केन्द्रीय संस्करण
विचार

मेलम्ची विपदको कारण र असरको खोजी

person explore access_timeअसार ४, २०७८ chat_bubble_outline0

 

असार महिनाको पहिलो दिनको साँझदेखि मेलम्ची र इन्द्रावती नदीमा आएको बाढी २ गते मध्यरातिबाट केही मत्थर भए पनि स्थानीयमा थप संकटको भय उत्तिकै छ । बाढीले नदी वरपरका कैयन ठाउँको धरातलीयस्वरुप नै परिवर्तन गरेको छ । दर्जन बढीले ज्यान गुमाएका छन् । करिब ३ सय परिवार घरवारविहीन भएका छन् । नदीले वहाव क्षेत्र बढाउँदै लगेको कारण यो संख्या अझै थपिने अनुमान छ ।

हजारौंले पुरै वा आंशिक रुपमा खेत गुमाएका छन् । नदीको दायाँ–बायाँका लगभग सबै फाँटहरु लेदो र ढुंगाले पुरिएका छन् । बालीनाली, पशु चौपाया, व्यापार व्यवसायमा पुगेको नोक्सानीको हिसाव गरी साध्य छैन ।

स्थानीय पाकाहरुका अनुसार यस्तो बाढी उनीहरुले यसअघि कहिल्यै देखेका वा सुनेका छैनन् । भूकम्पले समेत सबैभन्दा बढी प्रभावित यस क्षेत्रमा अर्को अकल्पनीय विपत्ति थपिएको छ । पुरानो र यस क्षेत्रकै मौलिक चिनारी बनेका मेलम्ची र चनौटे बजार अब उही स्वरुपमा देख्न कठिन छ ।

नदी आसपासका अरु कैंयन साना–ठूला वस्ती पनि नराम्ररी प्रभावित छन् । दशकौंको प्रयासपछि बनेका मोटर पुलहरु छिनभरमै भत्किएका छन् । केही छिटपुट बाहेक सबै झोलुंगे पुल पनि बाढीले बगाएको छ । कैंयन सामुदायिक संरचनामा असर पुगेको छ । तालामाराङ, ग्याल्थुम आदि स्थानका विद्यालयहरु बाँकी रहने, नरहने टुंगो छैन ।  

​हेलम्बु क्षेत्रको तल्लो भेगमा ट्राउट माछा पालन राम्रो व्यवसायको रुपमा विस्तार भइरहेको थियो । यहाँको उत्पादन काठमाडौं बाहिरका शहरमा पनि पुग्न थालेको थियो । सबै माछा फार्महरू बाढीले सखाप पारिदिएको छ । ती व्यवसाय तुरुन्तै शुरु गर्न सकिने स्थिति छैन ।

नदीको दुवैतिरका खेतहरू मुख्य खाद्य उत्पादनको क्षेत्र थियो । यसको उत्पादनले यस भेगका बसोवासीलाई खान पुग्ने अन्न उत्पादन हुने गर्दथ्यो । बाढीले हजारौं रोपनी खेत नष्ट गरिदिएको छ । पोटाउन लागेको धानखेतमा पुरै लेदो, ढुंगाले भरिएको छ । कतै नामोनिसान नहुने गरी रेटिएको छ । यसकारण, सयौं परिवार भूमिहीन हुन पुगेका छन् । बाँकी रहेका खेतका पनि सबै कुलाहरु मासिएका छन् । यसले हजारौंको जिविकामा संकट थपेको छ । यसले आगामी दिनमा भोकमरी र गरिवी बढाउने निश्चित छ ।

यो बाढीले सडक र मोटर पुलमा पुगेको क्षतिले यस क्षेत्रको यातायात सेवामा आगामी केही वर्ष कठिनाई थपिनेछ । धेरै झोलुंगे पुलसमेत नष्ट भएकाले आवात–जावत कठिन हुने नै भयो ।  

नदी आसपासका नागरिकहरु बाढी आउने समयमा खाना खाने तरखरमा थिए । एक्कासी बाढीको डरलाग्दो आवाज आएसँगै खाना नखाइकन उनीहरु घरबाट भाग्नुपर्यो । असाध्यै लेदो र ढुंगाहरु बाढीले साथमा ल्याएको थियो । त्यसैमा ठोक्किएर हुनुपर्छ, नदी आसपास मात्र हैन, निकै माथिको गाउँसम्म भुँईचालोले हल्लाएजस्तै घरहरु हल्लाएको थियो ।

असार २ गते बुधबारको दृश्य निकै ठिटलाग्दो थियो । ठाउँ–ठाउँमा मानिसहरु जम्मा भएर खोलाको बहाव अब कता जाला, के होला भनेर हेरिरहेका थिए । आफन्त, घर खेत र व्यवसाय गुमाउनेहरुको रुवावासी थियो । नदीमा जुन किसिमको लेदो आएको थियो, त्यसलाई हेरेर कतै ज्वालामुखी फुटेको हो कि ? पहिरो मात्रले यस्तो बाढी आएको कसैले विश्वास गर्न सकिरहेका थिएनन् ।  

विस्थापितलाई अस्थायी आवास र खाद्यान्नको सहायता पहिलो आवश्यकता हो । सुरक्षाकर्मी र स्वयमसेवी परिचालन गरेर बाढी आउने क्रम निरन्तर रहेको र भर्खर वर्षात् शुरु भएको हुँदा नदी आसपास क्षेत्रका नागरिकलाई थप सजगता अपनाउन निरन्तर सूचित गर्न आवश्यक छ । मेलम्ची बजारभन्दा केही माथि सडक अवरुद्ध भएका कारण त्यहाँ सबै नेता, सहयोगी, सुरक्षाकर्मीहरु कमै मात्र पुगे ।

जुन समयमा बाढी आयो, सोही समयबाट विद्युत गयो । तल्लो तटीय क्षेत्रमा ठूलो पानी परेको थिएन । विद्युत गएको केही समयपछि नेपाल टेलिकमको फोन सेवा पनि अवरुद्ध भयो । यी सेवाहरु शिघ्र सूचारु गरिनुपर्दछ । विद्युत नभएपछि रेडियो, टेलिभिजन, इन्टरनेट सबै सेवा अवरुद्ध हुन पुगे । केही थाहा नपाएपछि अधाधुन्धको स्थिति बन्यो ।

यस बाढीले पुर्याएको नोक्सानीको गहिरो अध्ययन र अभिलेख गरिनुपर्दछ । घरवारविहीन भएकालाई सुरक्षित स्थानमा घडेरी र आवासको व्यवस्था गर्नुपर्दछ । बाढीका कारण खेत गुमाएकाहरुको यर्थाथ लगत तयार गरी निश्चित अवधिका लागि खाद्यान्न र क्षतिपूर्ति उपलव्ध गराउनुपर्छ । व्यवसाय गुमाएकालाई पुनः व्यवसाय सञ्चालनका लागि क्षतिपूर्ति उपलब्ध गराउनुपर्छ ।

यो अकल्पनीय विपत्तिले ल्याएका दुःखहरुको अवश्य चर्चा गरिनुपर्छ । तर, यतिले पुग्दैन । यो विपत्तीको वैज्ञानिक कारणको खोजी र सोको सम्बोधनका लागि अधिकतम प्रयास आवश्यक छ ।

पहिरो गएको भनिएको क्षेत्र हेरेर फर्केका व्यक्तिहरुले  खिचेको भिडियो र उनीहरुले विभिन्न सञ्चार माध्यममा बोलेका कुराबाट मेलम्चीको शीरमा पहिरो आई नदी थुनिएको र एक्कासी खोलिँदा बाढी आएको बताइएको छ । संयोग कस्तो पर्यो भने काठमाडौं पठाइएको पानी बन्द गरेकै दिन घटना हुन पुगेकाले कतै सुरुङमा भरिएको पानी फर्केर आएको होकि भन्ने आशंका गर्नेहरु पनि छन् । तर, पानी जाने ढोका नै बन्द गरिएको अवस्थामा पानी फर्केर आउने सम्भावना नहुनु पर्ने हो ।

यद्दपि सुरुङमार्ग बनाउँदा गरिएको बिस्फोटनले त्यस क्षेत्रमा पहिरोको जोखिम बढाएको भनाइलाई नकार्न सकिँदैन । जथाभावी खनिएका बाटाहरुका कारण पनि पहिलो भेलले धेरै माटो बगाएर ल्यायो र यसले पनि क्षतीलाई बढायो ।

सिपाघाटदेखी बाहुनेपाटी क्षेत्रका क्रसरले नदीलाई गहिर्याउँदै लगेका कारण माथिल्लो क्षेत्रमा क्रमशः असर पुग्दै गरेको र यसले पहिरोको खतरा निम्त्याउने आँकलन नभएको होइन । नदीको प्राकृतिक बहावमा यसले नराम्रो असर गरेकै थियो । यस विपत्तीको कारणहरुको अध्ययन गरी यथार्थ तथ्य बाहिर ल्याउन आवश्यक छ ।

कुनै विपद आएपछि केही राहतका सामाग्री लिएर सञ्चार माध्यममा छाएर केही गरेको सस्तो लोकप्रियतामा रमाउने भन्दा प्रकोपका कारणहरुको खोजी गर्न विज्ञ, नीति निर्माता र जनप्रतिनिधिहरुसहितको एक गम्भीर परामर्श र दीर्घकालीन समाधानको बाटो तय गर्नु जरुरी छ ।

तत्कालीन राहत र अस्थायी आवासका लागि स्थानीय समुदाय र सरकार आफैं सक्षम छन् । बाहिरी सहयोगी मनहरुले सहयोग गर्ने हो भने स्थानीय सरकारमार्फत मात्र सहयोग गर्नु पर्दछ । जथाभावी राहत सहयोगले विवादहरु बढाउने स्थिति आउनु राम्रो हुँदैन ।

विषय मेलम्ची प्रलयको मात्र हैन । सिन्धुपाल्चोक जिल्ला विभिन्न प्रकोपबाट वर्षेनी नराम्ररी प्रभावित हुँदै आएको छ । केही अघिको जुरे र गत वर्षको लिदी पहिरोको त्रासदी हामी सबैलाई ताजा छ । यसै कारण सरकारले गत वर्ष विपद् संकटग्रस्त जिल्ला घोषणा पनि गरेको थियो । तर, त्यसपछि सिन्धुपाल्चोक जिल्लालाई विपदमा कमी ल्याउन के कस्ता सचेत प्रयास भए ? सबैले थाहा पाउन आवश्यक छ ।

कुनै विपद आएपछि केही राहतका सामाग्री लिएर सञ्चार माध्यममा छाएर केही गरेको सस्तो लोकप्रियतामा रमाउने भन्दा प्रकोपका कारणहरुको खोजी गर्न विज्ञ, नीति निर्माता र जनप्रतिनिधिहरुसहितको एक गम्भीर परामर्श र दीर्घकालीन समाधानको बाटो तय गर्नु जरुरी छ ।

हाल सञ्चालित सबै क्रसर बन्द गर्नुपर्छ । गिटी र बालुवा प्राकृतिक रुपमा मेशिन नलगाई जति मात्रामा प्रयोग गर्न मिल्ने हो, सोही मात्रामा मात्र उपयोग गर्नुपर्दछ ।

मेलम्चीको मुहान क्षेत्रमा आएको पहिरोका कारण अब मेलम्चीको स्रोत घट्न गई पानी घट््न सक्छ । केही वर्ष पहिलेदेखि नै हिउँदमा मेलम्ची धेरै घटिसकेको छ । महंगा विज्ञ र परामर्शदाता आयोजनामा राखिए पनि आयोजनाले कहिल्यै पनि खानेपानीको इन्टेकभन्दा न तल, न माथि, कुनै पनि वातावरणीय र जलाधार संरक्षणको काम गरेको छैन । अब फेरि यांग्री र लार्केको पानी लैजाने योजना सरकारको रहेको छ । अब फेरि सुरङ खनेर सबै पहाडलाई नै असर गर्ने गरी पानी लाने योजनाबारे पुनर्विचार हुन आवश्यक छ । व्यवस्थापन राम्रो गर्ने हो भने मेलम्चीको पानी नै काफी हुन सक्छ । स्काभेटर लगायत जथाभावी बाटो खन्ने कार्य पूर्णतया रोकिनुपर्दछ । र अब थप जलविद्युत आयोजनाहरु पनि बन्न दिनुहुँदैन ।

पुरै जिल्लाको भूउपयोगको व्यवस्थित योजना बनाई आवासीय क्षेत्रमा मात्र बसोबास गर्न दिनु पर्दछ ।

सिन्धुपाल्चोकमा भइरहेको प्राकृतिक विपत्तिको कारणको विषयमा सरकारी तवरबाट नै ठोस अध्ययनको खाँचो छ । यस अध्ययनका आधारमा सबै राजनीतिक दल र निकायहरु एकै ठाउँमा आएर विप्दको खास कारणलाई सम्बोधन हुने गरी दीर्घकालीन नीति र योजनाहरुमा सहमति बनाउन आवश्यक छ ।

वर्षातको शुरुमै ठूलो क्षति व्यहोरेका कारण मध्य वर्षामा के हुने हो ? स्थानीयहरु त्रसित छन् । त्यसका विषयमा पनि आजैबाट सावधानी आवश्यक छ । यी सबै विपदहरुसँग जुधेर सिन्धुपाल्चोकलाई फेरि उठाउने संकल्प र सावधानीपूर्ण सामुहिक प्रयासबारे सबैले सोचौं ।

(देउजा भूमि आयोगका विज्ञ हुन्) 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.