शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

उमेश श्रेष्ठलाई मन्त्री बनाएकोमा गल्ती स्वीकार्दै देउवाले भने-अबदेखि यस्तो हुँदैन

एमसीसी र संघीयताको विरोध, गठबन्धन छाड्ने चेतावनी
बुधबार, १३ साउन २०७८, ११ : २९
बुधबार, १३ साउन २०७८

सत्तारुढ गठबन्धनमा रहेका दलसँग सल्लाह नगरी उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएकोमा प्रधानमन्त्री शेरबहादुर देउवाले गल्ती स्वीकार गरेका छन् । अबदेखि गठबन्धनमा सल्लाह नगरी कसैलाई पनि मन्त्री नबनाउने देउवाले प्रतिबद्धतासमेत जनाएका छन् । बुधबार बिहान बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले श्रेष्ठलाई राज्यमन्त्री बनाउँदा गल्ती भएको स्वीकारेका हुन् ।

काँग्रेस, माओवादी, जसपा, राष्ट्रिय जनमोर्चा र एमालेको माधव नेपाल पक्षका नेताहरु सम्मिलित बैठकमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले 'स्वार्थ बाझिने उमेश श्रेष्ठलाई किन स्वास्थ्य राज्यमन्त्री बनाएको ?' भन्दै प्रधानमन्त्री देउवामाथि प्रश्न गरे । यस्ता कुराहरुमा आफ्नो पार्टीको विरोध रहने केसीले बैठकमा बताए ।

राज्यमन्त्री श्रेष्ठबारे केसीले प्रश्न उठाएपछि माओवादीका नेता नारायणकाजी श्रेष्ठले पनि राजनीतिक नियुक्तिहरु र निर्णयहरु गर्दा गठबन्धनमा सल्लाह भएर मात्र गर्नुपर्ने बताए ।

राज्यमन्त्री श्रेष्ठमाथि प्रश्न उठेपछि प्रधानमन्त्री देउवाले यसपटक यस्तै भइहाल्यो, अबदेखि यस्तो हुँदैन भन्दै नेताहरुलाई आश्वस्त पारेका थिए । ‘हाम्रो काँग्रेसमा तपाईहरुलाई थाहा छँदै छ नि, मन्त्री बनाउनुपर्यो भनेर लिएर आइहाले, मैले यस्तो विरोध होला भन्ने सोचिनँ, फ्याट्ट स्वीकृत गरिहालेँ,’ बैठकमा प्रधानमन्त्री देउवाको भनाइ उद्धृत गर्दै स्रोतले रातोपाटीसँग भयो,‘अबदेखि यस्तो हुँदैन, सल्लाहबाटै गर्छु ।’

​कसैले प्रस्ताव ल्याएको हुनाले राज्यमन्त्री बनाएको देउवाले जवाफ दिए पनि कसको प्रस्तावमा मन्त्री बनाइएको भन्ने चाहिँ उनले बैठकमा खुलाएनन् । जबकि सत्तारुढ दलहरूको कार्यदलमा समेत सल्लाह नगरी श्रेष्ठलाई राज्यमन्त्री बनाइएको भन्दै काँग्रेस नेता पूर्णबहादुर खड्कासमेतले आपत्ति जनाइसकेका छन् ।

एमसीसी र संघीयताको विरोध, गठबन्धन छाड्ने चेतावनी

सत्तारुढ गठबन्धनको बैठकमा अमेरिकी आर्थिक सहयोग (एमसीसी) र संघीयताको पनि विरोध भएको छ । बालुवाटारमा बुधबार बसेको गठबन्धनको बैठकमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुुर केसीले नेपाली जनता कोभिडविरुद्धको खोप नपाएर अकालमा ज्यान गुमाउन बाध्य भइरहेको अवस्थामा गठबन्धनको सरकार गम्भीर बन्न नसकेको बरु एमसीसीलाई अघि बढाउने ध्याउन्नमा लागेको भन्दै विरोध गरेका थिए ।

 ‘जनता कोरोनाविरुद्धको खोप नपाएर मरिरहेका छन् । तपाईहरु एमसीसी कसरी पास गर्ने र संघीयता धरापमा पर्‍यो मात्रै भन्नुहुन्छ । अनि कसरी जनताले यो गठबन्धनको सरकारलाई विश्वास गर्ने ?’केसीको प्रश्न थियो ।

उनले गठबन्धनले सधैं संघीयताकै रटान लगाउने र एमसीसीकै कुरा गर्ने हो भने आफ्नो पार्टी गठबन्धनबाट बाहिरिने चेतावनी दिएका थिए । ‘गठबन्धन खाली संघीयता र एमसीसीको पछि लाग्ने हो भने हामी प्रतिपक्षमा बस्छौँ’, केसीको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप