शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

देउवाले पाउलान् त विश्वासको मत ? यस्तो छ अङ्कगणित

आइतबार, ०३ साउन २०७८, ११ : २०
आइतबार, ०३ साउन २०७८

प्रधानमन्त्रीमा नियुक्त भएको एकसाता पनि नबित्दै शेरबहादुर देउवाले आजै संसदमा विश्वासको मत लिने भएका छन् । एक महिनाभित्र विश्वासको मत लिने सुविधा रहेकाले प्रधानमन्त्रीले यसबारे हतारो नगर्ने अनुमान भइरहेकै बेला सत्ता पक्षले आजै विश्वासको मत लिने प्रस्ताव प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिमा पेस गरेको छ ।

प्रधानमन्त्री देउवाले विश्वासको मत पाउलान् त ? यसबारेमा प्रतिनिधिसभाको अङ्क गणित हेर्नुपर्ने हुन्छ । प्रतिनिधिसभा नेपाली काँग्रेसका ६१ र माओवादीका ४९ सांसद छन् । जसपाका ३४ मध्ये उपेन्द्र यादवको पक्षमा १७ सांसद उभिएका छन् । राष्ट्रिय जनमोर्चाकी एक सांसद पनि प्रधानमन्त्री देउवाको गठबन्धनमा छिन् । यी सबै जोड्दा देउवाको पक्षमा १२८ मत पुग्छ ।

प्रतिनिधिसभामा हाल कायम रहेका कुल २७१ सदस्यमध्ये बहुमत पुर्‍याउन प्रधानमन्त्री देउवाले १३६ मत ल्याउनुपर्ने हुन्छ । यो हिसाबले उनलाई थप ८ मतका लागि या त माधव नेपाल समूहले मत हाल्नुपर्ने हुन्छ, या महन्थ ठाकुर पक्षले मत दिनुपर्ने हुन्छ ।

प्रतिनिधिसभा राप्रपा र नेपाल मजदुर किसान पार्टीका एक/एक सिट छन् । राप्रपा सांसद राजेन्द्र लिङ्देन यसबारे पार्टीले निर्णय गरिनसकेको बताउँछन् । नेमकिपाले देउवालाई विश्वासको मत नदिने सो पार्टीका सांसद प्रेम सुवालले रातोपाटीलाई बताए ।

माधव नेपाल पक्षका नेताहरूले भने देउवालाई विश्वासको मत दिने बताउँदै आएका छन् । यसअघि नै माधव नेपाल समूह देउवाको गठबन्धनमा सहभागी हुँदै आएको छ । सर्वोच्च अदालतमा परेको रिटमा नेपाल पक्षका २३ सांसदले हस्ताक्षर गरेका छन् । सर्वोच्चमा बुझाइएको रिटमा बहुमत अर्थात् १४६ सांसदको हस्ताक्षर जुटेको हुनाले त्यो मत सदनमा पनि देउवाले पाउने सत्ता पक्षको दाबी छ ।

एमालेका कुल १२१ सांसदमध्ये २३ जना माधव नेपालको पक्षमा रहेकाले ओलीको पक्षमा ९८ सांसदमात्र छन् । यीमध्ये पनि केही सांसदले फ्लोर क्रस गरेर देउवालाई सघाउने भित्री वचन दिएको काँग्रेस स्रोतको दाबी छ ।

संविधानको धारा ७६(५) अनुसार सरकार बन्ने प्रयोजनका लागि मत दिएबापत् सांसदहरूलाई कारबाही नगर्नू भनेर सर्वोच्च अदालतले ह्वीप नलाग्ने निर्णय गरिसकेको अवस्था रहेकाले देउवाको पक्षमा क्रस भोटिङ हुने र सरकारले विश्वासको मत पाउने सत्ता पक्षको दाबी छ ।  

यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदा २३२ सांसद उपस्थित रहेकोमा ओलीको पक्षमा ९३ र विपक्षमा १२४ मत खसेको थियो । १५ जना भने तटस्थ रहे ।

यता, केपी ओलीको अध्यक्षतामा शुक्रबार बसेको नेकपा एमालेको स्थायी कमिटी र संसदीय दलको बेग्लाबेग्लै बैठकले देउवालाई विश्वासको मत नदिने संस्थागत निर्णय गरेको छ । ओली पक्षले आज पनि स्थायी कमिटी बैठक डाकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप