शुक्रबार, ०५ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

निर्वाचन कार्यतालिका : विपक्षी दल भन्छन्– आयोग प्रधानमन्त्रीको मतियार बन्यो !

निर्वाचन आयोग भन्छ– अदालतको निर्णयसँग जोडेर नहेरौँ
सोमबार, २१ असार २०७८, २० : १६
सोमबार, २१ असार २०७८

निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका सोमबार सार्वजनिक गरेको छ । आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गर्नासाथ विपक्षी राजनीतिक दल आक्रोशित बनेका छन् ।

सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकै बेला निर्वाचन कार्यतालिका सार्वजनिक गरेर आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीको मतियारका रुपमा काम गरेको विपक्षी नेताको आरोप छ ।

सोमबार निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कार्यतालिका घोषणा गरेलगत्तै हामीले नेपाली काँग्रेस, माओवादी र जसपाका नेताहरुसँग प्रतिक्रिया माग्यौं । यसक्रममा विपक्षी दलका नेताहरु आयोगको निर्णयप्रति आक्रोशित देखिए । सर्वोच्चमा विचाराधीन मुद्दालाई प्रभावित बनाउन कार्यतालिका सार्वजनिक गरिएको उनीहरुले आरोप लगाएका छन् ।

यस्तो छ निर्वाचन कार्यतालिका

निर्वाचन आयोगले सोमबार सार्वजनिक गरेको कार्यतालिकाअनुसार असार ३१ गतेदेखि निर्वाचन अवधि प्रारम्भ हुनेछ । सोही दिन दल दर्ताका लागि सूचना प्रकाशन गरिनेछ । दल दर्ता साउन १५ सम्म गरिसक्नुपर्ने छ । आयोगले भदौ २३ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्नेछ ।

पहिलो चरणको निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता गर्ने मिति असोज २० गते देखि २१ गतेसम्म तय गरिएको छ । पहिलो चरणको निर्वाचन कात्तिक २६ गते सम्पन्न हुनेछ । दोस्रो चरणको मतदान मंसिर ३ गते हुनेछ ।

आयोग भन्छ– अदालतको निर्णयसँग जोडेर नहेरौँ  

यसैबीच निर्वाचन आयोगको चुनावको मिति घोषणा भइसकेको अवस्थामा ऐन, नियमले तोकेअनुसार निर्वाचन कार्यतालिका बनाइएको भन्दै यसलाई अदालतको मुद्दासँग जोडेर हेर्न नमिल्ने स्पष्ट पारेको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले सोमबार रातोपाटीसँग कुरा गर्दैै भने, ‘यो निर्वाचन आयोगको ऐन कानूनबमोजिम एउटा नियमित कार्य हो, यसको अन्य निकायले गर्ने कुनै पनि निर्णयसँग सम्बन्ध छैन । कानूनमा भएवमोजिम यसलाई अगाडि बढाइएको हो । यो आयोगको कामको बाँडफाँट हो ।’  

तर, विपक्षी दलका नेताहरु भने निर्वाचन आयोगको स्पष्टीकरणमा चित्त बुझाउने पक्षमा देखिएका छैनन् ।

यसै सन्दर्भमा हामीले नेपाली काँग्रेस, माओवादी, जसपा र राप्रपाका नेताहरुसँग घोषित निर्वाचन कार्यक्रमबारे संक्षिप्त कुराकानी गरेका छौं ।

‘आयोग प्रधानमन्त्रीको लाचार मतियारका रुपमा प्रस्तुत भयो’

– डा.मिनेन्द्र रिजाल, कांग्रेस नेता

प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । बहस लगभग सकिएको छ । एमिकस क्युरीको बहसपछि लगभग निर्णयमा पुग्छ । योबेलामा अदालतको फैसलालाई प्रभावित गर्ने कोशिस गरेर आयोगले निर्वाचन कार्यतालिका प्रकाशन गरेको छ । यसमा  प्रधानमन्त्रीमाथि त आशंका छँदैछ, उहाँले संविधान भत्काउन थाल्नुभयो । कोभिडको संक्रमणले यो देश संकटमा परेको बेलामा अझ बढी संक्रमणमा ढाल्ने काम गर्नुभयो ।

निर्वाचन आयोगले प्रधानमन्त्रीको लाचार मतियारको रुपमा आफूलाई प्रस्तुत गरेको छ । यसो गर्ला भन्ने हाम्रो आशंका पनि थियो । प्रधानमन्त्रीले त्यसो गर्न दिनुहोला भन्ने आशंकाले नै हामीले मुद्दामा पनि हामीले के माग गरेका थियौँ भने निर्वाचनका प्रक्रियाहरु रोक्न अन्तरिम आदेश दिइयोस् भनेका थियौं । हामीले त्यो अन्तरिम आदेश माग्नु ठीक थियो भन्ने कुरा आज निर्वाचन आयोगलाई प्रधानमन्त्रीले प्रभावित यो निर्णय आउनुले पुष्टि गरेको छ ।

अदालतको फैसला आउने बेलामा यो निर्णय आउनु भनेको सरकार जेसुकै निर्णय गर्न तयार छ । सरकार मुद्दा हार्छु भन्नेमा छ । जे उपाय लगाएर भए पनि ठगठाग गर्न सकिन्छ कि, तर्साएर, धम्क्याएर आफ्नो पक्षमा निर्णय पार्न सकिन्छ कि भन्ने कोसिसमा सरकार लागेको छ ।

‘आयोगको यो कामको कुनै अर्थ र औचित्य छैन’

–नारायणकाजी श्रेष्ठ, माओवादी नेता 

निर्वाचन आयोगले संविधान र कानुनद्वारा परिभाषित आफ्नो जिम्मेवारी पूरा गर्ने विश्वसनीयता गुमाउँदै गइरहेको छ । नेकपाको विवादको सन्र्दभमा उठेका निर्णयहरुपछि निर्वाचन आयोगको गतिविधि एकपछि अर्को विवादास्पद देखिन्छ ।

सर्वोच्च अदालतमा प्रधानमन्त्री ओली र राष्ट्रपतिले चालेका कदमका बारेमा नै मुद्दा परेको र त्यसको बहस सकिने क्रममा गइसकेको बेलामा आजै निर्वाचन कार्यतालिका प्रकाशन गर्नु जुनसुकै कोणबाट पनि सान्र्दभिक छैन । यसको कुनै अर्थ र औचित्य पनि छैन ।

‘योबेला चुनावको कार्यतालिका प्रकाशन गर्नु अदालतलाई नटेर्नु हो’

–मोहम्मद इस्तियाक राई, जसपा नेता

निर्वाचन आयोगको अहिलेको यो निर्णय सर्वोच्चबाट फैसला आउने बेला निर्वाचन कार्यतालिका सार्वजनिक गर्नु भनेको बद्नियतपूर्ण देखिएको छ । असंवैधानिक तबरले विघटन गरिएको प्रतिनिधि सभाको विचाराधीन मुद्दाको फैसला नआउँदै जसरी निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ, यसले आयोग सरकारप्रति इमान्दार बनेको देखिन्छ । यो अदालतमा विचाराधीन मुद्दा प्रभावित गर्ने किसिमले आएको छ ।

आज वा भोलि फैसला आउँदैछ भन्ने बेलामा सर्वोच्च अदालतको फैसलालाई प्रभाव पार्ने हिसावले उहाँहरुले यसो गर्नुभएको हो । तर, मलाई के लाग्छ भने यसले सर्वोच्च अदालतलाई कुनै प्रभाव पार्नेछैन । सरकारले असंवैधानिक काम गरेको छ, आयोगले सार्वजनिक गरेका यी कामहरु सबै खारेज हुन्छन् ।

निर्वाचन कार्यतालिका सार्वजनिक गर्न न अहिले चुनावको माहौल छ, न कार्यक्रम गर्ने अवस्था छ, न जनताले कोभिड भ्याक्सिन पाएका छन् । योबेला चुनावको कार्यतालिका प्रकाशन गर्नु अदालतलाई पनि नटेर्नु हो ।

‘आयोगले केही दिन धैर्य गरेको भए हुन्थ्यो’

मोहन श्रेष्ठ, राप्रपा नेता

हाम्रो दल, राप्रपा निर्वाचनको पक्षमा नै छ । निर्वाचन आयोग स्वतन्त्र निकाय भएकाले सरकारले गरेको घोषणाअनुसार काम गरेको होला । असफलताको निरन्तरता भन्दा ताजा जनादेशमा जानुपर्छ भन्ने हाम्रो मान्यता हो ।

तर, अहिले प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकै बेला आयोगले केही दिन धैर्य गरेको भए हुन्थ्यो । आयोगले अदालतको फैसला कुरेर निर्णय गरेको भए राम्रो हुन्थ्यो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप