बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

वीर अस्पतालबाट हटाइएपछि जागेश्वरको प्रतिक्रिया–काम गर्न दिएनन्

सोमबार, १८ साउन २०७८, १७ : १२
सोमबार, १८ साउन २०७८

वरिष्ठ चिकित्सक जागेश्वर गौतमले आफूलाई काम गर्न नदिइएको गुनासो गरेका छन् । कोभिड युनिफाइड अस्पताल (वीर अस्पताल) को प्रमुख प्रशासकीय अधिकारी रहेका उनलाई सरुवा गरेर थापाथलीस्थित प्रसूति गृह पठाएपछि यस्तो प्रतिक्रिया दिएका हुन् । वीर अस्पतालमा कार्यरत केही निजी अस्पतालको पक्षपोषकले आफूलाई काम गर्न नदिएको उनको आरोप छ । 'वीरमा सञ्जालनै रहेछ, जसले मलाई काम गर्न दिएन’, उनले भने, ‘भोलिदेखि नै प्रसूति गृहमा गएर काम गर्छु ।’

 उनले आफ्नो कार्यकालमा वीर अस्पताललाई सुधारको प्रयास गरेको बताउँदै त्यसलाई निरन्तरता दिइनुपर्नेमा जोड दिए । 

उसो त गौतमले अस्पतालले क्रमशः गति लिँदै गरेको अवस्थामा केही स्वार्थ समूहले अनावश्यक लफडा गर्न उक्साइरहेको गुनासो गर्दै आएका थिए । सोही अनुसार आइतबार स्वास्थ्यकर्मीको नाममा आफूविरुद्ध आन्दोलन भएको उनको आरोप छ । 

स्वास्थ्य मन्त्रालयले सोमबार राज्य मन्त्रीस्तरीय निर्णय गर्दै गौतमलाई हटाएको हो । उनको ठाउँमा ट्रमा सेन्टरका डा रुद्र मरासिनीलाई पठाइएको हो ।  डा.गौतम गत जेठ १० गते प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त भएका थिए । सोअघि उनी स्वास्थ्य मन्त्रालयको प्रवक्ताको भूमिकामा रहेका थिए भने यसअघि पनि उनले विभिन्न अस्पतालको नेतृत्वदायी भूमिकामा रहँदा उदाहरणीय काम गरेका थिए । 

वीरमा के–के गरे गौतमले ?
गौतमको कार्यकालमा  ११ सय बिरामी राख्न सक्ने गरी क्षमता बढाउने काम भएको थियो ।  बेडका आधारमा मिलाएर आईसीयू एचडीयू व्यवस्थापन समेत गरिएको थियो भने दुई सय बेड आईसीयू नै सञ्चालन गर्ने गरी अहिले उपकरण जडान गरिँदै थियो । यही सुधारको प्रयास थाल्दा आफ्नो दिनगन्ती सुरु भएको उनको बुझाइ छ । 

‘भेन्टिलेटर, बेड, मोनिटर जस्ता कुरा दुई सय बेडलाई नै पुग्नेगरी व्यवस्थापन गरिरहेका छौँ । नयाँ दरबन्दी थप हुँदै छ । वीर सबैभन्दा धेरै जनशक्ति, बेड र विशेषज्ञ सेवा प्रदान गर्ने अस्पताल हुन्छ । न महिनाअगाडि यहाँ आएको भए सबै पैसाको सामान किन्न सक्थेँ’, केही दिनअघि रातोपाटीसँग कुराकानीमा उनले भनेका थिए । 

 उनकै कार्यकालमा इन्डोस्कोपी मेसिन खरिद गरिएको थियो भने अल्ट्रासाउन्डलगायतको मेसिन पनि व्यवस्था गरिएको थियो । 

यस्तै वीरमा पुरानो एउटा अक्सिजन प्लान्ट थियो, नयाँ एउटा प्लान्ट राखेर २८५ लिटर अक्सिजन प्रतिदिन उत्पादन हुने व्यवस्था अहिले मिलाइएको छ । यस्तै २० टन क्यापासिटीको लिक्विड अक्सिजन राखिएको छ भने ६०० सिलिन्डर पनि थपिएको छ । कर्मचारीको अभाव पूर्ति गर्न १ हजार बढी दरबन्दी सिर्जना गर्दै समग्र बेथिति हटाउन पनि प्रयासरत थिए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप