शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ओलीले न्यायालयलाई धम्क्याउने र थर्काउने काम गरेः प्रचण्ड

'हेर्नुहोला, केही दिनपछि शेरबहादुर देउवा प्रधानमन्त्री हुनुहुन्छ'
शनिबार, १२ असार २०७८, १८ : ४४
शनिबार, १२ असार २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायलयलाई धम्काउने गरेको दाबी गरेका छन् । .
संघीय संसद भवन नयाँ बानेश्वरमा शनिबार विपक्षी गठबन्धनले पत्रकारहरुसँग गरेको अन्तरक्रियामा बोल्दै अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीले कहिले आफै र कहिले महान्यायधीवक्ता मार्फत न्यायालयलाई धम्काउने र थर्काउने काम गरेको दाबी गरे । अदालतको फैसला पहिले नै आफूलाई थाहा हुने गरेको भनेर जनतामा भ्रम छर्ने काम प्रधानमन्त्रीबाट भएको भन्दै उनले अहिले पनि आफूहरु न्यायालयले संविधान अनुसार नै फैसला गर्छ भन्नेमा विश्वस्त रहेको स्पष्ट पारे । उनले ओलीले जेजति भ्रम छर्ने र थकाउने काम गरेपनि अदालतको फैसला ओलीको विपक्षमा हुने विश्वास व्यक्त गरे । 

उनले भने, “केपी ओलीले धम्क्याउन थालेका छन् अदालतलाई । थर्काउन थालेका छन् । कहिले महान्यायधीवक्ताबाट, कहिले आफै । अदालतले लोकतन्त्रका मूल्य मान्यता अनुसार फैसला गर्छ, गर्नुपनि पर्छ । त्यसअनुसार गर्दा हेर्नुहोला केही दिनपछि शेरबहादुर देउवा प्रधानमन्त्री हुनुहुन्छ भन्छु म । यो सेटिङबाट भनेको हो र मैले ? हेर्नुहोला त्यही हुन्छ भन्छु म । अनि भयो भनेदेखि लौ प्रचण्डले त पहिलेही भनेको थियो, त्यही भयो । यस्तो पनि हुन्छ र लोकतन्त्रमा राजनीतिक स्वतन्त्रतामा ? ”

आफुले भन्दै नभनेको कुरालाई बनाएर भन्ने र जनतामा भ्रम फिँजाउने काम प्रधानमन्त्री ओलीले गरेको दाबी अध्यक्ष दाहालले गरे । उनले  कामचलाउ प्रधानमन्त्रीलाई मन्त्रीमण्डल विस्तार गर्ने अधिकार संविधानले नै दिएको छैन भन्ने आफ्नो अभिव्यक्तिलाई प्रधानमन्त्री ओलीले अदालतको फैसला पहिले नै जानकारी पाएको भनेर गलत प्रचार गरेको दाबी गरे । 
उनले भने, “संविधानको मर्म र भावना, ऐन कानुनको व्यवस्था अनुसार केपी पहिले नै कामचलाउ भइसकेका हुन् । कामचलाउले मन्त्रिमण्डल गठन गर्ने नियुक्ति गर्ने प्रचलन नै छैन । मैले बुझेसम्म अदालतले यी मन्त्रीलाई अवैध भन्छ भनेको थिएँ ।”

गठबन्धनको भविष्यबारे पत्रकारको जिज्ञासामा उनले आफू पहिले देखि नै प्रधानमन्त्रीको दौडमा नरहेको स्पष्ट पार्दै लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन निर्माण भएको बताए । 
अध्यक्ष दाहालले राष्ट्रिय स्वाधिनता र सार्वभौमसत्तामाथि प्रहार भएको हुनाले राष्ट्रिय स्वाधिनताको, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षाको लागि गठबन्धन बनाएर सरकारका प्रतिगामी कदम विरुद्ध उत्रिएको स्पष्ट पारे । 
केपी ओली प्रधानमन्त्री भएपछिको पहिलो बजेट नै पार्टीको घोषणापत्रमा उल्लेख भएका विषय विरुद्ध आएको उल्लेख गर्दै ओलीका क्रियाकलापको आफुहरुले विगत देखि नै भित्रभित्रै विरोध गर्दै आएको स्पष्ट पारे । 

प्रधानमन्त्री ओलीले गोहीको आँसु चुहाएर मान्छेलाई भ्रम छर्ने र दिउँसै रात पार्ने काम गरेको आरोप अध्यक्ष दाहालले बताए । उनले पार्टी एकताका लागि गरेको सहमतिमा हस्ताक्षर गरेर सहमति नमानेर प्रधानमन्त्री ओलीले आफुलाई धोका दिएको दाबी गरे । अदालतको फैसलापछि पार्टी एकताका लागि कुनै पनि पहल कदमी नगरेका प्रधानमन्त्री ओलीले चासो नदेखाएको भनेर आफुलाई आरोप लगाउनु झुट र बेइमानीको पराकाष्टा भएको टिप्पणी गरे । 
अध्यक्ष दाहालले ५ वटै दलबीच लोकतन्त्र र संविधान बचाउने सन्र्दभमा छलफल चलिरहेको भन्दै सरकारको प्रतिगामी कदम विरुद्धका कार्यक्रमहरु तय गर्ने क्रममा रहेको स्पष्ट पारे । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप