना थिए । तीमध्ये चार जनालाई एमालेले कारवाही गरेको छ । बाँकी १६ मध्ये मुगुका चन्द्रबहादुर शाही र रुकुमका देवी ओली नेकपा समाजवादीको केन्द्रीय कमिटीमा छन् ।

नेपाल समूहमा रहेका सुर्खेतका पद्मा खड्का, जाजरकोटका करवीर शाही संस्थापन पक्षमा देखिएका छन् भने दैलेखका सुशिल थापाले अझैसम्म प्रस्ट धारणा बनाइसकेको अवस्था छैन । उनले रातोपाटीसँग भने, ‘लाइन त मेरो मावध नेपाल पक्ष नै हो तर, म अझै पनि पार्टी एकताकै पक्षमा छु भन्ने हो ।’

प्रदेशमा नेकपा समाजवादीको नेतृत्वमा यसअघि प्रदेशसभा सदस्यसमेत रहेका प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही, नन्दसिंह बुढा लगायतका नेताहरुले गरेका छन् । गत वैशाखमा चारै जनाले ‘फ्लोर क्रस’ गरेर  कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए । जसमध्ये ज्वालाबाहेक तीन जना अहिले प्रदेश सरकारमा मन्त्री छन् ।

एमालेतर्फ भने कर्णाली प्रदेशसभामा एमालेका संसदीय दलका नेतासमेत रहेका सुर्खेतका यामलाल कँडेल, सल्यानका गुलाबजङ्ग शाह, दैलेखका धर्मराज रेग्मी (माओवादीबाट निर्वाचित उनी एमालेमा लागेपछि माओवादीले कारबाही गरेर सांसद पद गएको) लगायतले गरेका छन् ।

यस्तै, केन्द्रीय राजनीतिमा सक्रिय र माधव नेपाल पक्षका नेता विष्णु रिजाल पनि संस्थापन पक्षमा खुलेरै होमिएका छन् । हुम्लाका गोरख बोगटी, जाजरकोटका करवीर शाही लगायतका नेताहरु एमालेमै छन् ।

पार्टी विभाजनपछि कर्णालीमा एमालेले पहिलो शक्तिको हैसियत  गुमाएको छ भने नेकपा समाजवादीले आफ्नो पक्षका नेताहरुलाई अझै हातमा लिन सकिरहेको अवस्था छैन ।

नेकपा समाजवादी पार्टी स्रोतले गोपाल बम, डोल्पाका धनबहादुर बुढा, निरज आचार्य, रिता रावल, नन्दा शर्मा, सुर्खेतका भुषणकुमार मानन्धर, देवेन्द्र बिसी लगायतका नेताहरु आफूसँग रहेको दाबी गर्दै आएको छ । यद्यपि, तीमध्ये केही नेताहरुले भने प्रस्ट धारणा बनाइनसकेको बताएका छन् ।

यो हिसाबले कर्णालीमा दुवै समूहलाई जनविश्वास गुम्ने खतरा छ । यसअघि दुवै समूहको राम्रो पकड भएको जिल्लामा पनि दुवै समूह असुरक्षित महसुस गर्न थालेका छन् ।

पार्टी विभाजनसँगै एमाले र नेकपा समावादीमध्ये कसको शक्ति कतिभन्दा पनि दुवै पक्षले जनविश्वास गुमाउने खतरा देखिएको छ भने यसको प्रत्यक्ष राजनीतिक लाभ नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले लिने देखिन्छ ।

नेकपा समाजवादीका नेताहरु यसो भन्छन्

नेकपा समाजवादीको केन्द्रीय सदस्य भएकी कर्णाली प्रदेशसभा सदस्य देवी ओलीले प्रदेशमा केही कमजोर भए पनि चुनौतीसँग डटेर लड्ने बताइन् ।

उनले रातोपाटीसँग भनिन्, ‘हिजोसम्म पार्टी विभाजन नभएकाले एमालेभित्रै थियौँ । त्यो बेलामा त मिल्दो व्यवहार गर्नै प¥यो । तर, आफ्ना मतहरु त छँदै थिए । अब म एमालेमा छैन, समाजवादी नै हाम्रो पार्टी हो ।’

सांसद ओलीले गत वैशाखमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएर पनि पछि आफ्नो मत सच्याएकी थिइन् ।

नेकपा समाजवादीको सुर्खेत जिल्लाको नेतृत्व सम्हालेका मोहनसिंह बडुवालले पनि केपी शर्मा ओलीका कारण एमालेरुपी घर भत्किएको बताएका छन् । उनी भन्छन्, ‘अब हामी भत्किएको घरलाई पुनर्निर्माण गर्छौँ र, जस्तोसुकै भूकम्प आए पनि नभत्किने गरी पुनर्निर्माणको प्रक्रियामा लागिरहेका छौँ ।’

ओलीले एमालेको विधानलाई आत्मसात् गर्न नसकेको, महाधिवेशनको नीतिलाई र पार्टीको मूल्य, मान्यतालाई पनि ख्याल गर्न नसकेको उनको आरोप छ । उनले भने, ‘एकलौटी ढंगबाट जुन खालको अहंकार र दम्भ देखाए, त्यो दम्भ, विचार र विचलनका कारणले अर्को पार्टी गठन गर्नुपर्ने अवस्था सिर्जना भएको हो ।’

कर्णालीका भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका अम्मरबहादुर थापा भने ओलीको तानाशाही प्रवृत्तिविरुद्ध आफूहरु उभिएको बताउँछन् ।

‘हामीले एमालेमा आजसम्म संघर्ष ग¥यौँ । फुटेर अलग्गै हुने रहर त कदापि होइन तर, यामलाल, ओलीहरुको अहंकारले एउटा दिशामा डो¥यायो,’ उनले भने, ‘अब, कर्णालीमा ओलीजीहरुलाई धुलो चटाउनेगरी हामी अघि बढ्छौँ ।’

सुर्खेतमा नेकपा समाजवादीको जिल्ला कमिटी

सुर्खेतमा मोहन बडुवालको नेतृत्वमा २५१ सदस्यीय जिल्ला कमिटी गठन भइसकेको छ । ‘पहिलो कुरा, विशिष्ट प्रक्रियागत रुपमा संगठन निर्माणको प्रक्रियामा अगाडि बढ्नुपर्ने बाध्यात्मक परिस्थिति छ,’ बडुवालले भने, ‘यस्तो घटना हुन्छ भन्ने हामीलाई पूर्वानुमान थियो । जस अनुसार हामीले यसभन्दा अघि नै समानान्तर कमिटी गठन पनि गरिसकेका थियौँ ।’

उनका अनुसार सुर्खेतका नौवटा स्थानीय तह र ९९ वडामा   भदौ ९ गतेभित्र वडा कमिटी गठन गरिसकिनेछ । भेरीगंगा र वीरेन्द्रनगर कमिटीको भेला बसिसकेको छ भने सबै पालिकामा कमिटी भेला, कमिटी विस्तार सांगठनिक काम  तीव्र गतिमा अगाडि बढिरहेको उनले बताए  ।

उनले भने, ‘सुर्खेतमा ओली पक्षका केही नेतामात्रै छन्, जनताको साथ रहने देखिदैन । आमरुपमा इमानदार कार्यकर्ताहरु ओली विचार समूहमा कोही रहँदैनन् ।’

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप