शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

जसपा बदरका लागि मुद्दा हाल्ने राजकुमार थापा को हुन् ?

सोमबार, २८ असार २०७८, १० : ०७
सोमबार, २८ असार २०७८

जनता समाजवादी पार्टी (जसपा) नेपाल बदरको माग गर्दै राजकुमार थापाले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । जसपाका नेतासमेत रहेका उनी जसपा गठन संविधान विपरीत भएको हुनाले आफूले सुरुदेखि यसको खारेजीको माग गर्दै आइरहेको बताउँछन् । 

जसपा गठन हुँदा जातीय तथा वर्गीय क्लस्टर नमिलाएको भन्दै थापाले निर्वाचन आयोगमा २०७७ असार ८ गते पनि निवेदन दिएका थिए । तर त्यति बेला त्यसमा कुनै सुनुवाइ भएन र त्यो मुद्दा त्यतिकै सेलाएर गयो । अहिले जसपामा आधिकारिकताका लागि विवाद चलिरहेको बेला आफूले सर्वोच्च अदालतमा पुनः मुद्दा उठाएको उनले बताए । 

नेता थापा यो पार्टी नै खारेज हुने विश्वास आफूलाई रहेको बताउँछन् । पार्टीको आधिकारिकतासम्बन्धी विवाद निर्वाचन आयोगमा चलिरहेको छ । पार्टीको वैधतामाथि प्रश्न खडा भएपछि आयोगले त्यसलाई खारेज गरी दुवै पक्ष (महन्थ ठाकुर र उपेन्द्र यादव) लाई नयाँ पार्टी गठन गर्न भन्न सक्ने सम्भावना रहेको उनको बुझाइ छ । 

को हुन् राजकुमार थापा ?

राजकुमार थापा राजनीतिकर्मीका साथै अधिवक्ता पनि हुन् । उनीसँग छाता छाप चुनाव चिन्ह भएको जनशक्ति पार्टी थियो । मधेसका विभिन्न ६ वटा पार्टी मिलेर २०७५ वैशाखमा राजपा नेपाल बनेपछि सुरुमा स्थानीय चुनावमा ती ६ वटा पार्टीमध्ये शरतसिंह भण्डारी अध्यक्ष रहेको राष्ट्रिय मधेश समाजवादी पार्टीको साइकल चुनाव चिन्हबाट चुनाव लडेको थियो । चुनावपछि राजपाले आफ्नो चुनाव चिन्ह छाता छाप राख्यो ।

तर निर्वाचन आयोगमा सो चुनाव चिन्ह राजकुमार थापाको पार्टी जनशक्ति पार्टीसँग दर्ता थियो । त्यति बेला महन्थ ठाकुर र राजेन्द्र महतोले पार्टीको चुनाव चिन्ह छाता छाप नै हुनुपर्ने अड्डी कसेपछि राजकुमार थापालाई बोलाएर राजपासँग एकीकरण गर्न आग्रह गरिएको थियो । सो आग्रह बमोजिम थापाले एकीकरण गरेपछि राजपाले छाता छाप पाएको थियो । 

थापालाई राजपा नेपालमा उपाध्यक्ष पद दिइएको थियो । उनका अन्य नेताहरूलाई पनि राजपा नेपालमा समायोजन गरियो । तर प्रदेश, जिल्ला तथा स्थानीय तहमा कुनै समायोजन नगरिएको गुनासो थापाको थियो । त्यो कुरा उनले पार्टीमा उठाइरहे पनि त्यसको पार्टीमा कुनै सुनुवाइ नै उनको गुनासो छ । 

पछि समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरण भयो । उनले भने, ‘राजपा नेपाल र समाजवादी पार्टीबीच एकीकरण हुँदा नै मैले एकीकरण प्रक्रियामा प्रश्न उठाएको थिएँ, तर त्यति बेला मेरो कुरा कसैले सुनेनन् । जसपा दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिँदा पनि मैले प्रश्न उठाएको थिएँ । जसपा दर्ता नहुँदै २०७७ असार ८ गते निर्वाचन आयोगमा उजुरी पनि गरेको थिएँ, त्यति बेला कुनै सुनुवाइ भए ।’

राजपा उपाध्यक्ष रहेका थापालाई जसपा बनेपछि कुनै स्थान दिइएन । उनको पार्टीका कोही पनि जसपामा अटाउन सकेनन् । यसरी आफूलाई ठुलो धोका दिइएको थापाको बुझाइ छ । चुनाव चिन्ह पाउनका लागि आफूलाई प्रयोग गरेर आज पार्टीविहीन बनाइएको उनको गुनासो छ । थापा भन्छन्, ‘पार्टी विधि र पद्धति अनुसार गठन हुनुपर्छ, त्यही अनुसार सञ्चालन हुनुपर्छ । तर जसपामा त्यस्तो नदेखेर मैले दल खारेजीको माग गरेको हुँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप