शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

कार्यदलमा भएको सहमतिबारे स्थायी समितिमा माधव पक्षको ब्रिफिङ

शनिबार, २६ असार २०७८, २२ : १३
शनिबार, २६ असार २०७८

एमाले विवादबारे कार्यदलमा भइरहेको सहमति र प्रक्रियाबारे कार्यदल सदस्यहरुले वरिष्ठ नेता माधवकुमार नेपालसहितका स्थायी समिति सदस्यहरुलाई ब्रिफिङ गरेका छन् । त्यस्तै ओली समूहका नेताहरुले पनि बालुवाटारमा पुगेर सहमतिबारे अध्यक्ष ओलीलाई ब्रिफिङ गरेका छन् ।

एमाले विवादमा ब्रेक थ्रू हुनेगरी कार्यदलमा भएको भनिएको सहमतिपछि दुवै समूह शनिबार राति आन्तरिक परामर्शमा जुटेका हु्न् ।  कार्यदल बैठकपछि नेता सुवास नेम्वाङ, विष्णु पौडेल र प्रदीप ज्ञवाली लगायतका नेता बालुवाटार पुगेका थिए भने माधव समूहका वार्ता टोली सदस्यहरुले स्थायी समिति सदस्यहरुलाई ब्रिफिङ गरेका छन् ।

शनिबार सिंहदरबारमा बसेको कार्यदलको बैठकलगत्तै माधव समूहका स्थायी समिति सदस्यहरुको भर्चुअल बैठकमा कार्यदल तहमा भएको प्रगतिबारे नेताहरुले जानकारी गराएका हुन् । ‘कार्यदलमा अहिलेसम्म सहमतिका लागि भएका प्रयास र सहमति गर्न बाँकी विषयका बारेमा कार्यदल सदस्यहरुले स्थायी कमिटी सदस्यहरुलाई जानकारी गराउनुभएको हो’ एक नेताले भने, ‘वरिष्ठ नेता नेपालले उहाँहरुको कुरा सुन्नुभएको मात्रै छ ।’

शनिबारको कार्यदल बैठकपछि नेताहरुले विवाद एमाले एकता लगभग अन्तिम चरणमा पुगेकाले आइतबार टुंग्याउने बताएका थिए । तर नेताहरुले सहमतिको प्रारुपबारे केही खुलाएका छैनन् ।  गत सोमबारदेखि लगातार बस्दै आएको १० सदस्यीय कार्यदलको बैठकमा जेठ २ को अवस्थाबाट पार्टी संरचना सक्रिय तुल्याउन दुवै पक्ष सहमत भएपनि हस्ताक्षर फिर्ता र अध्यक्ष ओली र नेपालबीचको शक्ति सन्तुलनमा कुरा मिलिसकेको छैन । 

शनिबारको कार्यदल बैठकपछि नेपाल समूहका कार्यदल संयोजक भीम रावलले छलफल अन्तिम विन्दुमा पुगेको भन्दै चाँडै निष्कर्षमा पुग्ने बताए ।  ‘हामीले विभिन्न विषयमा छलफल गरेका छौं । छलफलको अन्तिम विन्दुमा छौं । सम्भवतः छलफललाई छिट्टै पूरा गरेर निष्कर्षमा पुग्नेछौँ’ रावलको संक्षिप्त प्रतिक्रिया थियो । 

त्यस्तै सदस्य गोकर्ण विष्टले सहमतिलाई औपचारिकता दिन मात्र बाँकी र सुखद समाचार भोलि नै आउने बताए ।  ‘हामीले गम्भीरताका साथ, एकअर्काको मनोविज्ञान बुझ्दै छलफल गर्यौं र अन्तिम अन्तिम अवस्थामा आइपुगेका छौँ । समग्रतामै समस्या समाधान खोज्ने बिन्दुमा आइपुगेका छौँ’, विष्टले शनिबारको कार्यदल बैठकपछि भने, ‘भोलि आम पार्टी पंक्तिले अपेक्षा गरेको सन्देश सुन्नका लागि गरेको अपेक्षा प्राप्त गर्नेछौँ । औपचारिकता दिन मात्र बाँकी छ । लगभग निष्कर्षमा पुगेका छौँ, विश्वासको अवस्थामा पुगेका छौँ ।’

अध्यक्ष ओली पक्षका कार्यदल संयोजक सुवास नेम्वाङले पनि विवाद टुङ्ग्याए बराबर रहेको र आइतबार बिहान सुखद् समाचार सुनाइने बताए । काम टुङ्ग्याए बराबर छ । भोलि बिहान ८ बजे सुखद् समाचार सुन्न पाउनुहुनेछ’ नेता नेम्वाङको भनाई छ ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप