बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

किन दिए भीम रावलले राजीनामा ? यस्तो छ कारण

राजनीतिक दलका शीर्ष नेतामा स्वेच्छाचारिता बढ्यो : रावल
आइतबार, ०३ साउन २०७८, १६ : ५१
आइतबार, ०३ साउन २०७८


 

काठमाडौँ । एमाले नेता तथा अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद भीम रावलले राजनीतिक दलका शीर्ष नेतामा स्वेच्छाचारिता बढेको भन्दै सांसद पदबाट राजीनामाको घोषणा गरेका छन् । उनले आइतबार संसद् भवन नयाँ बानेश्वरमा आफ्नो राजीनामा घोषणा गरेका हुन् ।

त्यस क्रममा उनले आफ्नो राजनमा पत्र पढेर सुनाएका थिए । पत्र पढ्दै उनले राजनीतिक दलका शीर्ष नेताहरूमा स्वेच्छाचारिता बढेको तथा घृणित राजनीतिक खेल खेलबाट आफूलाई अलग राख्नु श्रेयस्कर ठानेर राजीनामा दिएको बताएका छन् ।

यस्तो रावलको राजीनामा

सम्माननीय सभामुख ज्यु, प्रतिनिधि सभा सिंहदरबार काठमाडौँ ।

विषय राजीनामा

महोदय, झन्डै आधा शताब्दी लामो राजनीतिक जीवनमा मैले अनेकौँ राजनीतिक आरोह अवरोह तथा घात प्रतिघात व्यहोरेको छु । र तिनको सामना गर्दै आएको छु । यो सबै मैले मातृभूमिको स्वाधीनता, स्वतन्त्रताका  लागि गरेको थिए । तर राजनीतिक नेतृत्वको त्यसविपरितका काम हुँदै देश र जनतालाई अनेकौँ पीडा र अनिश्चयको दिशातर्फ धकेल्ने किर्ते काम हुँदै गए ।

फलस्वरूप आज नेपाल र नेपालीहरूको शिर निहुरिँदै गएको छ । अझ केही समययता राजनीतिक वृत्तको नेतृत्व तहमा देखिएको चरम सत्ता र पदलिप्सा तथा विधि र पद्धतिलाई आफ्नो उचित एवं निहित स्वार्थका लागि मिच्दै अत्यन्त स्वेच्छाचारी र निरंकुश तरिकाले काम गर्ने अनैतिक चरित्रको घृणित अभ्यास भइरहेको देख्दा कुनैपनि सच्चा, देशभक्त र लोकतन्त्र प्रेमी नेपालीको मन रुन्छ । यस्ता विकृत तथा देश र जनताका हितविपरितका क्रियाकलापका विरुद्ध जुध्दै रोक्नका लागि जनप्रतिनिधि एवं राजनीतिक कर्मीको हैसियतले मैले अधिकतम प्रयत्न पनि गरे । तर पछिल्लो समय प्रतिनिधि सभाको विघटनदेखि पुनर्स्थापना र प्रधानमन्त्रीले विश्वासको मत लिने अवस्थासम्म आइपुग्दा उच्च राजनीतिक नेतृत्व तहमा देखिएको अनियन्त्रित र चरम अनैतिक राजनीति, स्वेच्छाचारी व्यवहार तथा देश जनता र पार्टीको हित भन्दा निजी स्वार्थ अहम्, प्रतिशोध चरित्र र कार्य देख्दा देश र जनताको हितलाई सर्वोपरि सम्झने जुनसुकै नागरिकको मनमा घृणा उत्पन्न हुन्छ । यस्तो स्थितिमा अनैतिक राजनीतिक तथा देश र जनविरोधी राजनीतिक अभ्यासको मतियार हुनुभन्दा यसबाट अलग हुनु श्रेयस्कर भएकाले उक्त प्रकारको दूषित खेलबाट आफूलाई अलग गर्दै प्रतिनिधि सभाको सदस्य पदबाट राजीनामा दिएको छु ।

भीमबहादुर रावल सदस्य प्रतिनिधि सभा

अछाम निर्वाचन क्षेत्र नम्बर १

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप