मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेको स्थायी कमिटी बैठक आज, नेपाल पक्ष नजाने

शुक्रबार, ०१ साउन २०७८, ०७ : ००
शुक्रबार, ०१ साउन २०७८

एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार स्थायी समिति बैठक बोलाएका छन् । पार्टीभित्र तिक्तता बढिरहेकै बेला अध्यक्ष ओलीको निर्देशनमा महासचिव ईश्वर पोखरेलले शुक्रबार ११ बजे बस्नेगरी स्थायी कमिटी बैठक बोलाएका हुन् ।

​बैठकमा आउन माधव पक्षका नेताहरुलाई समेत खबर गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार बैठक ललितपुरस्थित तुलसीलाल प्रतिष्ठानमा बस्नेछ । तर असन्तुष्ट माधव पक्षका नेताहरुले एकपक्षीय ढंगले बोलाएको बैठकमा सहभागी हुने सम्भावना नरहेको बताएका छन् ।

‘पार्टीभित्र तिक्तता बढेको छ । पहिला अध्यक्ष र वरिष्ठ नेता भेटवार्ता गरेरमात्रै बैठक बोलाउने भनिएकोमा सल्लाह नै नगरी बोलाएको बैठकमा हाम्रो समूह सहभागी हुने सम्भावना छैन’ एमाले उपाध्यक्ष समेत रहेका माधव पक्षका नेता युवराज ज्ञवालीको भनाइ छ ।

​यसअघि गत असार २७ गते एमाले विवाद समाधान गर्न गठित कार्यदलले एमाले एकतासम्बन्धी १० बुँदे सुझाव अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई बुझाएको थियो । कार्यदलले स्थायी कमिटी बैठक बोलाउनुअघि अध्यक्ष ओली र नेपालबीच भेटवार्ता गरेर सहमतिमा बैठक बोलाउन सुझाव दिएको थियो । तर, कार्यदलको सुझाव र एकताको भावना विपरित अध्यक्ष ओलीले असार २८ गते सर्वोच्चको फैसलापछि वरिष्ठ नेता माधवकुमार नेपाललाई गद्दार भन्दै आरोप लगाएका छन् । यसले एमाले एकता थप पेचिलो बन्दै गएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप