काँग्रेसमा धाँधली : काठमाडौँ ३२ को ‘केस स्टडी’
अघिल्लो १३ औँ महाधिवेशनताका काठमाडौँ महानगरपालिकाको वडा नम्बर ३२ मा नेपाली काँग्रेसका पुराना क्रियाशील सदस्यहरू ७५३ जना थिए । यसपालि तीमध्ये ५२६ जनाले मात्रै सदस्यता नवीकरण गरे । काँग्रेसको सर्कुलरअनुसार वडामा जति जना क्रियाशील सदस्य छन्, त्यसको शत प्रतिशत मात्रै नयाँ क्रियाशील सदस्य थप्न पाइन्छ ।
काठमाडौँ–३२ मा ७५३ जना नयाँ क्रियाशील सदस्य थप्ने कि नवीकरण गरेका आधारमा ५२६ मात्रै थप्ने ? यसको ठोस व्याख्या भएको छैन । तथापि ३२ नम्बर इकाई समितिको बैठक बस्यो र ५ सय जनालाई मात्रै नयाँ क्रियाशील सदस्यताका दिने निर्णय भयो ।
तर, वडा नम्बर ३२ का सभापति सुवासचन्द्र पराजुलीले इकाई समितिको जानकारीविनै थप ३५० वटा क्रियाशील सदस्यता फारम ल्याएर २५२ जना आफ्ना मानिसलाई वितरण गरेपछि अहिले यो विवाद क्रियाशील सदस्यता छानबिन समितिमा पुगेको छ ।
३२ नम्बर वडा इकाई समितिका उपसभापति मुरारी ढकाल रातोपाटीसँग भन्छन् ‘इकाई समितिलाई थाहै नदिई सभापतिले ३५० फारम बाँड्नुभएछ, तीमध्ये २५२ जनाको नाम सफ्टवेयरमा इन्ट्री भइसकेपछि बल्ल हामीले थाहा पायौँ र पशुपति धर्मशालामै पुगेर छानबिन समितिमा उजुरी दर्ता गराएका छौँ ।’
उपसभापति ढकालका अनुसार इकाई समितिको निर्णयविपरीत बाँडिएका ती फारामहरूमा इकाई समिति सभापति सुवास पराजुलीको हस्ताक्षर छ तर, क्षेत्रीय सभापतिको हस्ताक्षर छैन । तैपनि केन्द्रीय सर्भरमा उनीहरूको नाम भने प्रकाशित भइसकेको छ ।’
काठमाडौँ ३२ नम्बर वडामा भएको क्रियाशील सदस्यता वितरणसम्बन्धी धाँधलीबारे स्थानीय वडाका नेताहरूले रामचन्द्र पौडेल र शेरबहादुर देउवासम्म कुरा पुर्याइसकेका छन् ।
उनीहरूले छानबिन समितिमा पनि पटक– पटक ताकेता गरेका छन् । तैपनि आफ्नो माग सुनुवाइ नभएको इकाई समितिका उपसभापति ढकाल बताउँछन् । उनी भन्छन्, ‘छानबिन समितिका प्रदीप पौडेलले कारबाही गर्छौँ भन्नुभयो, तर अहिलेसम्म गर्नुभएन । विधान एकातिर छ, व्यवहार अर्कैतिर भयो ।’
कसरी बाँडिन्छ क्रियाशील सदस्यता ?
नेपाली काँग्रेसको क्रियाशील सदस्यता फारम चार पृष्ठ लामो छ । क्रियाशील सदस्यता दिनका लागि गाउँपालिका वडा समिति वा नगरपालिका वडा इकाई समितिले माइन्युटमा औपचारिक निर्णय गर्नुपर्छ ।
यसरी निर्णयानुसार भरिएको चार पन्ने क्रियाशील सदस्यता फारम वडा समितिहरूले माइन्युटको फोटोकपी र इकाई सभापतिको हस्ताक्षरसहित गाउँपालिका कार्यसमिति वा नगर कार्य समितिमा पठाउनुपर्छ ।
‘उपरोक्त विवरण ठिक साँचो हो, आवेदक नेपाली काँग्रेसको क्रियाशील सदस्य बन्न योग्य भएकाले प्रस्ताव गर्दछु’ भन्ने व्यहोरामा गाउँ/नगरपालिका वडा कार्यसमितिको सभापतिले हस्ताक्षर गर्नुपर्दछ ।
वडा इकाई समितिको निर्णय एवं इकाई सभापतिको हस्ताक्षरसहित प्राप्त भएको सदस्यता नामावलीलाई गाउँ/नगर समितिले औपचारिक बैठकबाट निर्णय गरेर प्रदेश सभा क्षेत्रीय कार्य समितिमा पठाउँछ ।
‘गाउँ/नगर कार्यसमितिको बैठकले सदस्यता प्रदान गर्ने निर्णय गरेको हुँदा सिफारिस गरिएको छ’ भन्दै गाउँ/नगर कार्यसमितिका सभापतिले हरेक फारममा हस्ताक्षर गरेर प्रदेश सभा क्षेत्रीय कार्यसमितिमा पठाउनुपर्छ ।
गाउँ÷नगर समितिबाट प्राप्त ती नामावलीमाथि प्रदेश सभा क्षेत्रीय कार्यसमितिको बैठकमा छलफल हुन्छ र माइन्युट गरिन्छ । सो माइन्युटका आधारमा प्रदेश सभा क्षेत्रीय कार्यसमितिका सभापतिले हरेक फारममा हस्ताक्षर गर्नुपर्दछ ।
‘प्रदेशसभा कार्यसमितिको बैठकले सदस्यता वितरण गर्न योग्य ठानेको हुनाले क्रियाशील सदस्यता वितरणका लागि सिफारिस गर्दछु’ भनेर फारममा प्रदेश सभा कार्यसमितिमा सभापतिले हस्ताक्षर गरी सङ्घीय निर्वाचन क्षेत्रीय समितिमा पठाउने प्रावधान नेपाली काँग्रेसको विधानमा छ ।
इकाई समितिबाट गाउँ÷नगर र क्षेत्रीय समिति हुँदै विधिवत् रूपमा आएका सदस्यता फारमहरूमाथि प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले जाँचबुझ गर्छ र काँग्रेसको क्रियाशील सदस्यता दिने निर्णय गर्दछ ।
निर्वाचन क्षेत्रीय कार्य समितिले दुईवटा काम गर्छ । एक– सदस्य दिने निर्णय भएका नयाँ क्रियाशील सदस्यहरूको डाटा केन्द्रीय सफ्टवेयरमा इन्ट्री गर्दछ । दुई– ती कागजातहरू जिल्ला कार्यसमितिमा पठाउँछ । र, जिल्ला कार्यसमितिले ती डकुमेन्टहरू आवश्यक निर्णय गरी केन्द्रीय कार्यालयमा पठाउँछ ।
प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले सदस्यता दिने निर्णय गरेको चार पन्ने फारमको अन्त्यमा केन्द्रीय सभापति र महामन्त्रीको हस्ताक्षर अनिवार्य छ ।
‘फलानालाई नेपाली काँग्रेसको विधान २०१७ ( संशोधनसहित) को धारा २५(१५), धारा २७ (११) अनुसार क्रियाशील सदस्यता दिन उपयुक्त देखिएकाले स्वीकृति प्रदान गरिन्छ’ भन्ने व्यहोरामा केन्द्रीय सभापति र महामन्त्रीको हस्ताक्षर र मितिसहित केन्द्रीय कार्यालयको छाप लागेपछि क्रियाशील सदस्यताको प्रक्रिया पूरा हुन्छ ।
क्रियाशील सदस्यता फारम भर्ने व्यक्तिले विभिन्न २० वटा प्रतिबद्धतामा हस्ताक्षर गर्नुपर्दछ ।
क्रियाशील सदस्य बन्न चाहने व्यक्तिको नाम सम्बन्धित वडाको मतदाता नामावलीमा अनिवार्य रूपमा हुनै पर्छ । अर्को क्षेत्रका मतदाता अन्यत्र क्षेत्रमा क्रियाशील सदस्य बन्न पाउँदैन ।
जस्तै– बाहिरी जिल्लामा मतदाता नामावली भएको व्यक्तिले काठमाडौँको कुनै वडाबाट क्रियाशील सदस्य बन्न पाउँदैन ।
तर, काठमाडौँ ३२ नम्बर वडामा मतदाता नामावलीमा नामै नभएका व्यक्तिलाई समेत इकाई सभापति सुवासचन्द्र पराजुलीले सदस्यता वितरण गरेको स्थानीय काँग्रेस नेताहरूको गुनासो छ ।
आगामी स्थानीय चुनावमा काठमाडौँ महानगरपालिकाको वडाध्यक्षका दाबेदार रहेका पराजुलीले शेरबहादुर देउवानिकट क्षेत्रीय सभापति उपेन्द्र कार्कीसँग मिलेर सदस्यता वितरणमा धाँधली गरेको गुनासो इकाई समितिका सदस्यहरूको छ ।
देशैभरि धाँधली
आफ्नो गुटका मानिसलाई विधान मिचेर क्रियाशील सदस्यता दिने अनि आगामी महाधिवेशनमा बहुमत जुटाउने उद्देश्यले नेपाली काँग्रेसभित्र सदस्यता वितरणमा देशैभरि धाँधली भइरहेको काँग्रेसजनको गुनासो छ ।
काठमाडौँ ३२ कै स्थानीयसमेत रहेकी काँग्रेस नेतृ माधवी भट्ट भन्छिन्, ‘हाम्रो वडाको यो विवाद त एउटा प्रतिनिधि घटना मात्रै हो, देशैभरि सदस्यता वितरणमा यसै गरी धाँधली भइरहेको छ ।’
फारम नम्बर ००२४२१०५
उदाहरणका लागि फेरि काठमाडौँ ३२ मै फर्कौँ ।
काभ्रे जिल्ला स्थायी घर भई काठमाडौँ ३२ मा बस्ने गौतम थरका व्यापारीले नयाँ क्रियाशील सदस्यताका लागि ००२४२१०५ नम्बरको फारम भरे । प्रवीणता प्रमाणपत्र तहसम्म पढेका उनले राम्रो ‘आर्थिक स्थिति भएको’ फारममा उल्लेख गरेका छन् ।
गौतमले भरेको फारममा उनी काँग्रेसको कुनै भातृ सङ्गठन वा शुभेच्छुक संस्थामा काम गरेको उल्लेख छैन । तर, उनले ‘सामाजिक सेवामा सक्रिय सहभागिता भई समाज सेवा गरेको’ विवरण भरेका छन् ।
काँग्रेसलाई जिताउन भूमिका खेलेको वा यसअघि अन्य पार्टीमा काम गरेको विवरण पनि खाली छ । र, ‘प्रत्येक निर्वाचनमा सक्रिय सहभागिता प्रदान गरेको’ भन्ने व्यहोरा उल्लेख छ ।
गौतमको सदस्यता फारममा इकाई सभापति सुवासचन्द्र पराजुलीको हस्ताक्षर छ । तर, गापा/नपा कार्यसमिति, प्रदेशसभा क्षेत्रीय कार्यसमिति वा प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, कुनै समितिका सभापतिको हस्ताक्षर छैन ।
तैपनि उनको नाम नेपाली काँग्रेसको केन्द्रीय सर्भरमा इन्ट्री भई क्रियाशील सदस्यताको नामावलीमा प्रकाशितसमेत भइसकेको नगर इकाई समितिका सदस्य अयजकुमार उपाध्यायले जानकारी दिए ।
काठमाडौँ ३२ नम्बर वडा इकाई समितिका सचिव राजनप्रसाद पराजुलीले रातोपाटीलाई दिएको जानकारी अनुसार काठमाडौँ ३२ मा यस्ता अनधिकृत फारमहरू २५२ वटा फेला परिसकेका छन् । र, अरू पनि फारमहरूको खोजी भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता
-
बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण
-
बेर्ना बेचेर एकै याममा दुई लाख आर्जन
-
आन्तरिक राजस्वमा ४० प्रतिशत वृद्धि, सशर्त, समपूरक र विशेष अनुदानमा २२.१ प्रतिशतले कमी
-
भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
-
पाँच महिनामा ५५ गर्भवती र सुत्केरीको उद्धार