शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

ओलीसँग विप्लव समूह असन्तुष्ट, छलफलका लागि बालुवाटार जाँदै

आइतबार, २० असार २०७८, ११ : २२
आइतबार, २० असार २०७८

सरकारसँग ३ बुँदे सहमति गरेर मूलधारको राजनीतिमा आएको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहमति कार्यान्वयन हुन ढिलाइ भएपछि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट बनेको छ । 
गत फागुन २१ गते विप्लव समूह र ओली नेतृत्वको सरकारबीच भएको तीन बुँदे सहमतिअनुसार आफ्नो नेता कार्यकर्ताको रिहाइमा ढिलाइ भएको भन्दै विप्लव समूह असन्तुष्ट बनेको हो । 

सहमतिअनुसार आवश्यक कानुनी प्रक्रिया पुरा गरेर पक्राउ परेका विप्लवका नेता कार्यकर्तालाई तत्काल रिहा गर्ने भनिएको थियो । तर सहमतिको ४ महिना बितिसक्दा पनि अधिकांश नेता कार्यकर्ता अझैपनि जेलमा रहेका हुन् । 
यसैबीच पक्राउ परेका कार्यकर्ता रिहाइको विषयमा छलफल गर्नका लागि विप्लव नेतृत्वको नेकपाका नेताहरु बालुवाटार जाँदैछन् । प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड नेतृत्वको टोली बालुवाटार जान लागेको एक नेताले बताए ।  सो क्रममा उनीहरुले ३ बुँदे सहमति कार्यान्वयनका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने बताइएको छ । 

केही दिनअघि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य माइला लामाले सरकार आफ्नो पार्टीसँग भएको तीन बुँदे सहमतिप्रति इमान्दार नभएको सार्वजनिक टिप्पणी गरेका थिए ।  सरकारले सहमति कार्यान्वयन नगरेका कारण आफ्नो पार्टीका नेता कार्यकर्ता जेलमै रहेको उनको भनाइ थियो । 

‘सरकार इमान्दार भएन भने, नेपालका राजनीतिक जनताका समस्या समाधानतिर अग्रसर भएन भने आँधीबेहरी आउन सक्छ’, उनको भनाइ छ, ‘वर्तमान व्यवस्थाप्रति जनता सन्तुष्ट छैनन्, सरकार र राजनीतिक पार्टी जनताप्रति जिम्मेवार बन्नु पर्छ ।’
आजै प्रधानमन्त्रीसँगको भेटपछि विप्लव समूहले पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय भएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप