कलाकारिताको एउटै पुरस्कारबाट काठमाडौँमा घर !
नेपाली कलाक्षेत्रका सफल कलाकार हुन् हरिहर शर्मा । नाटक, सिरियल होस् वा चलचित्र, सबैतिर उनको अभिनय देख्न सकिन्छ । प्रज्ञा प्रतिष्ठानबाट २०३० सालदेखि कलाकारिता सुरु गरेका उनी अहिले पनि यही कर्ममा छन् ।
अभिनयकर्मबाटै विभिन्न अवार्डका साथमा गोरखा दक्षिणबाहु, त्रिशक्ति पट्ट, इन्द्र राज्यलक्ष्मी प्रज्ञा पुरस्कार, सर्वनाम पुरस्कार, प्रज्ञा प्रतिष्ठान दीर्घ सेवा पदकलगायत थुप्रै पुरस्कार र पदवीबाट विभूषित उनी पछिल्लो समय नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानका उपकुलपति हुन् । राष्ट्रिय नाचघर, प्रज्ञा प्रतिष्ठानमा विभिन्न सेवामा रहेर काम गरेका विभिन्न सङ्घसंस्थासँग समेत आबद्ध छन् ।
अभिनयका करिब आधा दर्जनभन्दा बढी पुस्तकसमेत लेखेका शर्मालाई धेरैले फिल्म ‘वासुदेव’ अभिनय कारणले चिन्ने गर्छन् । कतिपय समय एक छाक खाएर पनि कलाकारितामा टिकेका उनी जीवन अभिनय गर्ने कलाकार पनि हुन् । कलाकारिताको एउटै पुरस्कारबाटै काठमाडौँमा घर बनाउन सफल हरिहर शर्माका जीवनका विभिन्न पाटा रातोपाटीको ‘मेरो जीवन’ स्तम्भमा उनकै शब्दमा ।
ग्रेभी मासु आहा !
मेरो मनपर्ने खाना दाल, भात र तरकारी हो । तरकारीमा माछा, मासु, साग लगायत सबथोक मनपर्छ । साथीभाइ, परिवार र आफन्तसँग रेस्टुरेन्ट जान्छु ।
रेस्टुरेन्टको खानेकुरामा सिजलर, ग्रेभी मासु मनपर्छ । पकाउन पनि रुचि छ मेरो । सबथोक पकाउन सक्छु । मैले पकाएको परिवारले मीठो मान्छन् ।
नियमित प्राणायम
फिट्नेसको मामलामा सजग छु । दैनिक स्वामी रामदेवले सिकाएको प्राणायम नियिमित गर्छु । त्यसको अलवा करिब डेढ घण्टासम्म मर्निङवाकसमेत गर्छु ।
फिट्नेसका लागि क्लब जाँदिनँ । घरमा डम्बेलसहित केही फिट्नेसका सामग्री छन् । अहिले ती प्रयोग गर्दिनँ ।
लुङ्गी लगाउँछु
पोसाकमा खासै सौखिन पनि छैन र ध्यान पनि दिन्नँ । सोही कारण घरमा कचकच गर्छन् । सर्टपाइन्ट, सुट, दौरासुरुवाल, कुर्था, पाइजामा, लुङ्गी लगायत सबै प्रकारका पहिरन प्रयोग गर्ने गरेको छु ।
कालो र सेतो मेरो मनपर्ने पहिरन कलर हो । ढाकाको टोपी पनि नियमित लगाउँछु । विशेष कार्यक्रम, विवाहलगायत फर्मल कार्यक्रममा दौरासुरुवाल, कोट र सुट प्रयोग गर्छु ।
पहिले त पहिरन आफै किन्थेँ । अहिले छोरा र श्रीमतीले ल्याइदिन्छन् । अधिकांश पहिरन सिलाएर लगाउँछु । पहिरनमा ब्रान्ड खोज्ने बानी छैन । मनपरेको किन्छु ।
सुत्नु अगाडि यस्तो
समय भयो कि किताब पढेर बस्न मनपर्छ । पत्रपत्रिका पनि पढ्छु । मेरो विशेष रुचि नाटक र कथासम्बन्धी किताबमा रहेको छ । कथा, कविता, दर्शन, बिजनेसलगायत सबै प्रकारका पुस्तक पढ्छु, मनपर्छ ।
मेरो पढ्ने समय प्रायः बेलुका सत्नु अगाडि हो । बिदाको समय दिनमा पनि पुस्तक पढ्छु अन्य काम छैन भने । बिहानको समय भने मेरो पत्रपत्रिका र म्याग्जिन अध्ययनमा बित्ने गरेको छ ।
पछिल्लो समय पढ्दै गरेको पुस्तक ‘द टेक्निक अफ एक्टिङ’ र बिजनेससम्बन्धी एउटा पुस्तक रहेको छ । आफूले बढेका सबै किताब मलाई मनपरेकै हुन्छ । किनभने पढेको पुस्तकबाट केही न केही नयाँ कुरा सिक्न सकिन्छ ।
अलि अलि रुचि
घुमघाममा अलिअलि मात्र रुचि छ । सेड्युल बनाएर घुम्न निस्किरहनेमा म पर्दिनँ । कहिलै नपुगेको ठाउँ जाऊँ भन्ने लाग्छ ।
देशका करिब ७७ जिल्लामा ५० भन्दा बढी जिल्ला पुगेँहोला । विदेशमा एसिया, अमेरिका, युरोप, जापान, श्रीलङ्का, पाकिस्तानलगायत धेरै मुलुक पुगेको छु ।
फुर्सद कहाँ छ ?
मलाई धेरै फुर्सद कहिल्यै हुँदैन । किनभने म आफूलाई केही न केही काममा व्यस्त राख्छु । मेरी नातिनी सानी छिन् । फुर्सद भयो भने उनीसँग खेल्न असाध्यै मनपराउँछु । बचेको समय इस्टमित्र, आफन्तलाई दिन्छु, पढ्छु ।
कलाकारितामा ४८ वर्ष
मेरो पेसा कलाकारिता हो । स्कुले जीवनदेखि मेरो कलाकारिता सुरु भएको हो । स्कुलमा म सरहरूले लेखेको, पाठ्यपुस्तकमा भएको नाटक अभिनय र निर्देशन गर्थें । स्कुलको पहिलो नाटक ‘आमाको सपना’ भन्ने थियो ।
व्यावसायिक रूपमा कलाकारिता थालेको विसं २०३० सालदेखि हो । त्यो यात्रा अहिले पनि निरन्तर छ । मेरो कलायात्राको ४८ वर्ष पूरा भएको छ । यो यात्रामा मैले देश विदेशका नाटक, सिरियल, चलचित्रलगायत थुप्रै अभिनय गरेको छु ।
विदेशी नाटक ‘द पिलअर्स अफ सोसाइटी’ र हिन्दीको ‘चन्द्रगुप्त मोर्या’ लगायत १० वटाजति अभिनय गरेँ होला । नेपाली नाटक करिब ६० भन्दा बढी भए । मेरो एउटै नाटक महिनौँसम्म पनि चलेका छन् ।
दर्जन हाराहारीमा सिरियल अभिनय गरेको मेरा चलचित्रको सङ्ख्या भने ७२ देखि ७५ पुगे होला । मैले चलचित्रमा केन्द्रीय भूमिका नै निर्वाह गरेको छु । त्यसैले मैले निर्वाह गरेको भूमिका प्रायः सम्झनयोग्य नै छन् ।
तीमध्ये पनि ‘वासुदेव’को छाप दर्शकमा गहिरो परेको छ । दर्शकले अहिले पनि मलाई ‘वासुदेव’ अभिनयको कारणले सम्झन्छन् । ‘वासुदेव’ले चलचित्र क्षेत्रलाई नयाँ दिशा दिन सफल भएको थियो भने कलाकारितामा पनि तरङ्ग पैदा गरेको थियो ।
पछिल्लो समय मैले अभिनय गरेको फिल्म ‘म यस्तो गीत गाउँछ–२’ हो । कोरोनाका कारणले यो रिलिज स्थगित गरेर उचित वातावरणको पर्खाइमा छ । कलाकारिता शरीरले साथ दिएसम्म गरिरहेने मेरो सोच छ ।
हाम्रो समयमा कालाकारितामा धेरै दुःख थियो । त्यो समय कलाकारिताबाट कोठाभाडा तिर्न त गाह्रो हुन्थ्यो काठमाडौँमा घर त कल्पना बाहिरको कुरो हुन्थ्यो ।
मैले भने एउटै पुरस्कारको रकमबाट काठमाडौँमा घर बनाएको थिएँ । घर बनाउने जग्गा श्रीमतीले त्यही पुरस्कारको रकमबाट किनेकी थिइन् । पुरस्कार अभिनयबाट पाएका थियौँ । पुरस्कार थियो १५ हजार नगदसहितको ‘इन्द्रराज्य लक्ष्मी प्रज्ञा पुरस्कार’ । जतिबेला हामीले यो पुरस्कार पाएका थियौँ त्यो समय १५ हजारमा काठमाडौँमा जग्गा पनि आउँथ्यो । घर पनि बन्थ्यो ।
कलाकारिताबाटै अहिले म सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको उपकुलपति हुन सफल भएको छु । यसअगाडि संस्कृतिक संस्थामा दस वर्ष महाप्रबन्धक भएको थिएँ । नेपाल प्रज्ञा प्रतिष्ठानमा पनि ४१ वर्ष बिताएँ । त्यहाँको सदस्य सचिवसम्म भएर काम गरेँ ।
एभरेस्ट फिल्म एकेडेमीका अभिनय प्रशिक्षक, विभिन्न स्कुल कलेजमा नाटक प्रशिक्षक, गङ्गादेवी साहित्य कलामन्दिरको उपाध्याक्षलगायत थुप्रै सङ्घसंस्थामा समेत आबद्ध छु ।
केही छैन सपना
सपना त्यस्तो केही छैन । नियमित काम गर्ने अवसर मिलिरहोस् र काम गर्न शरीरले साथ दियोस् भन्ने छ । जीवनको अन्तिम क्षणसमेत कलाकारितामै होऊँ, कलाकारिताको नयाँ नयाँ अनुभव सँगाल्न सकौँ भन्ने छ ।
डेटिङ भएन
वि.सं २०३३ मा मैले अभिनेत्री शकुन्तला गुरुङसँग प्रेम विवाह गरेको हो । हामी अहिलेको प्रज्ञा प्रतिष्ठान भन्ने संस्थामा आबद्ध थियौँ । म २०३० सालमा प्रज्ञा प्रतिष्ठान प्रेवश गर्दा उनी त्यही थिइन् ।
सँगै काम गर्दा हामीलाई एक अर्काे मनपर्यो । परिवारसँग कुरा राखेर मागी विवाह गर्यौ । करिब ३ वर्षको प्रेम हामीले विवाहमा परिणत गरेका थियौँ । अहिलेको जस्तो त्यतिबेला प्रेम गरेपछि डेटिङको चलन थिए । रेस्टुरेन्ट जाने, घुम्नजाने लगायत पनि कहिल्यै गरेनौँ । विवाहपछि हाम्रो प्रेम झन् बढ्यो ।
त्यो हो खुसीको क्षण
सीधै भन्नुपर्दा हाम्रो देशमा एउटा कलाकारको जीवन दुःखसँगै बितेको हुन्छ । त्यसलाई दुःख मान्ने कि नमान्ने भन्ने आफ्नो सोचमा भरपर्छ । मैले कलाकारिताको जीवनमा जति नै अभाव र कष्ट झेल्नु परे पनि दुःख भने मानिनँ ।
जीवनमा कति समय एक छाक खाएर बिताएँ होला । त्यो पल मेरा लागि कहिल्यै दुःखको क्षण भएन । यसलाई मैले यर्थाथ र सङ्घर्षको पलको रूपमा बुझेँ । आफूले गरेको काम दर्शक स्रोताले मन पराएर भने ठूलो सन्तुष्टि मिल्छ । त्यो नै मेरो सबैभन्दा खुसीको क्षण हो ।
भोगटेको फुटबल खेलियो
खेलकुद धेरै प्रकारका छन् । तर कुनै पनि खेल खेल्ने अवसर जीवनमा मिलेन । विद्यार्थी जीवनमा पनि खेलकुदमा रमाउने माहोल भएन । गाउँघरमा हुँदा कहिलेकाही भोगटेको फुटबल र डन्डिबियो खेलियो होला । अहिले खेलकुद खल्न सकिन्न । हेर्न रुचि छ । नबुझ्दा नबुझ्दै पनि क्रिकेट इन्ट्रेस्ट लाग्छ । फुटबल र टेनिससमेत हेर्छु ।
आइफोन बोक्छु
अहिले मसँग लेटेस्ट आइफोन ब्रान्डको एउटा मोबाइल छ । फेरि फेरि मोबाइल बोक्ने बानी छैन । लामो समयसम्म एउटै मोबाइल चलाउँछु । मोबाइलका धेरै फङ्सनहरू चलाउन पनि आउँदैन ।
फोन गर्ने, उठाउने, सामाजिक सञ्जाल चलाउने, भाइबर, युट्युबलगायत सामाजिक सञ्जाल चलाउने, तस्बिर खिच्ने गर्छु । मोबाइल छिटो छिटो फेर्न मनपर्दैन । एउटा मोबाइलमा माया बसेपछि हत्तपत्त फेर्न मन लाग्दैन । छोराहरूले धेरै पुरानो भयो भनेर आफै फेरिदिन्छन् ।
समाचार हेर्छु नि
टीभी हेर्छु । टीभीमा बढी हेर्ने भनेको समाचार हो । त्यसमा पनि विदेशका समाचार बढी हेर्छु । कोरोनाका कारणले एक डेढ वर्षयता टीभी हेर्न कम गरेको छु ।
टीभीमा कमेडी कार्यक्रम, सिरियल लगायत सबैथोक हेर्छु । तर थोरै समय मात्र, धेरै समय हेर्न सक्दिनँ ।
सिक्न हेर्छु फिल्म
चलचित्र धेरै हेर्छु, हलमा कम हेर्छु, घरमा बढी हेर्छु । नेपाली, हिन्दी, अङ्ग्रेजीलगायत सबै प्रकारका चलचित्र मनपर्छ । दक्षिण भारत (साउथ)का चलचित्र धेरै मनपर्छ । कथा, प्रस्तुति राम्रा भएका चलचित्र मनपर्छ । चाहे त्यो जुनै भाषामा किन नहोस्, म चलचित्रमा भाषालाई त्यति प्रथामिकता दिन्नँ । सिक्न र बुझ्न सबै प्रकारका चलचित्र हेर्छु । अरूले निर्वाह गरेका चरित्र कस्तो छ, अभिनय कसरी गरेको छ ? चलचित्रबाट हेरेपछि बुझ्न र सिक्न मद्दत मिल्छ । फिल्म हेर्ने भनेको मनोरञ्जनका अलवा केही सिक्नु पनि हो ।
गाउने रहर भएन
गीतसङ्गीत सुन्छु । लोक गीत, दोहोरी आधुनिक लगायत नेपाली, हिन्दी सबै प्रकारको सुन्छु । गीत सुन्दा रमाइलो महसुस हुन्छ । गाउने कोसिस कहिल्यै गरिएन । रहर पनि जागेन ।
भूल भए कि
जीवनमा जानी नजानी भूल भए कि । आफ्नो भूल आफैँले औँल्याउन सकिन्न रहेछ । त्यसैले जीवनमा भूल गरेजस्तो अहिलेसम्म लागेको छैन ।
पहिले पिउँथे
पहिले पहिले कहिलेकाहीँ विशेष समारोह, साथीभाइको जमघटमा थोरै मापसे लिन्थे । अहिले त छुन्न ।
त्यो बेला पनि यो ब्रान्ड खान्छु, खानुपर्छ भनेर भन्दिनँ थिएँ । साथीभाइले जे लिन्छन् त्यही थोरै खान्थँे बाध्यताले । कति साथीभाइले घरमा मापसे सजाएर राखेका छन् । मेरो घरमा त्यस्तो छैन ।
ठूलो रोग छैन
ठूलो रोग केही छैन । विगत २५ वर्षदेखि सुगर र प्रेसरको नियमित औषधि खाँदैछु ।
राशिमा विश्वास छैन
मेरो राशि ‘कर्टट’ हो । ग्रहदशामा विश्वास त्यति लाग्दैन । हेराउन जुराउनसमेत मनपर्दैन । म धार्मिक भावनाको मानिस हुँ । पूजापाठ गर्छु । कामले हस्तरेखासमेत बदल्छ भन्ने मेरो मान्यता छ ।
मृत्यु
मृत्यु जीवनको अकाट्य सत्य हो । जन्म जतिको सत्य हो मृत्यु पनि त्यही हो । एक दिन मृत्यु अवश्य हुन्छ । मृत्युपछि पनि सम्झने काम गर्नुपर्छ । त्यस्ता काम मबाट पनि केही मात्रामा भएका होलान् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्लगर कार्की भन्छन्, ‘जिब्रो चिप्लियो, माफ गरिदिनुहोला’
-
पाल्पामा मोटरसाइकल दुर्घटनामा हुँदा एक जनाको मृत्यु
-
भ्लगर रतन कार्कीले भने, ‘त्यो शब्दको लागि माफी चाहन्छु’
-
डेडिकेटेड र ट्रंक लाइन महसुल विवाद : सर्वोच्चले खारेज गर्यो हिमाल आइरनको रिट
-
स्टेफन इस्किनाजी काठमाडौँ गुर्खाजमा
-
उमागौरी कृषि सहकारीमा छापा, ताला फुटाएर कागजात लगेको अध्यक्ष रौनियारको आरोप