बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

बालुवाटार बैठकका दुई सन्देश : वामदेवलाई फर्काउने, माधवलाई थर्काउने

दसौँ महाधिवेशन सर्ने सङ्केत, एकताको आशा जीवितै
शुक्रबार, १८ असार २०७८, २० : ३१
शुक्रबार, १८ असार २०७८


माधव पक्षको उपस्थितिविनै शुक्रबार बालुवाटारमा बसेको एमाले बैठकले मुख्यतया दुईवटा सन्देश दिएको छ । जसलाई वामदेव आफूतिर फर्काउने र माधव समूहलाई थर्काउने ओली नीतिका रूपमा बुझिएको छ । शुक्रबारको उपाध्यक्ष वामदेव गौतमले ओलीसँगै रहेको घोषणा गर्नु र ओलीले माधव पक्षलाई हस्ताक्षर फिर्ता गर्न दिएको चेतावनीले पनि सोही कुराको पुष्टि गरेको छ । साथै यसअघि महाधिवेशन आयोजक समितिले मान्यता नपाउँदा माधव नेपाल सहितका नेताहरूलाई गरेको कारबाही अवैध भएकोमा शुक्रबारको बैठकले ओलीलाई अव नेताहरूमाथि कारबाहीको डण्डा चलाउने बाटो समेत खोलेको छ ।

यो सन्देशले अन्ततः माधव पक्षलाई घाटा र अध्यक्ष ओली पक्षलाई नै फाइदा पुग्ने चर्चासमेत हुन थालेको छ । किनभने, लामो समयदेखि तटस्थ रहेको बताउँदै आएका उपाध्यक्ष वामदेव गौतम बालुवाटार बैठकमै सहभागी भएर अब नफर्कने गरी ओली पक्षमै रहने घोषणा गरिसकेका छन् ।

यस्तो घोषणा गर्दै गौतमले पार्टी एकता अहिलेको प्रमुख आवश्यकता भएको भन्दै अध्यक्ष ओलीले आफूलाई एकताको जिम्मा दिए एकता गराएरै छोड्ने दाबीसमेत गरे ।

उनले एमाले मात्रै होइन, कम्युनिस्ट एकता नै गर्न सक्ने खुबी आफूमा रहेको बताए । ‘अहिलेको प्रमुख आवश्यकता पार्टी एकता नै हो । माधवजीले पनि गल्ती गरेकै हो । अब मलाई जिम्मा दिए म पार्टी एकता गराएरै छोड्छु’, गौतमले बैठकमा भने, ‘तपाईलाई पनि चित्त बुझ्ने गरी नै पार्टी एकता गर्छु ।’

 

गौतमपछि बोलेका अध्यक्ष ओलीले उनको प्रस्ताव भने सहजै स्वीकार गरेनन् । ओलीले यसअघि गौतमले पार्टी एकता महाअभियान भनेर चलाए पनि त्यसमा असफल भएको र माधव पक्षले कुनै वास्ता नगरेको भन्दै उनीहरू एकताको पक्षमै नरहेको दाबी गरे ।

अध्यक्ष ओलीले आफ्नो सरकार ढाल्न र विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन लाग्ने माधव पक्षको नियत नै ठिक नरहेको आरोप लगाए । त्यति मात्रै होइन, ओलीले आफू पार्टी एकताका लागि प्रयासरत रहे पनि माधव नेपाल आफूसँग भेट्नै नमानेकाले पार्टी एकता नहुने सङ्केत गरे । ‘मैले हिजो मात्रै माधव नेपाललाई फोन गरेँ र भेट्न आग्रह गरेँ । तर, उहाँले मान्नुभएन, भेट्नै खोज्नुभएन’, ओलीले केन्द्रीय समिति बैठकमा ब्रिफिङ गर्दै भने, ‘यदि दुई दिनभित्र हस्ताक्षर फिर्ता भएन भने पार्टी एकता हुन्न । काँग्रेसको नेतालाई प्रम बनाउन एमालेका सदस्यलाई छुट छैन ।’

ओलीले चेतावनी शैलीमा भने ‘यो कुरा एमालेलाई किमार्थ स्वीकार्य छैन । त्यसो गर्नु पार्टी फुटको घोषणा हो ।’

यसअघि गौतमले माधव पक्षले पार्टी खोले सोही पार्टीमा आबद्ध हुने सार्वजनिकरुपमै घोषणा गरेका थिए । तर, गौतमको यो घोषणा धेरै दिन टिक्न सकेन । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक पुस ५ मा प्रतिनिधि सभा विघटन गरेदेखि नै एकता अभियान चलाउने बताएका गौतम अन्ततः ओलीसँगको सहकार्यमा पुगेपछि माधव समूहलाई थप झट्का लागेको छ । यसले खनाल नेपाल समूह ओलीसँग थप टाढिने सङ्केत पनि देखाएको छ ।

 


जेठ २ को पार्टी संरचना अनुसार बैठक बोलाउनुपर्ने र प्याकेजमा सहमति गर्नुपर्ने प्रस्ताव अघि सार्दै आएको माधव समूहको शर्तविपरित अध्यक्ष ओलीले जेठ २ मै टेकेर बैठक बोलाएको दाबी गरे पनि माधव पक्ष त्यसमा सहमत हुन सकेको थिएन ।

ओली पक्षले दाबी गरेझैँ जेठ २ को पार्टी संरचना अनुसार शुक्रबारको बैठक थिएन भन्ने कुरा त फागुन २८ मा पार्टी प्रवेश गरेका माओवादी नेताहरूलाई समेत एमालेकै सदस्यका हैसियतमा सहभागी गराएबाटै पनि पुष्टि भइसकेको छ ।

‘हामीले एकताको प्रयास गरिरहेका बेला बालुवाटारमा जे निर्णय गरेर हामीलाई धम्क्याउने प्रयास गरियो, यसले हामी मात्रैले एकता चाहेर नहुने रहेछ भन्ने प्रष्ट भयो । अहिले पनि धम्क्याउने, तर्साउने नीतिमै उहाँहरू हुनुहुन्छ भन्ने देखियो, जसले एकताको वातावरण बन्छ भन्ने लाग्दैन’, नेता नेपाल पक्षका एक नेता प्रश्न गर्दै भन्छन्, ‘जेठ २ को अवस्थाको बैठक भनेर उहाँहरूले फागुन २८ को अवस्थाको बैठक राख्नुभयो । यो कतिसम्म झुट र बेइमानी हो ? अनि कसरी ओलीको विश्वास गर्न सकिन्छ ?’ उनले ओली पक्षले जेठ २ को अवस्थाको बैठक भनेर भने पनि हुनै नसक्ने जिकिर गरे । ‘जेठ २ को पार्टी संरचना र हाम्रो मागअनुसार बैठक राखिएको भनेर जे भनिएको छ । यो अर्को झुट र बेइमानी हो । जेठ २ को अवस्थामा ओली फर्केकै छैनन् ।’

 


ओली–माधव पक्षको छलफल निष्कर्षविहीन

शुक्रबारको बैठक स्थगित गरेर एकताका लागि थप पहल गर्नुपर्ने पक्षमा खनाल–नेपाल समूहका नेताहरू रहेका थिए । सोहीअनुसार सो पक्षका नेताहरू शुक्रबार बिहान बालुवाटार पुगे । नेताहरू सुरेन्द्र पाण्डे, भीम आचार्य र गोकर्ण विष्ट बालुवाटार पुगेर अध्यक्ष ओलीलाई केही दिन बैठक स्थगित गर्न आग्रह पनि गरेका थिए ।

तर, उनीहरूको आग्रहप्रति ओलीले ठोस जवाफ दिएनन् । ओलीलाई भेटेर बैठक केही दिन स्थगित गर्न आग्रह गरेका नेपाल पक्षका एक नेता भन्छन्, ‘हामीले अध्यक्ष ओलीलाई बैठक केही दिन रोकांै भनेर प्रस्ताव गर्‍यौँ, तर उहाँबाट ठोस जवाफ पनि आएन, बैठक पनि रोकिएन ।’

माधव पक्षका अर्का नेता भीम आचार्यले भने अझै एकताको आशा मरिनसकेको बताए । ‘कुनै पनि पक्ष एकताबाट भाग्ने अवस्था नै छैन विकल्प पनि छैन, एकताको खिलाफमा जानुहुन्छ भन्ने मलाई छैन र त्यो छुट पनि हामी दिँदैनाैँ । त्यसैले ढिलो चाँडो एकता हुनैपर्छ’, आचार्यको भनाइ छ ।

विवाद केमा ?

अध्यक्ष ओली र नेता नेपाल पक्षका धेरैजसो नेताहरूले एक–अर्कालाई एकता नचाहेको भनेर आरोप–प्रत्यारोपमा उत्रिरहेका बेला एकताका लागि लगातार वार्तामा बस्दै आएका दुवैतर्फका दोस्रो तहका नेताहरू भने अझै पनि एकताको विकल्प देख्दैनन् ।

एकताका लागि मोटामोटी सहमति नै भैसकेको बताएका ती नेताहरू ५ बुँदे सहमतिको ड्राफ्ट नै तयार भैसकेको बताउँछन् । ‘विषयवस्तु मोटामोटी टुङ्गिएको छ । हस्ताक्षरको सवालमा विगतको कुरा सम्झेर हुँदैन भन्ने छ । आगामी दिनमा पार्टी एकजुट भएर पार्टी निर्णय पालना गर्ने कुरामा लगभग दुवै पक्षको सहमति छ’, वार्तामा सहभागी दुवै पक्षका नेताको भनाइ छ ।

खासगरी ओली पक्षले प्रधानमन्त्रीका लागि देउवाको पक्षमा गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने अडान राखेको छ भने नेपाल पक्ष कुनै हालतमा हस्ताक्षर फिर्ता नगर्ने बताइरहेको छ । यही विषयमा कुरा अड्किएको नेताहरूको सङ्केत छ । साथै पावर सेयरिङका बारेमा समेत नेताहरुबीच केही कुरा मिल्न बाँकी छ ।

साथै, यसअघि महाधिवेशन आयोजक समितिले मान्यता नपाउँदा माधव नेपालसहितका नेताहरूलाई गरेको कारबाही अवैध भएकोमा शुक्रबारको बैठकले ओलीलाई अब नेताहरूमाथि कारबाहीको डण्डा चलाउने बाटोसमेत खोलेको छ । 

दसौँ महाधिवेशन सार्ने सङ्केत

एमालेले यसअघि घोषणा गरेको दसौँ महाधिवेशन सार्ने सङ्केत गरेको छ । शुक्रबारको बैठकमा यस विषयमा छलफल नभए पनि आगामी मङ्सिर २ देखि ६ मा  हुने भनेको महाधिवेशन समयका कारण सार्नुपर्ने अवस्था आएको प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।

‘कात्तिक मङ्सिरमा चुनावको मिति घोषणा भैसकेको र फागुनमा स्थानीय चुनाव गर्नुपर्ने अवस्थाले गर्दा तोकिएको मितिअघि नै महाधिवेशन गर्नुपर्ने हुन सक्छ’, ज्ञवालीले भने, ‘महाधिवेशनबारे शनिबारको बैठकमा छलफल हुन्छ ।’

महाधिवेशन आयोजक कमिटी नै विघटन गरिसकेको हुनाले घोषित महाधिवेशन सर्ने पक्कापक्कीजस्तै देखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप