अर्थविद्का नजरमा सामाजिक सुरक्षा कोष : नयाँ कोष ल्याउँदा पुराना धरापमा, पेलेरै लान खोज्नु गलत !
सरकारले सामाजिक सुरक्षा कोषको विषयमा स्पष्ट धारणा बनाउन र आम श्रमिकलाई बुझाउन नसक्दा आफैँले खडा गरेको कोष टाउको दुखाइको विषय बनेको छ । योगदानमा आधारित पेन्सन प्रणाली लागू गर्न भन्दै कोषको स्थापना गरिएको हो । तर कोष बनाउँदा यसअघि भएका कोषहरूको अध्ययन नगरेको र ती कोषलाई धरापमा पार्न खोजेको आरोप विज्ञहरूले लगाएका छन् । अर्थविद् डा. चन्द्रमणि अधिकारीले नेपालमा समान प्रकृतिका संस्था धेरै खोल्ने र भएका संस्थालाई प्रभावकारी नबनाउने रोग रहेको बताए । भइरहेको कोषलाई धरापमा पारेर नयाँ कोष खडा गरेको उनको आरोप छ ।
यस्तै अर्का अर्थविद् केशव आचार्य पनि सामाजिक सुरक्षा कोषमा आबद्ध हुनु राम्रो भए पनि श्रमिकलाई यसबारे स्पष्ट नपारी पेलेर लैजान खोज्नु भने गलत भएको बताउँछन् । पछिल्लो समय विशेष गरी बैङ्कका कर्मचारीहरू कोषमा आबद्ध हुन मानिरहेका छैनन् । आफ्नो सुविधा सरकारले कटौती गर्न खोजेको उनीहरूको आरोप छ ।
सामाजिक सुरक्षा कोष कर्मचारीका लागि निकै आवश्यक हो त ? भन्ने विषयमा अर्थविद्सँग रातोपाटीले कुराकानी गरेको छ । उनीहरूकै शब्दमा :
नयाँ कोषमा आबद्ध गराउन नसक्ने र भएको संस्था जोगाउन नसक्ने अवस्था आएको छ : डा. चन्द्रमणि अधिकारी, अर्थविद्
सामाजिक सुरक्षा कोषको विषयमा आम श्रमिकमा बुझाइको कमी छ । सामाजिक सुरक्षा कोषभन्दा पहिलेको नागरिक लगानी कोष र सञ्चय कोषमा धेरै अरू श्रमिक आबद्ध छन् । यस्तै नागरिक लगानी कोषमा जाने पैसा अहिलेको प्रावधानले सामाजिक सुरक्षा कोषमा आबद्ध भयो भने नागरिक लगानी कोषमा ती रकम जाँदैन । साथै नयाँ सङ्गठनमा जाँदा अहिलेको सुविधा पाउँछ वा पाउँदैन । बीचमा सापटी, ऋण लिन परे के होला भन्ने विषयमा स्पष्ट बुझाइ छैन । कार्यविधि समेत स्पष्ट नहुँदा त्यसमा श्रमिकलाई सचेत पार्न सकिएको छैन । योगदानमा आधारित पेन्सनको अवधारणा लामै समयदेखि चर्चामा भए पनि सोको लागि छुट्टै कोष खडा गर्नुपर्ने आवश्यकता थिएन । भइरहेको नागरिक लगानी कोष वा सञ्चय कोषलाई ऐन बनाएर सोको जिम्मा दिन सकिन्थ्यो । कति पैसा राख्यो भने अहिले भएको व्यवस्थाअनुसार पैसा घट्छ कि घट्दैन । घट्यो भने कसको हो त्यो पैसा, कतिबेला लिन लिन सकिन्छ ? लिनसक्ने सर्त के हो, जागिर बीचमा गुम्यो भने के हुने ? बीचमा सापटीको अवस्था कस्तो छ ? यसमा सरकारले स्पष्ट पार्न नसक्दा श्रमिकहरू अलमलिएका छन् ।
नेपालमा संस्था धेरै खोल्ने तर भएका संस्थालाई प्रभावकारी नबनाउने रोग नै छ । सामाजिक सुरक्षाकोष अलि फरक खालको अवधारणा हो । तर ऐन बनाएर भइरहेको कोषलाई अहिलेको नयाँ कोषको काम दिन सकिन्थ्यो । नागरिक लगानी कोषले अहिले भएको कोषको जस्तै काम गर्न सक्ने छ । वचत वृद्धिदेखि बिमा कोषसम्म लिएर सबै नागरिक लगानी कोषमा हुन्थ्यो तर ती सबै अब सामाजिक सुरक्षा कोषमा ट्रान्सफर हुन्छ । यसकारण नागरिक लगानी कोष धरापमा परेको छ । फन्ड नभएपछि सो कोष कसरी चल्छ ? सरकारको नीतिगत कमजोरीले नयाँ संस्थामा मानिसलाई आबद्ध गर्न सकेको छैन भने भएको पुराना संस्था जोगाउन नसक्ने अवस्था आएको छ । यसमा सरकारको अध्ययन पुगेन । अन्य कल्याणकारी कोषहरू पनि छ ।
पेलेर लैजान खोज्नु गलत हो : केशव आचार्य, अर्थविद्
सरकारले सकेसम्म सबै श्रमिकलाई सहभागी गराउने उद्देश्यले सामाजिक सुरक्षा कोष ल्याएको हो । त्यसको अवधारणा बनाउँदा म पनि संलग्न थिएँ । सुरुमा सङ्गठित क्षेत्रबाट गर्ने भन्ने थियो । सामाजिक सुरक्षाको रकम पछि धेरै ठूलो होला भन्ने सोचेको थियो । अमेरिका बेलायततिर पेन्सन फन्ड बैङ्कभन्दा ठूलो हुन्छ । तर सरकारले सोचेजस्तो धेरै श्रमिकलाई कोषमा आबद्ध गराउन सकेन ।
हुन त सामाजिक सुरक्षाबाट हुने काम सञ्चयकोष र नागरिक लगानी कोषबाटै पनि गर्न सकिने अवस्था हो । आईएलओको काठमाडौँ अफिससँग यो गर्दैछौँ भनेर सल्लाह लिएका थियौँ । सञ्चय कोष छँदैछ । त्यसलाई विस्तारित गरेर छुट्टै विभाग खोलेर राम्रो हुन्छ भन्न्ने थियो । तर त्यतिबेला श्रमिकको तर्फबाट प्रतिनिधित्व गर्नेले पनि सरकारकै नेतृत्व हुनुपर्छ भन्ने अवधारणा अघि सारेपछि कोष खडा भएको हो । सामाजिक सुरक्षा कोष मन्त्रालयको विभागजस्तै भयो । नागरिक लगानीकोष र कर्मचारी सञ्चय कोष कर्पोरेसनजस्तै हो । २०६६ सालको बजेटदेखि १ प्रतिशत कर काट्न थालियो । मैलै अर्थमन्त्रालय छँदै कर काट्दा सबैलाई पासबुक दिनुप¥यो भनेर आवाज उठाएको थिएँ । यसबाट कसको कति काटेको थाहा हुन सहज हुने थियो । ताकि प्रत्येक महिना कति बुझाएको छ भनेर पासबुकमा लेख्ने व्यवस्था भयो भने रोजगारदाता र कर्मचारीबाट कति तिरेको छ पासबुकमा दिनुपर्छ भनेको हो ।
सामाजिक सुरक्षा कोष उपयुक्त छ । कोषमा जानु राम्रो हो, जबर्जस्ती पेलेर लानु हुँदैन । बैङ्कको कर्मचारीको सेवा सुविधा धेरै हुन्छ । सञ्चय कोष, नागरिक लगानी कोषमा रकम जम्मा हुन्छ । उपदान, औषधि उपचार लगायतको सुविधा पनि हुन्छ । विभिन्न ठाउँमा रकम जम्मा हुँदा पछि रिटायर्ड हुँदा ठूलो रकम आउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महालक्ष्मी विकास बैंकको कार्यालय भवन निर्माण हुँदै
-
कम्बोडियामा हुने आईक्याप सभामा भाग लिन माओवादी प्रतिनिधिहरू किन गएनन् ?
-
एमाले जग्गा विवाद : पाँचौँ पटक सुनुवाइ सर्यो, आज पनि हेर्न नभ्याइने हुँदै स्थगित
-
नेतन्याहुको नाममा अदालतले पक्राउ पुर्जी जारी गरेपछि रिसायो अमेरिका
-
सौर्यमन्डल बाहिर भेटियो शिशु ग्रह
-
एमालेको र्याली सभामा परिणत, २५ तस्बिरमा हेर्नुहोस्