आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

संसद्‍बाट बजेट फेल हुने भएपछि मध्यरातमा लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्य

शुक्रबार, ०१ साउन २०७८, ०८ : २५
शुक्रबार, ०१ साउन २०७८

लुम्बिनी प्रदेशसभाको अधिवेशन गत रातिबाट अन्त्य भएको छ । लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत बजेट फेल हुने भएपछि मध्यराति अधिवेशन अन्त्य गरिएको हो । बजेटका सम्बन्धमा सबै प्रक्रिया पुरा गरेर मतदान प्रक्रियामा जाने बेलामा हिजो बिहीबार बहिस्कार गर्दै प्रदेशसभाबाट बाहिरिएका मुख्य मन्त्री शङ्कर पोखरेलले मध्यरातमा प्रदेश प्रमुख मार्फत प्रदेशसभाको आठौँ अधिवेशनको अन्त्य गराएका छन् ।

हिजो मुख्यमन्त्रीको जवाफी भाषण सकिए लगत्तै प्रदेशसभामा सत्तापक्ष एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले सभामुखमार्फत् थप छलफलका लागि समय  माग गरेका थिए । सभामुख पूर्णबहादुर घर्तीले छलफल गर्न विपक्षी सांसदहरूसँग राय माग्दै गर्दा मुख्यमन्त्री पोखरेल सभा हलबाट बाहिरिएका थिए । सोही आधारमा सत्तापक्षको सदन बहिस्कार पछि शुक्रबार आज दिउँसो १ बजे सम्मका लागि सभामुखले बैठक स्थगित गरेको थिए । तर मुख्यमन्त्री पोखरेलले मध्यरात सभाको अधिवेशन नै अन्त्य गरिदिएका छन् ।

​मध्यरातमा सरकारको सिफारिसमा प्रदेश प्रमुखको कार्यालयले अधिवेशन अन्त्य भएको सूचना सार्वजनिक गरेको छ । असार ३१ को मन्त्रिपरिषद्को बैठकको निर्णय बमोजिम मुख्यमन्त्री शङ्कर पोखरेलबाट अनुरोध भएपछि अनुसार चालु आठौँ अधिवेशनको अन्त्य गरिएको प्रदेश प्रमुख कार्यालयबाट प्रकाशित विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा  कार्यालयका प्रवक्ता चिरञ्चिवी पौड्यलले हस्ताक्षर गरेका छन् भने पत्र सङ्ख्या र चलानी नम्बर उल्लेख छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप