आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

एमाले कार्यदल विघटन, देउवाको विपक्षमा उभिन निर्देशन

शुक्रबार, ०१ साउन २०७८, १३ : ४३
शुक्रबार, ०१ साउन २०७८

काठमाडौं । नेकपा एमालेले पार्टी एकता गर्न बनेको १० सदस्यीय कार्यदल खारेज गरेको छ । शुक्रबार बसेको स्थायी समितिको बैठकले पार्टी भित्रका समस्या समाधानका लागि गठित कार्य दलले तयार पारेको १० बुँदे प्रस्तावलाई अनुमोदन गर्दै कार्य दल विघटन पनि गरेको हो । कार्य दलले तयार पारेको प्रस्तावलाई रचनात्मक र सृजनात्मक ढंगले कार्यान्वयन गर्ने गरी अनुमोदन गर्ने निर्णय पनि गरिएको प्रवक्ता प्रदीप ज्ञवालीले बताए । “पार्टीको समस्या समाधानका सम्बन्धमा सुझाव दिन गठित कार्य दलले तयार गरी बैठक समक्ष प्रस्तुत गरेको प्रस्ताव ग्रहण र अनुमोदन गरिएको छ,“ उनले भने,“सो प्रस्तावलाई सृजनात्मक र रचनात्मक ढंगले कार्यान्वयन गर्ने निर्णय गरिएको छ । कार्य दलले आफ्नो जिम्मेवारी पूरा गरेकोमा धन्यवाद दिँदै विघटन गर्ने निर्णय पनि गरिएको छ ।”

१० सदस्यीय कार्य दलले गत असार २७ गते राति एमाले एकताका लागि दश बुँदे सहमति गरेको थियो । बैठक चलिरहँदा पुगेका माधव नेपाल पक्षका नेताहरुले भने आज बोलाइएको स्थायी समिति बैठक र संसदीय दलको बैठक रोक्न अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह गरेका थिए । तर नरोकिएपछि उनीहरु बैठक स्थलबाट बाहिरिएका थिए ।

​त्यस्तै बैठकले देउवा नेतृत्वको सरकारको विपक्षमा उभिन आफ्ना सांसदहरुलाई निर्देशन समेत दिएको छ । सरकारबाट बाहिरिएपछि पहिलो पटक बसेको एमाले स्थायी समिति बैठकले अलोकतान्त्रिक र अस्वस्थ प्रतिस्पर्धाबाट सरकार गठन भएको निष्कर्ष निकाल्दै विश्वासको मत नदिने निर्णय गरेको हो ।  प्रवक्ता प्रदीप ज्ञवालीले भने, “अलोकतान्त्रिक र अस्वस्थ विधिबाट गठित सरकारलाई पार्टीको समर्थन र विश्वासको मत नदिने स्पष्ट पार्दै पार्टीका सबै प्रतिनिधिसभाका सदस्यहरुलाई यस निर्णयको पालना गर्न निर्देशन दिइएको छ ।” एमालेले देश र जनताको हितमा केन्द्रित भई सक्रिय एवम् रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने पनि स्पष्ट पारेको छ ।

त्यस्तै अध्यक्ष केपी ओली नेतृत्वको सरकारले ऐतिहासिक काम गरेको भन्दै बैठकले धन्यवाद व्यक्त गरेको छ ।

हेर्नुहोस् विज्ञप्ति :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप