बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

केपी ओली दक्षिणपन्थी नै हुन् त ?

दक्षिणपन्थी को हो ? कस्ता हुन्छन् विशेषता ?
शुक्रबार, ११ असार २०७८, १७ : १९
शुक्रबार, ११ असार २०७८

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पछिल्लो समय ‘दक्षिणपन्थी नेता’ का रुपमा चित्रित गर्न थालिएको छ । उग्र वामपन्थी धारबाट शक्तिमा उदाएका ओलीले अहिले ‘दक्षिणपन्थी धार’को नेताका रुपमा काम गर्न थालेको आरोप कम्युनिस्ट कित्ताबाट मात्र होइन, काँग्रेसकै नेताले समेत लगाउन थालेका छन् ।

यहाँ काँग्रेस नेता डा. शेखर कोइरालाले ओलीबारे गरेको विश्लेषण स्मरणीय छ । डा. कोइरालाले अघिल्लो साता रातोपाटीसँगको अन्नतरवार्तामा नेपालका राजनीतिक शक्तिहरुको विश्लेषण गर्ने क्रममा ओलीलाई दक्षिणपन्थीहरुको नेता बताउँदै यसो भने–

​‘म अहिले के देखिराखेको छु भने अब देशमा तीनवटा फोर्स हुन्छन् । एउटा राइटिस्ट फोर्स (दक्षिणपन्थी शक्ति) जसको ओलीजीले नेतृत्व गर्नुहुन्छ । एउटा सेन्ट्रिस्ट फोर्स (मध्यमार्गी शक्ति) हुन्छ, जसको नेपाली काँग्रेसले नेतृत्व गर्छ ।  र, तेस्रो लेफ्ट फोर्स (वामपन्थी शक्ति) हुन्छ, जसको माधवजी–प्रचण्डजी, उपेन्द्र यादव, बाबुराम भट्टराईहरुको एउटा हुन्छ । यसरी जान्छ जस्तो लागिराखेको छ ।’

‘एक्स्ट्रिम लेफ्ट’ बाट नेपालको राजनीतिमा उदाएका माओवादी अध्यक्ष प्रचण्डले अहिले केपी ओलीभन्दा नेपाली काँग्रेस वामपन्थी देखिएको बताएका छन् । विहीबार विपक्षी गठबन्धनका तर्फबाट आयोजित सम्पादकहरुसँगको अन्तरक्रियामा प्रचण्डले केपी ओली वामपन्थी नरहेको आरोप लगाउँदै यसो भने–

​‘ओलीजीले मलाई फोन गर्नुभयो र सोध्नुभयो – तपाई शेरबहादुर देउवा, काँग्रेसलाई बोकेर हामीलाई सिध्याउन हिँड्नुभएको ? अनि वामपन्थीको सरकार सिध्याउने ? काँग्रेससँग मिलेर सरकार बनाउनेमै पुग्नुभयो होइन तपाई ?

मैले काँग्रेस त अहिले तपाईभन्दा सयाैँ गुणा वामपन्थी, लोकतन्त्रवादी र क्रान्तिकारी भएर आयो, गर्नुहुन्छ के ? काँग्रेस त संविधानको रक्षा गर्ने भनेर अडिएको छ, तपाई संविधान सिध्याउन हिँड्नुभएको छ । काँग्रेस लोकतन्त्रको रक्षा गर्ने भन्दैछ, तपाई लोकतन्त्र सिध्याउन हिँडनुभएको छ । काँग्रेसले तपाईलाई विदेशीको टाङमुनि छिर्यो भन्छ, तपाई टाङमुनि छिर्नुभएकै छ । छिरेको मात्रै होइन, पूरै आत्मसमपर्ण गरेर दलालहरुलाई ल्याउन थाल्नुभएको छ । अनि काँग्रेसचाँहि दक्षिणपन्थी, तपाईचाहिँ वामपन्थी कहाँनेर हुनुभयो ? ल भन्नुस् । प्रमाणित गर्नुस् काँग्रेस दक्षिणपन्थी र तपाई वामपन्थी भनेर ।’

ओली वामपन्थी होइनन्, दक्षिणपन्थी नै हुन् : आचार्य

विश्लेषक तथा राजनीतिज्ञहरु पनि ओलीले चालेका कदम र उनले लिएका विचारहरुलाई नेपाली राजनीतिको ‘दक्षिणपन्थ कित्ताको मेरुदण्ड’ मान्दछन् । राजनीतिक विश्लेषक पुरञ्जन आचार्य भन्छन्, ‘ओलीको पृष्ठभूमि कम्युनिस्ट तर कार्यशैली, सोच, निर्णय प्रक्रिया र चिन्तन दक्षिणपन्थी छ ।’

वामपन्थी पृष्ठभूमिका नेता ओली अहिले आएर कसरी दक्षिणपन्थी भए त ? आचार्यको बुझाइमा जसले राजनीतिलाई धर्ममा जोड्छ, त्यो दक्षिणपन्थी नै हुन्छ । जसले चाहिनेभन्दा धेरै आफ्नो इतिहास र आफ्नो भूगोलमा गर्व गर्छ, त्यसले आफूलाई दक्षिणपन्थी भएको पुष्टि गर्छ ।

आचार्यको तर्क छ, ‘ओलीले हरेक पटक राम पनि यहीँ जन्मेका हुन् र यही भूगोल हो भनेर जोड्ने गर्छन्, त्यो दक्षिणपन्थ हो । जसले यो देशको बहुसंख्यक सांस्कृतिक समूहको पुष्टीकरण गर्छ, त्यो दक्षिणपन्थ हो । यसले कर्पोरेट हाउस र बिचौलियाहरुलाई संस्थागत गर्छ, जसमा ओलीसँग ओम्नी या यति प्रकरण जोडिएको छ ।’

दक्षिणपन्थीका ११ वटा सर्वमान्य र विश्वव्यापी बुँदाहरु भएको बताउँदै  ११ मध्ये १० वटामा ओली फिट भएको आचार्य बताउँछन् । ‘ओलीलाई अहिले वामपन्थी भन्न मिल्दै मिल्दैन । उनको पार्टीमात्रै कम्युनिस्ट पार्टी हो । उनका पार्टीका वा उनको क्याबिनेटका एक मन्त्रीको भर्खर सार्वजनिक भएको समाचारबाट पनि उनी कस्ता हुन् भन्ने पुष्टि गर्छ’, आचार्य भन्छन्, ‘आफ्नो संस्कृतिमा गौरव गर्ने, जातपातमा रमाउने, भुगोल विस्तार गर्ने, पहाडे सांस्कृतिक समूहलाई खुसी पार्ने, आफ्नो धर्मलाई राजनीतिमा तानेर आफू हिरो हुन खोज्ने ओलीका कामले उनमा दक्षिणपन्थतर्फको जबरजस्त झुकाव छ भन्ने देखिन्छ ।’

ओलीको संगत पनि राष्ट्रिय पार्टी छाडेर क्षेत्रीय पार्टीहरुसँग हुन थाल्नुले पनि उनी दक्षिणपन्थी भएको पुष्टि गर्ने आचार्यको भनाइ छ । उनी भन्छन् ‘ओलीको संगत पनि अहिले दक्षिणपन्थीहरुसँगै छ । महन्थ ठाकुर र राजेन्द्र महतो भनेका उग्र दक्षिणपन्थबाट उत्पादन भएका फ्याक्ट्री हुन् । उनीहरुलाई सरकारमा ल्यउन सक्नु भनेको उनीहरुबीच कुरा मिल्नु हो । संविधानमा भएको संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र र समावेशीताविरुद्ध बोल्नु भनेको दक्षिणपन्थी झुकाव हो ।’

अर्का विश्लेषक तथा लेखक युग पाठक पनि आचार्यले जस्तै केपी ओली वामपन्थी नरहेको बताउँछन् । ‘ओली दक्षिणपन्थी नै हुन्, यो कुरा हामीले पहिलेदेखि नै भन्दै आएको हो’, पाठकको दावी छ ।

खासगरी पछिल्लो राजनीतिक परिवर्तन, जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन, थरूहट, जनजाति आन्दोलन हुँदै प्रगतिशील एजेण्डाहरु बोक्ने र संविधान बनाउने बेलामै ओलीले त्यसमा रुचि नदेखाएर दक्षिणपन्थी कित्तामा उभिएको पाठकले बताए ।

ओलीले सुरुदेखि नै गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समावेशिताका विरोधमा दिएका अभिव्यक्ति दिँदै आएको रेकर्ड रहेको पाठक बताउँछन् । उनी भन्छन्, ‘प्रगतिशील संविधान खारेज गरेर पुरानै ठाउँमा पुर्याउने भन्ने विचारसहित केपी ओलीको उदय भएको हो । उनका पछिल्ला व्यवहारले पनि त्यही देखाउँछ । आफ्नो हातमा शक्ति आइसकेपछि त्यो प्रवृत्ति ओलीमा थप खुल्दै आएको देखिन्छ ।’

उग्रवामपन्थी हुँदै उग्र दक्षिणपन्थी

वामपन्थीहरु यसरी परिवर्तन भएर दक्षिणपन्थी भएको नेपालमा मात्रै नभएर अन्य देशमा पनि देखिएको आचार्यको भनाइ छ । उनी भन्छन्, ‘यस्तो संसारमै हुन्छ । संसारको कम्युनिस्ट आन्दोलनलाई नजिकबाट हेर्दा के देखिन्छ भने पहिला एक्सट्रिम लेफ्ट हुन्छ । जस्तो नेपालमा केपी ओली भए । उनी वर्गसंघर्ष गर्छु, टाउको काट्छु भनेर झापाबाट आएका थिए । एक्सट्रीम लेफ्टबाट मोट्रेट लेफ्ट हुँदै  सेन्टर लेफ्टबाट राइट हुँदै एक्सिट्रम राइटमा जान्छ ।’

भारतमा भएका तीनवटा कम्युनिस्ट पार्टीको इतिहास पनि त्यही रहेको भन्दै आचार्यले बंगलादेश र पाकिस्तानको पनि उदाहरण दिए । ‘संसारका कम्युनिस्टहरु बिग्रिए भने जातीय पार्टी हुन्छन् भन्ने भनाइ नै छ । नेपालमा पनि ओलीको पार्टी जातीय पार्टीजस्तो भएको छ ।’

आचार्य अगाडि भन्छन्, ‘विश्वमै यस्तो ट्रेन देखिएको छ । यसैकारण युगोस्लाभिया टुक्रिएर ५ वटा भयो । रुस टुक्रिएर १६ देश जातीयरुपमै भएको हो । कि धर्ममा, कि जातिमा देशहरु टुक्रेका छन् ।’

आचार्य थप्छन्, ‘ओली विश्वको असफल कम्युनिस्ट आन्दोलनका प्रतीक पनि हुन् । उनको सिद्धान्त तल झर्दै राइटिस्ट कोर्समा जाँदैछ ।’

विश्लेषक पाठक पनि केपी ओली सुरुमा कम्युनिस्ट मुभमेन्टबाट आए पनि पछिल्ला बर्षहरुमा दक्षिणपन्थी यात्रामा लागेको बताउँछन् । ‘जब पहिलो संविधानसभा विघटन भयो, त्यसपछि ओलीको एक प्रकारको उत्थान, दक्षिणपन्थबाट सुरु भएको देखिन्छ’ पाठकले रातोपाटीसँग भने, ‘किनभने, त्योबेला प्रगतिशील संविधान बन्ने कुरालाई रोकेर संविधानसभा नै विघटन गर्ने परिस्थिति निर्माण भयो, त्यसपछि दक्षिणपन्थी राजनीति हावी हुने चरणको सुरुवात भएको देखिन्छ ।’

के हो राइटिस्ट (दक्षिणपन्थी ) ?

विश्लेषकहरुका अनुसार राइटिस्ट अर्थात् दक्षिणपन्थी भनेको सामान्यतया प्रतिकृयावादी भनेर बुझिन्छ, जसले समाजमा हुने वा भएका परिवर्तनविरुद्ध पुरानै संरचना, सत्ता र विचारको पक्षपाती हुँदै परिवर्तनको एजेण्डाको विरुद्धमा काम गर्छ ।

संसारभरको राजनीतिक परिस्थितिको व्याख्या गर्नेहरुले एक्काइशांै शताब्दीको सुरुदेखि नै राइटिस्ट राजनीति व्यापक रुपमा आयो र यसको एउटा चरित्र राष्ट्रवाद हुने गरेको छ । त्यो राष्ट्रवादसहित आएको देखिएको पनि छ । जस्तो–भारतका नरेन्द्र मोदी वा ब्राजिलका बोल्सोनारो, अमेरिकाका ट्रम्प वा बेलायतका जोनसनकै कुरा गर्दा पनि यस्तो देखिन्छ । जोनसन राष्ट्रवादका नाममा यरोपियन युनियनबाट अलग हुने र ब्रिटिस राष्ट्रवादसहित हामी सबैभन्दा उच्च हो, कसैसँग किन साझेदारी गर्ने भन्ने धारणासहित आएको देखिन्छ ।

‘दक्षिणपन्थका विभिन्न प्रकारका भेरियन्टहरु हुन्छन्, ती भेरियन्टहरुमध्ये दक्षिण एसियामा उच्च जातवाला, राष्ट्रवादी स्वरुपमा देखा पर्छन् । अधिकारवादी आन्दोलनको विपक्षमा र सारतः लोकतन्त्रकै विपक्षमा हुन्छन्’, पाठक भन्छन्, ‘यो चरित्र केपी ओलीले पनि बाकेर हिँडेकाले उनको पछिल्लो गठबन्धन मोदीसँग हुन पुग्यो । मोदी र ओलीको हिन्दु राष्ट्रवाद खुलेको र देखिएको छ ।’

पाठकको विचारमा समाजमा स्वतःस्फूर्त मान्छेहरुले विभिन्न आन्दोलनमार्फत जुन गति प्रदान गरेका हुन्छन्, तिनको न्यायपूर्ण र समतामूलक समाज निर्माण गर्ने प्रयासलाई यस्तो दक्षिणपन्थी शक्तिले अवरुद्ध गर्छ । भारतमा त्यहाँका विश्वविद्यालयहरु मोदीले ध्वस्त नै बनाए । विभिन्न धर्म समुदायबीचको सद्भाव र साझेदारीलाई पनि ध्वस्त बनाइदिएर भारतलाई असुरक्षित बनाए । हिन्दु तालिवानहरुले स्टेप स्टेपमा चुनाव जित्ने, मान्छेहरुलाई बाटा बाटामा कुट्ने, फरक  विचार र समुदायका मानिसहरुलाई समाप्त पार्ने अभिव्यक्तिहरु दिने, लोकतन्त्रको आधारभुत मान्यताहरु नै नष्ट गर्ने त्यसको अभिप्राय हुन्छ र त्यसैको नाभीबाट निरंकुशता जन्मन्छ ।  

यो ‘गद्दार पुष्पलाल’ भनेजस्तै हो : विष्णु रिजाल

नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजाल भने केपी ओलीलाई दक्षिणपन्थी भन्नेहरुको प्रतिवाद गर्छन् । एउटा कम्युनिस्ट पार्टीको नेतालाई आफूलाई रीस उठेकै आधारमा यस्तो आरोप चलाउने चलन नयाँ नभएको उनी बताउँछन् ।

‘पुष्पलाललाई ‘गद्दार पुष्पलाल’ लेख्ने र निर्मल लामालाई ‘सीआईडी’ भन्ने कम्युनिस्ट आन्दोलनका नेताहरु पनि यहीँभित्रै हुनुहुन्छ । त्यसले गर्दा केपी ओली वा कसैलाई रीस उठेका बेला उहाँहरुले के आरोप लगाउनुहुन्छ भन्नेमा म त्यति धेरै महत्व दिन्नँ’, रिजालले रातोपाटीसँग भने ।

 रिजाल भन्छन्, ‘अरु जो जहाँ छन्, त्यहीँ नै उभिइरहेका छन् । प्रचण्ड कहिले वायाँतिर जानुहुन्छ र यो दायाँतिर छ भन्नुहुन्छ, कहिले दायाँतिर जानुहुन्छ र यो बायाँतिर छ भन्नुहुन्छ ।’

रिजाल एमाले र माओवादीको चुनावी घोषणापत्र अझै एउटै भएको स्मरण गर्न सुझाव दिन्छन् । जर्बजस्ती पार्टीभित्र यो मिल्यो र त्यो मिलेन, फलानाले मौका पायो र अर्कोले पाएन भन्ने विषयबाट विवाद चुलिएकाले दुखद स्थितिमा पुगेको  रिजाल बताउँछन् ।

उनी भन्छन्, ‘अहिलेसम्म पनि चुनावी घोषणापत्र नेकपा एमाले र माओवादी केन्द्रको एउटै छ । नेकपाको एकता हुँदा बनाएका दस्तावेजप्रति कसैले पनि असहमति जनाएर यसले क्रान्ति अघि बढ्दैन भनेर छाडेको अवस्था होइन । मुद्दाहरुमा कुनै दिन नेताहरुबीच बहस भएको छैन ।’

एमाले नेता रिजाल प्रचण्डलाई चुनौती दिँदै अगाडि थप्छन्, ‘साँच्चै कमरेड प्रचण्डले सैद्धान्तिक बहस आरम्भ गर्न खोज्नुभएको हो भने विगत दश÷बाह्र बर्षको उहाँहरुको यात्रा, उहाँहरुका सहयात्रीहरुको चयन, विदेशी शक्तिहरुसँगको सहकार्य र तिक्तता अनि सार्वजनिक भएका विभिन्न जानकार व्यक्तिहरुका अभिव्यक्तिलाई एक ठाउँमा राखेर हेर्ने हो भने को कुन पंक्ति हो, कसको बाटो कति मोडिएको छ भन्ने सजिलै बुझ्न सकिन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप