बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

काबुलबाट फर्केका नेपालीको बयान : सडकमै हतियारधारी तालिबान छन्, तर गोली हानी हाल्ने गरेका छैनन्

‘यहाँ डराएजस्तो अवस्था त्यहाँ छैन’
मङ्गलबार, ०१ भदौ २०७८, १४ : ३४
मङ्गलबार, ०१ भदौ २०७८


मङ्गलबार मध्यान्ह १२ बजे सामुखुशीस्थित राधास्वामी सत्संग आइसोलेसन सेन्टर अगाडि नेपाली सेनाका सवारीसाधनको लाम थियो । लाम यस कारणले थियो कि विमानस्थलबाट १२७ जना नेपालीलाई स्क्रिनिङका लागि त्यहाँ लगिएको थियो । 

काबुलमा सुरक्षा गार्डकारुपमा काम गरिरहेका भूतपूर्व सैनिकहरू काबुलबाट कतार हुँदै मंगलबार मात्रे नेपाल आइपुगेका थिए । उनीहरूलाई पहिले एन्टिजेन टेस्ट गर्ने र नेगेटिभ देखिए परिवारमा जान दिने र पोजेटिभ देखिए उपचार गर्ने गरी आइसोलेसनमा राख्ने नेपाली सेनाको तयारी छ । 

त्रिभुवन विमानस्थलबाट नेपाली सेनाले ८ वटा बसमा राखेर उनीहरूलाई सामाखुशी ल्याइपुराएका थिए । त्यही क्रममा बसको झ्यालबाटै रवीन्द्र थापाले कुरा गरे । उनले भने, ‘हामीलाई त त्यस्तो गाह्रो अप्ठेरो केही थिएन । हामीलाई अमेरिकी दूतावासले राम्रै गरिरहेको थियो । हामीले पनि उनीहरूको विश्वास जितेका थियौँ । त्यस कारण हामीलाई त्यस्तो गाह्रो केही परेन । हामीलाई त खासै डर त्रास केही थिएन । हाम्रो सुरक्षा व्यवस्था एकदमै कडा थियो र हामीलाई सुरक्षितरुपले नै राखिएको थियो । हामी उनीहरूको भरमा र उनीहरू हाम्रो भरमा त्यहाँ रहेका थिए । त्यस कारण त्यहाँ हामीलाई कुनै डर त्रास त्यस्तो केही भएन । एम्बेसीले नै हामीलाई कतार हुँदै नेपालसम्म आउने व्यवस्था गरिदियो र हामी सुरक्षितरुपले नेपाल आइपुग्यौँ । 

बसबाट ओर्लेर सेनाको होल्डिङ सेन्टरसम्म पुग्ने क्रममा हामीले काबुलमा ७ वर्ष सेक्युरिटी गार्डका रूपमा काम गरेका विशाल राईलाई भेट्यौँ ।

तालिबानले आ–आफ्नो देश जान दिएका छन् : विशाल राई

– अफगानिस्तानको काबुलमा बसेको ७ वर्ष भयो । अमेरिकन दूतावासमा काम गर्ने गरेको हो । हामीलाई त त्यस्तो कुनै समस्या भएन । अमेरिकन दूतावासले सबैलाई आ–आफ्नै देशमा पठाइरहेको छ । खासै त्यस्तो समस्या त परेको छैन । तर अनौपचारिक रूपमा केही कम्पनीहरूमा काम गर्ने मानिसहरू अपहरणमा परेको भन्ने पनि सुनेको छु । 

– खासै समस्या छैन, राम्रै छ । अमेरिकन दूतावास आफैले आ–आफ्नै देशमा पठाउने काम गरिरहेको छ । काबुलबाहेक अन्य प्रान्तहरूमा पनि नेपाली छन् भन्ने सुनिएको छ तर त्यसबारे अरू केही जानकारी छैन । 

– हुन त तालिबानले सबै क्याप्चर गरिसक्यो, लिइसक्यो । तर हामी नेपालीहरूलाई त्यति धेरै समस्या चाहिँ छैन । तालिबानले अन्य देशका नागरिकलाई त्यस्तो धरपकड गरेको पनि छैन र आ–आफ्नो देश जान दिइरहेका छन् । अहिले यहाँ डराएजस्तो अवस्था पनि छैन त्यहाँ । आवतजावत भइरहेकै छ । तर विभिन्न देशका दूतावासहरू भने खाली भइसकेको छ । उनीहरू आ–आफ्नै देश गइसकेका छन् ।

त्यसैगरी अर्का जवान प्रेमबहादुर पुनले पनि नेपालीलाई कुनै खतरा नभएको र नेपालीहरू डराएजस्तो अवस्था त्यहाँ नभएको बताए ।  

सडकमै हतियारधारी तालिबान थिए, तर गोली चलाएका छैनन् : प्रेम बहादुर पुन

– मेरो नाम प्रेम बहादुर पुन हो र घर यहीँ धापासी हो । म पनि काबुलकै अमेरिकन दूतावासमा काम गर्थेँ । तालिबानले सबै कब्जा गरिसके, स्थिति त त्यस्तो राम्रो होइन । 

– तर यसपटकको सिनारियो फरक छ । पहिले तालिबानले देख्ने बित्तिकै मार्छन् भन्ने त्रास थियो । तर यसपटक त्यस्तो छैन । उनीहरू पहिलेको जस्तो आक्रामक भएका छैनन् । सडकमा हतियार नै बोकेका तालिबानहरु पनि देखिन्थे । तर अहिले यहाँ डर देखाइए जस्तो गोली हानी हाल्ने, मान्छे मारिहाल्ने अवस्थाचाहिँ होइन । हामी त ४ दिन पहिलेकै राति कतार आयौँ । त्यहाँबाट आज नेपाल आएको हो । पछिल्लो घटनाक्रमबारे त त्यति थाहा छैन । तर विदेशी देख्ने बित्तिकै मारिहाल्छन् भन्ने जुन भ्रम छ, त्यो सत्य होइन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप