सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

सिमलडाँडा हत्या प्रकरण : सैनिक जवानले चितवनसम्म कसरी पुर्‍याए ‘एसएमजी’ हतियार ?

प्रहरी भन्छ–‘सोध्दै छौँ’
आइतबार, १० साउन २०७८, २० : २४
आइतबार, १० साउन २०७८


 

चितवनको भरतपुर महानगरपालिका–१७ स्थित सिमलडाँडा खेत नहरमा साउन ७ मा  नेपाली सेनाका हुद्धा भरत गुरुङको शव भेटियो । महेन्द्र दल गण राष्ट्रिय निकुञ्ज शिवपुरी, टोखामा कार्यरत भरतलाई सोही पल्टनमा कार्यरत जवान गंगाधर ढकालले गोली हानेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

चितवनका एसपी ओम अधिकारीका अनुसार हत्यामा नेपाली सेनासँग रहेको स्वचालित सट मेशिन गन (एसएमजी) प्रयोग गरिएको थियो । सैनिक जवान ढकालले सो हतियार कसरी चितवनसम्म पु¥याए ? प्रहरीले हतियारको सम्बन्धमा अनुसन्धान भइरहेको तर, अहिलेसम्म कुनै तथ्य खुल्न नसकेको जानकारी दिएको छ ।

‘हतियारबारे अनुसन्धान गर्दै छौँ, आरोपीले कहिले कता,कहिले कता भनेका छन्’ चितवनका एसपी अधिकारीले भने–‘अनुसन्धान पुरा हुँदासम्म केही आउला त्यसबारे अनुसन्धान टोलीले बुझिरहेको छ ।’

​हत्या आरोपी सैनिक जवान चितवनको कालिका नगरपालिका–२१ पदमपुरका हुन् । मृतक गुरुङ चाहिँ धादिङको नीलकण्ठ नगरपालिकाका स्थानीय हुन् । गत बिहीबार बिहान सिमलडाँडा खेत नहरमा शव भेटिएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

महेन्द्र दल गण राष्ट्रिय निकुञ्ज शिवपुरीबाट ६ दिनको बिदा लिएर दुवै जना चितवन गएका थिए । बिदामा रहेका सैनिकले पल्टनको कोतघरमा हतियार बुझाएर जानुपर्छ । तर, ढकालले आफू कार्यरत पल्टनबाटै हतियार लगेको भए त्यो सेनाभित्रको गम्भीर सुरक्षा त्रुटि हो ।

बिहीबार प्रहरीले नियन्त्रणमा लिँदा ढकालको साथमा एसएमजी फेला परेको थियो । सो हतियारबारे नेपाली सेनाले पनि आन्तरिक अनुसन्धान गरिरहेको छ ।

‘हामी पनि आन्तरिक अनुसन्धान गरिरहेका छौ’ सैनिक प्रवक्ता (सहायक रथी) सन्तोष वल्लभ पौडेलले रातोपाटीसँग भने–‘हतियार कसरी त्यहाँ (चितवन) पुग्यो भनेर हामी आन्तरिक तर्फबाट जवाफ खोजिरहेका छौँ ।’

सैनिक स्रोतका अनुसार केही समयअघि ब्यारेकबाट चोरी भएको वा आफ्नो जिम्माको एसएमजी ढकालले हत्यामा प्रयोग गरेका हुन् ।  नेपाल प्रहरीले सो एसएमजीको लट नम्बर सहित नेपाली सेनालाई पत्राचार गरेर विवरण मागेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप