सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

विप्लव कता गुमनाम ?

शुक्रबार, २७ चैत २०७७, १४ : ०१
शुक्रबार, २७ चैत २०७७

काठमाडौं । गत फागुन तेस्रो साता सरकारसँग तीन बुँदे सहमतिका साथ शान्तिपूर्ण राजनीतिक मूलधारमा आएका नेत्रविक्रम चन्द ‘विप्लव’ एकाएक गुमनाम भएका छन् । ​संसदवादी दलहरु यतिबेला सत्ताको जोड घटाउमा व्यस्त रहे पनि झण्डै दुई वर्ष लामो भूमिगत राजनीतिक जीवनबाट मुक्त भएर खुला धरातलमा आइपुगेका विप्लवले यो समयलाई मौनतामा खेर फाल्नु धेरैका लागि अनौठो बनेको छ ।

सरकारसँग फागुन २१ गते तीन बुँदे सहमतिमा हस्ताक्षर गरेर खुला भएको लामो समयसम्म पनि विप्लव नेतृत्वको नेकपाको राजनीतिक गतिविधि ठप्प प्रायः देखिन्छ । सो पार्टीका विप्लव, खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लगायतका शीर्ष नेताहरु सार्वजनिक कार्यक्रममा समेत देखिएका छैनन् । उनीहरुले खुला राजनीतिमा आएयता खुला गतिविधिसमेत देखाउन सकेका छैनन् ।

खुला राजनीतिमा आइसकेपछि विप्लव नेतृत्वको नेकपाले राजनीतिक अभियान सञ्चालन गर्ने, ठाउँठाउँमा सभा आयोजना गर्ने, संगठन निर्माणमा लाग्ने धेरैको अनुमान थियो । तर अहिलेसम्म सो पार्टीले त्यस प्रकारका राजनीतिक गतिविधि नगर्दा धेरैले आशंकाको नजरले हेर्न थालेका छन् ।

सरकारले आफ्ना कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता लिएपछि केन्द्रीयस्तरका कार्यक्रम गर्ने योजनामा रहे पनि सहमति कार्यान्वयनमा सरकारका तर्फबाट ढिला भएकाले आफ्ना कार्यक्रमहरु प्रभावित भएको नेकपाले जनाएको छ ।

गुमनाम विप्लव !

केन्द्रीयस्तरका कार्यक्रमहरु तत्काल आयोजना नभएको र नेताहरु पनि आन्तरिक काममै व्यस्त हुँदा अहिले पार्टी नै गुमनामजस्तो देखिएको विप्लव समूहका नेताहरु स्वीकार गर्छन् ।

‘सहमतिपछि सबैभन्दा पहिला हाम्रा साथीहरुलाई रिहाइ गरेपछि औपचारिक कार्यक्रम गर्ने हाम्रो उद्देश्य हो । त्यही भएर हामी अहिलेसम्म पर्खिरहेका छौं’, विप्लव समूहका केन्द्रीय सदस्य उदय चलाउने भन्छन्, ‘त्यो कारणले केन्द्रीय कार्यक्रम केही गरेका छैनौं, त्यस्ता कार्यक्रम राखेका पनि छैनौं । तर जिल्लातिर सांगठनिक कामहरु भइरहेका छन् । चर्चा नभएको मात्रै हो ।’

जनतासँगको भेटघाट र सानातिना जनसभाहरु भइरहेको उनको दावी छ । ‘भेटघाट र जिल्लास्तरका काम नभएका होइनन्, भइरहेका छन् । हामीले साथीहरुको रिहाइलाई प्राथमिकता दिएकाले अहिलेसम्म पर्खिरहेका हौं, तर अबचाहिँ केन्द्रीय समिति बैठक बोलाएर केन्द्रीयस्तरका कार्यक्रम पनि सुरु गर्छौं’, चलाउनेको भनाइ छ ।

सरकार र सो पार्टीबीच तीन बुँदे सहमति भएको भोलिपल्ट विप्लव र प्रधानमन्त्री केपी शर्मा ओली काठमाडौंमा आयोजित एक कार्यक्रममा एउटै मञ्चमा उपस्थित भएर सम्बोधन गरेका थिए ।

समारोहलाई सम्बोधन गर्दै विप्लवले सहमति भएको दिनलाई ‘एउटा नयाँ दिन’ भनेका थिए । त्यसक्रममा उनले सहमति भएको तीन बुँदाप्रति आफु प्रतिबद्ध रहेको र त्यसलाई पालनासमेत गर्ने बताएका थिए भने प्रधानमन्त्री ओलीले सहमतिलाई ठूलो सफलताको संज्ञा दिएका थिए ।

कार्यान्वयनमा ढिलाइ

विप्लव समूहका वार्ता टोली सदस्य उदयबहादुर चलाउने सरकार र आफुहरुबीच गत फागुन २१ मा भएको तीन बुँदे सहमति कार्यान्वयनमा सरकार पक्षले ढिला गरेको बताउँछन् ।

‘सहमति कार्यान्वयन गर्ने कुरामा ढिला भएको छ । यसमा हामी खुसी छैनौं’, उनले रातोपाटीसँग भने, ‘ढिला नगरौं भनेर हामीले बारम्बार आग्रह पनि गरेका छौं । उहाँहरु प्रक्रियामै छौं भनेर जवाफ दिँदै आउनुभएको छ ।’

नेता चलाउनेले व्यावहारिक रुपमा रिजल्ट आएपछि मात्रै सहमति कार्यान्वयन भयो भनेर बुझ्न र खुसी हुन सकिने  बताए । ‘जतिसक्दो छिटो मुद्दा फिर्ता लिने भनिएको हो । १०÷१५ दिनभित्रै गर्नुपर्ने कुरा हो त्यो, तर डेढ महिना बितिसक्यो’, उनले असन्तुष्टि जनाए ।

एक महिनामा एउटा कार्यक्रम

प्रतिवन्ध फुकुवा भएको केही दिनपछि सो पार्टीले महासचिव विप्लव सहभागी एउटा कार्यक्रमबाहेक अन्य कुनै राजनीतिक कार्यक्रम गरेको छैन ।

विप्लवको गृहजिल्ला समेत रहेको कपिलबस्तुमा आफु निकट अखिल नेपाल महिला संघको कार्यक्रमा सम्बोधन गरेका विप्लवले त्यसपछि काठमाडौ फर्केर केही भेटघाट गरेका थिए । कपिलवस्तुबाट फर्केर विप्लवले एकपटक प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा लगायतका केही नेताहरुलाई भेटेका थिए । उक्त भेटमा सो समूहले सहमतिअनुसार आफ्ना नेता–कार्यकर्तामाथिको मुद्दा चाँडो फिर्ता लिन आग्रह गरेको थियो ।

जवाफमा सरकारी पक्षले कानुनी प्रक्रिया पूरा गरेर मुद्दा फिर्ता लिने आश्वासन दिएको चलाउने बताउँछन् । तर, झण्डै डेढ महिना बित्नलाग्दा पनि कुनै प्रगति नभएको उनको भनाइ छ ।

विप्लवका नेता–कार्यकर्ताको बहस पैरवी गर्ने अधिवक्ता एकराज भण्डारी सरकारले अहिलेसम्म मुद्दा फिर्ता लिन ठोस गृहकार्य गरेको आफुलाई थाहा नभएको बताउँछन् । ‘सहमतिपछि मुद्दा फिर्ता लिएर कोही छुटेका छैनन् । वार्ताकै क्रममा धर्मेन्द्र बाँस्तोला छुटेका हुन् । भरत बम, माइला लामा, हेमन्त प्रकाश ओली, वीरजंग चन्द लगायतलाई तत्कालै छाड्ने भनिए पनि छोडिएको छैन’, अधिवक्ता भण्डारीले भने, ‘उनीहरुसँग २५ हजार धरौटी मागिएको थियो तर मुद्दा फिर्ता हुन्छ भनेर उनीहरुले धरौटी बुझाएका छैनन् ।’ 

के थियो सहमति ?

१. दुवै पक्ष, नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टी देशको राजनीतिक समस्याहरु वार्ता र सम्वादबाट समाधान गर्न सहमत भएका छौं ।

२. नेपाल कम्युनिस्ट पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा गर्न सहमत भएको छ ।

३. नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ता रिहा गर्न र सम्पूर्ण मुद्दाहरु खारेज गर्न सहमत भएको छ ।

१२६ जना जेलमा

विप्लव समूहका अनुसार अहिलेसम्म विप्लव नेतृत्वको नेकपाका १२६ जना नेता–कार्यकर्ता जेलमा छन् । चन्द्र बहादुर चन्द चितवन जेलमा छन् भने स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली नख्खु कारागारमा छन् । प्रतिवन्ध फुकुवापछि उनलाई विप्लव लगायतका नेताहरुले कारागारमै पुगेर भेटेका थिए । ओलीलाई नख्खु विष्फोट प्रकरणमा प्रहरीले पक्राउ गरेको हो । अदालतले विष्फोटको मुद्दामा सफाइ दिएपछि ठेचोँबाट उनी पुनः पक्राउ परेका थिए । हाल उनी हातहतियार खरखजाना मुद्दा खेपिरहेका छन् ।

अर्का नेता माइला लामा ०७६ साउन ५ मा पक्राउपछि संखुवासभा कारागारमा जेलजीवन बिताइरहेका छन् । लामा जनसांस्कृतिक महासंघका अध्यक्षसमेत हुन् ।

त्यस्तै केन्द्रीय सदस्य चूडामणि ओली हातहतियार मुद्दामा बाजुरा जेलमा छन् भने भरत बम बर्दियामा छन् । यीबाहेक अन्य नेता–कार्यकर्ता पनि देशका विभिन्न कारागारमा बन्दी जीवन बिताइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप