आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

च्यातिएकै हो त एमालेको १० बुँदे सहमति ?

बुधबार, ३० असार २०७८, २० : ०९
बुधबार, ३० असार २०७८

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओलीले बुधबार बालकोटस्थित आफ्नै निवासबाट घोषणा गरे, ‘माधव नेपालजस्ता लाजसरम हराएका मान्छेका पछाडि लाग्ने केही व्यक्तिहरू अब सच्चिएर पार्टीमा काम गर्न चाहन्नुहुन्छ भने काम गर्न दिन्छौँ ।तर, माधव नेपालको हकमा आत्मालोचना, गल्ती कमजोरी स्वीकारे पनि पार्टीमा कुनै ठाउँ छैन ।....माधव नेपालजस्ता गद्दारलाई क्षमा गर्न सकिन्न ।’

प्रधानमन्त्री पदबाट बाहिरिँदै गर्दा ओलीले मंगलबार सिंहदरबारबाट गरेको सम्वोधनमा पनि माधव नेपाल पक्षले आपराधिक कार्य गरेको बताएका थिए ।

माधव नेपाल समूहमाथि केपी ओलीको यस्तो प्रहारपछि अब नेकपा एमालेको कार्यदलले सार्वजनिक गरेको १० बुँदे सहमति लगभग च्यातिएको र यसको सन्दर्भ सकिएको राजनीतिक विश्लेषकहरुले बताएका छन् ।

गत असार २७ गते मध्यरातमा सिंहदरबारबाट एमाले कार्यदलले तयार पारेको १० बुँदे सहमति पत्रको पहिलो बुँदामै यस्तो लेखिएको छ,‘विगत केही समययता पार्टीभित्र देखापरेका आन्तरिक अन्तरविरोधहरु पार्टीको दायराभन्दा बाहिर पुगेका छन् र कतिपय सन्दर्भमा कटूतापूर्ण तथा एक अर्काप्रति निषेधात्मक बन्दै गएका छन् । यस्ता अन्तरविरोधहरुलाई पार्टीभित्रै विधिसम्मत ढंगले समाधान गर्दै अघि  बढ्न हामी सहमत भएका छौं ।’

सहमतिपत्रको १० औं नम्बर बुँदामा भनिएको छ, ‘कार्यदलको सिफारिस कार्यान्वयनका लागि तत्काल पार्टी स्थायी कमिटीको बैठक आयोजना गर्न अध्यक्ष एवं महासचिव कमरेडलाई अनुरोध गर्ने ।’

प्रधानमन्त्री ओलीले बोलाएको स्थायी कमिटी बैठक स्थगित भइसकेको छ । अब अध्यक्ष ओलीको यस्तो अभिव्यक्ति आएसँगै एमालेको बैठकले १० बुँदे सहमति अनुमोदन गर्ने सम्भावना क्षीण बनेको छ ।

नेकपा एमालेमा अब १० बुँदे सहमति पत्रको भविश्य के होला ? यसबारे सर्वप्रथम राजनीतिक विश्लेषक एवं राजनीतिशास्त्रका​ प्राध्यापक कृष्ण पोखरेलका कुरा सुनौं–

मलाई शुरुमै के लागेको थियो भने त्यो १० बुँदेको खास उद्देश्य भनेको सर्वोच्च अदालतको फैसलालाई प्रभावित गर्नेबाहेक त्योभन्दा परसम्म जाने केपी ओलीको कुनै मनसाय थिएन । अदालतको फैसलालाई प्रभावित पार्नका लागि रातारात सही गरेर निकालिएको थियो । २८ गते फैसला आउने कुरा थियो, अघिल्लै रात त्यसो गरियो ।

२८ गते बिहानै अखबारमा विष्णु पौडेलको जुन भनाइ आयो, त्यसमा उनले २३ जनाको हस्ताक्षरले अब हावा खायो भनेका छन् । १० बुँदेको उद्देश्य यत्ति थियो र त्यो उद्देश्यमा पराजित भयो । अब केपी ओलीको पक्षबाट यसको सन्दर्भ सकियो ।

माधव नेपालका पक्षबाट अस्ति पाँच दलीय गठबन्धनमा बसेर उहाँले अब यो १० बुँदे भयो, म त्यतातिर लाग्छु, एमालेलाई पनि साथ लिएर अगाडि जानुपर्छ भनेर उहाँले चाहिँ आफ्नो गम्भीरता देखाउनुभयो । तर, ओलीजीको उद्देश्य त अदालतलाई प्रभावित बनाउने मात्रै थियो, त्यहाँ भन्दा परतिर छँदै थिएन । त्यो उद्देश्यमा १० बुँदे पराजित भयो । असान्दर्भिक भयो ।

मलाई लाग्छ अब केपी ओलीजी १० बुँदेमा प्रतिवद्ध हुनुहोला भन्ने देखिँदैन । किनभने, उहाँमा आफ्नो पद गुम्ने कारणचाहिँ माधव नेपालहरू नै हुन् भन्ने रिस छ ।एक हिसाबले  यो हो पनि । किनभने, देउवाजीको बहुमत पुगेकै २३ जनाको हस्ताक्षरले हो । यसले गर्दा आफ्नो भाग खोसिएपछि उहाँलाई रिस उठ्नु स्वाभाविकै हो ।

अब मलाई के लाग्छ भने माधव नेपाल पक्षले यसलाई कसरी बोकेर हिँड्नुहुन्छ, त्यो आफ्नो ठाउँमा छ, तर यसलाई प्याचअप गर्नका लागि उनीहरु ओलीका सामु गरुणका अगाडिका सर्पजस्तै हुन्, तिनको केही हैसियत देखिँदैन ।

मेरो विचारमा माधव नेपालको मिसन पनि अहिलेसम्म पूरा भएको छैन । संसदलाई असमयमै भंग गरिएकोमा शुरु भएको हो यो मिसन । संसद विघटन अलोकतान्त्रिक र असंवैधानिक भयो भनेर त्यसलाई पुनःस्थापित गर्नका लागि यो मिसन शुरु भएको हो । पुनस्र्थापित संसदको यो मिसन माधव नेपालको पनि पूरा भएको छैन ।

माधव नेपालको मिसन कहाँदेखि पूरा हुन्छ भने जतिखेर यो सरकारले विश्वासको मत पाउँछ । त्यसपछिमात्रै यो संसद टिक्ने हो । यसले गर्दा जहिलेसम्म यो सरकारले विश्वासको मत पाउँदैन, त्यो विन्दुसम्म माधव नेपालको मिसन अधुरै रहन्छ ।

तर, माधव नेपालले १० बुँदेप्रतिको दायित्वबाट पछि हटेको छैन भनेर गठबन्धनको बैठकमा म्यासेज दिनुभयो । तर, केपी ओलीले चाहिँ त्यो १० बुँदे सहमति अब गयो भन्ने म्यासेज दिए ।

अहिले एमालेमा मुलुकभरि नै समानान्तररुपमा संगठनहरु बनेका छन् । यो त्यसै आएको होइन । वास्तवमा छोटे ओलीहरु सबैतिर छन् । केन्द्रमा ओलीले जे गरे, त्यही सिकेर जिल्लामा छोटे ओलीहरुले माधव नेपाल पक्षलाई खेदेका छन् । नयाँ उत्साह र नयाँ उत्साहका साथ समानान्तर कमिटीहरु बनाइरहेका छन् । यसले गर्दा एमालेभित्रको विवाद कायमै रहने देखिन्छ । किनभने, एमालेभित्र स्पेस पाइएन भने के गर्ने त माधव नेपालले ? कित वनबास जानुपर्यो, कि त छोड्नुपर्यो । उनले एमाले छोड्ने त पक्कै होइन ।

अब एमालेमा ओलीको राजनीतिक सान्दर्भिकता सकियो । किनभने, उनले इतिहासमा त्यत्रो मौका माएका थिए, त्यो थाप्न सकेनन् । त्यो विजयले उनमा मैमत्तापन यति लिएर आयो कि उनले कसैलाई गन्नै छाडे । यसले गर्दाखेरि अब उनै ओलीलाई बोकेर हिँडेर कहाँ पुग्छ त एमाले ?किनभने ओली वैचारिक हिसाबले पनि वामपन्थ भन्दा रामपन्थतिर लागिसकेका छन् । यसले गर्दा अब यो अवस्थामा एमालेलाई बचाउने हो भने युवाहरुले आँट गर्नुपर्यो र उनलाई विदा गरेर अगाडि बढ्नुपर्छ । किनभने, अब ओलीलाई बोकेर एमाले कहीँ पनि पुग्दैन ।

एमालेमा सहमति पारित गर्ने जीवनशक्ति छ : भुसाल

निवर्तमान प्रधानमन्त्री ओलीले बालकोटबाट जेजस्तो अभिव्यक्ति दिए पनि माधव नेपाल पक्षका नेताहरु चाहिँ १० बुँदे सहमति कार्यान्वय भई छाड्ने विश्वासमा छन् ।

कार्यदलमा रहेर १० बुँदे सहमति बनाउन भूमिका खेलेका नेपाल पक्षका नेता घनश्याम भुसाल १० बुँदे सहमतिको सान्दर्भिकता नसकिएको र यसको कार्यान्वयन हुने विश्वास व्यक्त गर्दछन् ।

भुसाल भन्छन्,‘हामी सानोतिनो दुर्घटनामा परेको होइन । यो ठूलो दुर्घटनाले धेरै ठूला चोटपटक र त्यसबाट उत्पन्न पीडा, व्यथा, विरोध र आक्रोश एकसाथ आएका छन् । तर, नेकपा एमालेमा यो जीवनशक्ति छ र यो जीवनशक्तिले नै नेकपा एमाले यो दुर्घटनाबाट माथि उठ्छ । तर,यो जीवनशक्तिले यो सहमतिलाई पारित गर्छ र पार्टी अगाडि बढ्छ भन्नेमा म विश्वस्त छु ।’

त्यसैगरी माधव नेपाल पक्षका अर्का एकजना नेताले रातोपाटीसँग भने, ‘अब केपी ओलीको बोलीलाई नै एमालेको बोली भन्ने नठानौं, केपी शर्मा ओली र नेकपा एमालेलाई हामीले अलग पारेर हेर्नुपर्छ ।’

ओली फेरि ‘उग्रवादी’ धारमा ?

नेताहरु र विश्लेषकहरुका अनुसार एमाले अध्यक्ष ओलीले नेतृत्व गरेको समूहमा दुईवटा धार छन् । एउटा धारले माधव नेपाल पक्षसँग सहमति गर्नुपर्छ र एमालेको एकतालाई बचाउनुपर्छ भन्दै आएको छ । अर्को धारले चाहिँ माधव नेपाल पक्षलाई कारवाही गर्नुपर्छ र माधव नेपालविनाको नेकपा एमाले निर्माण गर्नुपर्छ भन्दै आएको छ ।

एमालेमा माधव नेपाललाई नेता मान्नुहुँदैन र कारवाही नै गर्नुपर्छ भन्नेहरुमा महेश बस्नेतलगायतको युवा पंक्ति छ । खासगरीकेपी ओलीलाई बा भन्ने युथ फोर्सको टिम केपी ओलीबाहेक अरुलाई नेता मान्ने पक्षमा छैन ।

तर, ओली समूहका नेताहरु सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, शंकर पोखरेल, विष्णु पौडेललगायतका नेताहरु चाहिँ माधव नेपाल पक्षलाई पनि समेटेर एमालेको एकता बचाउनुपर्ने पक्षमा छन् ।

पछिल्लो समयओली सुवास नेम्वाङहरुको लाइनमा आएका थिए र त्यही कारणले १० बुँदे सहमति भएको थियो । तर, सरकारबाट बाहिरिनुपरेपछि ओली फेरि महेश बस्नेतको लाइनमा पुगेका छन् । यही लाइनकै कारण युथफोर्सको स्कटिङमा बालकोट पुगेपछि ओलीले बुधबार माधव नेपाललाई गद्दार घोषणा गरेको विश्लेषक बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप