मेरो जीवन

रमा थपलिया : म सन्तोष पन्तकी श्रीमती होइन !

जसलाई ‘हिजो आजका कुरा’ चिनायो तर सन्तोष पन्तसँग जोडेर

person explore access_timeजेठ १५, २०७८ chat_bubble_outline0

उमेरले बुढ्यौली छोए पनि कलाकार रमा थपलियाको सक्रियता, जोस र जाँगर अहिले पनि कायमै छ । टेलिचलचित्र, चलचित्र, विज्ञापन, म्युजिक भिडियोलगायत थुप्रै विधाको अभिनयमा उनी अबिराम यात्रामा छिन् ।

विभिन्न भाषाका समेत गरेर करिब एक सय हाराहारी चलचित्र, ३, ४ हजार टेलिसिरियल र थुप्रै म्युजिक भिडियो, विज्ञापन चलचित्रमा उनले काम गरिसकेकी छन् ।

प्रष्ट बोल्ने, लप्पन छप्पन नजान्ने थपलिया सबैमाझ परिचित भने ‘हिजो आजका कुरा’ नामक टेलिशृङ्खलाबाट भएकी हुन् । उक्त शृङ्खलामा उनले कलाकार सन्तोष पन्तकी श्रीमतीको भूमिका निर्वाह गरेकी थिइन् । उनको त्यही अभिनयले दर्शकमा गहिरो छाप छोडेकाले होला धेरैले उनलाई कलाकार पन्तकी श्रीमतीकै रूपमा चिन्ने गर्छन् ।

सार्वजनिक स्थानमा समेत सन्तोष पन्तकी श्रीमतीकै रूपमा बोलाएको अनुभव उनीसँग कति छन् कति । त्यसरी बोलाउँदा उनी भने रिसाउँदिनन् । त्यसरी दर्शकले चिन्नु कलाकारिताबाट आफूले पाएको सफलताको रूपमा उनले लिने गरेकी छन् । कलाकार रमा थपलियाको जीवनका विभिन्न पाटा रातोपाटीको ‘मेरो जीवन’ स्तम्भमा उनकै शब्दमा ।

कलाकारिता

मेरो कर्म, धर्म र पेसा जे भने पनि कलाकारिता हो । यो रोजेको अहिले ३४ वर्ष भयो । पहिलो पटक क्यामरा फेस गरेको फिल्म ‘सपना’ हो । अहिले त्यो फिल्मलाई सर्ट फिल्म भनिन्छ । त्यतिबेला यस्तोलाई भिडियो फिल्म भनिन्थ्यो । यो फिल्म भुवन केसीका बुबाले बनाउनुभएको थियो ।

त्यसपछि टेलिफिल्म, नाटक, विज्ञापन चलचित्र, चलचित्रमा लगातार अभिनय गरिरहेकी छु । अभिनय गरेका फिल्म करिब एक सय पुगे होलान् । त्यसपछि सर्ट फिल्म र भिडियो फिल्म पनि त्यतिकै गरेकी छु । टेलिसिरियल करिब ४, ५ हजार पुगे होलान् । ‘हिजो आजका कुरा’ भन्ने सिरियल मात्र १२ वर्ष गरँे । श्रीमान्–श्रीमती, गङ्गा–जमुना लगायत २ सय भागभन्दा बढीका लामा सिरियलमा समेत थुप्रै अभिनय गरेको छु ।

विज्ञापन, एक, दुई भागका सिरियल कति गरेँ कति, गनी साध्य छैन । विज्ञान, चलचित्र, टेलिसिरियल जेजति अभिनय गरे पनि मलाई सबैमाझ चिनाएको भने ‘हिजो आजका कुरा’ भन्ने टेलिसिरियलले नै हो । अहिले पनि मलाई रमा थपलिया भनेर कम र सन्तोष पन्तकी श्रीमती भनेर बढी चिन्छन् । पहिले बाटोमा हिँड्नै हुँदैन थियो । सन्तोष पन्तकी श्रीमती होइन ? भनेर बोलाउँथे, हैरान पार्थे ।

‘हिजो आजका कुरा’ बन्द भएको अहिले धेरै समय भयो । त्यसैले २० वर्षभन्दा कम उमेरका केटाकेटी त्यो कारणले नचिन्न सक्छन् । तीबाहेक सबैले चिन्छन् । एक पटक पोखरामा रहेका चिनजानको आफन्तकोमा सन्तोष दाइ, उहाँकी श्रीमतीसहित परिवार र म एकसाथ गएका थियौँ । त्यहाँ सबैले सन्तोष दाइसँगै रहेको भाउजूलाई नमस्कार नगरेर मलाई भाउजू भन्दै नमस्कार गरे । त्यो समय केही अप्ठ्यारो फिल भयो । मैले रिलको म हो, रियलको भाउजू उहाँ हो भनेर सन्तोष दाइकी श्रीमतीलाई चिनाएँ । त्यो समय उनीहरुले हामीले त सन्तोष पन्तकी साँच्चिकै श्रीमती भन्ठान्नेका थियौँ भने ।

अहिले कलाकारितामा यस्तो अभिनय गर्न पाए हुन्थ्यो भन्ने पनि छैन । मैले हरेक प्रकारका भूमिका गरिसकेँ । मेरो शरीरले दिएसम्म, अभिनयका लागि बोलाएसम्म अन्तिम अवस्थासम्म पनि कलाकारिता गर्छु भन्ने छ ।

खुसी

आफूले गरेको कामबाट दर्शकको माया पाउँदा निकै खुसी मिल्छ । हामीसँग पैसा होस् कि नहोस्, बाहिर हिँड्दा कसैले तपाईंले गरेको अभिनय कति राम्रो भनिदिए सबैथोक पाएजस्तो लाग्छ । एउटा कलाकारका लागि योभन्दा ठूलो खुसी अन्य केही हुँदैन ।

मन्त्री भएका मानिसलाई पद गएपछि एक दुई वर्षमा बिर्सिन्छन् । हामी कलाकारलाई भने सबैले चिन्छन् । यो नै ठूलो खुसी हो । मैले स्थायी जागिर छोडेर कलाकारिता रोजेकी थिएँ ।

दुःख

कलाकारको कुनै लाइफ छैन । हामीले अर्काको हिसाबले बाँच्नुपर्छ । सानोतिनो होटलमा गए त्यो कलाकार त्यस्तो होटलमा पस्यो भन्छन् । साधारण बसमा यात्रा ग¥यो यस्तो बसमा हिँड्ने नेपालका के कलाकार भनेर गिज्याउँछन् । आफ्नो हिसाबले केही गर्न पाइँदैन ।

सर्वसाधारणको जस्तो क्रियाकलाप गर्न हामीलाई अब्ठ्यारो छ । अर्काे कुरो कलाकारिताबाट अवकाश पाएपछि केही सुविधा छैन । अभावमा रहनुपर्छ । हामीले आफूभन्दा अग्रज केही कलाकारको अवस्था देखेका छौँ । अभिनय गरून् जेल हो, छोडेपछि कसैले सम्झिँदैन । यो कुरो सम्झिँदा सारै दुःख लाग्छ ।

प्रेम

१३ वर्षको उमेरमा परिवारले विवाह गरिदिएका थिए । त्यो समय म ७ कक्षामा पढ्थेँ । उहाँ भने २२ वर्षको हुनुहुन्थ्यो । त्यतिबेला सानैमा छोरीको विवाह गरिदियो भने धर्म हुन्छ भन्ने मान्यता  थियो ।

श्रीमान्लाई पहिलोपटक देखेकोे विवाह मण्डपमै हो । विवाहपछि उहाँसँगै प्रेम बस्यो । त्यो प्रेम अहिलेसम्म चल्दैछ ।

सपना

जतिबेला सपना थियो, त्यो पूरा भइसकेको छ । जीवनमा गर्नुपर्ने सबै गरिसकेकी छु । अहिले त्यस्तो केही सपना छैन । धेरै देश घुम्ने, सुख र शान्तिले जीवन बिताउने यही हो ।

खाना

मनपर्ने खाना दाल, भात र तरकारी नै हो । मासको दालमा घिउ राखेको, आलु फ्राई र रायोको साग बढी मीठो लाग्छ । घिउ र भात पनि मनपर्छ । माछा, मासु पनि खान्छु । कुखुराको मासु भने मनपर्दैन ।

रेस्टुरेन्ट त्यति जाँदिनँ । रेस्टुरेन्टको भन्दा मलाई घरकै खानेकुरामा रुचि छ । खाना सबैथोक बनाउन सक्छु । पहिले परिवारलाई सधँै पकाएर खुवाउँथे । अचेल भने पकाउन अल्छी लाग्छ ।

फिट्नेस

फिट्नेसको मामलामा सजग छु । कलाकारिताका लागि बाहिर निस्कनु परे थोरै र नपरे धेरै समय फिट्नेसलाई दिन्छु । रामदेवको योग पर्ने कपालभाँती, आललमबिललम लगायत २, ४ आइटम नियमित गर्छु । सुटिङ नभएको समय मर्निङवाकमा पनि निस्कन्छु ।

पोशाक

सिम्पल पहिरन मनपर्छ । सुहाउने र राम्रो लाग्ने सारी, फरिया चोलो र ब्लाउज नै हो । अहिले सुटिङका समय मात्र यस्तो पहिरन प्रयोग गर्छु ।

विगत १० वर्षदेखि सजिलोका लागि कुर्थासुरुवाल लगाउँदै आएको छु । कुनै औपचारिक कार्यक्रम, सभा समारोह, पार्टी  र भोजभतेर जानुपरेमा सारी नै लगाउँछु ।

मनपर्ने पहिरन रङ्ग रातो, नीलो र सेतो हो । पहिरनमा ब्रान्डेड खोज्ने बानी कहिल्यै भएन । राम्रो लागेको र मनपरेको किन्छु । वर्षको पहिरन खर्च यति नै भन्ने छैन । बजारमा हिँड्दा राम्रो लागेको किन्ने बानी छ । आफूले किनेको पहिरन २, ४ पटक प्रयोग गरेपछि गरिब र दुःखीलाई दान दिन्छु ।

अध्ययन

पहिले–पहिले पत्रपत्रिका, उपन्यास लगायत धेरै थरीका पुस्तक पढ्न मनपथ्र्याे । पछिल्लो समय पुस्तक अध्ययन गर्न अल्छी लाग्छ । मोबाइलबाट केही अनलाइन पढ्छु ।

अहिले बुढेसकाल लागेकाले रामायण, महाभारत पढ्न मन लाग्छ । भागवतको किताब अहिले पढिरहेकी छु । यो पनि मन लागेको समय मात्र पढ्छु ।

घुमघाम

घुमघाममा असाध्यै रुचि छ । हामीजस्ता बूढा कलाकारलाई कार्यक्रमको सिलसिलामा विदेश कसैले लाँदैन । कि नाच्न र गाउन जान्नु पर्यो । अभिनयका लागि भनेर अहिलेसम्म कसैले लगेको छैन ।

म आफ्नै पैसाले वर्षको एक, दुई चोटि विदेश घुम्ने गर्छु । त्यसरी अहिलेसम्म १२ देश पुगिसकेँ ।  कोरोना देखिएपछि भने विदेश घुम्न पाएको छैन ।

सुटिङका सिलसिलामा देशका धेरै स्थान घुमेकी छु । हुम्ला, जुम्लालगायत केही ठाउँ भने जान अझै बाँकी छन् । घुम्न मनपर्ने स्थान प्राकृतिक सौन्दर्यले भरिएका, ऐतिहासिक र धार्मिक स्थल र गाउँघर हुन् ।

फुर्सद

काम गर्ने हो भने ७ दिन नै फुर्सद हुँदैन थियो । फिल्म र सिरियलबाट अफर आइरहन्छ । यो लकडाउनमा पनि एउटा विज्ञापन सुटिङ गर्ने कुरो थियो । निर्माता नआएर रोकियो रे ।

अहिले बूढी भएर होला अब त अभिनय गर्न पनि झ्याउ लाग्न थालेको छ । त्यसैले छानेर थोरै मात्र काम गर्छु ।

खेलकुद

पहिले पहिले कहिलेकाहीँ साथीभाइ भेला हुँदा तासमा जुटपत्ती खेल्थेँ । स्कुले जीवनमा खेलहरु केही खेलिनँ । अहिले कुनै पनि खेल बुझ्दा पनि बुझ्दिनँ । त्यसैले हेर्न पनि मनपर्दैन ।

मोबाइल

मसँग अहिले आइफोन ११ प्रोम्याक्स मोबाइल छ । फेरी फेरी मोबाइल बोक्ने मेरो सोख हो । घडीमा पनि म सौखिन छु । मोबाल फेरेर बोके पनि मोबाइलका धेरै फङ्सन चलाउन आउँदैन ।

फोन गर्ने, उठाउने, सामाजिक सञ्जाल चलाउने मात्र हो मोबाइलमा । टिकटक र युट्युब हेर्छु । अहिलेसम्म मोबाइल गिफ्ट भने कसैले दिएको छैन ।

टिभी

टिभी नखोलेको करिब १ वर्ष भयो होला । घरमा सानासाना नातिनीहरु भएकाले उनीहरुले टीभी खोलेर हेर्नै दिँदैनन् । पहिले पहिले त टिभीमा भारतीय सिरियलहरु धेरै हेर्थें ।

चलचित्र

चलचित्र पनि पहिले धेरै हेर्थें । अहिले कम हेर्छु । पहिले पहिले हिन्दी फिल्म हलमै गएर धेरै हेर्थंे । अहिले हलमा नगएको धेरै वर्ष भयो होला । कहिलेकाहीँ आफ्नो अभिनय भएको फिल्म आउँदा हलमा बोलाउँथे । त्यस्तो समय पुगे होला । टिकट काटेर फिल्म नहेरेको धेरै भयो ।

घरमा बसेको बेला पनि फिल्म हेर्दिनँ । मेरा घरमा एक सय सत्तरीवटा गमला छन् । फलफूलका बिरुवा धेरै छन् । मलाई यसमा सौख लाग्छ । यो बिरुवा गोडमेल, मलजल गर्दैमा समय बितेको पत्तो हुँदैन ।

गीतसङ्गीत

गीतसङ्गीत धेरै मनपर्छ र सुन्छु पनि । पुराना गीत सुन्छु । नारायण गोपाल, तारादेवी लगायत पुराना गायक गायिकाका गीत बढी मनपर्छ ।

अहिले भने बढी लोकशैलीका गीत सुन्न थालेकी छु । अभिनय गर्न भने सेन्टिमेन्टल गीत मनपर्छ ।

भुल

मानिस हुँ जानी नजानी धेरै भुल भए होलान् । जानेर अरूका लागि दुःख पुग्ने भुल गरेकी छैन । पछुताउनुपर्ने, सधैँ सम्झने खालको भुल पनि भए जस्तो लाग्दैन । धेरै अगाडि अहिलेको गोपीकृष्ण हल रहेको पछाडिको पूरै फाट खाली थियो । त्यहाँ २० हजार रोपनीको जग्गा आउँथ्यो । म हेर्न पनि गएकी थिएँ ।

सो समय मेरो घर डिल्ली बजारमा थियो । एक जापानिजले दिएको मसँग एउटा डेक थियो । त्यसमा रिमोटमै स्क्रिन पनि थियो । त्यो डेक भद्रघलको बहिनीले तीस हजार दिन्छु । दिनु भनेकी थिइन् । मैले बेचिनँ । अहिले त्यो डेक त्यसै दिए पनि कसैले लैजाँदैन होला । त्यतिबेला त्यो डेक बचेर गोपीकृष्ण पछाडिको जग्गा डेढ रोपनी किनेकी भएँ । अहिले अरब हुन्थ्यो होला । कहिलेकाहीँ यही कुरोको पछुतो भने लाग्छ ।

मापसे

मापसे, धूमपान कहिल्यै गर्दिनँ । फिल्म क्षेत्रका सबैलाई यो कुरो थाहा छ । फिल्म क्षेत्रको केहीले मापसे नगर्ने भएकाले जिस्क्याउँथे पनि ।

अहिले भने कहिलेकाहीँ पार्टीमा बाध्यताले हल्का वाइन लिन्छु । मेरो घर भने रक्सीले भरिएको छ । छोरोले रक्सीको होलसेल व्यवसाय गर्ने भएकाले घरभरि रक्सी राखेको हो ।

रोग

मलाई रोगहरू होलसेलमा छन् । प्रेसर, ग्यास्टिक लगायत धेरै रोग छन् । मलाई त संसारको सबैभन्दा ठूलो रोग ग्यास्टिक हो जस्तो लाग्छ । ग्यास्टिकको कारणले मुटु नजिक दुख्छ । धेरै ठाउँमा चेकअप गराइसकेँ । कहिल्यै निको हुँदैन ।

मलाई डिप्रेसन पनि छ । अहिले भने केही कमी भएको छ । बूढेसकालको घँुडा दुख्ने, ढाड दुख्ने लगायत रोग देखिन थालिसकेको छ ।

राशि

मेरो राशि वृश्चिक हो । ग्रहदशामा विश्वास अलिअलि लाग्छ । भगावन् छन्, अदृश्य छन् भन्ने लाग्छ । भगवानप्रति विश्वास पनि छ । विश्वास छ भन्दैमा ढुङ्गालाई भगवान् मानेर ढोग्दै हिँड्दिनँ ।

मृत्यु

मृत्यु जीवनको अन्त्य हो । ध्रुवसत्य कुरो हो । मलाई मुत्युदेखि धेरै डर लाग्छ । आए पनि जानैपर्छ । कुनबेला, कहाँ र कसरी मृत्यु हुन्छ, कसैले थाहा पाउन पनि सक्दैन । अभिनयबाट मृत्युपछि पनि बाँच्ने काम गरेकी छु । सकेको समाजसेवा पनि गरिरहेकी छु ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।