शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

माधव समूहको बटमलाइन : प्याकेजमा सहमति नभई बालुवाटार नजाने

अदालतको निर्णय नआएसम्म हस्ताक्षर फिर्ता नलिने अडान
सोमबार, १४ असार २०७८, १२ : ००
सोमबार, १४ असार २०७८

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा फैसला सुनाउनुअघि नै पार्टीलाई सकेसम्म एकतावद्ध बनाएको सन्देश दिने नेकपा एमालेको ओली समूहले तयारी गरेको छ । सोहीअनुसार ओली समूहले बुधबार दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक बोलाएको छ ।

तर, पार्टी एकताका लागि प्याकेजमै सहमति गर्न अध्यक्ष केपी शर्मा ओली तयार नभएसम्म असन्तुष्ट खनाल–नेपाल समूहले कुनै पनि बैठकमा सहभागी नहुने रणनीति बनाएको छ । असार १६ को बैठक पूर्व द्वीपक्षीय वार्ताको तयारीसमेत भइरहेको छ ।

अध्यक्ष ओलीले आइतबार आफू पक्षीय स्थायी समिति बैठक बोलाएर असार १६ गते दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउने निर्णय गराएका थिए । यो निर्णयपछि एमालेभित्र अनेक चर्चा, परिचर्चा र तरंगहरु उत्पन्न भएका छन् ।

​ओली पक्षले असार १६ गते बैठक बोलाउने निर्णय गरेकै दिन माधव समूहका हार्डलाइनर नेता भनेर चिनिने राष्ट्रिय सभाका सदस्य डा. बेदुराम भुसाल एमालेको कुनै पनि समूहमा नरही स्वतन्त्र रहन चाहेको सार्वजनिक भएको छ ।

बुधबार बस्ने महाधिवेशन आयोजक समितिको बैठकले जेठ २ मा फर्कने औपचारिक घोषणा गर्ने भित्री तयारी गरेको कतिपय एमाले नेताहरुको दाबी छ । तर, पूर्व माओवादीको बादल समूहले राष्ट्रिय प्रतिनिधि परिषद गठनका लागि ५६० जनाको नाम पठाएको घटनालाई हेर्दा बुधबारको बैठकले महाधिवेशन आयोजक समिति खारेज गर्नेमा शंका उत्पन्न भएको माधव पक्षका नेताहरु बताउँछन् ।

ओलीले आइतबारको स्थायी समिति बैठकमार्फत असार १६ गते महाधिवेशन आयोजक समितिको बैठक मात्रै बोलाएनन्, एमालेको राष्ट्रिय परिषद सदस्यमा बादल समूहका ५६० जनाको नाम समावेश गर्ने निर्णय समेत गराएका हुन् ।

​अध्यक्ष ओली पक्षले बैठक बोलाउने निर्णय गरेसँगै खनाल–नेपाल समूह थप झस्किन पुगेको छ । साथै यो समूहका दोस्रो तहका नेताहरुले ओलीले बोलाएको बुधबारको बैठक पार्टी एकताका लागि थप बाधक हुन सक्ने विश्लेषण गरेका छन् ।

खनाल–नेपाल समूहको उच्च नेतृत्व, अर्थात माधव नेपालसहितको समूह भने आगामी असार १६ सम्म ओली समूहले गर्ने थप गतिविधिले पार्टी एकता हुने या नहुने भन्ने ठोस दिशा तय गर्ने बुझाइमा छ ।

माधव पक्षका नेताहरुको फरक बुझाइ र टिप्पणी आइरहेका बेला ओली पक्षका नेताहरुले भने असार १६ को बैठकले एमाले एकताको ढोका खोल्ने दावी गरिरहेका छन् ।

बैठक लगत्तै एमाले केन्द्रीय सदस्य विष्णु रिजालले सामाजिक सञ्जाल फेसबुकमा लेखे ‘अब नेकपा (एमाले) मा ‘महाधिवेशन आयोजक कमिटी’ नामक अस्थायी संरचना रहँदैन । साविक केन्द्रीय कमिटीको बैठक बस्छ र पार्टीलाई त्यसैले अघि बढाउँछ । पार्टी एकताका लागि यस विकल्पलाई सबैले अधिकतम लचकताका साथ प्रयोग गर्नुपर्छ ।’

रिजालको दाबीअनुसार असार १६ गते बस्ने बैठकबाट फागुन २८ मा विघटन गरेको एमाले केन्द्रीय कमिटी पुनः ब्यूँतिनेछ । तर, रिजालले यस्तो बताए पनि खनाल–नेपाल समूहकी नेत्री अष्टलक्ष्मी शाक्य भने एकपक्षीय ढंगले महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएर ओली पुनः अल्मल्याउने योजनामै रहेको र  एकताको पक्षमा नदेखिएको बताउँछिन् ।

खनाल–नेपाल समूहले जेठ २ अघिको संरचनालाई पहिल्यै आफ्नो बटमलाइन बताइसकेको छ । त्यसमा ओलीले जेठ ३ निकटका सहमति हुन सक्ने जवाफ पनि दिएका छन् । तर, यही बेला अध्यक्ष ओलीले आफूपक्षीय बैठक बोलाउने र आफू अनुकुल निर्णय गर्न थालेपछि माधव पक्ष थप सशंकित बन्न पुगेको हो ।

तैपनि नेपाल पक्षले केही दिन पर्ख र हेरको नीति अवलम्बन गर्ने नेताहरु बताउँछन् । एकताको बटमलाइन स्पष्ट पारेको खनाल नेपाल समूह आगामी असार १६ गते ओलीले बोलाएको बैठकमा सहभागी नहुने निश्चित नै छ । तर, त्यसअघि नै ओलीले खनाल–नेपाल समूहसँग गर्ने वार्ता र छलफल कस्तो हुन्छ, त्यसकै आधारमा अघि बढ्ने योजनासमेत नेपाल समूहले बनाएको छ ।

‘उहाँहरुले १६ गते बैठक बोलाउनुभएको छ । त्यसअघि पक्कै पनि हामीसँग छलफल गर्नुहोला । या त आफ्नै ढंगले जानुहुन्छ त्यसमा धेरै कुरा भर पर्छ’, माधव समुहका नेता घनश्याम भुसाल भन्छन् ‘यो दुई÷तीन दिनमा रेस्पोन्स कति हुन्छ, त्यसमा धेरै कुरा भर पर्छ ।’

असार १६ को बैठकअघि नै ओली पक्षका नेताहरु कसरी प्रस्तुत हुन्छन् र सहमतिमा आउँछन्, आउँदैनन् थाहा हुने भुसालले रातोपाटीलाई बताए ।  नेता भुसाल अगाडि भन्छन्, ‘असार १६ गतेको बैठकले जेठ २ अघि फर्कने निर्णय गर्यो भने त्यसलाई सकारात्मक नै मान्न सकिएला, तर अध्यक्ष ओली एक्लै अगाडि जान खोज्नुभएको हो भने त्यो बैठक पार्टी विभाजनका लागि बोलाइएको प्रष्ट हुनेछ ।’

नेपाल समूहमा तीन लाइन !

नेकपा एमालेभित्रको विवादलाई कसरी निरुपण गर्ने भन्नेबारे खनाल–नेपाल समूहमा विचारको हिसावले तीनवटा धार देखिएका छन् ।

केपी ओलीसँग विनाशर्त मिल्नुपर्छ भन्ने एउटा धार छ भने अर्को रेडिकल धार छ, जसले तत्कालै विद्रोह गरेर नयाँ पार्टी बनाउनुपर्छ भन्दै आएको छ । तेस्रो धार चाहिँ भने पार्टीलाई अक्षुण राख्दै ओलीसँग अन्तरसंघर्ष गर्नुपर्ने पक्षमा छ ।

बाहिर चर्चामा आएअनुसार माधवकुमार नेपाल, जगन्नाथ खतिवडा, राजेन्द्र राई लगायतका नेताहरु तत्कालै नयाँ पार्टी बनाएर अगाडि बढ्न आँट गर्नुपर्ने पक्षमा छन् । यद्यपि उनीहरुले नयाँ पार्टी गठन गर्ने कदम चालिहालेका छैनन् ।

योगेश भट्टराई र गोकर्ण विष्टहरु बेग्लै पार्टी बनाएर जान सकिँदैन भन्दै ओलीसँगै मिलेर अगाडि जानुपर्ने पक्षमा छन् । यही टिमका गणेश पहाडी ओली सरकारमा मन्त्री खान गइसकेका छन् । तर, उनले १२ दिनमै मन्त्री पदबाट बाहिरिनु परेको छ ।

र, एमालेभित्र मध्यमार्गी धारको नेतृत्व घनश्याम भुसाल र सुरेन्द्र पाण्डे लगायतले गरिरहेका छन् । आफूहरुले जीवनभर लागि परेर बनाएको एमाले पार्टी महेश बस्नेतहरुलाई जिम्मा लगाएर हिँड्न नहुने र एमाले नै रहेर ओलीसँग लड्नुपर्ने भुसाल र पाण्डेले आफू निकटस्थहरुलाई बताउने गरेका छन् ।

एमाले छाडेर नयाँ पार्टी बनाउन कठिन हुनेमा घनश्याम भुसाल र योगेश भट्टराईहरुको मत मिलेको छ । तर, शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षरमा भने भुसाल र भट्टराईको मत बाझिएको छ । योगेश भट्टराईले हस्ताक्षरप्रति असहमति जनाएका छन् भने घनश्याम भुसालले चाहिँ लोकतान्त्रिक शक्तिहरूसँग सहकार्य गर्नु अहिलेको आवश्यकता भएकाले सर्वोच्च अदालतको निर्णयअघि हस्ताक्षर फिर्ता नलिने अडान राखेका छन् ।

हस्ताक्षर फिर्ता लिनुहुँदैन भन्नेमा माधवकुमार नेपाल र घनश्याम भुसालबीच एकमत देखिएको छ । उनीहरुको अडान छ, ‘पहिले जेठ २ को बैठक बसौं, हस्ताक्षरबारे अब अदालतले नै जे गर्नुपर्ने हो गर्छ । केपी ओलीले संसद विघटन गरेर संविधान मिचेका कारण यो विषय अदालतमा गएको हुनाले यो नसच्चिएसम्म हस्ताक्षर फिर्ता लिने कुरै हुँदैन ।’

तर, ओली निकटका नेताहरुको शर्त छ, केपी ओली जेठ २ मा फर्कन तयार भएपछि खनाल–नेपाल समूहले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिनैपर्छ ।

प्याकेजमै सहमति नभई बालुवाटार नजाने 

‘असार १६ गते बालुवाटारमा बस्ने महाधिवेशन आयोजक समितिको बैठकले जेठ २ अघिकै केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गर्यो भने तपाईहरु बालुवाटार जानुहुन्छ ?’ रातोपाटीको यस्तो प्रश्नमा माधव समूहका एक नेताले भने, ‘हामी त्यसरी लुरुलुरु जाँदैनौं, पहिले प्याकेजमै सहमति हुनुपर्छ ।’  

खनाल–नेपाल समूहका ती नेता ओली जेठ २ मा फर्कन तयार भएर मा नपुग्ने, बैठकअघि प्याकेजमै सहमति हुनुपर्ने बताउँछन् । उनी भन्छन्, ‘हामी पनि एमाले एक होस् भन्ने नै चाहन्छौं । तर, बैठकअघि प्याकेजमा सहमति गर्न ओली तयार हुनुपर्छ ।’

तर, प्याकेजमा सहमति गर्दा तपाईहरुले चाहिँ देउवाको पक्षमा गरेको हस्ताक्षर फिर्ता लिनुपर्दैन त ? यो प्रश्नमा माधव पक्षका ती नेताको जवाफ छ, ‘यसमा त शेरबहादुर देउवा प्रधानमन्त्री भइसकेपछि एक महिनाभित्र विश्वासको मत लिने बेलामा नेकपा एमालेले जे गर्नुपर्ने हो, औपचारिक निर्णय गरिहाल्छ नि ।’

केपी–माधववीच वार्ता गराउने प्रयास

एमाले एकताको प्रयासमा लागेका दोस्रो तहका नेताहरुबीच सोमबार पनि अनौपचारिक वार्तामा हुँदैछ । पछिल्ला दिनमा लगातारजसो वार्तामा बस्दै आएका नेताहरु सोमबार पनि वार्तालाई निरन्तरता दिन लागेका हुन् ।

‘हामी लगातार बस्दै आएका छौं, आज पनि कुनै समय बस्ने कि भनेर सम्वाद भइरहेको छ’, ओली पक्षका एक नेताले रातोपाटीसँग भने, ‘हामीले आफ्नो तर्फबाट सक्ने जति प्रयास अन्तिमसम्म पनि गरिरहन्छाैँ’, ती नेताको भनाइ छ ।

अध्यक्ष केपी शर्मा ओलीका पक्षबाट नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र माधव समूहका भीम आचार्य, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल, योगेश भट्टराई र गोकर्ण विष्टलगायतका नेताहरुबीच लगातार जसो वार्ता हुँदै आएको छ । ती भेटवार्तामा नेताहरुले सहमतिका लागि मध्यमार्गी उपायको खोजी गरिरहेको बुझिएको छ ।

दोस्रो तहका नेताबाहेक पछिल्लो समय माधव नेपालका तर्फबाट सोमप्रसाद पाण्डे र ओलीका तर्फबाट पृथ्वीसुब्वा गुरुङसमेत एकताका लागि प्रयासरत रहेका छन् ।

गुरुङले त आइतबार बालुवाटारमा बसेको स्थायी समिति बैठकमै पार्टी एकता जोगाउन नेता नेपाललाई अध्यक्ष दिनसमेत तयार रहनुपर्ने प्रस्ताव नै अघि सारेका थिए । तर, गुरुङको उक्त प्रस्तावमा ओलीले कुनै जवाफ नदिएको बालुवाटार स्रोतले जनाएको छ । गण्डकीको मुख्यमन्त्रीबाट जिम्मेवारीमुक्त भएपछि गुरुङले काठमाडाैं आएर नेताहरूसँगको भेटवार्तालाई महत्व दिँदै आएका छन् ।

यता माधव नेपाल निकट नेता पाण्डेले पनि पछिल्लो समय पार्टी एकताका लागि सक्रियता देखाएको बुझिएको छ । त्यसक्रममा पाण्डे र गुरुङको पहलमा १६ गते बस्ने महाधिवेशन आयोजक कमिटीको बैठकअघि नै अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच एकपटक भेटवार्ता गराउने प्रयास भइरहेको बुझिएको छ ।

‘सकभर असार १६ गते अगावै उहाँहरूबीच एकपटक भेटवार्ता गराउने प्रयास भइरहेको छ’, स्रोतले भन्यो, ‘कति सम्भव हुन्छ हेरौँ ।’

ओली पनि नेता नेपालसँग भेटवार्ता गर्न इच्छुक रहेको बुझिएको छ । ‘पहिला माधव कमरेडले बालुवाटार नआउने भन्नुभयो र बाहिरै भेटवार्ता पनि भयो । अब बालुवाटार आउन उहाँले अप्ठेरो मान्न हुँदैन’, ओली निकट एक नेता भन्छन्, ‘यदि चाहने हो भने दुई नेताबीच भेटवार्ता गर्न कठिन छैन ।’

सर्वोच्च अदालतले गत फागुन २३ गते एमाले र माओवादीलाई २०७५ जेठ २ को अवस्थामा फर्काइ दिएपछि पनि अध्यक्ष ओलीले एकलौटी केन्द्रीय कमिटी विघटन र नेताहरुको जिम्मेवारी हेरफेर गरेपछि अध्यक्ष ओली र झलनाथ खनाल र माधवकुमार नेपाल समूहबीच आन्तरिक किचलो बढ्न पुगेको थियो । त्यहीबीचमा नेताहरुलाई कारवाही र समानान्तर गतिविधिले समेत तीव्रता पाएका थिए ।

सुरुमा जेठ २ को पार्टी संरचनामा फर्कन नमानेका ओली पछिल्लोपटक भने जेठ २ मा फर्कन लचक बनेका छन् । त्यसक्रममा फागुन २८ पछिका एकपक्षीय गरेका निर्णयहरु खारेज गर्नसमेत ओली लगभग तयार भए पनि शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने शर्त अघि सार्दै आएका छन् ।

तर, हस्ताक्षर फिर्ताको शर्त मान्न माधव पक्ष अझै तयार भैसकेको छैन । माधव पक्षले प्याकेजमै सहमति गर्नुपर्ने अडान राख्दै आएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप